१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कसरी सञ्चालन गर्न सकिन्छ खेलकुद ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२७:oo

लामो समय खेल क्षेत्र ठप्प हुँदा धेरैजसो खेलका खेलाडी पलायन हुने अवस्थामा पुगेका छन्, खेलाडीहरूको भविष्य सुनिश्चित गर्न सरकार, मन्त्रालय र राखेपले खेल सुचारु गर्न प्रोटोकल निर्माण गर्न आवश्यक

कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनाएको ६ महिना भइसकेको छ । आर्थिक रूपमा प्रत्येक राष्ट्रलाई कमजोर बनाएको छ । सबै क्षेत्र तहसनहस बनेका छन् । अझ खेलकुदमा त यसले नराम्रोसँग असर पुर्‍याएको भन्न सक्छौँ । नेपालजस्तो अविकसित राष्ट्रको खेलकुदको कुरा गर्दा अब यो कसरी र कुन रूपमा अगाडि बढ्नेछ भन्ने प्रश्न छ । 

समयमै खेलकुद चलायमान बनाउन सकिएन भने हाल उपलब्ध भएका जो अन्तर्राष्ट्रिय क्षेत्रमा पदक ल्याउन सकिने खेलाडीसमेत पलायमान हुन सक्ने सम्भावना छ । भर्खर खेलकुदमा जमाएका खेलाडी अन्यन्त्र लाग्न सक्छन् पनि । यस्तो भयावह अवस्था आउँदा मुलुकले पदक जित्न सक्ने खेलाडी उत्पादन गर्न पुनः शून्य लेबलबाट गृहकार्य गर्नुपर्छ । 

भविष्यमा यस्तो अवस्था ननिम्त्याउनका निमित्त पनि सम्बन्धित निकायले बेलामै विचार पुर्‍याउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा दुईपटक सागका स्वर्णपदक विजेता दीपक श्रेष्ठ मान्छन् । श्रेष्ठ भन्छन्, ‘अहिलेको यो अवस्थामा हामीले खेलाडी उत्पादन गर्न सक्ने अवस्थामा छैनौँ, खेलकुदलाई कसरी चलायमान गर्ने भन्ने पक्षमा सम्बन्धित निकायले सोच्न जरुरी भइसकेको छ ।’ लामो समय खेलकुद ठप्प हुँदा खेलाडी मानसिक रूपमै कमजोर भएको उनको बुझाइ छ । 

‘खेलाडी मैदानमा जान पाएका छैनन्, जब खेलाडी नियमित प्रशिक्षणमा रहँदैन, त्यस बेला उसको स्तर पनि घट्ने स्वाभाविक हो, पुरानै अवस्थामा आउन निकै समय लाग्छ,’ श्रेष्ठले भने, ‘खेलाडीको स्तर मेनटेन गर्न अब खेल सूचारु गर्नुपर्ने बेला भइसकेको छ, यसका लागि सम्बन्धित नियकाले नीति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ 

यसो त कोभिड–१९ को महामारी बेला ११ चैतपछिको लकडाउन खुकुलो हुँदा नेपालमा खेल क्षेत्र सुचारु नभएको होइन । फुटबल, टेबलटेनिस, ब्याडमिन्टन, क्रिकेट र स्क्वासका खेलाडीले समय मिलाएर प्रशिक्षण गरे । तर, काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमित संख्या बढ्दै जाँदा निषेधाज्ञा जारी भयो ।

अर्केतिर सामान्य हेलचक्र्याइँले खेल क्षेत्रका खेलाडी, पदाधिकारी तथा प्रशिक्षकसमेत कोरोना संक्रमित हुन पुगे । यसले खेल क्षेत्र पनि असुरक्षित नरहेको उदाहरण प्रस्तुत भयो । अहिले पुरानो गल्ती नदोहोर्‍याउने किसिमले खेल क्षेत्र सुचारु हुनुपर्ने माग श्रेष्ठले राखेका छन् । ‘हो त्यस बेला सामान्य गल्तीले पनि खेलाडीदेखि पदाधिकारी संक्रमित भए, अब यस्तो मिल्दैन, सरकार, विश्व स्वास्थ संगठन (डब्लुएचओ) र खेलकै प्रोटोकल अनिवार्य रूपमा लागू हुनुपर्छ, खेल सुचारु गर्ने यो नै उत्तम उपाय हो,’ श्रेष्ठले भने । 

