मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ ३० मंगलबार २१:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली राजदूतसँग चिनियाँ उपमन्त्रीले भने– नाका सुचारु गर्न सहजीकरण गर्छौैं, दश लाख डलर मूल्यका औषधि दिन चीन तयार

बेइजिङमा राजदूत पाण्डे उच्चस्तरीय भेटवार्तामा 

Read Time : > 2 मिनेट
२०७७ भदौ ३० मंगलबार २१:३५:००

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले मंगलबार चिनियाँ विदेश मन्त्रालयको एसिया, सिमाना, कन्सुलरलगायतका मामिला हेर्ने उपमन्त्री लुओ चाओहुईसँग भेटवार्ता गरेका छन् । राजदूत पाण्डेले नेपाल र चीनबीचका रसुवागढी र तातोपानी नाका सुचारु हुनुपर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई चीन जान सहजीकरण गरिदिनुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका विषयमा चासो राखेका छन् । चिनियाँ उपमन्त्री लुओले नाका सुचारु गर्न सहजीकरण गर्ने र कोभिड महामारीविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री दिनेसमेत आश्वासन व्यक्त गरेका छन् । 

गत वर्षसम्म दिल्लीमा भारतका लागि राजदूत रहेका उपमन्त्री लुओ हाल चिनियाँ विदेश मन्त्रालयमा सचिवसरहको जिम्मेवारीमा बेइजिङमा छन् । नेपाल तथा नेपाल–भारत सम्बन्धका जानकार रहेका उपमन्त्री लुओले राजदूत पाण्डेलाई अन्तर्राष्ट्रिय परिस्थिति, भारत–चीन विवादलगायतका विषयमा पनि चिनियाँ पछिल्लो धारणा सुनाएका छन् । राजदूतका रूपमा पाण्डे बेइजिङ गएपछि चिनियाँ उच्च अधिकारीसँग भएको यो पहिलो भेटवार्ता हो ।
 
नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राजदूत पाण्डेले केरुङ– रसुवागढी तथा खासा –तानोपानी नाका सुचारु गर्न चिनियाँ अधिकारीलाई आग्रह गरेका छन् । सुरक्षाका उपाय अपनाएर दुवै नाका सुचारु गर्नुपर्ने पाण्डेको भनाइ थियो । दुवै नाका चिनियाँ तजबिजीमा खुल्दै आएका छन् । नाका खुलाएका वेला चिनियाँ पक्षले दैनिक पाँच ट्रक सामान मात्रै मितेरी पुलसम्म ल्याउन दिने गरेका छन् । नेपालबाट चीन जान नेपाली गाडीहरूलाई अहिले अनुमति छैन । राजदूत पाण्डेले सीमा क्षेत्रमा सयौैँ ट्रक अड्केको, करोडौँका सामान अलपत्र परेको भन्दै सहजीकरण गर्न आग्रह गरे । 

चिनियाँ उपमन्त्री लुओले नाका सुचारु गर्नुपर्ने विषयमा तिब्बत स्वशासित सरकार पनि चिन्तित रहेको बताए । तिब्बततर्फ कोभिडको संक्रमण बढ्ने चिन्ताका कारण नाका खुल्न नसकेको उनको संकेत थियो । सुरक्षात्मक उपाय अपनाएर नाका सुचारु गर्न सहजीकरण गर्ने विषयमा तिब्बत सरकारसँग कुरा गर्ने उनको भनाइ थियो ।  पाण्डेले कोभिड–१९ को महामारीका वेला र अघि नेपाल आएका विद्यार्थीलाई पुनः चीन फर्किन सहजीकरणका लागि आग्रह गरे । यसमा सहजीकरण गरिदिने चिनियाँ अधिकारीको भनाइ थियो । 

राजदूत पाण्डेले सांघाई कोपरेसन अर्गनाइजेसन (एससिओ) को डाइलग पार्टनरका रूपमा रहेको नेपाललाई पर्यवेक्षक मुलुकमा स्तरोन्नति गर्नुपर्ने धारणा पनि राखेका थिए । यस सम्बन्धमा चीनले सकारात्मक रूपमा विचार–विमर्श गर्ने लुओको जवाफ थियो । 

उपमन्त्री लुओले राष्ट्रपति सी जिनपिङको गत वर्ष असोजमा नेपाल भ्रमणका क्रममा भएका सम्झौता र सहमति कार्यान्वयनमा चीन चिन्तित र सक्रिय भएको बताए । उनले केरुङ काठमाडौं रेलजस्ता दीर्घकालीन परियोजनाहरू चरणबद्ध रूपमा अघि बढ्ने बताएका छन् । 

चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौताअनुसार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नुपर्नेमा लुओको जोड थियो । परिस्थिति सहज भएपछि यसका लागि चीनबाट प्राविधिक टोली नेपाल आउने तयारी छ । लुओले भने, ‘यो दीर्घकालीन परियोजना भएको हुनाले चरणबद्ध रूपमा काम अघि बढाउनुपर्छ ।’ नेपालको रेल विभाग तथा चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेसनबीच नियमित छलफल र संवाद भइरहेको लुओको भनाइ थियो । उनले रेलका लागि नेपालमा पर्याप्त मानवस्रोत तथा उनीहरूमा प्राविधिक दक्षता अभाव भएको उल्लेख गर्दै यसका लागि पनि चीन थप सहयोग गर्न तयार रहेको बताए । नेपाली प्राविधिक टोलीलाई वेलावेलामा चीनमा तालिम दिइरहेको समेत उनले स्मरण गराएका थिए । रेल्वेका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा पनि समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण दुवै पक्षले गरेको छ । टोखा–छहरे सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि पनि चिनियाँ प्राविधिक टोली आउने लुओले बताए । 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल र चीन दुनै उम्मेदवार भएको र दुवैले एक–अर्कालाई सघाउने विषयमा पनि छलफल भएको थियो । नेपालले चीनलाई र चीनले नेपाललाई समर्थन गर्ने सहमति यसअघि नै भइसकेको उपनियोग प्रमुख लम्सालले बताए । 

चिनियाँ पक्षले कोभिड– १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाललाई सहयोग जारी राख्ने चिनियाँ अधिकारीको भनाइ थियो । चीन, पाकिस्तान र माल्दिभ्सका परराष्ट्रमन्त्रीहरूको भिडियो कन्फ्रेन्सका क्रममा चीनले घोषणा गरेको १० लाख अमेरिकी डलरबराबरको स्वास्थ्य सामग्री पठाउन चीन तयार रहेको पनि उनको भनाइ थियो । यो मूल्यबराबरका सामग्रीको सूची पठाइदिए चीनले पठाउने प्रक्रिया प्रारम्भ गर्ने लुओले बताए । चीनमा विकसित हुने खोपलाई पब्लिक गुडका रूपमा नेपाललाई समेत उपलब्ध गराउने उनीहरूको चाहना पनि लुओले सुनाएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले नै यो घोषणा गरिसकेका छन् । नेपालजस्ता मुलुकले निःशुल्क खोप पाउने चिनियाँ अधिकारीको संकेत थियो । 

यसैबीच, नेपाल र चीनबीच सेप्टेम्बर २८ मा व्यापारसँग सम्बन्धित संयुक्त कार्यदलको बैठक भिडियोमार्फत बस्ने तय भएको छ । नेपालबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव र चीनबाट आपूर्ति विभागका महानिर्देशकले भिडियो बैैठकको नेतृत्व गर्नेछन् ।