१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o५:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा तीन सातापछि निषेधाज्ञा खुकुलो : निषेधाज्ञामै थपिए सात हजार संक्रमित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:१३:oo

तीन साताअघिभन्दा दैनिक दोब्बर दरमा संक्रमित थपिँदै गर्दा बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारेका छन् । तीनवटै जिल्ला प्रशासनले ४ भदौमा निषेधाज्ञा लागू गरेका थिए ।

फाइल तस्बिर

उपत्यकामा निषेधाज्ञा अवधिमा मात्रै सात हजार संक्रमित थपिएका छन् । बुधबार चार सय ६४ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या नौ हजार चार सय ४० पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित नै करिब ६ हजार छन् ।

निषेधाज्ञा गरिए पनि संक्रमण नियन्त्रणमा सरकारले ठोस पहल नगर्दा संक्रमित दर नघटेको विज्ञहरूले औँल्याएका छन् । यो खतराको जनाउ रहेको टेकु अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन् । ‘निषेधाज्ञाले संक्रमण नियन्त्रण हुने होइन, सामान्यतः तीन सातासम्ममा संक्रमित व्यक्ति घरमै बसे पनि निको भइसक्छ । त्यसैले निषेधाज्ञा खुकुलो गर्ने बेला नभएको पनि भन्न मिल्दैन,’ उनी भन्छन्, ‘संक्रमणको बढ्दो दरलाई हेर्ने हो भने खुकुलो पारेपछि झन् फैलिने जोखिम पनि उत्तिकै छ ।’

संक्रमण घटेर निषेधाज्ञा खुकुलो नबनाइएकाले सर्वसाधारणले पहिलेभन्दा पनि धेरै स्वास्थ्य सतर्कता अपनाउनुपर्ने उनको सुझाब छ । ‘अब हरेकले उपयुक्त ढंगले मास्क लगाउनुपर्छ, दूरी कायम गर्नुपर्छ, भिडमा जानुहुँदैन,’ डा. बाँस्तोला भन्छन्, ‘स्वास्थ्य मापदण्ड नअपनाए अहिलेको भन्दा जटिल र भयावह अवस्था सिर्जना हुन पनि सक्छ ।’

सरकारले संक्रमण देखिन थालेपछि ११ चैतदेखि ६ साउनसम्म लकडाउन गरेको थियो । लकडाउन खुलाएपछि काठमाडौं उपत्यकामा संक्रमणको दर बढेको हो । त्यसबाट उपत्यकावासीले स्वास्थ्य मापदण्ड नअपनाएको स्पष्ट हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

‘संक्रमण बढेपछि निषेधाज्ञा भयो । तर, निषेधाज्ञाले संक्रमण नियन्त्रण हुने होइन, त्यो अवधिमा सरकारले तयारी गर्नुपर्ने हो,’ डा. पाण्डे भन्छन्, ‘तर, हामीकहाँ निषेधाज्ञा गरेर सरकारले नियन्त्रणका लागि कुनै पूर्वतयारी नगर्नुले संक्रमण फैलिएर जाने जोखिम बढेको छ ।’

निषेधाज्ञामा मुख्य बजार र मूल सडक बन्द भए पनि भित्री सडक र बस्ती खुलै रहेको र मान्छेले स्वास्थ्य सतर्कता नअपनाएको उनी बताउँछन् । भन्छन्, ‘त्यसैले संक्रमण नियन्त्रणतर्फ नभई झन् फैलियो ।’

सरकारले उपत्यकामा संक्रमण दरका आधारमा परीक्षणको दायरा बढाउन नसकेको उनको भनाइ छ । ‘देशभर १० हजार परीक्षण हुन्छ, त्यसमध्ये एक–दुई हजार मात्रै उपत्यकाको हो, तुलनात्मक रूपमा ४० लाख मान्छे बस्ने सहरमा यति परीक्षणले मात्रै संक्रमण नियन्त्रण असम्भव देखिन्छ,’ उनी भन्छन् ।

जनजीवन प्रभावित भएको बताउँदै चौतर्फी विरोध भएपछि उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समेत निषेधाज्ञा खुकुलो बनाउन माग गरे । सांसद, व्यवसायी र नागरिक अगुवाको धारणा पनि त्यस्तै आयो । निम्नवर्गका मानिसको दैनिकी सहज बनाउन आर्थिक सहयोग र राहत दिन नसकेपछि सरकारले पनि निषेधाज्ञा खुकुलो बनाउन निर्देशन दियो । जनस्वास्थ्य विज्ञ डा. पाण्डे भन्छन्, ‘निषेधाज्ञा खुकुलो हुन समस्या होइन, समस्या स्वास्थ्य सावधानी कसले कति अपनाउँछ भन्ने हो, त्यसैले अब सरकारले नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन सहयोग गर्नुपर्छ ।’ सचेतनाका लागि सरकारले अभियान चलाउनुपर्ने उनको सुझाब छ ।

‘सबै ठाउँमा सरकार पुग्दैन, यहाँ धेरैले सही ढंगले मास्क लगाउन जान्दैनन्, कतिपयको मास्क किन्न सक्ने अवस्थासमेत छैन,’ डा. पाण्डे भन्छन्, ‘त्यसैले सरकारले मास्कलगायत स्वास्थ्य सामग्री निःशुल्क वितरण गर्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनुपर्छ । महामारीका बेला लोककल्याणकारी राज्यको दायित्व भनेकै यही हो ।’

