१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ भदौ २४ बुधबार ०६:२८:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

पिसिआर नेगेटिभ रिपोर्ट बोकेर होम डेलिभरी

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ भदौ २४ बुधबार ०६:२८:००

विश्वभरि कोभिडको संक्रमणबाट जोगिन तुलनात्मक रूपमा सुरक्षित मानिएको होम डेलिभरी सेवाको दायरा निषेधाज्ञापछि खुम्चियो, अत्यावश्यकबाहेक अरू सामग्री डेलिभरीमा रोक

रेस्टुरेन्टका परिकारहरू अफिस वा घरघरमै पुर्‍याउँदै आइरहेको फुडमान्डूलाई कोभिडको कहरबीच पनि ग्राहकको अर्डर डेलिभरी गर्न भ्याइनभ्याई छ । अहिले फुडमान्डूका ५० भन्दा बढी राइडरले रेस्टुरेन्टको खानाका परिकार डेलिभरी गरिरहेका छन् । दिउँसो १ देखि साँझ ७ बजेसम्म डेलिभरी गर्न प्रशासनको रोकतोक छैन । रेस्टुरेन्टलाई ‘टेक अवे’ सेवाको अनुमति दिएसँगै ग्राहकको अर्डर पनि बढ्दै गइरहेको फुडमान्डूका मार्केटिङ हेड श्यामरत्न माली बताउँछन् ।

घरको भन्सामा पकाएका खानाका परिकारहरू उपभोक्ताको अफिस वा घरसम्म पुर्‍याउने अनलाइन प्लेटफर्मले फुडमारियोले अहिले दैनिक सयभन्दा बढी अर्डर डेलिभरी गरिरहेको छ । फुडमारियोका संस्थापक रोहित तिवारीका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्तिले तयार पारेको खाना मात्र सर्भ गर्ने हुँदा अहिले घरमा पकाएको खाना डेलिभरी भइरहेको छैन । निषेधाज्ञापछि रेस्टुरेन्टका परिकार डेलिभरी गर्न लागेको फुडमारियोमार्फत अर्डर दिनप्रतिदिन बढिरहेको छ ।

अनलाइन सपिङ प्लेटफर्म सस्तो डिललाई ग्राहकको घरदैलोमा खाद्यान्न, तरकारी र फलफूल डेलिभरी गर्न भ्याइनभ्याई छ । सरकारले निषेधाज्ञाको अवधिमा दिउँसो भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत ग्रोसरी स्टोरहरू बन्द गरेपछि ग्राहकले अनलाइन अर्डर गर्न थालेका छन् । सस्तो डिलका संस्थापक अमुन थापा भन्छन्, ‘अनलाइन अर्डरको माग तीन गुनासम्म बढेको छ, पिसिआर अनिवार्य भएपछि ग्राहकले पनि सुरक्षित महसुस गरिहेका छन् ।’

                                                                                        .....

कोभिड महामारीले अरू व्यापार व्यवसाय धराशयी भए पनि इ–कमर्स कम्पनीका लागि फलिफाप बनेको छ । इ–कमर्स कम्पनीलाई ग्राहकको अर्डर लिएर होम डेलिभरी गर्न भ्याइनभ्याई छ । कोभिडले अनलाइन किनमेल संस्कृति विकास गरिदिएपछि इ–कमर्स कम्पनीले प्रत्यक्ष लाभ लिइरहेका छन् । यही समय नयाँनयाँ अनलाइन सपिङ प्लेटफर्मको पनि ओइरो लागिरहेको छ । विश्वभरि कोभिडको संक्रमणबाट जोगिन तुलनात्मक रूपमा सुरक्षित मानिएको र लोकप्रिय पनि भइरहेको होम डेलिभरी सेवालाई अघिल्लो हप्ता सरकारले रोक लगाउन खोजेको थियो । निषेधाज्ञा अवज्ञा गरेर ‘होम डेलिभरी’ गरेको भन्दै प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट इ–कमर्स कम्पनीका कर्मचारी र सञ्चालकलाई नियन्त्रणमा लिएर निषेधज्ञाभरि डेलिभरी नगर्ने सर्तमा छाडिदियो । होम डेलिभरी रोकेकोमा चौतर्फी आलोचना र विरोध भएपछि सरकारले विभिन्न सर्तसहित इ–कमर्स कम्पनीलाई डेलिभरी गर्न छुट दिएको छ ।

