मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २ शुक्रबार
  • Sunday, 22 December, 2024
भोला पासवान काठमाडौं
२o७७ असोज २ शुक्रबार o३:१७:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्

Read Time : > 5 मिनेट
भोला पासवान, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २ शुक्रबार o३:१७:oo

संसद्मा राष्ट्रपतिले ‘अब कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भनेर २ जेठमा घोषणा गरेको साँझ सप्तरीका मलर सदाको घरमा चुलो बलेन । त्यसपछि चार दिनसम्म भोकै बसेको परिवारलाई अन्न जुटाउन छाता र कोदालो बोकेर निस्किएका मलर सदा बाटोमै बेहोस भए र ज्यान गयो । त्यसपछि भोकै पर्ने र भोकै मर्ने डरलाग्दो शृंखला जारी छ ।

न जमिन छ, न बैंक खाता । न शैक्षिक प्रमाणपत्र छ, न बैंकले कर्जा दिन्छ । त्यसैले ५० वर्षको उमेरसम्म पनि मलर सदासँग नागरिकताको प्रमाणपत्र थिएन । तर, अब भने राज्यबाट केही राहत हुन सक्छ भनेर उनले नागरिकता बनाउने फारम किनेर ल्याएका थिए । आफूसँगै श्रीमती र तीन छोराको पनि नागरिकता बनाइदिने उनको योजना थियो । तर, उनको रहर पूरा भएन । महामारीको बीच ज्यालादारी काम पनि नपाएर भोकले उनको मृत्यु भयो । यसरी ५० वर्षको उमेरमा एक नेपाली (अ)नागरिकको मृत्यु भयो । मूलीको निधन भयो, नागरिकताको फारम भने अमूल्य नै होला भन्ने ठानेर उनको परिवारले अझै पनि घामपानीबाट जोगाएर राखेको छ । 

गत फागुन दोस्रो साता मलरका कान्छा छोरा साजनले गुजरात जानुअघि ठेकेदारबाट पाएको दुई हजार पेस्की बुबाको हातमा थमाएर गएका थिए । घर बनाउने र छोरा साजनको बिहे गर्ने मलरको सपना थियो । घर बनाउन उनले बाँस पनि ल्याएका थिए । तर, चैतदेखि लकडाउन भयो, परिवारसँग त्यही दुई हजारको भर थियो । सप्तरीको रामपुर पथरीमा डगर (बाटो)छेउको ऐलानी पाँच धुर जग्गामा मलरको परिवार बस्छ । चार पुस्तादेखि मुसहर समुदाय रामपुरमा बस्दै आएका हुन् । ३२ परिवारमध्ये २७ परिवारसँग नागरिकता छैन । चार परिवारले आफैँ बसेको जग्गा पनि ‘मालिक’सँग किन्नुपरेको छ । सात परिवारले घरको दैलोमा काठको ढोका बनाएका छन्, बाँकी सबैले बाँसको फाटक र कपडाको अस्थायी आडमा रात बिताउँछन् । चोरले नै लग्ने गरी भित्र त्यस्तो केही छैन । त्यसो त सबै भूमिहीन दलितलाई भूमि र एकपटक घर बनाइदिने घोषणा भएको पाँच वर्ष भयो । तर, रामपुरका मुसहरलाई यो अविश्वसनीय सपना लाग्छ । 

छोराले छोडेर गएको दुई हजार रुपैयाँमा कहिले आधा पेट खाएर त कहिले भोकै बसेर मलरको परिवारले फागुन, चैत र वैशाख बितायो, त्यो पनि सकिएपछि परिवार चर्को भोकमरीमा प¥यो । गत २ जेठमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्मा घोषणा गरिन्, ‘अब यो देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ त्यही दिन मलरको घरमा चुलो बल्न सकेन । त्यो दिन मात्र होइन, त्यसपछिका चार दिन लगातार यो परिवार भोकै सुत्यो । न बाहिर काम थियो, न घरमा माम थियो ।

सप्तरी, रामपुर पथरी : राहतका लागि नागरिकता बनाउने फारम ल्याएका भूमिहीन (अ)नागरिक मलर सदाको भोकले निधन भयो, फारम भने परिवारले जोगाएर राखेको छ । राहतमा उनीहरूले १५ किलो चामल र १२० रुपैयाँ नगद पाएका छन् ।

चार दिन भौकै परेको परिवारका सदस्य उठ्नै नसक्ने गरी ओइलाएका थिए । ६ जेठको बिहान कोदालो र छाता बोकेर मलर कामको खोजीमा निस्किए । तर, उनी फर्किएनन् । बरु खबर आयो– उनी घरभन्दा अलिक पर पुग्दानपुग्दै अचेत भएर ढलेका छन् । 

सुरुमा पत्नी जलेश्वरी र ११ वर्षीय नातिले साइकलमा बोकेर ल्याउन प्रयास गरे । सम्भव भएन । पछि दुई बुहारीले पिठ्युँमा आलोपालो बोकेर घर ल्याए । 

