१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

कोरोना महामारीमा सुत्केरी र गर्भवती झनै असुरक्षित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:५७:oo

नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु हुनेमा सिन्धुपाल्चोककी ३४ वर्षीया सुत्केरी महिला थिइन् । श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएकी उनको ४ जेठमा कोभिड संक्रमणका कारण ज्यान गएको थियो । लकडाउन सुरु भएपछि हालसम्म ७३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ, जसमध्ये नौजनामा संक्रमणको शंका गरिएको मातृ तथा नवजात शिशु शाखाको तथ्यांकले देखाउँछ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको मातृ तथा नवजात शिशु शाखाको ११ चैतदेखि साउन मसान्तसम्मको तथ्यांकअनुसार ८५ जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका छन्, जसमध्ये १२ जनाको सम्पूर्ण विवरण महाशाखासँग उपलब्ध छैन । महाशाखा प्रमुख डा. पुण्या पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षको तथ्यांकको तुलनामा यो वर्षको मृत्युदर दोब्बरभन्दा बढी हो । महाशाखाले निकालेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा (चैतदेखि साउनसम्म) नेपालभरिमा जम्मा ३२ सुत्केरी तथा गर्भवतीको ज्यान गएको थियो । यो वर्ष ज्यान गुमाउनेका संख्या ७३ पुगेको छ । 

महामारीको समयमा कोभिडको जोखिमसँगै लकडाउन हुनु, स्वास्थ्य संस्थासम्म पुग्ने साधन नहुनु, सुविधायुक्त अस्पतालहरू बन्द गरिनु मृत्युदर बढ्नुको मुख्य कारण भएको डा. पौडेल बताउँछिन् । भन्छिन्, ‘संक्रमणको डरका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुनु र समयमै स्वास्थ्य सेवा नपाउनुले सुत्केरी तथा गर्भवतीले ज्यान गुमाइरहेका छन् । भिडभाड हुने डरका कारण लकडाउनको समयमा सुविधायुक्त अस्पतालमा डेलिभरी हुनेको संख्या घटेको छ, यो सँगै बर्थिङ सेन्टर र घरमै बच्चा जन्माउनेको संख्या वृद्धि भएको छ । सामान्य स्वास्थ्य संस्था र घरमै डेलिभरी हुँदा आवश्यक स्वास्थ्य सेवाको अभाव हुने भएकाले समेत जोखिम बढेको देखिन्छ ।’ 

नियमित स्वास्थ्य परीक्षणको अभाव

गर्भवती महिलाले कम्तीमा ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्थामा गई अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । आमा र शिशुको स्वास्थ्य अवस्था र सम्भावित खतराको लक्षणहरू समयमा थाहा पाउन नियमित गर्भ जाँच आवश्यक हुन्छ । लकडाउनका कारण अस्पतालसम्म जान यातायातको अभाव र अस्पताल जाँदा भिडभाडबाट कोभिड सर्न सक्ने जोखिम हुँदा अधिकांश गर्भवती स्वास्थ्य जाँचका लागि अस्पतालसम्म नपुग्ने स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बराल बताउँछन् । भन्छन्, ‘समय–समयमा गर्नुपर्ने गर्भजाँचबाट वञ्चित हुँदा महिला स्वास्थ्य अवस्थाबारे अनविज्ञ रहन्छन् । नियमित जाँच गराउँदा स्वास्थ्य जटिलता थाहा हुने र उपचार गर्न सजिलो हुन्थ्यो । एकैचोटि सुत्केरी हुने समय वा जटिलता देखिएपछि मात्रै अस्पतालसम्म पुग्छन्, जसले गर्दा उपचारका लागि पर्याप्त समय हुँदैन, फलस्वरूप गर्भवतीको ज्यान जान पनि सक्छ ।’
यस्तै, सुविधासम्पन्न अस्पतालमा भिडभाड रहने भएकाले कतिपय स्वास्थ्य संस्थाले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेका छन् । जसले गर्दा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने खालका बिरामी अस्पतालसम्म पुग्दैनन् । चिकित्सकको सम्पर्कमा रहेका बिरामीले फोनबाटै परामर्श लिए पनि जटिलता पत्ता लगाउन सकिँदैन । चिकित्सकको नियमित सम्पर्कमा रहेर परामर्श लिइरहनेको संख्या पनि न्यून हुन्छ । 

