मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किरण दहाल काठमाडौं
२०७७ भदौ २३ मंगलबार २०:००:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुर्सदिलो संसद्का व्यस्त मुखिया

Read Time : > 5 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ भदौ २३ मंगलबार २०:००:००

असार २४ गते मैले आँखाको अप्रेसन गरेँ, त्यही दिन बेलुका सिन्धुपाल्चोकमा ठूलो बाढीपहिरो आयो । डाक्टरको अनुमति नहुँदा–नहुँदै पनि सिन्धुपाल्चोक गएँ । 

जनप्रतिनिधिको हैसियतले जनतासँग कुनै न कुनै माध्यमद्वारा एकाकार हुनैपर्छ । जनतालाई सहयोग गर्नैपर्छ । जनताको सबैभन्दा नजिकको साथी त जनप्रतिनिधि नै हो । त्योभन्दा नजिक अर्काे हुनै सक्दैन । 

सभामुखको मुख्य जिम्मेवारी प्रतिनिधिसभाको नेतृत्व गर्नु हो । गत १८ असारमा १८ संसद् अधिवेशन अन्त्यपछि सदन सञ्चालनका काम स्थगित जस्तै छन् । यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा फुर्सदिलो हुनुपर्ने हो । तर, उनले झनै बढी व्यस्ततापूर्ण दिन बिताइरहेका छन् । 

सापकोटा भन्छन्, ‘सिन्धुपाल्चोकमा बाढीपहिरो गएपछि त्यतातिर बढी समय गयो । त्यसबाहेक संसद्सम्बन्धी पुस्तकहरू अध्ययन गरिरहेको छु । कोभिड–१९ को समयमा धेरै हिँडडुल गर्न मिल्दैन । सांसदहरूसँग कुराकानी हुन्छन् । अन्य अत्यावश्यक भेटघाट हुन्छन् । त्यसका लागि वेलावेला सिंहदरबार पुग्छु ।’

पछिल्ला महिना सभामुख सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको छ । क्षतिको अवलोकन र पीडितलाई सान्त्वना दिन उनी घटनास्थल गइरहेका हुन्छन् । २४ असारमा बाह्रबिसे जम्बुमा बाढीपहिरो गयो । बस्ती पुरै पुरिएर दुईजनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षति भयो । 

उनी असार २५ गते नै त्यहाँ पुगे । त्यस्तै, ३० साउनमा लिदीमा गएको पहिरोमा ३७ घर पुरियो । बेपत्ता भएका ३९ जनामध्ये ३७ जनाको शव भेटियो, दुईजना बेपत्ता भए । त्यसैदिन उनी हेलिकोप्टरमा उक्त क्षेत्र पुगे ।

१० भदौमा पुनः उनी अस्थायी विस्थापितहरूलाई राहत वितरण गर्न जुगल गाउँपालिका– १ स्थित बाँसखर्कमा पुगे । उनले त्यहाँ पुगेर छलफल गरे । सोलार, टेन्टलगायत राहत सामग्री वितरण गरे ।

अहिले पनि राहत संकलन, वितरण तथा पीडितको सहज जीवनका लागि सहयोगी खोज्नमा उनको दिन बित्ने गरेको छ ।

काठमाडौंमै पनि उनले विभिन्न निकायहरूसँग जोखिम न्यूनीकरण, राहत र उद्धारका विषयमा छलफल गरिरहेका छन् । अधिवेशन नचल्दा पनि उनलाई फुर्सद छैन । 

यही ८ भदौमा पहिरोमा परेकाहरूको खोज तथा उद्धार, राहत, अस्थायी स्थानान्तरण, जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययनका लागि टोली पठाउनेलगायतका विषयमा गृहमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसदहरूसँग लामो छलफल गरे । 

छलफलमा स्थायी स्थानान्तरणका लागि लिइने पहल र अरनिको राजमार्ग व्यवस्थित गर्नेलगायतका विषय पनि थिए । त्यसबाहेक पनि आफूले विभिन्न निकायहरूसँग निरन्तर छलफल गरिरहेको बताउँछन् सभामुख सापकोटा । 

अधिवेशन अन्त्य भएको अवस्थामा सभामुखको व्यस्तता, कोभिडमा संसद्को जिम्मेवारीलगायतका विषयमा केन्द्रित भएर सभामुख सापकोटासँग गरिएको कुराकानी–

संसद् अहिले सञ्चालनमा छैन, सिंहदरबारतिर आउजाउ कस्तो छ ?

