Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कृष्ण सुवेदी
२०७७ भदौ २९ सोमबार २२:०३:००
Read Time : > 8 मिनेट
ब्लग डिजिटल संस्करण

राजनीतिक विचलनमा उदाउने समाजवादी युवाहरूको पक्षमा 

Read Time : > 8 मिनेट
कृष्ण सुवेदी
२०७७ भदौ २९ सोमबार २२:०३:००

युवाहरूले राष्ट्र निर्माणमा ठूलो भूमिका खेल्ने गर्छन् । उनीहरूसँग आफ्नो देशलाई विकास गर्न र प्रगतितर्फ लैजाने ठूलो शक्ति हुन्छ । उनीहरू देशभित्र सामाजिक सुधार ल्याउनका लागि जिम्मेवार छन् । देशका युवाले राष्ट्रको भविष्य निर्धारण गर्न ठूलो भूमिका खेलेका हुन्छन्, तर विश्वमा केही यस्ता देश छन्, जहाँ साना तथा नयाँ देश भएर पनि बूढा नेताहरू नै राजनीतिमा हावी भएका छन् । त्यस्ता देशमा राजनीतिले धेरै युवालाई संलग्न गरिरहेको छ भने यसले उनीहरूको चासो पूरा पनि गर्ने गरेको छ । मलेसियाजस्ता देशमा यसको उदाहरण पाइन्छ । यसका अलावा विश्वमा अरू पनि यस्ता उदाहरण छन्, जसले देश र जनताका लागि निःस्वार्थ काम गरेर इतिहासमा सफल नाम लेखाएका छन् । ली क्वान, जिम्मी कार्टर, सिन्जो आबे, नेल्सन मन्डेला, अटलबिहारी बाजपेयी, एन्जेला मर्केल, सी जिनपिङ, जोको विदोदो, भ्लादिमिर पुटिनजस्ता नेताहरूले आफ्नो उमेर ढल्किँदै गए पनि राष्ट्रका लागि उल्लेखनीय योगदान दिएका छन् । 

विश्वका सबैभन्दा पाका ९४ वर्षीय मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहमदले रोयटर्सलाई एक अन्तर्वार्तामा भने, ‘हामी युवाहरूको आदर्शवादमा विश्वास गर्दछौँ, ताकि उनीहरूले पनि वृद्धहरूका अनुभव र विचारलाई सम्मान गरून् ।’ हाम्रो जस्तो अल्पविकसित मुलुकमा परम्परावादी राजनीतिक आस्थाभन्दा बाहिरका युवालाई राजनीतिक सहभागितामा निषेध गरिन्छ वा राजनीतिक उम्मेदवारको रूपमा धावा बोलिन्छ । विकसित मुलुकमा राजनीति सामान्यतया राजनीतिक रूपले अनुभवी युवाहरूले बहस गर्ने ठाउँको रूपमा लिइन्छ ।

अन्तरसंसदीय युनियन (आइपियू)का अनुसार विश्वमा २० देखि ४४ वर्षबीचका व्यक्तिहरूले विश्वकै ५७ प्रतिशत भोट हाल्छन्, तर विश्वका २६ प्रतिशत सदस्य अर्थात् १.९ प्रतिशत मात्र युवा सांसद निर्वाचित भएर आउँछन् । ३० वर्षभन्दा कम उमेरका युवाले विश्वका सांसदहरूको १.९ प्रतिशत मात्र हिस्सा ओगटेका छन् । जबकि युवाहरू प्रायः विश्वभरि प्रजातन्त्रको आन्दोलनमा केन्द्रीय र उत्प्रेरकको भूमिकामा हुन्छन् । नेपालकै सन्दर्भमा पनि युवालाई सामाजिक समूहमा आधारित राजनीतीकरण गरिन्छ । 

