Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २ शुक्रबार १८:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरहराको २२ मध्ये १५औँ तलाको निर्माण जारी, दुई वर्ष समय थप्न माग

निर्माण सक्नुपर्ने वेलासम्म ४१ प्रतिशत मात्रै काम

Read Time : > 1 मिनेट
२०७७ असोज २ शुक्रबार १८:००:००

तस्बिर :अमुल थापा

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ ।

सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न समस्याले ४१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

सम्झौता भएको समयमा पुनर्निर्माणको काम नसकिएपछि समय थप्ने तयारी भएको छ । 

भूकम्पले भत्काएको स्थानमा गजुरसहित २२ तले धरहरा निर्माण हुँदै छ । अहिले १५औँ तलाको निर्माण कार्य भइरहेको छ । 

दुई वर्षमा पुनर्निर्माण सक्ने सम्झौता गरी चीनको जिआइआइटिसी र नेपालको रमन कन्स्ट्रक्सनले असोज ०७५ मा संयुक्त रूपमा काम सुरु गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर ध्रुव पौडेलले अहिलेसम्म ४१ प्रतिशत काम सकिएको बताए ।

पौडेलका अनुसार २० असोज ०७७ मा निर्माण सक्ने गरी सम्झौता भए पनि धेरै समस्या आएका कारण नसकिएको बताए ।

धरहरा निर्माण गर्नुपर्ने क्षेत्रमा भएका संरचना हटाउन धेरै समय लागेको र कोभिडका कारण पनि थप समस्या भएकाले समयमा निर्माण हुन नसकेको बताए ।

कोरोनाको जोखिम बढेपछि सरकारले गरेको लकडाउनको समयमा समेत पुनर्निर्माणको काम रोकिएको थिएन । 

समयमा काम नसकिएपछि समय थप गर्नेसमेत तयारी भइरहेको छ । सिनियर इन्जिनियर पौडेलले निर्माण व्यवसायीले बाँकी काम सम्पन्न गर्न थप समय मागेको र प्राधिकरणका कन्सल्ट्यान्टको सिफारिस आएपछि कति समय थप हुने भन्ने विषयमा निर्णय हुने बताए । प्राधिकरणका विज्ञ राजुमान शाक्यका अनुसार निर्माण व्यवसायीले सुरुमा एक वर्ष थप मागेको थियो । समय थपको प्रक्रिया चलिरहेको वेला समय बढाएर फेरि दुई वर्ष थप माग भएको छ । 

साढे तीन अर्ब लागत, झन्डै डेढ अर्ब सकियो

सम्झौताअनुसार भ्याटसहित धरहरा निर्माणका लागि तीन अर्ब ४८ करोड खर्च हुनेछ । पौडेलका अनुसार अहिलेसम्म झन्डै डेढ अर्ब खर्च भइसकेको छ । ऐतिहासिक धरहरा निर्माणमा सरकारले लगानी गरेको छ । धरहरा निर्माणमा जनताको समेत सहभागिता छ । केही रकम जनस्तरबाट समेत उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियान सञ्चालन गरेका थिए । त्यसका लागि छुट्टै बैंक खातासमेत सञ्चालन गरेर रकम संकलन भएको छ । प्राधिकरणका अधिकारीका अनुसार अभियानअन्तर्गत २४ करोडको हाराहारीमा रकम संकलन भएको छ ।

विज्ञ मानन्धरका अनुसार धरहरा पुनर्निर्माणका लागि नेपाल टेलिकमले एक अर्ब दिने प्रतिबद्धता जनाए पनि अझैसम्म प्राप्त नभएको बताए । 

यस्तो हुनेछ धरहरा
पटक–पटकका भूकम्पले धरहरा भत्काए पनि पुनर्निर्माण हुँदै आएको छ । ०७२ सालको भूकम्पबाट धरहरा भत्किएर फेदमा ठुटो मात्रै बाँकी देखिन्छ ।

वि.सं. १९९० सालको भूकम्पले माथिल्लो भाग भत्काएको थियो । अब निर्माण हुने धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ । यसले ओगट्ने क्षेत्रमा सुन्दर बगैँचासमेत निर्माण हुनेछ । ०७२ सालको भूकम्पबाट बाँकी रहेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेमभित्र राख्ने योजना छ । नयाँ धराहरा हेर्न आउनेले पुरानो बचेको भागसमेत हेर्न पाउनेछन् । धरहरा निर्माणसँगै यसको छेउमा तीनतले अत्याधुनिक पार्किङस्थल बनाउनेसमेत योजना छ ।