Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ११:५७:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगममा तेल चोरी : कागजात किर्ते गरी तेल चोर्न खोज्ने ट्यांकरचालक पक्राउ, ६ महिनाका लागि निलम्बन 

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ११:५७:००

आयल निगमको कागजात किर्ते गरेर तेल चोरी गर्ने योजना बनाएका ट्यांकरचालकलाई निगमले कारबाही गरेको छ ।

विगतमा ताला फोडेर तेल चोरी गर्ने, ट्यांकरको सबै तेल भारतीय पम्पलाई बेचेर रित्तो ट्यांकर फर्काउने, तापक्रम नोक्सानीको गलत फाइदा उठाई कम तेल दिनेजस्ता विगतका गलत प्रवृत्तिलाई निगम आफैँले संरक्षण दिँदै आएको थियो ।

सोही कारण नेपाल आयल निगम धनुषा (महेन्द्रनगर) शाखा कार्यालयबाट कागजात किर्ते गरी चारवटा ट्यांकरका चालकले इन्धन चोरीको प्रयास गरेका थिए । तर, प्रयास विफल भएपछि चार ट्यांकरका चालक र सहचालकलाई निगमले ६ महिना इन्धन ढुवानी गर्न प्रतिबन्ध लगाएको छ । 

निगमले धनुषाको महेन्द्रगरस्थित शाखा कार्यालयमा इन्धन ओसार्ने र त्यहाँबाट पेट्रोलपम्पसम्म इन्धन पुऱ्याउने ना.७ख १८८८ ट्यांकरका चालक विष्णुलाल गिरी, ना.४ख ४१८७ ट्यांकरका चालक अशोक साह, ना.६ख ००९६ ट्यांकरको चालक विनोद दास र ना.४ख ४१८६ ट्यांकरका चालक नागेन्द्र चौधरीलाई कारबाही गरेको छ ।

आयल निगमको डिपो र शाखा कार्यालयहरूले ट्यांकरमा भएको इन्धन परिमाण उल्लेख भएको कागजात चालकलाई दिएर पेट्रोलपम्पसम्म तेल पुऱ्याउने जिम्मेवारी दिन्छन् । १५ भदौमा महेन्द्रनगरका कर्मचारीले ट्यांकरको तेल फलामको स्केल (डिप रड)ले नापेर चलानी तयार गरी पम्पसम्म लैजान चालकलाई कागजात दिएका थिए ।

तर, चारवटा ट्यांकरका चालकहरूले सो कागजातमा केरमेट बढाएर आफैँ परिमाण तोकेका थिए । पम्पमा तेल पुग्न नपाई दिउँसो चालकहरूको बदमासी थाहा पाएपछि उनीहरूलाई पक्राउ गरेर धनुषा जिल्ला प्रशासन र निगमको केन्द्रीय कार्यालयमा राखिएको थियो । तर, चोरी गर्ने उद्देश्यले सरकारी कागजात किर्ते गरेका चालकहरूलाई बचाउन त्यस क्षेत्रका ढुवानी व्यवसायी नै क्रियाशील भए ।

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ, धनुषाका अध्यक्ष किसुनदेव साहले चालकहरूलाई एकपटक माफी मगाएर छाड्न सिडिओ कार्यालयमा दबाब दिएका थिए । त्यसपछि अबउप्रान्त तेल चोरी घटनामा सामेल नहुने कागजात गराई छाडिदिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

आयल निगमका धनुषाका प्रमुख मनोज साहले चालक, सहचालकहरूलाई देशभर कुनै पनि डिपोमा ६ महिनासम्म छिर्न नदिने गरी कारबाही भएको बताए ।   

 यसरी तेल चोर्न खोजेका थिए 
निगमको धनुषास्थित महेन्द्रनगर कार्यालयमा भण्डारणगृह न्यून छ । त्यसैले रक्सौलबाट ल्याएको पेट्रोल र डिजेलको नाप लिएर पेट्रोलपम्पमा सोझै तेल पठाइने गरिन्छ ।

१५ गते रक्सौलबाट पेट्रोल बोकेर आएका ट्यांकरमा कर्मचारीहरूले तेलको नाप लिइसकेपछि पम्पमा पठाउन कागजात तयार गरी चालकलाई दिएका थिए । सो कागजात चारवटा ट्यांकरका चालकले मिलेमतो गरी केरमेट गरेर ट्यांकरमा भएभन्दा बढी तेल रहेको उल्लेख गरेका थिए । कागजमा बढी तेल देखाएपछि पेट्रोलपम्पमा लगेर खन्याउँदा कम हुने गर्छ ।

तर, पम्पमा आएको तेल कम भए पनि व्यवसायीले कागजातमा लेखेअनुसारकै बुझेको भनी पैसा निगमलाई भुक्तानी गर्नुपर्छ । यसरी चालकले किर्ते बढी देखाएर लाभ लिँदा पेट्रोलपम्प व्यवसायीले नोक्सानी खेप्नुपर्छ ।