सरकारले अहिले दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्र होम डेलिभरी गर्न अनुमति दिएको छ, जब कि ११ चैतको लकडाउनपछि होम डेलिभरीमा समयको कुनै समयसीमा तोकिएको थिएन । होम डेलिभरी गर्ने इ–कमर्स कम्पनीले कर्मचारी र राइडरको अनिवार्य पिसिआर टेस्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, ‘टेक अवे’ सेवा दिने रेस्टुरेन्टका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । खाद्यान्न, तरकारी, फलफूल, रेस्टुरेन्टका परिकार, माछा–मासु, औषधिलगायत अत्यावश्यकबाहेकका सामग्री होम डेलिभरी गर्न पाइँदैन ।

अहिले इ–कमर्स कम्पनीका कर्मचारी र राइडरहरूले पिसिआरको नेगेटिभ रिपोर्ट साथमै लिएर हिँड्ने गरेका छन् । फुड डेलिभरी कम्पनीहरूले पिसिआर चेक नगरेका रेस्टुरेन्टबाट खाना सर्भ गर्दैनन् । ‘हामी पूर्ण सुरक्षित भएर होम डेलिभरी गरिरहेका छौँ,’ सस्तो डिलका संस्थापक थापा भन्छन्, ‘पसल चहारेर आफूलाई चाहिने सामग्री खरिद गर्नुभन्दा अनलाइन डेलिभरी धेरै हदसम्म सुरक्षित छ ।’ इ–कमर्स कम्पनीले अफिसमा आएर काम गर्ने कर्मचारीहरूको पनि पिसिआर चेक गरेका छन् । ४ भदौको निषेधाज्ञासँगै केही दिन होम डेलिभरी अवरुद्ध भए पनि अहिले तोकिएको समयमा कुनै अवरोध नरहेको फुडमारियोका संस्थापक तिवारी बताउँछन् । सरकारले १६ भदौदेखि अत्यावश्यक सामग्री डेलिभरी गर्न दिएको हो । 

                                                                                    ......

अनलाइन प्लेटफर्म दराजले बिगमार्टसँग सहकार्य गरेर ग्रोसरी सामानहरू डेलिभरी गर्दै आइरहेको छ । लकडाउनकै बीचमा खुलेको ग्यापुले निषेधाज्ञापछि अत्यावश्यक सामग्री डेलिभरी गरिरहेको छ । ग्यापुले ग्रोसरी आइटम डेलिभरीका लागि सेल्सबेरीसँग सहकार्य गरेको छ । ‘११ चैतबाट सुरु भएको लकडाउन खुल्नासाथ खाद्यान्न, तरकारीसँगै ल्यापटप, टेलिभिजन, मोबाइल, एसेसरिजलगायत राम्रै डेलिभरी भयो,’ ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्का भन्छन्, ‘अहिले खाद्यान्न, तरकारी र फलफूल होम डेलिभरी गरिरहेका छौँ ।’ निषेधाज्ञापछि सरकारले अत्यावश्यक सामग्रीबाहेक अरू होम डेलिभरी गर्न नदिएपछि इ–कमर्स कम्पनीको दायरा भने खुम्चिएको छ । त्यसमाथि दिउँसो १ देखि ७ बजेसम्म मात्र होम डेलिभरी गर्न दिइन्छ ।

भाटभटेनी सुपरमार्केटले उपभोक्ताले भाइबरबाट अर्डर गरेको सामान घरघरमै पुर्‍याउँदै आएको छ । सेल्सबेरीले आफैँ पनि उपभोक्ताको घरघरमा अत्यावश्यक सामग्री डेलिभरी गरिदिन्छ । यस्तै, व्यावसायिक घराना निम्बसले पनि अनलाइन अर्डर लिएर होम डेलिभरी गरिरहेको छ । लकडाउन भएपछि इ–कमर्समा नयाँ उपभोक्ताहरू पनि प्रवेश गरेकाले अर्डर राम्रो आइरहेको ग्यापुका संस्थापक खड्का बताउँछन् । यी सबै कम्पनीले सुरक्षा मापदण्ड पालना गरेर होम डेलिभरी गर्दै आइरहेका छन् ।

