१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o४:१o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

३६,६७२ जना कोरोनामुक्त भए

अहिलेसम्म ५१,९१९ जना संक्रमित भएकोमा १४,९२५ जना उपचाररत छन्, ३२२ को मृत्यु

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o४:१o:oo

नेपालमा परीक्षण प्रति १० लाखमा २८ हजार मात्रै, रुवान्डामा प्रति १० लाखमा ३४ हजार, भारतमा ३९ हजार, क्युवामा ४१ हजार, इराकमा ४२ हजार, माल्दिभ्समा २ लाख ३५ हजार, कतारमा दुई लाख ४२ हजार र युएईमा ८ लाख परीक्षण

....................

नेपालमा कोभिड तीव्र रूपमा फैलिएको छ, निको हुनेको संख्या पनि उल्लेखनीय छ । शुक्रबारसम्म संक्रमित भएका ५१ हजार नौ सय १९ मध्ये ३६ हजार ६ सय ७२ जना भाइरसमुक्त भएका छन् । अहिले १४ हजार नौ सय २५ जना उपचारको क्रममा छन् । तीन सय २२ को मृत्यु भएको छ । 

नेपालमा प्रति १० लाखमा मृत्युदर ११ छ । मृत्युदर बंगलादेशमा २८, पाकिस्तानमा २९, अफगानिस्तानमा ३६, भारतमा ५६ र माल्दिभ्समा ५७ छ । श्रीलंकामा भने मृत्युदर प्रति १० लाख शून्य दशमलव ६ मात्रै छ । 

अमेरिकामा संक्रमितको संख्या धेरै मात्र छैन, मृत्युदर पनि उच्च छ । जनसंख्याको हिसाबमा प्रति १० लाखमा अमेरिकामा पाँच सय ९४ जनाको मृत्यु भाइरस संक्रमणका कारण भएको छ । त्यस्तै, इटालीमा प्रति १० लाखमा मृत्युदर पाँच सय ८९ छ । तर, ब्राजिलमा मृत्युदर अमेरिका र इटालीभन्दा पनि धेरै छ । त्यहाँ प्रति १० लाखमा ६ सय १० को मृत्यु भएको छ । 

नेपालमा अहिलेसम्म आठ लाख २१ हजारको परीक्षण भएको छ, यो भनेको प्रति १० लाख जनसंख्यामा २८ हजार परीक्षण भएको छ । छिमेकी भारतमा प्रति १० लाखमा ३९ हजारको परीक्षण भएको छ । 

दक्षिण एसियामा सबैभन्दा धेरै परीक्षण माल्दिभ्सले गरेको छ । पाँच लाख जनसंख्या भएको माल्दिभ्समा एक लाख २७ हजारको परीक्षण भएको छ । यो संख्या प्रति १० लाखमा हिसाब गर्दा दुई लाख ३५ हजार हुन्छ । त्यस्तै, भुटानले पनि प्रति १० लाखमा एक लाख ४४ हजारका दरले परीक्षण गरेको छ । भुटानमा कुल जनसंख्या सात लाख ७३ हजार छ । 

पाकिस्तानमा प्रति १० लाखमा १२ हजार नौ सय, श्रीलंकामा ११ हजार ६ सय, बंगलादेशमा १० हजार दुई सय र अफगानिस्तानमा दुई हजार सात सयको परीक्षण भएको छ । 

परीक्षणमा खाडीको देश युएई अग्रपंक्तिमा छ । उसले प्रति १० लाखमा आठ लाख र बहराइनले सात लाखको परीक्षण गरेका छन् । त्यस्तै, युरोपमा डेनमार्क अगाडि छ । डेनमार्कले प्रति १० लाखमा चार लाख ९७ हजार, इटालीले एक लाख ५९ हजार र नेदरल्यान्डले एक लाख ६ हजारको परीक्षण गरेका छन् । 

अमेरिकाले प्रति १० लाखमा दुई लाख ७२ हजार, रसियाले दुई लाख ७३ हजार, चीनले एक लाख ११ हजारको परीक्षण गरेका छन् । 

अफ्रिकी देशमा रुवाण्डाले प्रति १० लाख जनसंख्यामा ३४ हजार नौ सय नौ, जिम्बाबेले १० हजार दुई सय र इथियोपियाले नौ हजार सात सय परीक्षण गरेका छन् ।

कोरोना संक्रमण उपत्यकाकेन्द्रित

कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकाकेन्द्रित भएको छ । यसअघि संक्रमण उच्च रहेको प्रदेश २ र प्रदेश ५ का जिल्लामा घट्दै गएको भए पनि उपत्यकामा भने बढ्दै गएको छ । शुक्रबार देशभर देखिएका संक्रमितमध्ये ४७ प्रतिशतभन्दा बढी उपत्यकामा पुष्टि भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये ६ सय ९६ जना काठमाडौं उपत्यकाकै छन् । काठमाडौंमा ६ सय २०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार सात सय आठ पुगेको छ । काठमाडौंमा आठ हजार सात सय २६, ललितपुरमा एक हजार ९२ र भक्तपुरमा आठ सय ९० जनालाई संक्रमण देखिएको छ । देशभर एक सय ७० जनाको आइसियूमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनीहरूमध्ये उपत्यकामा ९४ जना आइसियू र २२ जना भेन्टिलेटरमा छन् । 

अहिलेसम्म नेपालमा ५१ हजार नौ सय १९ जनालाई संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार ६ सय ७२ जना निको भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । लक्षण नभएका ६ हजार ६ सय ३४ जना घरमा बसेका छन् भने लक्षण भएका आठ हजार दुई सय ९१ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा कोरोनाबाट पाँचजनाको मृत्यु भएको छ । संक्रमण बढ्दै गएका वेला विगत चार दिनदेखि मृत्युदर बढेको छैन । शुक्रबार मृत्यु पुष्टि भएकामध्ये काठमाडौं, मोरङ, महोत्तरी, धनुषा र नवलपरासीका एक–एकजना छन् ।

सक्रिय संक्रमित कर्णालीमा न्यून, बागमतीमा उच्च

प्रदेशअनुसार सक्रिय कोरोना संक्रमित कर्णाली प्रदेशमा सबैभन्दा कम रहेका छन् । कर्णालीमा दुई सय ५३ संस्थागत आइसोलेसनमा र ९० जना घरमा बसिरहेका छन् । बागमती प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित छन् । बागमतीमा चार हजार आठ सय १० जना संस्थागत आइसोलेसनमा र दुई हजार पाँच सय एकजना घरमा बसिरहेका छन् । 

त्यस्तै, प्रदेश ५ मा एक हजार एक सय दुई संस्थागत आइसोलेसनमा र ६ सय ७८ जना घरमा छन् । प्रदेश २ मा दुई हजार एक सय ४५ जना घरमा र संस्थागत आइसोलेसनमा चार सय एकजना मात्रै छन् । गण्डकी प्रदेशमा संस्थागत आइसोलेसनमा नौ सय ६२ जना र घरमा एक सय, प्रदेश १ मा घरमा नौ सय ३७ र संस्थागत आइसोलेसनमा चार सय १९ जना छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पाँच सय ४४ जना संस्थागत आइसोलेसनमा र एक सय ८३ जना घरमा बसेका छन् ।

ad
ad