युरोपियन राष्ट्रमा कोरोना महामारीका रूपमा फैलिँदा खेलकुद सुरु भए । उनीहरूले डब्लुएचओ तथा सम्बन्धित निकायले तयार पारेकै प्रोटोकल अनिवार्य लागू गरे । खेल सञ्चालन गर्न सजिलो होस् भनी कतिपय खेलका नियमसमेत परिवर्तन भए । युरोपमा दर्शकरहित सबै फुटबल प्रतियोगिता सम्पन्न भए । अब त्यही नियममै युरोपमा नयाँ सिजनको तयारी भइरहेको छ । 

नेपालमा पनि यस किसिमको नीति अपनाउनुपर्ने अवश्यकता देखिन्छ । यद्यपि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल पनि लामो समयसम्म खेल क्षेत्र ठप्प पार्न नहुने धारणा राख्छन् । सदस्यसचिव सिलवाल भन्छन्, ‘खेलकुदलाई लामो समय रोकेर राख्दा खेलाडीलाई धेरै असर गर्छ, म पनि खेल क्षेत्र सुचारुको पक्षमा छु ।’ अहिले राखेप पर्ख र हेरको अवस्थामा छ । कोरोनाको अवस्था नर्मल भए खेल क्षेत्रलाई अगाडि बढाउने योजना रहेको सिलवालले बताए । 

‘नर्मल भएको अवस्थामा हामी सातै प्रदेशमा गएर त्यहाँका खेलाडी, प्रशिक्षक तथा प्रावधिकहरूलाई मानसिक रूपमा बलियो पार्छौँ, उनीहरूलाई मोटिभेटिभ बनाउनुपर्छ,’ उनले भने, ‘खेलाडीको भविष्य सोच्नुपर्ने बेला भइसकेको छ ।’ सरकार, डब्लुएचओ तथा सम्बन्धित खेल संघले निर्माण गरेको नियमअनुसारै खेलकुद सञ्चालन गर्ने पक्षमा आफू रहेको सिलवालले बताए । भन्छन्, ‘अगाडि जे भए पनि अब अनिवार्य रूपमा नियम पालना गराएर मात्र खेल सुचारु हुनेछ।’ 

खेल क्षेत्र ठप्प भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्ना खेलाडी फिट बनाउन ‘भर्चुअल’ अभ्यासको अवधारणा ल्याएको छ । प्रशिक्षकले जिल्लामा रहेका खेलाडीलाई फिट बनाउने उद्देश्यका साथ भर्चुअल प्रशिक्षण दिने निर्देशन एन्फाले दिएको छ । प्रतियोगिताअगाडि खेलाडीलाई फिट बनाउन नै यस्तो नीति ल्याएको एन्फाको भनाइ छ । 

अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गराउन समन्वयन भूमिका निर्वाह गर्ने संस्था नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालमा खेलकुद चलायमान बनाउन सरकार, खेलकुद मन्त्रालय तथा राखेपसँग छलफलको तयारी भइरहेको महासचिव नीलेन्द्रराज श्रेष्ठले बताए । ‘हामीले जसरी पनि खेल क्षेत्र सुचारु गर्नु नै पर्छ, सरकार, मन्त्रालय र राखेपसँग छलफलको प्रक्रिया अगाडि बढाएका छौँ,’ महासचिव श्रेष्ठले भने, ‘लामो समय यस्तै भइरहँदा खेलाडीको भविष्य अनिश्चित बन्न सक्छ, उनीहरूको स्तर यथावत् राख्न रिक्स उठाउन जरुरी छ ।’ 

प्रतियोगिता आयोजना गर्दा मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ । विनामापदण्ड प्रतियोगिता सुरु गर्न नहुने पनि उनको सुझाब छ । भन्छन्, ‘डब्लुएचओका अनुसार भौतिक दूरी राख्ने, सानिटाइज गर्ने र मास्क लगाउने हो, यसका साथै अब प्रतियोगिता सञ्चालन गर्नका निमित्त निश्चित मापदण्ड बनाउनु जरुरी छ, त्यसपछि मात्र खेल अगाडि बढाउन सकिन्छ ।’ 

ad
ad