हिजोआज सिंहदरबारतिर खासै गएको छैन । अरूलाई रोक्ने हामीचाहिँ हिँड्ने भन्ने सन्देश जान सक्छ । त्यसकारण दुई–चार दिन बिराएर मात्रै जाने गरेको छु । त्यहाँ आन्तरिक काम हुन्छन् । भेटघाट हुन्छन् । सभापतिहरूसँग भेटघाट हुन्छ । सांसदहरूसँग भेटघाट हुन्छ । काम त धेरै गर्नु थियो । तर, यो महामारीले अलि गाह्रो भइरहेको छ । जोखिम बढेको छ । सतर्क हुनुप¥यो । 

अहिले निर्वाचन क्षेत्रको समस्या पनि असाध्यै धेरै भयो । भयावह भयो । सिन्धुपाल्चोकमा निरन्तर बाढीपहिरोले क्षति भइरहेको छ । त्यसपछि सिंहदरबारमा कैयौँचोटि बैठक गरियो । विज्ञहरूसँग छलफल गरियो । विभिन्न निकायसँग छलफल गरियो । मन्त्रीहरूसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट भयो, छलफल भयो । प्रधानमन्त्रीज्यूसँग पनि छलफल भयो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको भर्चुअल बैठकमा पनि बसेँ । यस्तै–यस्तै कुराहरूमा समय बितिरहेको छ । सभामुखको भूमिकामा भएपछि अहिले मैले संसद्सम्बन्धी, संसदीय अभ्याससम्बन्धी संसदीय साहित्यसम्बन्धी पुस्तकहरू पनि अध्ययन गरिरहेको छु ।

त्यसका अतिरिक्त जनतासँग कसरी जोडिने त ? ज्ञान, दर्शन विस्तार गर्नका लागि पुस्तक चाहिन्छ । तर, जीवनदर्शनका लागि त जनतासँगै कुरा गर्नुपर्छ । जनताबाटै सिक्ने हो । अहिले मेरो निर्वाचन क्षेत्रका वडाध्यक्ष, वडासदस्यहरूसँग कुराकानी गरिरहेको छु । अब एक–दुई पालिकासँग कुरा गर्न बाँकी छ । अरू सबैलाई सम्पर्क गरेको छु, गरिरहेको छु ।

त्यसो भए त अधिवेशन अन्त्य भएपछि खुबै व्यस्त हुनुभयो ?

हामी जनतासँग प्रतिबद्धता गरेर आएका हुन्छौँ । चुनावमा जनताले विश्वास गरेर जिताएर पठाएका छन् । तिनै जनताले भोट दिएर अहिले सभामुख भएको छु । अन्तिममा सभामुख बनाउने त तिनै जनता हुन् । जनताले पाएको दुःख–पीडा धेरै छ । असार २४ गते मैले आँखाको अप्रेसन गरेँ, त्यही दिन बेलुका सिन्धुपाल्चोकमा ठूलो बाढीपहिरो आयो । डाक्टरको अनुमति नहुँदा–नहुँदै पनि सिन्धुपाल्चोक गएँ । मलाई जनताको दुःख, दर्द, पीडाभन्दा मेरो समस्या ठूलो होइन भन्ने लाग्छ । अर्काे कुरा, सुरक्षाका सबै उपाय अवलम्बन गरेपछि त हुने रहेछ । मलाई त्यस्तो दीर्घकालीन असर त परेन । त्यतिवेला मेरो व्यक्तिगत समस्या वा मेरो शारीरिक समस्याभन्दा जनताको विपत्ति ठूलो हो भन्ने लाग्यो । 