सन् २०१९ मा युवा सहभागिताको बारेमा तयार पारिएको रिपोर्टअनुसार ३० वर्षभन्दा कम उमेरका युवाले विश्वका सांसदहरूको २ प्रतिशतभन्दा कम हिस्सा बनाउँछन् । विश्वको एकल र तल्लो संसदमा ३० प्रतिशत सांसद ३० वर्षभन्दा मुनिका छैनन् । संसारको माथिल्लो सदनमा ८० प्रतिशतभन्दा बढी सांसद ३० वर्षभन्दा माथिल्लो उमेरका छन् । विश्वको कुनै पनि संसद्को माथिल्लो सदनमा ३० वर्षभन्दा कम उमेरका सदस्यको १० प्रतिशतभन्दा बढी संख्या पुगेको छैन । विश्वका कुल सांसदहरूको १.९ प्रतिशत संख्या ३० वर्षभन्दा कम उमेरका छन्, जुन चाहिँ सन् २०१८ मा १.६ प्रतिशतबाट बढेर आएको हो । पुरुष सांसदहरू प्रत्येक उमेरसमूहमा आफ्ना महिला समकक्षीहरूको संख्याभन्दा बढी छन् ।

युवा सांसदहरूमा लैंगिक असन्तुलन एकदम बढेर गएको छ, जहाँ पुरुष र महिलाको अनुपात करिब ३५ र ६५ को हाराहारीमा छ । भर्खरका चुनावहरूले के देखाएको छ भने ४५ वर्षभन्दा कम उमेरका युवा सांसदहरूप्रति विश्वव्यापी आशा बढेर गएको छ । युवा कोटा, कम उमेर, समानुपातिक प्रतिनिधित्व र समावेशी संसद् सबै युवा सांसदहरूको संख्या बढाउने कारक हुन् । इक्वेडर, फिनल्यान्ड, नर्वे र स्विडेन संसारमा एक मात्र त्यस्तो संसद् भएका देश हुन्, जहाँ १० प्रतिशतभन्दा बढी सदस्य ३० वर्षभन्दा कम उमेरका हुन्छन् । अन्डोरा, डेनमार्क र इक्वेडरमा संसद्को तल्लो वा एकल सदनमा ४० वर्षभन्दा कम उमेरका सांसदहरूको अनुपात सबैभन्दा बढी छ, अर्थात् ४० प्रतिशत छ । 

बेल्जियम, भुटान र केन्यामा संसद्को माथिल्लो सदनमा ४० वर्षभन्दा कम उमेरका सांसदहरूको अनुपात अन्य मुलुकको भन्दा बढी छ । अझ अन्डोराको एक सदनात्मक संसद्मा त करिब ४३ प्रतिशत सांसद ४५ वर्षभन्दा मुनिका छन् । इथियोपिया र ओमानको संसद्को तल्लो सदनमा चुनाव जितेर आउने सांसदहरू ६० प्रतिशतभन्दा बढी ४५ वर्षमुनिका छन् । भुटानको संसद्को माथिल्लो सदनका ८० प्रतिशतभन्दा बढी सांसद ४५ वर्षमुनिका छन् । 

२५ देखि ३५ वर्षभन्दा कम उमेरका युवाहरू राजनीतिक दलहरूले सबैभन्दा बढी खोज्ने राजनीतिक समूहमा पर्छन् । सबै राजनीतिक दलहरूले युवालाई निर्वाचन अभियान, राजनीतिक प्रदर्शन, जुलुस, र चुनावको मुख्य सहयोगीका रूपमा लक्षित गर्छन् । सबै पार्टी, ¥याली र विरोध प्रदर्शनमा राजनीतिक दलहरूमा युवाहरूको संलग्नता प्रस्ट देखिन्छ । राजनीतिमा उनीहरूको ठूलो उपस्थिति हुँदाहुँदै पनि युवाले बूढा राजनीतिज्ञहरूको जस्तो अवसर पाउँदैनन् । धेरै युवाका लागि राजनीतिक दलहरूसँग सक्रिय संलग्नता रोजगारीका लागि आमनिर्वाचित स्रोतमा आधारित हुँदैन, चाहे चुनिने पद वा दलहरू जतिसुकै प्रजातान्त्रिक किन नदेखियून् ।

राजनीतिज्ञ र निर्वाचित प्रतिनिधिहरूले सार्वजनिक प्रणालीलाई सुधार गर्ने र युवा रोजगारीका अवसरहरू सिर्जना गर्ने उपाय पत्ता लगाउने नैतिक जिम्मेवारी निर्वाचित भएपछि पूरा गर्दैनन् । सबभन्दा चाखलाग्दो कुरा के छ भने युवा राजनीतिक कार्यकर्ताले पनि मुख्य मुद्दाहरू उठाउँदैनन्, जस्तै– सार्वजनिक अनुदानप्राप्त कलेज र विश्वविद्यालयहरूमा उच्च गुणस्तरको शिक्षाको अभाव, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षा र दिगो विकास आदि । युरोप, अस्ट्रेलिया, क्यानडा, अमेरिकाजस्ता देशमा यस्ता परिवर्तन अक्सर युवाहरूले नै गरेका हुन्छन् ।

आधुनिक विश्वमा रोजगारी सिर्जना एक मात्र राजनीतिक मुद्दा र बहसको विषय रहन्छ । निर्वाचित प्रतिनिधिहरूको इच्छा र दर्शनको कमीका कारण धेरै युवा राजनीतिक कार्यकर्ता र समर्थक राजनीतिमा आउन रुचाउँदैनन् । 

विकासोन्मुख मुलुक विशेष गरी हाम्रो जस्तो भ्रष्ट र कार्यकर्ता मात्र पोस्ने राजनीतिक अभ्यासमा जनता नभएर कार्यकर्ता या पार्टीका भोटर्स मात्र हुन्छन् । जसले गर्दा सरकार सञ्चालन या देशको बागडोर सम्हाल्ने नेताहरू विगत ४०–५० वर्षबाट एकै अनुहार र एकै पार्टीका देखिँदै आएका छन् । अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनमा ६ महिनाअघिसम्म पनि को मान्छे राष्ट्रपतिको उम्मेदवार हुन्छ, थाहा हुन्न । अमेरिकामा यो शताब्दीमा नै सबैभन्दा बढी रुचाइएका व्यक्ति बाराक ओबामा सन् २००९ मा राष्ट्रपति पदका लागि डेमोक्रेट्सबाट चुनाव लड्दा उनलाई कमैले चिन्थे ।

तर, हाम्रो जस्तो देशमा विगत ५० वर्षबाट नै एकै अनुहारका नेताहरू सत्ता र दलको शीर्ष स्थानमा छन्, जसले दिगो आर्थिक, सामाजिक विकासभन्दा पनि भ्रष्टाचार र परिवारवादलाई बढावा दिइरहेका छन् । पार्टीका युवाहरू यस्तो घिनलाग्दो हर्कतलाई समर्थन गर्छन् भने सामाजिक युवा यस्तो भ्रष्ट हर्कतको विरुद्धमा आवाज बुलन्द गरिरहन्छन् । अझ परिवर्तनका लागि उनीहरू सामाजिक सञ्जालमा धेरै सक्रिय हुन्छन्, जसले गर्दा राज्य, नेता र तिनका भ्रष्टाचारी कर्तुतहरू जनतासामु ल्याउन सजग हुन्छन् । 

नेपालमा मात्र हैन, विश्व इतिहास हेर्ने हो भने पनि प्रायः बूढा नेताहरू धेरै वर्षसम्म शासन गर्ने र भ्रष्ट भएर निस्कने गरेको देखिन्छ । यो अभ्यास प्रायः युवा नेताहरूमा देखिँदैन । धेरै वर्षसम्म शासन गरेर भ्रष्टाचार बढी गर्ने नेताहरू विशेष गरेर अफ्रिकन, ल्याटिन अमेरिकन र दक्षिण एसियन छन् । जिम्बाबेका राष्ट्रपति रबर्ट मुगाबे, जसले देशलाई स्वतन्त्र बनाए पनि ३७ वर्षसम्म शासन गरेर करोडौँ डलर भ्रष्टाचार गरे । नाइजेरियाका राष्ट्रपति सानी अबचा, जसले पाँच वर्षमा ५ अर्ब डलर भ्रष्टाचार गरे । यसरी नै जाइर, (हाल कंगो प्रजातान्त्रिक गणतन्त्र)का राष्ट्रपति मोबुटु सेसे सेकोले ३२ वर्ष शासन गर्दै ५ अर्ब डलर भ्रष्टाचार गरे । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस, जसले २१ वर्ष शासन गरेर १० अर्ब डलर राष्ट्रलाई नोक्सान पुऱ्याए । 

इन्डोनेसियाका कुख्यात राष्ट्रपति मोहम्मद सुहार्तो, जो मानव इतिहासका सबैभन्दा भ्रष्ट र फासिस्ट शासक थिए, उनले ३१ वर्ष शासन गरेर ३५ अर्ब डलर राष्ट्रको सम्पत्ति दुरूपयोग गरे । निकारागुआका राष्ट्रपति अर्नोल्डो अलेमानले पाँच वर्ष मात्र शासन गरेर एक सय मिलियन डलर भ्रष्टाचार गरेर जेल जानुपऱ्याे । यसरी नै युक्रेनका प्रधानमन्त्री पावलो लाजारेंकोले १० वर्ष शासन गरेर दुई सय मिलियन डलर राज्यको ढुकुटी नष्ट गरे । पेरुका राष्ट्रपति अल्बर्टो फुजिमोरी, जो संसारमा एक भयानक कम्युनिस्टविरोधीको रूपमा पनि चिनिन्छन्, जसले ६ सय मिलियन डलर भ्रष्टाचार गरेका थिए ।

जिन–क्लाउड डुवालियर, जसले हैटीमा राष्ट्रपतिको रूपमा १५ वर्ष सत्ता हातमा लिएर ८ सय मिलियन डलर भ्रष्टाचार गरे । भ्रष्ट र कुख्यात राष्ट्र प्रमुखको रूपमा स्लोबोदान मिलोसेभिकलाई पनि लिने गरिन्छ, जसले सर्बिया र युगोस्लाभियामा ११ वर्ष शासन गर्दा एक बिलियन डलर भ्रष्टाचार गरेर हेग जानुपऱ्याे । उनी इतिहासमा एक क्रूर शासकका रूपमा दर्जिन्छन्, किनकि उनको कार्यकालमा दुई लाख अल्पसंख्यकको हत्या भएको थियो । उनी ‘बुचर अफ द बाल्कन’को नामले पनि चिनिन्छन् । ट्युनिसियाका राष्ट्रपति जनि अल–अबिदिन बेन अली पनि एक भ्रष्ट शासक हुन्, जसले २३ वर्षे शासनकालमा २.६ अर्ब डलर भ्रष्टाचार गरेर देश डुबाएका थिए । 

यी त थिए विश्वमा लामो समय सत्तामा बसी देशलाई कंगाल बनाउने राष्ट्रप्रमुखहरू, तर केही यस्ता राष्ट्रप्रमुखहरू पनि छन्, जसले आफ्नो उमेर ढल्कँदै जाँदासमेत देशका लागि नै योगदान गरिरहे । उरुग्वेका ८५ वर्षीय राष्ट्रपति होसे मुजिका एक यस्ता उदाहरण हुन्, जसले आफ्नो सारा सम्पत्ति राष्ट्रलाई दान दिएर ८५ वर्षको उमेरमा पनि खेती गरेर बसेका छन् । उनी संसारकै गरिब राष्ट्रप्रमुख हुन्, जो जनतामाझ अति नै लोकप्रिय छन् । उनले राज्यबाट कुनै सेवा, सुविधा, भत्ता, तथा सुरक्षा लिएका छैनन् । भ्रष्ट पृष्ठभूमिबाट नआएका, इमानदार, पढेलेखेका र राजनीतिक आस्थासँगै सामाजिक र व्यावसायिक जीवनमा समेत सक्रिया रहेका यस्ता व्यक्तिहरू पनि छन्, जसले कलिलो उमेरमा नै सबैको मन जितेर राज्य सञ्चालन मात्र हैन, परिवर्तनको उभार पनि ल्याएका छन् । 

अस्ट्रियाका सेबस्टियन कुर्ज, जो ३३ वर्षको उमेरमा गठबन्धन सरकार गठन गरेपछि विश्वको सबैभन्दा कान्छो राष्ट्रप्रमुख बन्न पुगेका छन् । फिनल्यान्डमा सन्ना मारिन विजय भएर आएकी छन्, जसको उमेर मात्र ३४ वर्षको छ । उनी एक असल भिजन भएकी नेत्री हुन् । त्यस्तै, युक्रेनमा वकिल ओलेक्सी गोन्चार्कलाई अगस्ट २०१९ मा प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको थियो, त्यसवेला उनको उमेर ३५ वर्षको मात्र थियो भने उनलाई प्रधानमन्त्री चुन्ने राष्ट्रपति भोलोडिमिर जेलेन्स्की स्वयं भने ४१ वर्षका थिए । साल्भाडोरमा कन्जरभेटिभ पार्टीका धनाढ्य नायब बुकेले जुन २०१९ मा ३७ वर्षको उमेरमा राष्ट्रपतिको रूपमा शपथ लिए ।

