गुल्मी अस्पताल तम्घासमा धमाधम जटिल शल्यक्रिया हुन थालेका छन् । पछिल्लो समय अस्पतालले एक युवतीको अण्डदानी नलीको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
मुसिकोट नगरपालिका– २ की २० वर्षीया युवतीको करिब एक किलोको ट्युमरको शल्यक्रिया गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
पेट दुखेपछि ती युवती दुई हप्ताअघि गुल्मी अस्पताल तम्घास आइन् । उनी अविवाहित थिइन् । तर, पेट अस्वाभाविक ठूलो र गर्भवतीको जस्तै देखिन्थ्यो । अस्पतालका डाक्टरहरूले युवतीको पेटको भिडियो एक्सरे र पिसाब जाँच गरे ।
एक्सरे रिपोर्टमा पेटभित्र मासुको डल्लोजस्तो आकारमा ट्युमर भएको पत्तो लाग्यो । शल्यक्रियाबाहेक उपचारको अर्को विकल्प थिएन । सुरुमा परिवारलाई अवस्था र उपचारको बारेमा जानकारी मात्रै दिएको पच्याले बताए ।
युवतीलाई पीडाले च्याप्दै थियो । ट्युमर ठूलो र अण्डादानी नलीमा भएकाले डाक्टरहरूलाई शल्यक्रियामा ठूलो जोखिम थियो ।
करिब दुई हप्तासम्म युवतीको परिवार र डाक्टरहरूले सल्लाह गरे । परिवारको सल्लाहपछि भर्खरै अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए ।
युवतीको शल्यक्रिया सफल भयो । पेटमा लामो समय रहेको करिब एक किलोको मासुको डल्लो डाक्टरहरूले निकाले । शल्यक्रिया सफल भएपछि परिवार पनि खुसी भए ।
गुल्मी अस्पतालमा अहिलेसम्म यस्तो प्रकारको रोगको उपचार अर्थात् शल्यक्रिया भएका थिएनन् । नागरिकलाई यसको उपचार र शल्यक्रियाका लागि पाल्पा वा बुटवल जानुपर्ने बाध्यता थियो ।
अहिले युवती अस्पतालबाट डिस्चार्जसमेत भएको अस्पतालका सूचना अधिकारी डाक्टर दिभक बस्यालले जानकारी दिए । केही समयअघि पनि गुल्मी अस्पतालमा ८१ वर्षीया दुईजना वृद्धको हर्नियाको सफल शल्यक्रिया गरिएको थियो ।
पाठेघरबाहिर गर्भाधान भएर अण्डबाहिनी नली फुटेका दुई महिलाको पनि सफल शल्यक्रिया गरिएको बस्यालले बताए । त्योबाहेक जटिल प्रकारका प्रसूतिको र एपेन्डिक्सको पनि अस्पतालमा थुप्रै सफल शल्यक्रिया भएका छन् ।