खानाको जोहोमा हिँडेका मलरलाई उपचार गर्न लैजान परिवारसँग पैसा थिएन । छिमेकी फनिलाल सदाले थोरै चामल ल्याइदिए । फनिलाल भन्छन्, ‘थोरै खिचडी बनाउन लगाएँ ।’ चार दिनपछि घरमा अन्न पाक्दै थियो, तर मलर अचेत थिए । उनले एक चम्चा पनि खान सकेनन् । भोलिपल्ट बिहान उनको निधन भयो । 

मलरले खाना पाएनन्, उपचार पाएनन् । अब दाहसंस्कार कसरी गर्ने ? गाउँमा सबै विपन्न छन् । त्यसैले कात्रोका लागि चन्दा संकलन गर्दा १५ सय रुपैयाँ उठ्यो । त्यतिले कफन र किरिया बस्ने श्रीमती र आगो दिने नातिलाई सेतो कपडा किन्न पनि नपुग्ने भयो । 

मुसहर समुदायमा अन्तिम संस्कारमा मृतकलाई नयाँ लुगा लगाइदिने चलन छ, तर जिउँदो हुँदा चार दिनदेखि एक गाँस नपाएका मलरले मृत्युपश्चात् कहाँबाट नयाँ लुगा लाउनु ! पुरानै धोतीमा चिता चढे । नगरपालिकाभित्र सडकमा कुकुर मर्‍यो भने तह लगाउन स्थानीय सरकारले तीन सय रुपैयाँ दिएर उठाउन लगाउँछ । मलर एक मान्छे थिए । तर, उनको मृत्युमा वास्ता भएन । 

दोस्रो दिन कञ्चनरूप नगरपालिका नगरप्रमुख वसन्तकुमार मिश्र स्वास्थ्य शाखाका दुईजनालाई साथमा लिएर पजेरो चढेर मलर सदाको घर पुगे । मेयरले राहत लिएर आए कि भनेर गाउँले हौसिए । तर, गाडीबाट ओर्लिनासाथ मेयर मिश्रले उल्टै केरकार सुरु गरे । ‘मलर पहिले कति रक्सी खान्थे आदि–इत्यादि । त्यसपछि नगरपालिकाबाट सूचना निकालियो ‘मलर रक्सी र दमका कारण मरे ।’ 

अझ नगरपालिकाकोे सूचनामा यो पनि भनियो– मलरकी श्रीमती जलेश्वरी देवीले राहतस्वरूप १५ किलो चामल र नगद एक सय २० रुपैयाँ बुझिन् ।’ 

मलर परिवार मात्र होइन, ३२ मध्ये २७ परिवारसँग नागरिकता छैन । नागरिकता बनाउँदा लाग्ने खर्च र झन्झटिलो प्रक्रिया त छँदै छ, काम छोडेर हप्ता दिन कुद्ने समय पनि उनीहरूसँग छैन । जसले गर्दा उनीहरू अनागरिकको जीवन जिउन बाध्य छन् ।

०००

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० को सुकुम्बासी टोलमा बस्ने ४७ वर्षीय अशोक दर्जी दिनभरि मजदुरी गरेर परिवारका लागि दुई छाक जोहो गर्थे । रोजगारीका लागि कुवेत जान हिँडेकी पत्नी दिलमायालाई दलालले भारतमा अलपत्र परेका थिए । लकडाउनपछि अशोकलाई चार छोराछोरीको हातमुख जोड्न पनि धौधौ हुन थाल्यो । उता दिलमाया न कुवेत पुगिन्, न घर फर्किन सकिन् । 

मोरङ, सुन्दरहरैँचा : कुवेत हिँडेकी आमा दिलमाया दर्जी भारतमा अलपत्र परिन्, छाक टार्न नसकेर बाबुले आत्महत्या गरेपछि छोराछोरी ।

अशोकले छोराछोरीको छाक टार्न सकुन्जेल कोसिस गरे । घरमा भएका भाँडाकुँडा मात्रै होइन, मिल्नेजति सबै सरसामान बेचे । कतिसम्म भने खाना बनाउने ग्यास सिलिन्डर बेचेर ल्याएको चाउचाउ र चिउराले भोक मेटेर पनि निदायो उनको परिवार । तर, यसरी कति दिन चलोस् ? अशोकका विकल्प सकिँदै गए । अन्ततः कलिला छोराछोरीको भोक देख्न नसकेर २२ भदौमा उनी आफैँले मृत्युको बाटो रोजे । 

अशोकको मृत्युपछि पत्नी दिलमाया बल्लबल्ल घर त फर्किएकी छिन् । तर, सुकुम्बासी बस्तीमा उनलाई तीन छोराछोरीलाई हुर्काउन उस्तै सकस छ । वडाध्यक्ष राजेन्द्रबहादुर थापाले सुनौलीबाट १८ हजार खर्च तिरेर दिलमायालाई घर ल्याइदिएको बताए । तर, अशोकको मृत्युपछि चन्दा उठाएर दाहसंस्कार गरेको यो परिवारको चुलो कसरी बल्छ ? स्थानीय सरकारले सोचेको छैन । 

