१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ ३० मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ ३० मंगलबार २o:२७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीको नयाँ आचारसंहिता– विदेशीसँग अनुमतिविना भेट्न नपाइने, विपरीतलिंगीलाई धाप मार्न नहुने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ ३० मंगलबार २o:२७:oo

नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई नयाँ आचारसंहिता जारी गरेको छ । सर्वसाधारणसँग गर्ने व्यवहारदेखि सामाजिक सञ्जालसमेतका विषयलाई समेटेर नयाँ आचारसंहिता बनाइएको छ । 

आचारसंहिता आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सार्वजनिक गरेका थिए । आचारसंहितामा अनुमतिविना विदेशी नागरिक तथा गैरसरकारी संस्थाका व्यक्तिसँग भेटघाट, सम्पर्क र सहकार्य गर्न नपाइने उल्लेख छ । 

त्यस्तै शान्ति सुरक्षामा असर पार्ने सामाजिक सञ्जालका पोस्टहरूमा लाइक, कमेन्ट, सेयर तथा रिट्विट गर्न नपाइने उल्लेख छ ।  राम्रो काम गरेबापत स्पर्श गर्न पाउने मनसायले विपरीतलिंगीलाई धाप मार्नु नहुने आचारसंहितामा समेटिएको छ । आचारसंहिताका भनिएको छ, ‘अभिवादनस्वरूप हात मिलाउनु स्वाभाविक भए तापनि विपरीतलिंगीलाई मौका पाउना साथ थपथपाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरेबापत स्पर्श गर्न पाउने मनसायले विपरीतलिंगीलाई धाप मार्नु नहुने । 

यस्ता छन् आचारसंहिताका बुँदाहरू 

  •    नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिने नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै सकल दर्जाका प्रहरी कर्मचारीलाई  शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन वाञ्छनीय भएकोले प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम  प्रहरी महानिरीक्षकबाट “नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी यो कार्यादेश,२०७७” जारी गरिएको।
     
  • प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेसागत कर्तव्य निर्वाह गर्नुपर्दा अनिवार्य रूपमा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह वा द्वेषभाव नराखी समान व्यवहार गर्ने, प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने।
     
  •  प्रहरी कर्मचारीहरूले समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नुपर्ने । जातिविशेष, लिंगविशेष, धर्मविशेष, सम्प्रदायविशेष, शरीरविशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्नेजस्ता क्रियाकलाप गर्न नहुने।
     
  • प्रहरी व्यावसायिकतालाई आत्मसात् गरी प्रहरी अधिकृत तथा जवानहरूबीच एक–आपसमा भाइचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्ने ।
  • कार्यालयको कामको सञ्चालन र कार्यसम्पादन सम्बन्धमा आफ्नो कामप्रति अद्यावधिक भइरहनुपर्ने र आजको काम आजै गर्ने परिपाटी विकास गर्नुपर्ने र आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख तोकिएको ढाँचामा राख्ने । 
     
  • आर्थिक कारोबार र बजेट सञ्चालनमा संलग्न प्रहरी कर्मचारीले प्रचलित आर्थिक ऐन, नियमहरू, तालुक तथा अर्थ मन्त्रालयबाट जारी निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने ।
     
  • प्रहरी कर्मचारीले कार्य प्रकृतिको आधारमा  जनपद वा प्राविधिक जुनसुकै समूहअन्तर्गतको जिम्मेवारीमा  रहेको भए तापनि नागरिकमैत्री अवधारणाअनुरूप सेवाग्राहीलाई सेवा प्रवाह गर्नु–गराउनुपर्ने ।
     
  • प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जवाफदेही ढंगबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक  तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने ।
     
  • प्रहरी कर्मचारीले तोकिएबमोजिम अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्ने  ।
     
  • प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीका–टिप्पणी गर्न नहुने ।
     
  •  प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यमको प्रयोग गर्न तथा सोही प्रयोजनले सूचना चुहावट वा सम्प्रेषण गर्न नहुने ।
     
  • प्रहरी कर्मचारीले सामाजिक सञ्जालबाट राष्ट्रियअखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्तिसुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट, शेयर, ट्वीट, रिट्वीटजस्ता क्रियाकलाप गर्न वा गराउन नहुने ।
  • कार्य सम्पादनको क्रममा प्रचलित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन, नेपाल सरकार तथा प्रहरी संगठनले अवलम्बन गरेको मानवअधिकारसम्बन्धी सिद्धान्तको संरक्षण, सम्बर्द्धन तथा परिपालना गर्नुपर्ने ।
     
  • अभिवादनस्वरूप हात मिलाउनु स्वाभाविक भए तापनि विपरीतलिंगीलाई मौका पाउना साथ थपथपाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरेबापत स्पर्श गर्न पाउने मनसायले विपरीतलिंगीलाई धाप मार्नु नहुने।
     
  • कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने ।