मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २८ आइतबार
  • Tuesday, 17 December, 2024
हात्तीसारमा कृष्ण खतिवडा
२o७७ भदौ २८ आइतबार o६:१६:oo
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

हात्ती पाल्नै सकस

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २८ आइतबार o६:१६:oo

कोरोना महामारी लम्बिँदै जाँदा पर्यटकीय गतिविधि सुनसान भएपछि हात्तीको पेट कसरी भर्ने भन्ने चिन्तामा चितवनका हात्तीधनी

पर्यटक पिठ्युँमा बोकेर जंगल घुमाउने सौराहाका हात्ती यति बेला फुर्सदिला बनेका छन् । सिजनमा हात्तीलाई जंगल सफारी गर्ने पर्यटक बोक्न भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले पर्यटकीय सिजन सुरु भइसक्दा पनि हात्तीले काम पाएका छैनन् । हात्ती फुर्सदिला भएसँगै हात्तीधनीहरूको ओठमुख सुक्न थालिसकेको छ । पर्यटक बोकेपछि हात्तीले हातमुख जोर्न मात्र होइन, लाखौँ आम्दानी पनि गरिदिन्थे । हात्तीकै कारण सौराहाको पर्यटन व्यवसाय फस्टाएको छ । तर, कोभिडको महामारीसँगै पर्यटक घुमफिरमा निस्कन छाडेपछि हात्ती फुर्सदिला बनेका हुन् । पछिल्लो ६ महिनायता हात्तीले काम पाइरहेका छैनन् ।

सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार चितवनमा ७० भन्दा बढी हात्ती छन्, जसमध्ये सौराहामा मात्र ५५ वटा छन् । पृथ्वीकै सबैभन्दा ठूलो जनावर हात्तीको आहारा पनि सामान्य खर्चले पुग्दैन । एउटा हात्ती पाल्न दैनिक दुई हजार रुपैयाँभन्दा बढीको आहारा मात्र खुवाउनुपर्ने हुन्छ । अरू औषधोपचार हिसाब छुट्टै भइहाल्यो । पर्यटकीय गतिविधि सुनसान भएपछि हात्तीको पेट के गरेर भर्ने भन्ने चिन्ताले यहाँका हात्तीधनीहरूलाई सताउन थालेको छ ।

विश्वभरि नै कोभिड संक्रमण झन्झन् बढ्दै गइरहेको छ । नेपालमा आठ महिनापछि कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ । अझै कहिलेसम्म कोभिडको कहर रहिरहने हो, पर्यटक कहिलेदेखि घुम्न निस्कन्छन्, यसै भन्न सकिने अवस्था छैन । पर्यटनको भविष्य अनिश्चित भएसँगै सौराहाका होटेल व्यवसायी मात्र होइन, हात्तीधनीहरू पनि चिन्तित छन् । सौराहामा कतिपय होटेलले आफैँ हात्ती पालेका छन् । धेरैजसो होटेलले सहकारीका हात्ती प्रयोग गर्दै आइरहेका छन् । व्यक्ति विशेषले पालेका निजी हात्तीहरू सहकारीमार्फत जंगलमा पर्यटक घुमाउन प्रयोग हुँदै आइरहेको तिवारी बताउँछन् । लकडाउनका कारण पर्यटकीय गतिविधि ठप्प भएपछि पाल्न नसकेर हात्ती मालिकहरूले १० वटा हात्ती हटाइसकेको उनी बताउँछन् । 

सहकारीका लेखा संयोजक रमेश दाहाल सहकारीमार्फत राज्यलाई लाखौँ रुपैया राजश्व  तिर्ने गरेको बताउँछन् । ‘गत ५५ चैतसम्म ५५ लाख रुपैयाँ आन्तरिक राजश्व कार्यालय भरतपुरमा तिरेका छौ । त्यसयता व्यवसाय ठप्प हुँदा तिर्न सकेनौ,’ उनले भने, ‘गत वर्ष मात्र हामीले ८४ लाख रुपैयाँ राज्यलाई बुझाएका रहेछौं । कुनै वर्ष एक करोडभन्दा बढी पनि तिरेका छौ ।’ 

                                                                                  ....

साथीहरूसँग पार्टनरसीपमा १५ वर्षसम्म होटेल तथा रेस्टुरेन्ट व्यवसाय गरेका सौराहाका रामु चौधरीले यो काम छाडेर हात्ती भाडामा पाल्दै आइरहेका छन् । उनीसँग सुन्दरकली र रामकली नामका दुई हात्ती छन्, जसको आम्दानीले बितेको ६ वर्षदेखि परिवारको गुजारा चलाउँदै आइरहेका थिए । यही हात्तीको कमाइले आठ परिवारको खर्चसँगै बचत पनि गर्दै आइरहेका उनलाई अहिले हात्ती कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालिसकेको छ । ११ चैतयता हात्तीले काम पाएका छैनन्, तैपनि भाडाबापत उनले एउटा हात्तीको मासिक ५० हजार रुपैयाँ तिर्नुपर्छ । त्यतिले मात्र पुग्दैन, ठूलो ज्यानको हात्ती पाल्न दैनिक दुई हजार रुपैयाँभन्दा बढी लाग्छ ।