ग्रामीण भेगमा कतिपय गर्भवती महिलाको सामान्य स्वास्थ्य संस्थासँग समेत पहुँच नहुने बताउँछन् डा. बराल । ‘कतिपय अवस्थामा सामान्य उपचारबाट समेत निको हुने समस्या समयमै थाहा नहुँदा पछि गम्भीर समस्या निम्तिएको पाइन्छ । मुटुको रोगी, रगतको कमी, पहिले शल्यक्रिया गरेको महिलामा पाठेघर फुट्ने समस्या, समयमै शल्यक्रिया नहुनु कारणले गर्दा गर्भवतीमा जटिलता निम्त्याउँछ,’ उनी भन्छन्, ‘अधिकांशमा धेरै रगत बग्ने, बच्चामा कुनै समस्याका कारण प्राकृतिक डेलिभरी गर्न नसकिने अवस्थामा मात्र अस्पताल आउने गर्छन्, यस्तो अवस्थामा ठूला अस्पताल रिफर गर्न समय हुँदैन, सामान्य स्वास्थ्यचौकी वा बर्थिङ सेन्टरमा आवश्यक सुविधा हुँदैन ।’

अत्यावश्यक स्वास्थ्य सेवाको अभाव
गर्भवती र सुत्केरीमा जुनसुकै समयमा पनि स्वास्थ्य जटिलता देखिन सक्ने चिकित्सकहरू बताउँछन् । सुत्केरी हुने समयमा गर्भावस्था झन् संवेदनशील हुने गर्छ । गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था थाहा पाउन सकेसम्म एक–एक महिना र डेलिभरी हुने समयमा १५ दिनअगाडि भिडियो एक्सरे गर्नुपर्ने बताउँछिन्, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगिना शाह । ‘महामारीको समयमा अस्पतालसम्म समयमै पुग्न नसक्नु मुख्य समस्या हो । घरमै सुत्केरी हुँदा पछि आउन सक्ने जटिलता थाहा हुँदैन । जसमध्ये अधिकांशमा पोस्टपार्टम हेमोरेज अर्थात् बच्चा जन्मिसकेपछि हुने अत्यधिक रक्तस्रावका कारण ज्यान गइरहेको हुन्छ,’ उनी भन्छिन्, ‘यो अवस्था बच्चा जन्मेको २४ घन्टाभित्र र ७२ घन्टाभित्र हुन सक्छ । सामान्यतः २४ घन्टाभित्रको समयमा हुने रक्तस्रावलाई उपचारको माध्यमबाट रोक्न सकिन्छ । यसबाहेक उच्च रक्तचापका कारण सुत्केरीमा समस्या हुने गर्छ, समयमै रक्तचाप नियन्त्रण गर्न नसक्दा गर्भवतीमा काप्ने समस्या हुन्छ । यस्तो अवस्थामा गर्भवती बेहोस हुने, सजिलै होसमा ल्याउन नसकिने र दिमागमा पर्ने असरका कारण मृत्यु हुने सम्भावना रहन्छ ।’
गर्भवतीमा यसबाहेक अन्य थुप्रै समस्या देखिन सक्ने, तर चेकजाँचविना थाहा नहुने उनको भनाइ छ । ‘सुत्केरीको समयमा समस्या उत्पन्न हुन्छ । यस्ता जटिल समस्या सामान्य स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरमा समाधान हुँदैनन् । सुविधासम्पन्न अस्पतालसम्म पुग्ने अवस्था नहुँदा गर्भवती तथा सुत्केरीको ज्यान गइरहेको छ ।’

सुत्केरी हुँदा अत्यधिक रगत बगेर, शल्यक्रिया गर्नुपर्ने अवस्था तथा विभिन्न कारणले सुत्केरीको ज्यान गइरहेको हुन्छ । महामारीका कारण जीवनशैली अस्तव्यस्त हुँदा ननकोभिड बिरामीहरू अत्यावश्यक स्वास्थ्य सेवाबाट समेत वञ्चित भइरहेका छन् । लकडाउनमा गर्भवतीलाई पौष्टिक आहारको कमी हुनु, संक्रमणको डरका कारण मानसिक तनाव हुनु, समयमै अस्पतालसम्म पुग्न नसक्नुजस्ता विभिन्न कारणले गर्भवती तथा सुत्केरीले समस्या भोगिरहेको चिकित्सकहरू बताउँछन् । 
 

ad
ad