१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लकडाउन र निषेधाज्ञाबीच पनि प्रदेश १ मा निरन्तर चल्दै लागुऔषध तस्करी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo

७ भदौमा भारततर्फको सीमा क्षेत्रमा बसेर लागुऔषध र साना हतियारको कारोबारमा संलग्न गिरोहका नाइके भारतीय नागरिक ३७ वर्षीय बग्गा भनिने प्रदीप यादवलाई मोरङ प्रहरीले लागुऔषधसहित पक्राउ गऱ्याे । यादव सिल भएको बोर्डरलाई बेवास्ता गर्दै लागुऔषध बिक्री गर्न नेपालतर्फ आएका थिए । 

१५ भदौमा को.२त ६०५७ नम्बरको ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरको एक सय ४६ किलो गाँजा सशस्त्र प्रहरीको टोलीले विराटनगर १८ भेडियारीबाट चालक सुनसरीको गढी गाउँपालिका– ३ का ३४ वर्षीय सुरेशकुमार मेहतासहित पक्राउ गऱ्याे ।    
३० असारमा विराटनगर १५ राम जानकी चोकका चियापसलेहरू मनोकामना झा र सहेदा खातुनलाई लागुऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गऱ्याे ।   

१२ भदौमा उदयपुर प्रहरीले चार सय केजी गाँजासहित ताप्ली गाउँपालिकाका २९ वर्षका पुसबहादुर मगर र सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङ पक्राउ परे । उक्त गाँजा सिराहाका तस्करहरूमार्फत भारतीय बजारमा बिक्री गर्न लागिएको थियो । 

यी त केही प्रतिनिधि घटना मात्र हुन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा गरिएको भए पनि देशको पूर्वी भेगमा लागुऔषधको कारोबार भने निरन्तर रहेको देखिन्छ । 

प्रहरीका अनुसार महामारीको समयमा लागुऔषध ओसारपसारमा संलग्नहरू सेवन गर्न नभई प्रायः नाइके र नजिकका भरियाहरू सक्रिय भएका हुन् । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार लकडाउन सुरु भएको ११ चैतदेखि २३ भदौसम्म एक सयजना मानिस लागुऔषध ओसारपसार आरोपमा पक्राउ परेका छन् । 

पक्राउ पर्नेेहरू धेरै भारतसँग सिमाना जोडिएका मोरङ र सुनसरीका छन् । उदयपुरमा गाँजा कारोबारी पक्राउ परेका छन् भने अन्य जिल्लामा पक्राउ पर्नेहरू नियन्त्रित लागुऔषध (मेडिकल ड्रग्स) ओसारपसारमा संलग्नहरू धेरै छन् ।

११ चैत ०७६ देखि २३ भदौ ०७७ सम्म मोरङमा ४०, सुनसरीमा ३५, झापामा १५ अनि इलाम र उदयपुरमा पाँच पाँचजना आरोपी पक्राउ परेका छन् ।  

महामारीको समयमा झापातर्फबाट ब्राउनसुगर, सुनसरी र मोरङबाट नियन्त्रित विभिन्न मेडिकल ड्रग्स अनि उदयपुरबाट गाँजाको तस्करी हुने गरेको छ । गाँजा भारततर्फ तस्करी गरिन्छ भने ब्राउनसुगर र मेडिकल ड्रग्स भारतबाट नेपाल भित्र्याउने गरेको प्रहरीले जनाएको छ । 

लकडाउनको समयमा चैत र वैशाख महिनामा लागुऔषध कारोबारीहरू त्यति सक्रिय हुन नपाएको प्रहरीले जनाएको छ । तर जेठ, असार, साउन र भदौ महिनामा लागुऔषध कारोबारीहरू धेरै सक्रिय भएको प्रहरीले जनाएको छ । 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार महामारीको समयमा लकडाउनको सुरुवाती समयमा चुपचाप बसेका कारोबारीहरू लकडाउन  खुला हुँदै गएपछि पुनः ओसारपसारमा सक्रिय हुन थालेका हुन् । 

प्रहरीका अनुसार महामारीको समयमा नेपाल–भारत सीमा सिल भएकाले आमआवतजावत ठप्प छ । यसैले लागुऔषध ओसारपसारमा साना भरियाहरू प्रयोग हुन सकेका छैनन् । यसैले  भारतीय  नाइके र संगठित भरियाहरू गिरोहलाई लागुऔषध आपूर्ति गराउन नेपाल आउने गरेको प्रहरीले जनाएको छ । 

लागुऔषध तस्करी गर्नेहरूले खुला सिमानाको फाइदा उठाउँदै मोटरसाइकल प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरेका छन् । 

केहीले चोरबाटोबाट आफैँ भारतको पानीट्यांकी, जोगवनी, भीमनगर आदि सीमा क्षेत्रका भारतीय बजारहरूमा गएर लागुऔषध खरिद गरेर लुकाइछिपाई ल्याउने गरेका छन् भने केहीले गिरोहमार्फत नेपालमा ल्याउन लगाएर प्रदेश १ का ठूला सहरहरूमा ओसारपसार गर्ने गरेका छन् । 

केहीले चाहिँ आफूलाई पहुँचवाला बताएर हाकाहाकी मुख्य नाकाबाट पनि लागुऔषध भित्र्याउने गरेको देखिएको छ । 
मोरङ प्रहरीले भदौ दोस्रो साता सुनसरीको धरानमा कार्यरत एकजना डेन्टल सर्जनलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

ती सर्जनले म्याद समाप्त भएको भारतीय दूतावासको परिचयपत्र भिरेर सिल गरिएको नाकामा निर्वाध आवतजावत गर्ने गरेका थिए ।

सामान्य अवस्थामा भन्दा महामारीको वेला लागुऔषध ओसारपसार ९० प्रतिशत नियन्त्रण भएको मोरङका प्रहरी प्रवक्ता तथा डिएसपी मानबहादुर राईले बताए । 

उनका अनुसार पूरै खुला सिमाना, लागुऔषध सेवन गर्नैपर्ने बाध्यता र लकडाउनमा ओसारपसार ठप्प हुँदा अभावको समयमा झन् धेरै नाफा कमाउन सकिने लोभले गर्दा जोखिम मोलेर पनि महामारीको बेवास्ता गर्दै आपराधिक गिरोह लागुऔषध तस्करीमा सक्रिय भइरहेका हुन् । 

डिएसपी राई भन्छन्, ‘महामारीको वेला भारतीय बजारमा गएर सेवन गरी फर्कनेहरू लगभग पूरै नियन्त्रण भए पनि खुला सिमानाले गर्दा ओसारपासर गर्नेहरू भने अझै सक्रिय भइरहेका हुन् । यसैले उनीहरूलाई बढीभन्दा बढी सामाजिक निगरानी गर्न आवश्यक छ ।’

ad
ad