१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:४o:oo
Read Time : > 5 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोरोना बिमा र दाबी भुक्तानी नगर्न प्रोत्साहित गर्दै बिमा समिति

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:४o:oo

संक्रमित बढेपछि केही कम्पनीले पोलिसी नै जारी गर्न छाडे, १० करोड भुक्तानी गरेनन्

हाल काठमाडौं बस्दै आएका गोरखाका स्थायी बासिन्दा केदार भट्टराईले आफ्नो सम्पूर्ण परिवारको कोरोना बिमा गराउन चाहेका थिए । तर, बिमा समितिको नयाँ प्रावधानले कोरोना बिमाप्रति निरुत्साहित बनाएको उनको अनुभव छ । परिवारका सबै सदस्यको बिमा गराउन जाँदा कम्पनीले वडाको सिफारिस माग गरेपछि बिमा गर्न नपाएको उनले बताए ।

‘म काठमाडौंमा छु, गाउँमा रहेका वृद्ध आमा, बुबा र भाइबहिनीलाई यस विषयमा कुनै जानकारी नै छैन । गाउँमा वडा कार्यालय नै बन्द छ । यस्तो अवस्थामा वडाको सिफारिस कसरी ल्याउनु ?’ उनी भन्छन्, ‘यो सर्वसाधारणले बिमा नगरोस् भनेर ल्याइएको व्यवस्था हो ।’ पोखराका सञ्जीव खाँडले पनि बिमा गराउन जाँदा त्यस्तै त्यस्तै अनुभव गर्नुप-यो ।

सम्पूर्ण देश नै निषेधाज्ञामा भएको समयमा सिफारिस लिन वडा कार्यालय पुग्न कठिन भएको उनको भनाइ छ । यस विषयमा कम्पनीलाई जानकारी गराउँदा उनीहरू बिमा समितिको आदेश पालना गर्नुपर्ने बताउँछन् । यसअघि बिमा समितिले कोरोना बिमा गर्दा बिमितले आफू स्वस्थ रहेको स्वयं घोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, १५ दिनपछि मात्रै दाबी भुक्तानी गर्ने भएपछि वडाको सिफारिसको कुनै औचित्य नभएको विज्ञहरू बताउँछन् । 

सरकारी अस्पतालको पिसिआरलाई मान्यता दिने तथा १५ दिन सम्बन्धित वडामा बसेको वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने प्रावधान ल्याएर बिमा समितिले कोरोना बिमालाई निरुत्साहित गर्न थालेको सरोकारवालाहरू बताउँछन् ।

यसअघि स्वास्थ्य मन्त्रालयमातहतका स्वास्थ्य संस्थाको पिसिआर रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार निजी स्वास्थ्य सेवामा परीक्षण गरिएको रिपोर्टलाई मान्यता नदिएको युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बताए । ‘समितिकै मापदण्डअनुसार पहिला पनि भुक्तानी नदिएको हो । समितिले फेरि पनि सर्कुलेसन जारी गरी त्यसमा कडाइ गरेको छ,’ उनले भने । तर, केही कम्पनीले निजी स्वास्थ्य संस्थाबाट गरिएको पिसिआरलाई मान्यता दिएका कारण समितिले पुनः सर्कुलेसन जारी गरेको हो ।

त्यस्तै, नेपाल बिमक संघका महासचिव एवं सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले पनि समितिले तोकेको मापदण्डअनुसार निजी स्वास्थ्य संस्थाको पिसिआर रिपोर्टको मान्यता नदिएको बताए । तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने कोरोना बिमा मापदण्डमा भएको व्यवस्थालाई नै पुनः सर्कुलर मात्रै गरिएको बताए । केही कम्पनीले निजी स्वास्थ्य संस्थाबाट पनि पिसिआर परीक्षण गरी दाबी आएको गुनासो गर्न थालेपछि सर्कुलेसन गरिएको उनले बताए । 