सौराहाका व्यवसायी युवराज पौडेलले कोभिडकै कारण भाडाको हात्ती फिर्ता गरिसकेका छन् । २०६३ देखि हात्ती पाल्दै आइरहेका उनीसँग अब एउटा आफ्नै हात्ती मात्र बाँकी छ । अवस्था सहज होला या सरकारी राहत पाइएला कि भन्ने आशामा उनले पाँच महिनासम्म भाडाको हात्ती पनि पालेकै हुन् । राहत त परको कुरा, उनले यो विषम परिस्थितिमा निकुञ्जको घाँससमेत खुवाउन पाएनन् । र, १ भदौमा भारतबाट ल्याएको भाडाको हात्ती र माउतेलाई फिर्ता पठाउन उनी बाध्य भए । उनी भन्छन्, ‘हात्ती फिर्ता गरेपछि मलाई मासिक ५५ हजार रुपैयाँ भाडा तिर्न‘पर्ने तनाव हटेको छ ।’ अहिले आफ्नो एउटा हात्तीलाई एकजना माउतेले हेरचाह गर्दै आएको उनको भनाइ छ । एउटा हात्तीको हेरचाहका लागि व्यवसायीले माउते र फनित गरी दुईजना राख्दै आएका छन् ।

  • आफूले पालेको हात्तीसँग रामु चौधरी

१२ वर्षदेखि हात्ती पाल्दै आएका कृष्ण खतिवडासँग सेयरकली र एकताकली नाम गरेका दुईवटा हात्ती छन् । उनले सेयरकलीलाई १२ वर्षअघि २६ लाखमा किनेका थिए भने ६ वर्षअघि ८० लाख रुपैयाँमा एकताकली ल्याएका हुन् । अझै एकताकली ल्याउँदाको ऋण तिरेर सकिएको छैन । उनी भन्छन्, ‘राम्रै आम्दानी हुँदै थियो, कोरोनाको कहरले चौपट बनायो ।’ भ्रमण वर्ष घोषणा भएसँगै उत्साहित भएका उनी कोभिडसँगै निराश बनेका छन् । अब उनले भैँसीपालनको सोच बनाएका छन् । उनका छोरा मन्जिल भन्छन्, ‘भैँसी पाल्ने विषयमा हाम्रो सल्लाह हुँदै छ, कोभिडको कहर बढ्दै गइरहे हजुरबुबाले गर्दै आइरहेको पेसामा रमाउनुको विकल्प छैन ।’

                                                                           ......

यी प्रतिनिधिमूलक घटना मात्र भए । चितवनमा सौराहाका अलावा मेघौलीमा पनि हात्ती चढाएर पर्यटकलाई जंगल सफारी गराउने काम हुन्छ । यस्तै, नवलपुर जिल्लाको अमलटारीमा पनि हात्ती सफारी गराइन्छ । त्यहाँको टाइगर टप्स थारू लजमा पालिएका हात्ती पनि कामविहीन बनेका छन् । बर्दियामा पनि हात्ती सफारी गराइन्छ । पर्यटक घुमफिर गर्न नआएपछि अहिले सबै हात्ती बेरोजगार बनेका छन् भने हात्ती मालिकको रोजीरोटी त गुमेको छ नै, सँगसँगै हात्ती पाल्न सकस पनि भइरहेको छ । 

बागमती प्रदेश सरकारले पर्यटन वर्ष २०२० को शुभारम्भ सौराहाबाट गरेको थियो । सामान्य जीवनस्तरका रामु चौधरी त्यो समय निकै खुसी थिए । उनले सोचेका थिए, ‘भ्रमण वर्षमा धेरै पर्यटक आउलान्, हात्तीले राम्रै काम पाएपछि राम्रै आम्दानी होला र आफ्नै हात्ती खरिद गरौँला ।’ अहिले भाइरल बनेको गीत ‘सोचेझैँ जिन्दगी रैनछ...’ भनेजस्तै भयो । भ्रमण वर्षमा पर्यटक खचाखच आउनुपर्नेमा कोभिड महामारीले विश्वभरिका मान्छे घरभित्र खुम्चिएर बस्नुप¥यो । मनग्य आम्दानी गरेर आफ्नै हात्ती खरिद गर्ने सपना देखेका उनलाई उल्टो १० लाख रुपैयाँ ऋण लागिसकेको छ । उनी भन्छन्, ‘आन्तरिक पर्यटक मात्र बोक्न पाए पनि खर्च उठ्ने थियो, यस्तै अवस्था रहिरहे साहुको हात्ती बुझाउनुको विकल्प रहँदैन ।’

हात्ती पाल्दा कति खर्च हुन्छ ?