फुडमान्डूमा काठमाडौं उपत्यकाका झन्डै ६ सयजति रेस्टुरेन्ट आबद्ध छन्, तर अहिले ५०/६० वटा रेस्टुरेन्टबाट डेलिभरी गरिरहेको छ । कम्पनीका मार्केटिङ हेड माली भन्छन्, ‘हामीले पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आउने कर्मचारीले बनाएको परिकार मात्र डेलिभरी गरिरहेका छौँ, त्यसैले रेस्टुरेन्टको संख्या कम भएको हो ।’ बिस्तारै अर्डर बढ्न थालेपछि धेरै रेस्टुरेन्टले सरकारको मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्न थालेको उनी बताउँछन् । सरकारले तोकेका मापदण्डअनुसार पिसिआर रिपोर्टविना रेस्टुरेन्ट खोल्न पनि पाइँदैन र होम डेलिभरी गर्न पनि पाइँदैन ।         

घरमा बसेका क्लाइन्टले पिसिआर परीक्षण नगरेकै कारण फुडमारियोले रेस्टुरेन्टबाट खाना डेलिभरी गर्न थालेको हो । ‘यदि उहाँहरूले पिसिआर परीक्षण गरेर खानाका परिकार बनाउनुभयो भने घरबाटै डेलिभरी गर्छौं,’ फुडमारियोका संस्थापक तिवारी भन्छन्, ‘हामीले घरबाट खाना पकाएर बेच्ने ग्राहकलाई पिसिआर परीक्षण गर्न भनेका छौँ ।’ अहिले घरबाट खाना बनाएर बिक्री गर्ने एकजना पनि छैनन् । घरबाटै खाना पकाएर फुडमारियोबाट सर्भ गर्ने १२३ क्लाइन्ट पुगेका छन् । 

                                                                                     ......

पहिलोपटकको लकडाउनपछि ‘टेक अवे’ सेवा सुरु गरेको चर्चित रेस्टुरेन्ट त्रिशाराले पछिल्लो निषेधाज्ञासँगै सेवा बन्द गरेको छ । लकडाउनका बेलामा खानाका परिकारको राम्रो अर्डर आएपछि रेस्टुरेन्ट सञ्चालक होम डेलिभरीलाई बिजनेसको एउटा पाटो बनाएर निरन्तरता दिने सोचमा थिए । तर, सरकारले लहडमा कहिले होम डेलिभरी गर्न दिने, कहिले नदिने गर्न थालेपछि डेलिभरी सेवा बन्द गरेको सञ्चालक सोभनवीर मालाकारले बताए । उनी भन्छन्, ‘नियमित रूपमा काम गर्न नपाएपछि स्टाफलाई खान बस्न पनि गाह्रो भयो, पछिल्लो निषेधाज्ञापछि टेक अवे सेवा बन्द गर्‍यौँ ।’

अहिले अफिसहरू बन्द भएको हुँदा पहिलाको तुलनामा खानाको अर्डर घटेको छ । लकडाउनअघि दैनिक ४/५ सय अर्डर आउने गरेकोमा निषेधाज्ञासँगै सयमा झरेको तिवारीको भनाइ छ । उनी भन्छन्, ‘हामीले डेलिभरी सुरु गरेको पनि तीन दिनजति भयो, अर्डर बिस्तारै बढ्दै गइरहेको छ, दिउँसोको खाजाभन्दा बेलुकाको डिनरको अर्डर बढी भइरहेको छ ।’ कोरोनाको त्रासदी बढिरहे पनि पिसिआर परीक्षण गरेर मात्र सेवा दिइरहेको हुनाले ग्राहकलाई रेस्टुरेन्टको परिकार अर्डर गरेर खान त्यति नडराएको उनको भनाइ छ । उनी भन्छन्, ‘कतिपयले घरमा यत्तिकै बसिरहेका बेलामा किन रेस्टुरेन्टबाट अर्डर गरेर खाने, घरमै बनाएर खाने नि भन्ने पनि छन् ।’ लकडाउनअघिका कर्पोरेट ग्राहक अफिस बन्द भएर घरमै बसिरहेको र डेलिभरीको समय दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्र तोकिएको हुँदा पनि अर्डर कम आइरहेको उनी सुनाउँछन् । 

                                                                                         .......