१ लाख बिमांकको सामूहिक बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्छ । त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको छ । तर, बिमा समितिले अनुदान सुविधा लिन चाहने व्यक्तिले वडा कार्यालयबाट १५ दिन वडामै रहेको सिफारिस ल्याउनुपर्ने प्रावधान राखेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कम्पनीहरू कोरोना बिमा जारीबाट पछि हट्न थालेका छन् । बिमा समितिले जबर्जस्ती कोरोना बिमा सञ्चालनमा ल्याएको भन्दै कम्पनीहरूले चुपचाप बिमा बन्द गर्न थालेका हुन् ।

महामारीको आकलन नगरी बिमाको सिद्धान्तविपरीत सस्तो लोकप्रियता र निश्चित व्यक्तिलाई खुसी बनाउन समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले चैतमा कोरोना बिमा घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको आरोप छ । सुरुवातमा संक्रमण पनि कम देखिएकाले र समितिले दबाब दिएपछि कम्पनीहरूले कोरोना बिमा जारी गर्न थाले ।

तर, संक्रमण संख्या बढ्न थालेपछि दुई महिना नहुँदै कम्पनी धराशायी हुने भन्दै कम्पनीहरूले पोलिसी जारी गर्न नै छाडेका थिए । तर, २३ जेठमा नै समितिले कम्पनीहरूलाई परिपत्र जारी गरी कोरोना बिमा गर्न निर्देशन दियो । जसमा बिमामा पर्ने दायित्वको बाँडफाँड बिमा समिति, नेपाल पुनर्बिमा कम्पनी र नेपाल सरकारले व्यहोर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनहरूमा संक्रमितको संख्या दिनमै १ हजारभन्दा बढी देखिन थालेपछि कम्पनीहरू त्रसित भएर बिमा पोलिसी नै बिक्री बन्द गर्न थालेका हुन् ।

नेपाल बिमक संघको तथ्यांकअनुसार पछिल्लो एक महिनाको अवधिमा नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा, प्रिमियर, सिद्धार्थ र युनाइटेड इन्स्योरेन्सले धेरै कम बिमा पोलिसी जारी गरेका छन् । राष्ट्रिय बिमा कम्पनीले एक महिनाको अवधिमा जम्मा दुई दिन मात्रै बिमा पोलिसी बिक्री गरेको देखिन्छ । त्यो पनि थोरै संख्यामा । पछिल्लो २० दिनमा कम्पनीले एउटा पनि पोलिसी जारी गरेको छैन ।

त्यस्तै, नेसनल इन्स्योरेन्सले पनि दुई दिन मात्रै पोलिसी जारी गरेको छ । कम्पनीले पछिल्लो २० दिनमा एउटा पनि पोलिसी जारी गरेको छैन । प्रिमियर इन्स्योरेन्सले एक महिनाको अवधिमा दुई दिन मात्रै कोरोना बिमा पोलिसी बिक्री गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले चार दिन र युनाइटेड इन्स्योरेन्सले तीन दिन मात्रै बिमा पोलिसी जारी गरेको देखियो । पछिल्लो १५ दिनमा कम्पनीले एउटा पनि पोलिसी जारी गरेको छैन । त्यस्तै, एभरेस्ट, प्रुडेन्सियल र प्रभु इन्स्योरेन्सले पनि कोरोना बिमा पोलिसीलाई कम प्राथमिकता दिएको देखिएको छ । 

सरकारी ढुकुटीको दुरुपयोग

बिमा समितिले जारी गरेको कोरोना बिमाले सरकारी ढुकुटीको दुरुपयोग हुने देखिएको छ । सरकारले एकातिर कोरोना बिमाको बिमाशुल्कमा अनुदानको व्यवस्था गरेको छ भने अर्कोतिर दाबी भुक्तानी पनि सरकारले नै व्यहोर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । कम्पनीहरूमा ३५ हजारभन्दा बढी पोलिसीको दाबी परेमा सरकारले जिम्मेवारी लिनुपर्ने सम्झौता छ ।

यस्तो बाँडफाँडले कम्पनीहरूले उचित अन्डरराइटिङविना पोलिसी बिक्री गरी रकम संकलन गरे पनि दाबी भुक्तानी भने नेपाल सरकारले गर्नुपर्ने हुन्छ । तर, यस विषयमा अर्थ मन्त्रालय र बिमा समितिबीच सहमति भएको आफ्नो जानकारीमा नभएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री बताउँछन् । उनी भन्छन्, ‘सरकारले बिमा प्रिमियममा अनुदान दिने भनेको छ । तर, दाबी भुक्तानीको दायित्व सरकारले कसरी लिन सक्छ र ?’  

