Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २३ शुक्रबार
  • Friday, 07 August, 2020
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ असार ३१ बुधबार ०६:०५:००
अर्थ

एक करोड ६० लाख लगानीमा कर्णाली प्रदेशकै पहिलो कोल्ड स्टोर सुर्खेतमा

नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ असार ३१ बुधबार ०६:०५:००

भेरीगंगा नगरपालिका–१२ छिन्चुको झिलामिलीमा कर्णाली प्रदेशमै पहिलो कोल्ड स्टोर निर्माण भएको छ । करिब १ करोड ६० लाख लगानीमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले कोल्ड स्टोर निर्माण गर्न लागेको हो । कोल्ड स्टोरका लागि चालू आर्थिक वर्षमा कृषि विकास निर्देशनालयले ७० लाख र नारी जागरण बहुउद्देश्यीय समूहले २९ लाख लगानी गरेको छ  

त्यस्तै, गत आर्थिक वर्षमा भेरीगंगा नगरपालिकाको ६५ लाख, गुर्भाकोट नपाको ५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १५ लाख लगानी भएको नारी जागरण बहुउद्देश्यीय कृषक समूहकी अध्यक्ष ज्ञानु भुसालले बताइन् । ‘निर्माण थालेको दुई वर्षमा ९८ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भनिन्, ‘दसैँ अगावै कोल्ड स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ ।’

कर्णालीमा कोल्ड स्टोर नहुँदा किसानहरूले आलुलगायतका अन्य तरकारी तथा फलफूलको बिउ उत्पादनका लागि कोहलपुरको कोल्ड स्टोरमा लैजानुपर्ने बाध्यता थियो । ‘हामी सबैले पहिलो, दोस्रो र तेस्रो पुस्ताको बिउ उत्पादन गरिरहेका छौँ, बिउलाई कोल्ड स्टोर नहुँदा बचाउन गाह्रो भइरहेको थियो,’ उनले भनिन्, ‘यसअघि कोहलपुरको कोल्ड स्टोर प्रयोग गर्दा बढी खर्चालु हुने गरेको थियो ।’

कोल्ड स्टोरमा दुई सय मेट्रिकटन आलुको बिउ राख्न मिल्ने भुसालले जानकारी दिइन् । ‘कोल्ड स्टोरमा राख्नका लागि प्रतिकेजी ४ रुपैयाँजति लाग्नेछ,’ उनले भनिन्, ‘अब कुनै पनि तरकारी कुहिएर जाने किसानको समस्या हल हुनेछ ।’

कोल्ड स्टोर कर्णालीकै पहिलो भएको र यहाँ किसानहरूले उत्पादन गरेको वस्तु करिब ६ महिनासम्म राख्न सकिने कृषि विकास निर्देशनालयका निमित्त प्रमुख भक्तिप्रसाद शर्माले बताए । उनले भने, ‘कर्णालीका किसानहरूले आफ्नो तरकारी कुहिएर फाल्नुपर्ने अवस्था आउनेछैन ।’