फुडमान्डूले साँझ साढे ५ बजेसम्म मात्र अर्डर लिने गरेको छ, जब कि लकडाउनअघि बिहान ११ देखि साँझ साढे ८ बजेसम्म अर्डर लिएर डेलिभरी गथ्र्यो । बीचमा लकडाउन खुकुलो हुँदा फुडमान्डूको व्यापार करिब ७०/८० प्रतिशत रिकभर भइसकेको थियो, अहिले आधाआधी मात्र व्यापार भइरहेको छ । ‘बिहानदेखि रातिसम्म अर्डर लिएर डेलिभरी गर्न पाएको भए अहिले पनि ७० प्रतिशत डेलिभरी हुन्थ्यो होला,’ फुडमान्डूका मार्केटिङ हेड माली सुनाउँछन्, ‘निषेधाज्ञापछि कडाइ गर्दा अनलाइन अर्डर केही घटेको छ, फेरि सबै रेस्टुरेन्ट पनि मापदण्ड पालना गरेर खुलिसकेका छैनन् । फुडमान्डूले पाँचतारे म्यारियट होटेलबाट पनि खाना डेलिभरी गरिरहेको छ ।

अझै ट्याक्सी सेवा सारथि, नेपाली धोबी, टुटल, पठाओ, खाली सिसी, बससेवालगायत अनलाइन प्लेटफर्म सञ्चालनमा आइसकेका छैनन् । पहिलोपटकको लकडाउनसँगै डल्ले रेस्टुरेन्ट, भ्याली एक्सप्रेस, त्रिशारा, बाजेको सेकुवा, केएफसी, केकेएफसी, द एटिक बार, द बर्गर हाउस एन्ड क्रन्ची चिकेन फ्राइडलगायत दर्जनौँ रेस्टुरेन्टहरूले ‘टेक अवे’ सेवा दिइरहेका थिए । सरकारको पछिल्लो निषेधाज्ञासँगै धेरैले टेक अवे सेवा बन्द गरिसकेका छन् । नेपबेडटकम, अर्डरसाथीडटकम, क्यामुडटकमलगायत धेरैले अहिले पनि होम डेलिभरी सुविधा दिइरहेका छन् । 

नेपालमा रजिस्ट्रर भएर संवैधानिक रूपमा सञ्चालन भएका विभिन्न क्षेत्रका इ–कमर्स कम्पनी डेढ सय हाराहारी पुगेका छन् । दर्ता नगरी सामाजिक सञ्जालमा पेज बनाएर, वेबसाइट खोलेर अनलाइन अर्डर लिने र डेलिभरी गर्ने कम्पनी धेरै खुलेका छन् । अनलाइन किनमेल संस्कृति विकास भएसँगै अनलाइन कारोबार गर्ने पनि बढेका छन् । अझ लकडाउनको अवधिमा फेसबुक र इन्स्टाग्राममा पेज बनाएर अनालाइन कारोबार गर्नेहरू छ्यापछ्याप्ती देखिन्छन् । गुगल र फेसबुकमा सर्च गर्दा अनलाइन सपिङका दर्जनौँ साइट र पेजहरू भेटिन्छन् । सस्तो डिलका संस्थापक थापाका अनुसार अहिले नेपालमा ई–कमर्सको वार्षिक ट्रन्जेक्सन १५ अर्ब हाराहारी पुगेको छ । उनी भन्छन्, ‘विदेशी स्टाटिस्टा नामक कम्पनीले गरेको अध्ययनमा इ–कमर्सको वार्षिक ट्रान्जेक्सन २३ अर्ब हाराहारी रहेको देखिएको छ ।’