निजी कम्पनीहरूले गरेको बिमाको दाबी भुक्तानी गर्ने प्रावधान विश्वको कुनै पनि मुलुकमा नभएको विज्ञहरू बताउँछन् । सरकारले अनुदान मात्रै दिन सक्ने, तर दाबी भुक्तानीकै व्यवस्था हुँदा सरकारी ढुकुटीको दुरुपयोग हुने उनीहरूको जिकिर छ । 

कोरोना बिमाबाट ५३ करोड संकलन गरे, तर साढे १० करोड दाबी भुक्तानी भएन 

निर्जीवन बिमा कम्पनीहरूले साढे १० करोड बिमा दाबी भुक्तानी गर्न बाँकी रहेको बिमक संघको तथ्यांक छ । विभिन्न कम्पनीमा परेको दाबी संख्यामध्ये १ हजार १ सय २८ वटा कोरोना बिमाको दाबी भएको छैन । संघका अनुसार कम्पनीहरूले १ लाख ८ हजार ६ सय १६ वटा बिमा पोलिसीमार्फत ९ लाख ४० हजार २ सय ३७ जना व्यक्तिहरू कारोना बिमामा समेटिएका छन् ।

हालसम्म कोरोना बिमाबाट ५३ करोड रुपैयाँ बिमाशुल्क संकलन गरिसकेका कम्पनीहरूले दाबीबापत २ करोड २६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन् । १ लाख रुपैयाँ बिमांकको २ सय १३ वटा र ५० हजार बिमांक भएका २६ वटा दाबीको १३ लाख रुपैयाँ भुक्तानी भएको छ । कोरोना दाबीका लागि आएका निवदेनहरूमा आवश्यक डकुमेन्ट अभाव भएकाले भुक्तानीमा समस्या भएको कम्पनीका कर्मचारीहरू बताउँछन् ।  

जोखिम अवधि फरक–फरक, बिमित मर्कामा

 निर्जीवन बिमा कम्पनीले जारी गर्ने अधिकांश पोलिसीको जोखिम वहन अवधि १ वर्षको हुन्छ । तर, विभिन्न समयमा कोरोना बिमाको आएको विवादले जोखिम अवधि पनि फरक–परक राखिएको छ । बिमा समितिले ७ वैशाखदेखि यो पोसिली सञ्चालनमा ल्याएको थियो ।

सो अवधिमा जारी गरिएको बिमाको अवधि १२ महिना कायम गरिएको छ । तर, २२ जेठदेखि असार मसान्तसम्म जारी गरिएका बिमा पोलिसीको जोखिम वहन अवधि भने जम्मा १० महिना (आगामी चैत महिनासम्म)को हुनेछ । त्यस्तै, असारदेखि जारी गरिएको बिमा पोलिसीको अवधि आगामी असार मसान्तसम्म मात्रै कायम हुनेछ । अर्थात्, पोलिसीको अवधि १२ महिनाको हुनेछैन ।

निजी स्वास्थ्य संस्थाको पिसिआर अनुसन्धान गर्न समिति गठन

बिमा सिद्धान्तको विपरीत कोरोना बिमाको विषयमा बिमा समितिले फेरि अर्को अव्यावहारिक निर्णय गरेको छ । कोरोना बिमा दाबी गर्दा पेस गर्नुपर्ने पिसिआर परीक्षणको विषयमा समितिले आइतबार अर्को परिपत्र जारी गरेको हो । नयाँ परिपत्रअनुसार बिमा कम्पनीहरूमा निजी स्वास्थ्य संस्थाबाट गरिएको पिसिआर परीक्षण रिपोर्ट छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