सामान्य अवस्थामा त जनताले गरिखाएकै हुन्छन् । त्यतिवेला उनीहरूलाई अप्ठ्यारो पर्दैन । जब उनीहरूलाई संकट पर्छ नि, त्यतिवेला हाम्रा सबै कुरा गौण हुन्छन् । जनताको समस्यामा एकाकार हुनुपर्छ । हामी नै त्यहाँ पुगेपछि उनीहरूलाई पनि राहतजस्तो हुन्छ, आशा हुन्छ । परिवारमा एकजना मात्रै बाँचेका पनि छन् त्यहाँ । त्यस्तो महाविपत्तिको वेलामा, रोदन–क्रन्दनका वेलामा चाहिँ हामी पुग्नुपर्छ । 

जनताको जीवनस्तर उकास्न हामीले काम गर्नु नै पर्छ । विकास निर्माणका काम गर्नैपर्छ । तर, उनीहरूलाई सबैभन्दा ठूलो सहयोगचाहिँ अप्ठ्यारो पर्दा चाहिन्छ, त्यतिवेला सहयोग गर्नुपर्छ । सिन्धुपाल्चोकमा पहिरो गएपछि बस्ती सरेको ठाउँमा पनि पुगेँ । त्यहीँ पुगेर सम्पूर्ण अवस्थाको जानकारी लिएँ । अहिले त्यहाँको सहयोगका लागि धेरैले फोनमा सम्पर्क गरिरहनुभएको छ ।

सिन्धुपाल्चोकबारे निरन्तर अपडेट भइरहनुभएको छ ? 

सामान्य समय हुँदा त निरन्तर जनतासमक्ष गइरहन्थेँ । योबीचमा फिल्डमा हिँडिरहने सुविधा पनि छैन । अहिले फोनबाटै जनतासँग जोडिने भन्ने हिसाबले जिल्लाका वडाध्यक्षरूलाई फोन गरिरहेको छु । अरू पनि त्यहाँका सामाजिक अगुवा, नागरिक समाजमा मानिसलगायतसँग कुराकानी भएको छ । अहिलेचाहिँ वडासदस्यहरूलाई पनि फोन गरिरहेको छु । बाढीपहिरोले पीडित हुनुपरेका वडाहरूका सदस्यहरूलाई फोन गरिरहेको छु ।

कोभिडको समयमा जनताका प्रतिनिधि सांसदहरूको भूमिका कस्तो हुनुपर्छ ? 

अहिले सरकारले पनि निर्वाचन क्षेत्रमा निर्वाचित सांसदहरूको संयोजकत्वमा समन्वय गर्ने भनेको छ । यो एउटा जिम्मेवारी हुन सक्छ । जनप्रतिनिधिको हैसियतले जनतासँग कुनै न कुनै माध्यमद्वारा एकाकार हुनैपर्छ । जनतालाई सहयोग गर्नैपर्छ ।

जनताको सबैभन्दा नजिकको साथी त जनप्रतिनिधि नै हो । त्योभन्दा नजिक अर्काे हुनै सक्दैन । जनता अहिले दुःखमा परेको वेलामा सबैभन्दा बढी हामी जनताको सुखदुःखमा लाग्नुपर्छ । हामी तपाईंहरूका लागि जस्तोसुकै त्याग–तपस्या गर्न तयार छौँ भनेर विश्वास दिलाएका छौँ, त्यसमा विश्वासघात गर्नुहुँदैन ।

जनताको विश्वास जित्यौँ भने सबै कुराको समाधान हुन्छ । हाम्रो कामद्वारा जनतालाई विश्वास दिलाउनुप¥यो । जनताको विश्वास जित्नका लागि हामी कर्तव्यनिष्ठ हुनुप¥यो । हाम्रो कामद्वारा हामीले विश्वास दिलाउनुपर्छ । त्यसका लागि हाम्रो उच्चस्तरको नैतिकता हुनुप¥यो, निष्ठा हुनुप¥यो । हाम्रो निःस्वार्थ व्यवहारचाहिँ जनताले देख्नुप¥यो ।

यो कोभिड– १९ मा संसद् वा संसदीय समितिहरूको भूमिका के हुन सक्छ ?

