१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २३ मंगलबार ०९:३८:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

पर्यटकको पर्खाइमा साङ्जेन भ्याली

Read Time : > 4 मिनेट
२०७७ भदौ २३ मंगलबार ०९:३८:००

सर्पगन्धा, पाँचऔँले, कुटकी, जटामसी, यार्सागुम्बालगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने साङ्जेन भ्याली उचित प्रचार प्रसारको अभावमा अझै स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन 

बिहानीको सूर्यको किरणले गगनचुम्बी सेता हिमाललाई अंकमाल गरिरहेको छ । फेदीमा रहेको घाँसे मैदानमा भेडा र चौँरीगाई चरिरहेका छन् । भ्यालीको बीचबाट हिमनदी बगिरहेको छ । नदीको दुईतर्फ रहेका घाँसेखर्कमा मन बहलाउने रंगीचंगी लेकाली फूलहरू फुलिरहेको देखिन्छ । सिरसिर चिसो हावा चलिरहेको छ । स्थानीयहरू आफ्नै ध्याउन्नमा देखिन्छन् । ३७४० मिटर उचाइमा रहेको भ्याली यति सुन्दर देखिन्छ कि मानौँ विभिन्न ग्रन्थहरूमा वर्णन गरिएको स्वर्ग यही ठाउँ हो । १३ भदौमा आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधिसँग साङ्जेन भ्याली पुग्दा सबैलाई त्यहाँको प्राकृतिक सुन्दरताले मोहित बनायो । 

रसुवाको तातोपानीबाट सात घन्टा हिँडेर चित्ताकर्षक साङ्जेन भ्याली पुग्दा बाटोभरिको पूरै थकान मेटियो । दुःख–पीडा बिर्सेर मन पनि प्रफुल्लित बन्यो । यहाँ खान बस्नका लागि स्तरीय होटेल छैनन्, भेडा र चौरीसँगै गोठमा बस्नुपर्छ, तैपनि दुई/चार दिन बितेको पत्तै नहुँदो रहेछ । आमाछोदिङ्मो गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठक साङ्जेन भ्यालीमा राखेको हुनाले यो यात्राको अवसर जुरेको थियो । साङ्जेन भ्याली पुग्ने करिब ३० जना सहभागी सबैजना उत्साहित देखिए । यहाँको मौसम छिनछिनमा फेरिइरहन्छ । एकैछिनमा घाम लाग्छ, एकैछिनमा बादल लागेर अँध्यारो भइहाल्छ । चार दिनसम्म बस्दा पनि साङ्जेन भ्याली छाडेर हिँड्न मनले मानिरहेको थिएन । तर, सबैलाई घर फर्किनु नै पर्ने थियो, १३ गते साङ्जेन भ्याली पुगेका हामी १६ भदौमा गन्तव्यतर्फ फर्कियौँ ।

                                                                                               ......

रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन । आमाछोदिङ्मो गाउँपालिकाको आकर्षणका रूपमा रहेको साङ्जेन भ्यालीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय जनप्रतिनिधि कस्सिएका छन् । यो ठाउँलाई पदमार्गका रूपमा विकास गर्ने उद्देश्यले चालू आर्थिक वर्षको गाउँ कार्यपालिकाको पहिलो बैठक १५ भदौमा साङ्जेन भ्यालीमा राखिएको हो । बैठकले साङ्जेन भ्यालीको पर्यटन प्रवद्र्धनका लागि विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्द्धनका लागि व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले भने, ‘ओझेलमा परेको पर्यटकीय ठाउँलाई प्रवर्द्धन गर्न पहिलोपटक साङ्जेन भ्यालीमा बैठक बसेका हौँ, अब गुरुयोजना बनाएरै काम अगाडि बढाउँछौँ ।’ काठमाडौंबाट नजिकै रहेको रसुवालाई पर्यटकीय पहिचान दिलाउने लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्ग हुन् । ‘अब रसुवालाई चिनाउने अर्को पर्यटकीय प्रोडक्ट पनि थपिनेछ साङ्जेन भ्याली,’ बैठक सकेपछि उत्साहित हुँदै उनले भने । जिल्लाको पहिचान बढाउनै यस्ता दर्जनौँ प्रोडक्ट भए पनि प्रचारप्रसारको अभावमा दबिएको उनको गुनासो छ । गाउँपालिकाले ओझेलमा परेका पर्यटकीय उपजहरूको खोजी गरी प्रवद्र्धन गर्ने पहल थालेको छ ।

आमाछोदिङ्मो गाउँपालिका–५ मा पर्ने साङ्जेन भ्याली चीनसँगको सीमा क्षेत्रमा अवस्थित छ । थाम्बुचेत, तातोपानी, रोंगा हुँदै साङ्जेन भ्याली पुग्न सकिन्छ । तामाङ सम्पदामार्गमा रहेको पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै पनि साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । पहिला थाम्बुचेतबाट तातोपानी हुँदै साङ्जेन भ्यालीसम्म पुग्न करिब १० घन्टा पैदलयात्रा गर्नुपथ्र्यो । अहिले सडकको पहुँच तातोपानीसम्म पुगेको हुनाले सात घन्टाको यात्रामै साङ्जेन भ्याली पुग्न सकिन्छ । आगामी एक वर्षभित्र ७८ मेगावाटको साङ्जेन जलविद्युत् आयोजनाले रोंगा पुलसम्म सडक विस्तार गर्ने योजना बनाएको छ । त्यसपछि यो दूरी तीन घन्टामा छोटिनेछ । 

                                                                                                    ......