०००

बर्दियाको गुलरिया नगरपालिका– ३, खैरीगाउँकी २३ वर्षीया निलम गोडियाको घर र माइतीको दूरी करिब सय मिटर मात्रै थियो । उनी पाँच महिनाकी गर्भवती थिइन् । यस्तो अवस्थामा महिलालाई छाक टार्ने मात्रै होइन, प्रशस्त पोषिलो खानेकुरा चाहिन्छ । तर, दैनिक मजदुरी गरेर हातमुख जोड्ने निलमका घर र माइतीघरले दुई छाक पेट भरिने गरी भात खुवाउन सक्ने अवस्था पनि थिएन । छाक टार्नकै लागि श्रीमान् ओमकार र ससुरा काँशीले नेपालगन्ज, कोहलपुरदेखि सुर्खेत र दैलेखसम्म पुगेर मजदुरी गर्थे । कोरोना महामारीका कारण त्यही मजदुरीसमेत गर्न नपाएपछि घरमा भात पाक्नै छाड्यो, रोटीले छाक टरेको थियो । 

१६ भदौको साँझ पोलेको मकै खाएर छाक टार्ने पालो थियो । धेरै दिनदेखि भात खान नपाएकी निलमलाई भात खान इच्छा थियो । तर, घर र माइतीघर दुवैतिर भात पाक्न सकेन । कैयौँ दिनसम्म भातसमेत खान नपाएपछि उनले पेटमा भएको बच्चासँगै मृत्युको बाटो रोजिन् । ‘दुवै परिवारले मजदुरी गरेर खाने हुन्, लकडाउनले निकै समस्या भएको रहेछ । हामीलाई पनि घटना भएपछि मात्रै थाहा भयो,’ उपमेयर सुशीला गिरीले भनिन् । निलमको मृत्युपछि दुईवर्षे छोरीको बिचल्ली भएको छ । 

०००

वीरगन्ज महानगरपालिका– ३१ बेल्वास्थित ससुराली घरमा बस्ने ३० वर्षीय सतन माझी ज्यालादारी मजदुर थिए । घरगाउँमा जे काम पाइन्छ त्यही गरेर परिवारका लागि दुई छाकको जोहो गर्थे । लकडाउनपछि काम पाउन छाडे, परिवारको भोक मेट्न पनि उनलाई गाह्रो भयो । ससुरालीको आर्थिक अवस्था पनि उस्तै दयनीय थियो, फुसको छाप्रो, त्यो पनि अर्काको जग्गामा बनेको । नाबालक दुई छोराछोरीको भोक टार्न पनि गाह्रो हुँदै गयो । 

२५ भदौमा पत्नी रवितादेवीले केटाकेटीको मुखमा माड लगाउन सतनसँग पैसा मागिन्, तर उनीसँग सुको थिएन । उनी थप विरक्तिए । वेलावेलामा जंगलबाट दाउरा ओसारेर दुई पैसा कमाउने गरेका उनी त्यस दिन जंगल गएर फेरि घर फर्किएनन् । बाटोमै विष सेवन गरेर मृत्युको बाटो रोजे । दिउँसो १२ बजे विष सेवन गरेको थाहा पाएपछि पत्नी रवितादेवीले छिमेकीसँग हारगुहार गरेर इन्डो–नेपाल अस्पताल पुर्‍याइन् । तैपनि सतनलाई बचाउन सकिनन् । २६ भदौको बिहान अस्पतालमै उनले प्राण त्यागे । रवितादेवी भन्छिन्, ‘पहिलेदेखि नै पैसा हुँदा खाना पाक्ने, नभए नपाक्ने हुन्थ्यो । अब त झन् कमाउने मान्छे पनि रहेन, घरमा खानेकुरा पनि छैन । दुई नाबालक छोराछोरीको पेट कसरी भरूँ ?’ 

०००

धादिङका सूर्यबहादुर तामाङ कीर्तिपुरमा भारी बोक्थे । दिनभरि भारी बोकेर भएको कमाइले छाक टार्थे । साँझ पाटीपौवा र मन्दिरमा ओत लाग्थे । तर, लकडाउनपछि उनले काम पाउन छाडे, सँगै पेटमा अन्न पर्ने क्रम पनि घट्दै गयो । भोक मेटाउन उनी विभिन्न संघसंस्थाले बाँडेको खाना खोज्दै हिँड्थे । पाए खान्थे, नपाए भोकै सुत्थे । ११ जेठमा सडकपेटीमा भोकै सुतेका उनी फेरि कहिल्यै उठेनन् । सूर्यबहादुरलाई मंगल बहुमुखी क्याम्पसअगाडिको सडकपेटीमा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । ‘सहज हुन्जेल सबैलाई सघाउँथ्यो, अहिले भोकभोकै मर्‍यो,’ सूर्यबहादुरलाई चिनेका स्थानीय एक वृद्धले भने ।