सबै सांसद कुनै न कुनै समितिमा हुनुहुन्छ । समितिका बैठकलाई कोभिडको बीचबाट पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड, विधि, प्रक्रिया अपनाएर बैठक बसी सरकारलाई सहयोग गर्ने, घच्घच्याउने, जनताको समस्यामा ध्यानाकर्षण गराउने, उत्तरदायी बनाउने गर्नुपर्छ । यिनै कुरालाई रचनात्मक ढंगले, सिर्जनात्मक ढंगले अगाडि बढाउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेपाल सरकारले गरेका निर्णयअनुसार अघि बढ्दै समितिलाई प्रतिकूलभन्दा प्रतिकूल स्थितिमा प्रभावकारी कसरी बनाउन सकिन्छ, त्यसतिर लाग्नुपर्छ । समितिमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ ।

सांसदहरूसँग कतिको सम्पर्कमा हुनुहुन्छ ? 

सबैसँग त कुराकानी भएको छैन, तर जहाँ–जहाँ अलि समस्या परेको छ, जो–जो संक्रमित हुनुभएको छ, उहाँहरूसँग त कुराकानी भएको छ । अरूसँग पनि वेलावेला कुराकानी भइरहेको छ ।

तपाईंले संसद्को पाँचौँ र छैटौँ अधिवेशन चलाउनुभयो । कस्तो अनुभव गर्नुभयो ?

पाँचौँ र छैटौँ अधिवेशन दुवै थोरै दिन मात्रै सञ्चालन भयो । त्यो महत्वपूर्ण पनि भयो । त्यो वेलामा त हामी बढी नै व्यस्त भयौँ । पछिल्लो अधिवेशनमा त कोरोनाको जोखिम बढिसकेको थियो । त्यसमा पनि हामीले विज्ञ–विशेषज्ञसँग निरन्तर छलफल ग¥यौँ । 

संघीय संसद्लाई जीवन्त बनाउने हामीले संकल्प गरेका थियौँ । जीवन्त, चलायमान, गतिशील बनाउने कुरामा हामीले विभिन्न योजना बनाएका छौँ । यो प्रतिकूलताले गर्दा त्यस्ता योजना लागू गर्न गाह्रो भयो । सभापतिहरूको बैठक गरिरहनुपर्ने छ । केही बैठक त गरियो । आन्तरिक एकतालाई सुदृढ गर्नका लागि महाशाखा प्रमुखहरूको बैठक गरियो । 

सचिवहरूसँग त निरन्तर छलफल भइरहेको छ । सबैभन्दा पहिला केही गर्नका लागि त्यहाँभित्रको आन्तरिक एकतालाई मजबुत बनाउनुपर्छ । इन्टरनल डिसिसिभ भन्छन् नि ! आन्तरिक कुरा नै निर्णायक हुन्छ । आन्तरिक एकता सुदृढ गरिसकेपछि सांसदहरूसँग पनि छलफल हुन्छ । मैले आफूले प्राप्त गरेका ज्ञान, अनुभव पनि सेयर गर्ने र जनताका बीचमा बसेर छलफल गर्नुपर्छ ।

प्रदेशका सभामुख, उपसभामुखहरूसँग पनि छलफल गर्ने मेरो योजना थियो । उहाँहरू जनतासँग बढी साक्षात्कार हुनुहुन्छ । उहाँहरूले प्राप्त गरेका अनुभव, त्यहाँका समस्या बुझ्ने र हामीले अभ्यास गरेका कुराहरू उहाँहरूलाई जानकारी दिने गरी अघि बढ्नुपर्छ । 

यो एउटा राम्रो अवसर हुन सक्छ भनेर सभामुख, उपसभामुखहरूको बैठक बोलाउने विचार गरेको थिएँ । भौतिक रूपमै उपस्थिति भएर छलफल गर्नुपर्छ भन्ने मलाई लागेको छ । अब कोभिड सहज भएपछि यो काम गर्नुपर्छ । मुख्यगरी संघीय संसद्लाई जीवन्त बनाउनुपर्छ । यसको तयारी पनि गरेको छु ।