व्यवसायीका अनुसार एउटा हात्तीका लागि दिनमा घाँस, पराल, पचास लिटर पानी, २० केजी धान वा गहुँको कुची, एक किलो चना र एक पाउ नुनसहित दुई क्विन्टल खानेकुरा आवश्यक पर्छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष तिवारीका अनुसार माहुते र सुसारे तथा खानपानमा हात्तीका लागि महिनामा ६० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ । ‘अहिले महामारीको अवस्था भएकाले गाउँमा हात्ती डुलाएर खुवाउने अवस्था पनि छैन । नत्र गाउँमा भएका अन्नहरू पनि संकलन हुने गर्थे,’ उनले भने ।

खानेकुराबाहेक हात्तीलाई ६/६ महिनामा नाम्ले जुकाको औषधि खुवाउनुपर्ने हुन्छ भने बेलाबेला हात्ती बिरामी पनि हुन्छन् । हात्तीबाट आम्दानी शून्य भएकाले अहिले व्यवसायीहरूले सरसापटी गरेर हात्तीका लागि खर्च जुटाइरहेका छन् । यी हात्तीहरूले सिजनमा मासिक कम्तीमा ५० हजार रुपैयाँ आम्दानी दिने गरेका थिए । सौराहामा आउने अधिकांश पर्यटक हात्ती चढेर जंगल घुम्न जान्छन् । हात्ती चढ्दा निकुञ्जलाई राजस्वसहित विदेशीले चार हजार दुई सय ५० रुपैयाँ, सार्क राष्ट्रका नागरिकले दुई हजार ७५० रुपैयाँ र नेपालीले एक हजार ३५० रुपैयाँ तिर्छन् ।

चरण क्षेत्र उपलब्ध गराइदिन माग

चितवनको पर्यटन हात्ती सयरमा अडिएको छ । हात्तीविनाको सौराहा कल्पना पनि गर्न सकिँदैन । तर, संकटका बेलामा राज्यले लाखौँ पर्यटकसँग जोडिएका हात्तीहरूलाई भने बेवास्ता गरेको हात्तीधनीहरूको गुनासो छ । उनीहरूको अर्को चिन्ता हात्ती भारतमा बेचिने हो कि भन्ने पनि छ । यहाँका हात्ती भारत पुगेमा फेरि चाहेर पनि किन्न नसकिने अवस्था आउने उनीहरू बताउँछन् । हात्ती बचाउन यहाँका हात्तीधनीहरूले तत्कालका लागि एउटै माग गरेका छन्, ‘निकुञ्जछेउको घाँसेमैदानमा हात्ती चराउन पाउनुपर्ने ।’ ‘निकुञ्जभित्रका हात्तीहरूलाई जंगलभित्र जहाँ पनि चर्न पाउने छुट छ, यो संकटका बेलामा हामीलाई पनि निकुञ्जको घाँसेमैदानमा हात्ती चराउने व्यवस्था गरिदिनुपर्‍यो,’ तिवारी भन्छन् । 

बद्रहनी गाउँ आडको राप्ती नदीपारि (गाईघाटमा) निकुञ्जले चैतदेखि करिब दुई महिना यहाँका निजी हात्तीलाई चर्न स्वीकृति दिए पनि जंगली जनावर र केन्द्रको निर्देशन भन्दै निकुञ्जले हात्ती चराउन अहिले रोक लगाएको छ । यहाँका हात्तीधनीहरूले माग गरेको घाँसेमैदान पनि यही हो । यो व्यक्तिको जमिन हो, तर नदीले कटान गरेर निकुञ्ज सिमानाभित्र पारेको छ । त्यहाँको जग्गाको लालपुर्जा अहिले पनि सौराहाका विभिन्न व्यक्तिको नाममा छ । तिवारीका अनुसार यहाँ करिब ३७ बिघा जग्गामा हात्ती चर्न मिल्ने राम्रो घाँसेमैदान छ । जुन बाढी आउँदा काम नलाग्ने हुन्छ । उनी भन्छन्, ‘खेर जाने घाँस हामीलाई दिनुस् भनेर यहाँका वार्डेन, वन मन्त्रालयदेखि सांसदसम्म गुहार्‍यौँ, तर महिनौँ बित्दासमेत माग सम्बोधन भएको छैन ।’ छिमेकी देश भारतमै हात्तीको संरक्षणका लागि त्यहाँको सरकारले अनुदान दिएर नि:शुल्क खाने सुविधा दिएको बताउँदै उनले भने, ‘हाम्रोमा खेर जाने निकुञ्जको घाँस पनि खुवाउन पाइएन ।’

तिवारीका अनुसार पछिल्लो दिनमा सामुदायिक वनले केही सहयोग गरे पनि पर्याप्त छैन । उनी भन्छन्, ‘हामीलाई सरकारले कि राहत देओस् होइन भने हाम्रो हात्ती सरकारले न्यूनतम रकम दिएर खरिद गरिदिओस् । यो हात्ती राज्यको सम्पत्ति हो । भोलि यसको क्षति राज्यलाई महँगो पर्न सक्छ ।’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्जमा हात्ती चराउन दिने कुरा नीतिगत विषय भएकाले माथिबाटै टुंगो लगाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले घरपालुवा हात्तीहरू निकुञ्जभित्र छिर्न नपाउने नीति छ ।’ पर्यटक शून्य भएर पाल्न नसकेपछि पर्यटन व्यवसायी युवराज पौडेलको घरमा रहेको हात्ती भारत पठाएका छन् ।