१५ भदौमा ना.७ख १८८८ नम्बरको ट्यांकरले २० हजार लिटर पेट्रोल रक्सौलबाट ल्याएको थियो । सो ट्यांकरको च्याम्बर नम्बर ५ मा निगमका कर्मचारीले फलामको स्केल (डिप रड)ले नाप्दा १३७.९ सेन्टिमिटरको कागजात बनाएका थिए । तर, सो ट्यांकरका चालक विष्णुलाल गिरीले डिप रडलाई केरमेट गरी १३८.८ सेन्टिमिटरसम्म तेल रहेको बनाइदिए । 

२० हजार लिटरको ट्यांकरमा एक सेन्टिमिटर फरक भए ३० लिटर तेल अपचलन गर्न पाइन्छ । ट्यांकरचालक गिरीले ०.९ सेन्टिमिटर बढी तेल रहेको देखाएर २५.९ लिटर चोरी गर्न खोजेका थिए । 

त्यस्तै, सोही दिन २० हजार लिटर पेट्रोल बोकेर आएको ना.६ख ००९६ नम्बरको ट्यांकरको दुई नम्बर च्याम्बरको डिप रड लिँदा कर्मचारीले १३९.४ सेन्टिमिटर तेल रहेको कागजात देखाएका थिए । तर, सो ट्यांकरका चालक विनोद दासले केरमेट गरी १३९.७ सेन्टिमिटर तेल रहेको बनाइदिए । उनले ०.३ सेन्टिमिटर बढाएर ८.५९ लिटर चोरी गर्न खोजेका थिए ।

त्यस्तै, ना.४ख ४१८७ नम्बरको ट्यांकरको तीन नम्बर च्याम्बरमा कर्मचारीले तेल नाप्दा ११६.४ सेन्टिमिटर तेल रहेको पाइएको थियो । तर, सो ट्यांकरका चालक अशोक साहले केरमेट गरी ११६.९ सेन्टिमिटरसम्म तेल रहेको बनाए । उनले ०.५ सेन्टिमिटर बढाएर १२.८२ लिटर तेल चोरी गर्न खोजेका थिए ।

त्यसैगरी, सोही दिन १२ हजार लिटर पेट्रोल लिएर आएको ना.४ख ४१८६ नम्बरको ट्यांकरको चार नम्बर च्याम्बरमा तेल नाप्दा कर्मचारीले ११५.५ सेन्टिमिटर रहेको कागजातमा उल्लेख छ । तर, पम्पमा तेल लैजाने वेला सो ट्यांकरका चालक नागेन्द्र चौधरीले ०.१ सेन्टिमिटर बढाएर ११५.६ सेन्टिमिटरसम्म तेल रहेको बनाइदिएका थिए । यसबाट उनले २.५९ लिटर तेल चोरी गर्न खोजेका थिए ।

यसरी चार ट्यांकरचालकले ४९.४९ लिटर तेल चोरीको योजना बनाएका थिए । स्रोतका अनुसार निगमको फिल्डमा खटिने कर्मचारीको मिलेमतोमा चालकले चोरीको प्रयास गरेका हुन् ।

‘कर्मचारीको मिलेमतोविना ड्राइभरले मात्र कागजात किर्ते गरी चोरीको योजना बनाउन सक्दैन,’ स्रोत भन्छ, ‘डिपोको फिल्डमा खटिने टेक्निसियन वा तल्लो तहका कर्मचारीको पनि साथ रहेको हुनुपर्छ ।’ उनीहरूले यो तेल बेचेर एकपटकमा करिब ५ हजार कमाउने थिए । तर, पटक–पटक यस्तै चोरीबाट मनग्य कमाउन सक्ने स्रोतको भनाइ छ ।  

महेन्द्रनगर कार्यालयले ९० पम्पलाई तेल बिक्री गर्दै आएको छ । त्यसमध्ये चोरीको तेल किनेर बेच्ने निश्चित पम्प रहेको जानकारहरू बताउँछन् । त्यस क्षेत्रका पम्प व्यवसायीका अनुसार बारम्बार निगमले कागजातमा उल्लेख गरेर पठाएभन्दा कम तेल आउने गरेको छ ।  

लकिङ नहुँदाकाे परिणाम
इन्डियन आयल कर्पोरेसन (आइओसी)को रिफाइनरी–डिपोबाट निगमको डिपोसम्म तेल बोक्ने ट्यांकरमा आधुनिक लकिङ जडान भएको छ । यसले चोरी घटेर डिपोको नोक्सानीसमेत कम हुँदै गएको निगमको भनाइ छ ।

तर, निगमको डिपोबाट पेट्रोलपम्पसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ छैन । त्यसैले चालकले बीचबाटोमा तेल झिक्ने मौका पाइरहेका छन् ।

‘यदि डिपोदेखि पम्पसम्म पनि आधुनिक लकिङ जडान गर्ने हो भने चालकले दिनदहाडै यसरी चोरी गर्ने योजना बनाउनै सक्दैनन्,’ स्रोत भन्छ ।