एन्डोरामा पूर्वन्यायमन्त्री जेभियर एस्पट जामोरा मे २०१९ मा ३९ वर्षको उमेरमा फ्रान्स र स्पेनबीचको सानो देशको प्रमुख बने । कोस्टारिकामा पत्रकार तथा पूर्वश्रममन्त्री कार्लोस अल्वाराडोले मे २०१८ मा ३८ वर्षको उमेरमा राष्ट्रपति बन्नका लागि चुनाव जिते । न्युजिल्यान्डमा जैसिंडा अर्डरन ३७ वर्षकी थिइन्, जब उनले अक्टोबर २०१७ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएकी थिइन् । लियो वराडकर जुन २०१७ मा आयरल्यान्डका कान्छो प्रधानमन्त्री हुँदा उनी जम्मा ३८ वर्षका मात्र थिए । फ्रान्समा ३९ वर्षको उमेरमा बैंकर इमानुएल म्याक्रोनले सन् २०१७ मेमा फ्रान्सको सबैभन्दा कान्छो राष्ट्रपति बन्ने अवसर प्राप्त गरे । उनी अहिले पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोजत्तिकै लोकप्रिय छन् । 

एस्टोनियामा सेन्ट्रिस्ट जुरी रतासलाई नोभेम्बर २०१६ मा ३८ वर्षको उमेरमा प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको थियो । उनले २०१४ मा पदभार ग्रहण गर्दा ३४ वर्षका तवी रोइवास राष्ट्रपति थिए । उनी पनि युवा नेता नै थिए । माल्टामा प्रधानमन्त्री जोसेफ मस्कटले मार्च २०१३ मा ३९ वर्षको उमेरमा सत्ता लिए । प्रजातान्त्रिक सरकारहरूबाहेक अन्य उल्लेखनीय युवा नेताहरूले समेत देश चलाएका छन् । उत्तर कोरियाका किम जोङ उन र कतारका अमिर शेख तमिम बिन हमद अलथानी, यसका उदाहरण हुन्, तर उनीहरू जनताद्वारा प्रत्यक्ष चुनिएर आएका भने हैनन् । 

भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुक ३९ वर्ष भएका छन्् । उनी विश्वका युवा राजाहरूमध्ये सबैभन्दा लोकप्रिय छन् । जहाँ युवाले शासन गर्दछन्, त्यहाँको परिवर्तन छिटो र दिगो देखिएको छ । अधिकांश युरोपियन मुलुक विकसित मात्र हैन, भ्रष्टाचारमुक्त, नैतिक रूपले संस्कारी, खुसी र समृद्ध छन् । उनीहरूमा लामो र दिगो भिजन हुन्छ भने परिवारवादबाट पनि टाढा रहन्छन् । हाम्रो देशमा सबै प्रदेशमा र संघमा निर्वाचित सांसदको औसत काम गर्ने उमेर अन्य देशको तुलनामा बढीमा ५६ वर्ष हुनुपर्ने हो । यद्यपि, यी सारा उम्मेदवारहरूमध्ये करिब ३० प्रतिशत ४५ वर्षभन्दा कम उमेरका छन् । आश्चर्य त के छ भने कम उमेरमा चुनाव जित्ने धेरै उम्मेदवार पनि राजनीतिक परिवारका नै छन् र ती सबै राजनीतिक स्वार्थकै वरिपरि घुमिरहन्छन् । 

सन् २०१७ मा भएको संसदीय निर्वाचनमा २२.५ सांसद ४५ वर्षभन्दा कम उमेरका थिए, जुन त्योभन्दा अघिको निर्वाचनको तुलनामा राम्रो थियो । तर, अधिकांश युवा प्रतिनिधि ठूला र परम्परावादी दलकै छन् । राजनीतिक नेता र निर्वाचित प्रतिनिधिहरूले सार्वजनिक महŒवका विषयमा सुधार गर्न पर्याप्त कार्य गरिरहेको देखिँदैन, जसमा युवाको भविष्यलाई आकार दिने काम गरिन्छ । अहिलेको कोरोनाको महामारीमा माउ पार्टीले त कहीँ कतै केही गरेनन् नै, तिनीहरूका युवा संगठनसमेत निदाएर बसेका छन् ।

