Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ११ आइतबार
  • Sunday, 27 September, 2020
एजेन्सी
२०७७ श्रावण २९ बिहीबार १३:२१:००
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिग : पिएसजी पुग्याे सेमिफाइनलमा

एजेन्सी
२०७७ श्रावण २९ बिहीबार १३:२१:००

‘इन्जुरी’ समयमा दुई सनसनीपूर्ण गोल फर्काउँदै फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पिएसजी)ले युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बुधबार राति भएको खेलमा पिएसजीले इटालियन टोली एटालान्टालाई २–१ गोलले पराजित गऱ्याे ।

पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । पिएसजीले खेलको सुरुवात जसरी गऱ्याे, त्यसले युरोपको महादेशीय ठूलो प्रतियोगितामा उसको यात्रा फेरि उपाधिनजिक पुग्नुअघि नै समाप्त हुने देखिएको थियो ।

खेलमा टोलीले विश्वकै महँगा खेलाडी नेमारबाट धेरै आशा गरेको थियो । तर, उनै नेमारले दुई राम्रा अवसर चुकाएपछि  पिएसजीको सम्भावना कमजोर देखिएको थियो ।

तर, निर्धारित समयको खेल सकिनै लाग्दा ९०औँ मिनेटमा नेमार टोलीको उद्धार गर्न आइपुगे । नेमारले मिलाइदिएको पासलाई गोल गर्दै मार्कन्होसले टोलीका लागि बराबरी गोल गरे । त्यसपछि केलियन एम्बाप्पेको सहयोगमा इरिक माक्सिम चोउपो मोटिङले अर्काे गोल गरेपछि पिएसजीको यात्रा अघि बढेको हो ।

यो जितले क्लबको ५०औँ स्थापना दिवस पनि सुखद बन्यो । पिएसजीको बुधबार नै स्थापना दिवस थियो । पिएसजीले अब फाइनल प्रवेश गर्नुअघि सेमिफाइनलमा जर्मन टोली आरबी लेइपजिग वा स्पेनी टोली एट्लेटिको म्याड्रिडमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोली दोस्रो क्वार्टरफाइनल खेलमा बिहीबार प्रतिस्पर्धा गर्दै छन् ।

पिएसजीलाई नेमारको प्रेरणा युरोपियन क्लब फुटबलमा पिएसजीको इतिहास राम्रो छैन । तीन वर्षअघि च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनल पहिलो लेगको खेलमा बार्सिलोनासँग ४–० को अग्रता लिएर पनि पिएसजीले खेल समग्रमा ६–५ ले गुमाएको थियो ।

कोभिड– १९ महामारीका कारण ‘सिंगल लेग’ प्रणालीमा खेलाइएको बुधबारको क्वार्टरफाइनल खेलमा पनि नेमारले सुरुवातमै एउटा राम्रो अवसर गुमाइसकेका थिए । उनले सहज अवस्थाबाट पनि बल गोल पोस्टभन्दा निक्कै बाहिर प्रहार गरेका थिए । त्यसपछि खेलको २६औँ मिनेटमा एटालान्टाले १–० को अग्रता बनायो । मारियो पासालिकले गोल गरेका थिए ।

एटालान्टाका सबै खेलाडीले लिने तलब एक्लैले लिने विश्वकै महँगा खेलाडी नेमारले फेरि अर्काे उत्कृष्ट अवसर खेर फाले । टोलीका मुख्य खेलाडीले एकपछि अर्काे राम्रा अवसर खेर फालेपछि पिएसजीको यात्रा संकटमा देखिएको थियो । त्यसका बाबजुद नेमारले मिहिनेत गर्न छाडेनन् ।

आफूले गोल गर्न नसके पनि सहकर्मीलाई राम्रो गोल गर्ने अवसर मिलाइदिए । अघिल्लो खेलमा चोटग्रस्त बनेका केलियन एम्बाप्पे पनि मैदानमा प्रवेश गरेपछि पिएसजीले आफ्नो खेलमा सुधार ल्याएको थियो । उनी आफैँले पनि अर्काे एक गोलको अवसर सिर्जना गरी टोलीको जितमा योगदान पुऱ्याए ।

खेलमा नेमारले १६ सफल ड्रिबल्स गरेका थिए, जुन सन् २००८ को च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोनाका लियोनल मेसीले हात पारेको सफलतापछिकै उत्कृष्ट प्रदर्शन हो । पिएसजीले च्याम्पियन्स लिगको ११ क्वार्टरफाइनल खेल खेल्दा मात्रै तेस्रो जित हात पारेको छ ।