नागरिक अनुशासित भएर स्वास्थ्य सावधानी अपनाए पुनः निषेधाज्ञा वा कफ्र्यु लगाउनुपर्ने अवस्था नआउने उनी बताउँछन् । कतिपय शक्तिशाली देशमा पनि संक्रमण नियन्त्रण नहुनुको कारण स्वास्थ्य असावधानी नै भएको र अब कोरोना सँग–सँगै बाँच्न सिक्नुको विकल्प नरहेको उनको भनाइ छ ।

के–के काम गर्न पाइन्छ ?

- सार्वजनिक/निजी सवारी : जोर–बिजोर प्रणालीमा चलाउन पाइने
- तरकारी, दूध, मासुलगायत खाद्यवस्तुका पसल : बिहान ११ र साँझ ५ देखि ७ बजेसम्म 
सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल : सोमबार, बुधबार र शनिबार मात्र 
भाँडा र भान्साका सामग्री पसल : आइतबार, मंगलबार र शुक्रबार
फर्निचर र अटोमोबाइल पसल : सोमबार र बुधबार
फुटपाथ, ठेला, स्टेसनरी, विद्युतीय पसल र डिपार्टमेन्टल स्टोर : बिहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म
- अनलाइन डेलिभरी : मध्याह्नदेखि साँझ ७ बजेसम्म

साढे पाँच हजार सक्रिय संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधिमा ६ हजार नौ सय ४२ जना संक्रमित थपिएका छन् । तीमध्ये पाँच हजार ६ सय ६६ जनामा सक्रिय संक्रमण छ । हालसम्म उपत्यकामा नौ हजार चार सय ४० जनामा कोभिड–१९ पोजिटिभ देखिएको छ । काठमाडौंमा चार हजार ६ सय १७, भक्तपुरमा पाँच सय आठ र ललितपुरमा पाँच सय ४१ जना सक्रिय संक्रमित छन् ।

दिनानुदिन लक्षण देखिएका संक्रमित संख्या बढ्दो छ भने सिकिस्त बिरामीको संख्यासमेत बढिरहेको चिकित्सकहरू बताउँछन् । हालसम्म काठमाडौंमा मात्रै सात हजार ६ सय ११ जना संक्रमित भएका छन् । यस्तै, भक्तपुरमा आठ सय १८ र ललितपुरमा एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ ।

३१ भदौसम्म निषेधाज्ञा
खुकुलो बनाइए पनि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ३१ भदौसम्म कायम छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूले आगामी बुधबार साँझ मध्यरातसम्मका लागि निषेधाज्ञा थपेका हुन् ।

तीन सातासम्म कडाइ गरिएका अधिकांश विषय/क्षेत्रलाई खुकुलो पार्दै थप एक साताका लागि आदेश जारी गरिएको काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए । खुकुलो गरिएका सबै क्षेत्रमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना भने अनिवार्य छ । प्रशासनले खुला स्थानमा मानिस भेला हुन, भिडभाड, जुलुस, जात्रा पर्व र भोजभतेर गर्न निषेध गरेका छन् । यस्तै, मठमन्दिरमा दैनिक पूजाआजा गर्न, शैक्षिक संस्था, सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय, चिडियाखानामा निषेधाज्ञा कायम छ । उद्योग, व्यापार, व्यवसाय, निर्माणका श्रमिक, कामदारको ओसारपसार पनि निषेधित छ ।

सवारीसाधनलाई जोर–बिजोर
उपत्यकामा बिहीबारदेखि निजी र सार्वजनिक सवारीसाधन जोर–बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ । सार्वजनिक सवारीको हकमा १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउन पाउँछन् । ट्याक्सीको हकमा चालकसहित तीनजना मात्र बस्न पाइनेछ । चालक, सहचालकले अनिवार्य मास्क, पन्जा लगाउनुपर्नेछ भने सिट क्षमताको आधाभन्दा बढी यात्रु बोक्न पाइँदैन । मालबाहक सवारीको हकमा भने जोर–बिजोर लागू गरिएको छैन ।

प्रशासनका अनुसार तरकारी, दूध र खाद्यवस्तुका पसल बिहान ११ र साँझ पाँचदेखि ७ बजेसम्म खोल्न पाइनेछ । अत्यावश्यक सामग्री पसल भने जुनसुकै बेला खोल्न पाइन्छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल स्वास्थ्य मापदण्ड अपनाएर सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । यस्तै, भाँडा र भान्साका सामग्रीका पसल आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्न पाइनेछ । फर्निचर र अटोमोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, विद्युतीय पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ र साँझ ४ देखि ७ बजेसम्म खोल्न पाइनेछ । सवारीसाधन मर्मतसम्बन्धी वर्कसपहरू बिहान ८ देखि राति ८ बजेसम्म सञ्चालन गर्न पाइन्छ । टेक अवे सेवा तथा अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्य मापदण्ड पालना गर्दै मध्याह्नदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरू पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

ad
ad