नेपालको पहिलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा मात्र दुई लाख ५० हजार सक्रिय कार्यकर्ता छन् भने नेकपामा करिब पाँच लाखको हाराहारीमा युवा छन्, तर सामाजिक कार्यमा भने सहभागिता साह्रै न्यून छ । बरु आजको युग बुझेका र पढेका युवाहरू स्वतः सामाजिक सेवामा खट्ने गरेका छन् । राजनीतिक दलका युवा कार्यकर्ता भ्रष्टाचारमा लिप्त हुँदा हन्ड्रेड ग्रुप, टुँडिखेल अकुपाई, इनफ इज इनफ, जोइन्ट ह्यान्ड्स फर हंगरजस्ता युवाहरूले यस्तो महामारीमा लाखौँ मजदुर, गरिब तथा जनवारलाई खाना मात्र खुवाएका छैनन्, सरकारलाई खबर्दारी गरेर राष्ट्रको ढुकुटी अरू दोहनबाट देशलाई बचाइरहेका छन् । 

वास्तविक प्रजातन्त्रको कुरा गर्ने हो भने यो वास्तविक हुनुपर्छ, किनकि त्यहाँ सबैजनालाई निर्णय तहमा भाग लिनका लागि ठाउँ राखिएको हुन्छ । युगान्डाजस्तो देशको संसद्मा प्रतिनिधित्व गर्ने युवा महिला र पुरुष दुवै बराबर हुने कुरालाई कानुनले नै पारित गरेको छ । केन्यामा त झन् ५० प्रतिशत महिला हुनैपर्छ, त्यसमा पनि ५० वर्षभन्दा मुनिकाको संख्या लगभग ६० प्रतिशत छ । हाम्रो जस्तो देशमा राष्ट्रिय युवा परिषद् ऐन र राष्ट्रिय युवा नीति युवाहरूलाई आफ्नो सम्भाव्यतामा पुग्नका लागि सक्षम वातावरण निर्माण गर्न महत्वपूर्ण अग्रदूतको रूपमा लागू गरिनुपर्छ, जसले गर्दा हामी पनि त्यो क्षमतामा पुग्छौँ । 

विकासोन्मुख मुलुकमा युवाहरू राजनीतिक दलको छातामुनि नै अल्झने हुँदा उनीहरूमा ज्ञानको अपर्याप्तता, सामाजिक दायित्वको कमी, नागरिक कर्तव्यको भावनामा कमी, सामाजिक पहुँचप्रतिको प्रभावकारिता कम हुनु, युवापुस्तामा गरिबी र राजनीति अझै पनि एकसाथ अघि बढ्नु, जसले गर्दा युवाहरू सामाजिक सेवा, असल शासन र परिवर्तनको रूपमा राजनीतिमा नलागी राजनीतिलाई आयआर्जनको रूपमा लिनु जस्ता विषयले परिवर्तन असम्भव भएको छ । त्यसैले परम्परागत सोच भएका राजनीतिक दलहरूभन्दा अलग रहेर युवाहरूले दिगो सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन गर्नका लागि अहं भूमिका खेल्नुपर्छ ।

युवाहरूले गतिशीलतालाई बुझ्नुपर्दछ भने बूढा राजनीतिज्ञहरूले उनीहरूका सल्लाहकार भएर बुद्धिमतापूर्वक युवाहरूको समयको उपयोग गर्नुपर्छ । युवाका लागि मुख्य चुनौती भनेको भ्रष्ट राजनीतिक तथा सामाजिक परिपाटी र ट्रेड युनियनले गाँजेको कर्मचारी संयन्त्र हुन्, यिनीहरूमा सुधार ल्याउने जिम्मा युवाहरूकै हुन्छ । युवा राजनीतिमा युवाको संलग्नतालाई युवाशक्तिको रूपमा लिँदै देश निर्माणको ठूलो उद्देश्य पूरा गर्न सकिन्छ । युवा नेताहरू आफ्ना राजनीतिक मालिकहरूको एजेन्डाको सेवाका लागि रखेल मात्र रहनु हुँदैन, उनीहरूले विकास र राष्ट्रको हितमा आफ्नै आवाज दिनुपर्दछ ।