साङ्जेन भ्यालीमा पुगेको पहिलो दिन बसेको स्थानबाट चार घन्टाको दूरीमा गोसाइँकुण्डपछिको दोस्रो ठूलो कुण्ड डिल्पुकुण्ड भेटिन्छ, जुन ४७२० मिटरको उचाइमा अवस्थित छ । यस्तै, साङ्जेन भ्यालीको नजिकै अन्य दुईवटा आकर्षक कुण्डहरूको पनि अवलोकन गर्न सकिन्छ । साङ्जेन हिमालसँगै पाल्दोर पिकसम्म पुग्दा त्यहाँबाट नजिकै रहेको धादिङको लिङ्जो गाउँसहित रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

राजा अंशुवर्माकी छोरी भृकुटीले तिब्बतमा बिहे गरेर जाँदा यही बाटो हुँदै गएकोसमेत मानिन्छ । यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् । सर्पगन्धा, पाँचऔँले, कुटकी, जटामसी, यार्सागुम्बालगायतका बहुमूल्य जडीबुटीको धनी क्षेत्र हो साङ्जेन भ्याली । ठुल्ठूला घाँसेमैदान भएको हुनाले यहाँ चौँरी, भेडा र च्याङ्ग्रापालनको ठूलो सम्भावना छ । स्थानीय भन्छन्, ‘यो क्षेत्रमा कम्तीमा चार दिन पर्यटकलाई भुलाउन सक्ने सम्भावना छ ।’ डिल्पु कुण्डमा एक दिन बिताउन सकिन्छ, जुन धादिङ जिल्लासँग नजिक पर्छ । यस्तै, भ्यालीदेखि करिब तीन सय मिटरको उचाइमा पुगेपछि नजिकैबाट गणेश हिमाल, साङ्जेन हिमाल र पाल्दोर पिकलाई नजिकबाट देख्न सकिन्छ । यससँगै ग्ल्यासियरमा पनि एक दिनमा पुग्न सकिन्छ । 

‘गतलाङ, सोमदाङ हुँदै साङ्जेन भ्याली, तातोपानीलगायतका सम्भावित स्थलहरूको पर्यटन प्रवर्द्धन गर्न विस्तृत अध्ययनसहित पर्यटकीय पदमार्गमा पूर्वाधार निर्माण गर्न डिपिआर बनाउने निर्णय सर्वसम्मत पारित भएको छ । साङ्जेन भ्यालीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअनुरूप गाउँकार्यपालिकाको बैठक यही ठाउँमा बसेका हौँ,’ गाउँपालिकाको बैठकपछि प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ भन्छन्, ‘पर्यटन क्षेत्रलाई अघि बढाउने मूल उद्देश्यसहित हामीले साङ्जेन भ्यालीलाई प्रवर्द्धन गर्न लागेका हौँ ।’ ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई प्रवर्द्धन गरे पर्यटक तान्न सकेमा पूरै गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

आमाछोदिङ्मो गाउँपालिका–१ का वडाध्यक्ष निमादिण्डुप तामाङले साङ्जेन भ्यालीलाई पर्यटकीय गन्तव्य बनाएर गाउँपालिकाकै गहना बनाउने दाबी गरे । त्यसका लागि साङ्जेन भ्यालीसम्मको पदमार्ग निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘ठाउँठाउँमा भत्किएको बाटोलाई मर्मत गर्नुपर्ने हुन्छ, केही ठाउँमा पुलसमेत निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘यो क्षेत्रमा धेरै सम्भावना रहेको छ, त्यो सम्भावना पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’ 

वडा नम्बर ३ वडाध्यक्ष दावा गुम्बो तामाङले पर्यटनको क्षेत्रका रूपमा साङ्जेन भ्यालीलाई विस्तार गर्न सके पूरै गाउँपालिकाको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा व्यक्त गरे । त्यस्तै, वडा नम्बर २ का अध्यक्ष दावा नोर्चु तामाङले पर्यटकीय गन्तव्य रहेको साङ्जेन भ्यालीमा राज्यको आँखा नपुगेको र प्रचारप्रसार नहुँदा गाउँकार्यपालिकाको बैठक बस्न जनप्रतिनिधिहरू एक भएर साङ्जेन भ्याली आएको बताए ।

साङ्जेन भ्यालीमा पुग्ने पर्यटकका लागि खानेबस्ने सुविधा छैन । अहिले स्थानीयसँगै चौँरी र भेडाको गोठमा बस्नुपर्ने हुन्छ । यो क्षेत्रमा पर्यटक आकर्षित गर्न होटेलको राम्रो प्रबन्ध गर्नुपर्ने हुन्छ । यस्तै, त्यहाँसम्म पुग्ने पदमार्ग पनि स्तरोन्नति गर्नुपर्छ । ‘पर्यटकलाई खानेबस्ने प्रबन्ध गर्न होटेल वा क्याम्पको व्यवस्था गर्नुपर्छ,’ तामाङले भने ‘अब यो कामको जिम्मेवारी गाउँपालिकाको काँधमा आइपुगेको छ ।’ पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनी भन्छन् ‘यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी सबै एकढिक्का भएर अघि बढ्ने छौँ र नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछौँ ।’