बिमा समितिको नेतृत्वमा समिति गठन गरी दाबीहरूको अनुसन्धान गरिने भएको हो । तर, समितिको यो निर्णय अत्यन्तै अव्यावहारिक भएको समितिकै कर्मचारीहरू बताउँछन् । निजी स्वास्थ्य संस्थाको पिसिआर रिपोर्टलाई मान्यता नदिने हो भने छानबिनको औचित्य नहुने उनीहरूको भनाइ छ ।  

आइतबार समितिले कोरोना बिमा मापदण्ड संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । छानबिन समितिले दिएको सुझाबअनुसार संशोधन प्रक्रिया सञ्चालन गर्ने बिमा समितिले जनाएको छ । समितिले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल बिमक संघको सहमतिमा निर्णय गरेको हो । निजी स्वास्थ्य संस्थालाई मान्यता नदिने निर्णयमाथि भइरहेको आलोचनालाई मत्थर बनाउन समितिले अर्को निर्णय गरेको हो ।   

कोरोना बिमाको दायित्व सरकारले व्यहोर्दैन : उत्तरकुमार खत्री, प्रवक्ता, अर्थ मन्त्रालय

कोरोना बिमाको दायित्व सरकारले बेहोर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र बिमा समितिबीच कुनै सहमति भएजस्तो लाग्दैन मलाई । सरकारले बिमा प्रिमियममा अनुदान दिने भनेको छ । तर, दाबी भुक्तानीको दायित्व सरकारले कसरी लिन सक्छ र ? यस विषयमा कुनै छलफल भएको त मलाई अहिलेसम्म याद छैन ।

निजी अस्पतालको पिसिआर रिपोर्ट छानबिन हुन्छ : राजुरमण पौडेल, कार्यकारी निर्देशक, बिमा समिति

कोरोना संक्रमित बिमितहरू निजी अस्पतालको आइसोलेसनमा छन् । कोरोना बिमाको १ लाख रुपैयाँ लिनकै लागि अब फेरि सरकारी अस्पतालमा गएर परीक्षण गर भन्नु बिमा समितिको निर्णय व्यावहारिक हो ? 

हामीले परिपत्र जारी गरेका छौँ । आइतबारको निर्णयअनुसार निजी अस्पतालमा परीक्षण गराएको पिसिआर रिपोर्टको दाबीमाथि छानबिन गरिने भएको छ । बिमा समितिको नेतृत्वमा गठन भएको समितिले निजी अस्पतालबाट आएको दाबी रिपोर्ट छानबिन गर्नेछ । आगामी दिनमा निजी अस्पतालको रिपोर्ट पनि मान्यता दिनका लागि अध्ययन समिति गठन गरेका छाँै । 

बिमा कम्पनीहरूमा परेको कोरोना बिमा दाबीमध्ये २० प्रतिशत पनि कम्पनीहरूले भुक्तानी गरेका छैनन् । बिमा समितिले दाबी भुक्तानीमा पहल गर्नुपर्ने होइन ?

लकडाउनको समय छ । त्यसैले पनि भुक्तानी गर्न गाह्रो भएको कम्पनीहरूको भनाइ छ । फेरि कतिपय बिमितहरू संक्रमण भएपछि दाबीभन्दा पनि उपचारतर्फ व्यस्त हुने गरेको देखियो । त्यसैले भुक्तानीमा ढिलाइ भएको हो । हामीले कम्पनीहरूलाई सात दिनभित्रमा दाबी भुक्तानी गर्न निर्देशन दिएका छौँ । 

संक्रमितको संख्या बढ्दै गएपछि केही कम्पनीहरू कोरोना बिमा जारी गर्नबाट पछि हटेको देखिन्छ नि ?

हामीसँग त्यस्तो सूचना आएको छैन । कुनै कम्पनीले जारी गरे पनि, नगरे पनि यो पुलबाट सञ्चालन हुने पोलिसी हो । जसमा सबै कम्पनीले समान रूपमा दायित्व र आम्दानी बाँडफाँड गर्नुपर्छ । केही कम्पनीले कोरोना बिमा गर्दा मानिसहरूसँग अन्य बिमा पनि मागेका होलान् । मार्केटिङ रणनीति परिवर्तन गरे होलान् भन्नेचाहिँ लाग्छ ।

ad
ad