सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १३ शनिबार ०४:०५:००
अन्तर्वार्ता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन्– किट ठीक छ भनेर हस्ताक्षर गर्न भनिएको थियो, मैले गरिनँ

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १३ शनिबार ०४:०५:००

अहिले जताततै आरएनए एक्स्ट्र्याक्सन किट, पिसिआर र भिटिएमको नाम पटक–पटक आइरहेको छ । तिनको नाम धेरैले उच्चारण गरेको सुनिन्छ, तर तिनको काम के हो भनेर सरल रूपमा कसरी बुझ्न सकिन्छ ?

कुनै पनि व्यक्तिको नमुना निकालेर राख्ने भाँडोलाई भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) भनिन्छ । भिटिएममा संकलित नमुनालाई केमिकलमा घोलिन्छ किनकि कोरोना भाइरस पत्रपत्रभित्र लुकेको हुन्छ । पत्र फुटाएर भाइरस निकाल्न आरएनए एक्स्ट्रयाक्सन किट चाहिन्छ ।

यसरी निकालिएको आरएनए कोरोना भाइरसको आरएनए हो कि होइन भनेर थाहा पाउन पिसिआर किट चाहिन्छ । पिसिआरले एउटा सानो जीवाणुलाई लाखौँमा फोटोकपी गरेर देखाउँछ जसको आधारमा भाइरस छ कि छैन, प्रस्ट देख्न सकिन्छ । त्यसैले भिटिएम, आरएनए एक्स्ट्रयाक्सन किट र पिसिआर एउटै प्रक्रियाका लागि आवश्यक तीन सामग्री हुन् । 

सेनाले ल्याएको र प्रयोग गर्न समस्या भएको सामग्री के हो ? उसले छुट्टाछुट्टै सामग्री ल्याएको छ कि सेट नै ? 

सेनाले ल्याएको किट सेटमै छ । उसले ल्याएको किट नेपालमा नयाँ पनि होइन । विगतमा ओम्नीले पनि यही किट ल्याएको थियो । ओम्नीले खरिद गरी सानो पोर्टेबल पिसिआर मेसिनका लागि ल्याएको थियो । चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग गर्‍यौँ, तर एक्स्ट्रयाक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्रयाक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन ।

हाम्रो प्रयोगशालामा नमिल्ने किटले गलत नतिजा आउँदा समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो । 

सेनाले त खरिद मात्र गरेको हो, प्राविधिक रूपमा कस्तो सामग्री ल्याउने भनेर त स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य प्रयोगशालाले निश्चित गरेको होला । जुन कम्पनीको किट अनुदानमा पाउँदा पनि प्रयोग गरिएन, अहिले किनेर किन ल्याइयो ? यसमा तपाईंहरूले पनि जिम्मेवारी लिनुपर्छ होला नि  ?

सेनाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सोधेको हो । तर, पिसिआर ल्याबका लागि के–के सामान चाहिन्छ, १० मिनेटभित्र पठाइदिनु भन्ने कुरा आयो । करिब एक घन्टामा मैले एउटा पिसिआर ल्याब सञ्चालन गर्न के–कति सामान चाहिन्छ भनेर सिफारिस गरेँ । पिसिआर किट, आरएनए एक्स्ट्रयाक्सन र भिटिएमलगायत ल्याबमा चाहिने अन्य सामग्रीको सूची उपलब्ध गराएँ ।

तर, हामीले यस्तो प्रकारको भिटिएम र आरएनए एक्स्ट्रयाक्सन आउला भन्ने सोचेका थिएनौँ । सामान आएपछि हामी त आरएनए एक्स्ट्रयाक्सन वितरण गर्न तैनाथ भएका थियौँ, तर एयरपोर्टमा आएको किटको फोटो हेर्दा छक्क पर्‍यौँ । चीनले अनुदानमा दिएका ३० हजार किट स्टोरमा राखिएको छ, फेरि त्यही किट आइपुग्यो । 

किट ल्याएपछि त्यो प्रयोग गर्न मिल्ने हो कि होइन भनेर तपाईंहरूबीच के–कस्तो छलफल भयो ? 

किट ल्याएको तीन दिनमा सामान बुझ्न स्वास्थ्य मन्त्रालयलाई बोलाउनुभएछ । त्यसमा मलाई पनि आमन्त्रितका रूपमा बोलाउनुभयो । सामान हेरेपछि यो सामान ठीक छ भनेर हस्ताक्षर गराउन सेनाले पत्र तयार पारेको थियो । २८ हजार किट प्रयोग गर्न उपयुक्त छ भनेर पत्र बनाइएको थियो । तर, मैले त्यसमा हस्ताक्षर गर्न मानिनँ । ल्याबमा प्रयोग नगर्दासम्म उपयुक्त हो वा होइन भन्न मिल्दैन । आइपुग्नुअघि नै यस्तो किट आउँदै छ भनेर सोधेको भए त्यस्तो नल्याउनुस् भनेर स्पष्ट भनिदने थियौँ । 

यस विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको भूमिका के थियो ? तपाईंहरूले पनि यो विषयमा छलफल गर्नुभयो होला नि ? 

किट प्रयोगमा समस्या भएको जानकारी आएपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई जानकारी गराइएको थियो । तर, निर्देशक नयाँ भएकाले उहाँको बुझाइमा केही कमी देखियो । महाशाखाका निर्देशक डा. रमेश खरेललाई यो किट प्रयोग गर्न सकिँदैन भन्ने जानकारी गराइएको थियो । तर, प्राविधिक विषय बुझ्न नसक्दा उहाँले यसलाई ‘नेगेटिभ’ अर्थमा लिन पुग्नुभयो । बरु, महाशाखाबाट त्यो सामग्री विभिन्न स्थानमा वितरण भएको जानकारीमा आयो । वीर अस्पतालले सुरुमा त्यही सेटभित्रको किट प्रयोग गर्दा नतिजा राम्रो आयो भनेर विभिन्न ठाउँमा वितरण गरियो । तर, नमुना बिग्रन थालेपछि फिर्ता भएको छ । 

यो किट अब प्रयोग हुन सक्छ कि सक्दैन, कुनै न कुनै प्रयोगशालामा त प्रयोग हुन सक्ला नि ?

आफैँले नमुना संकलन गरेर ल्याउने अवस्थामा मिल्न सक्छ । किट आफैँमा गुणस्तरीय छैन । तर, महामारीको समयमा प्रयोगमा ल्याउन सकिन्छ । आफैँ संकलन गर्न गएर ल्याए मिल्न सक्छ । तर, जहाँ नमुना संकलन भएर मात्रै परीक्षणका लागि पुग्छ, त्यस्तो ठाउँमा गाह्रो छ । वीर, पाटन, शिक्षण अस्पतालले प्रयोग गर्न सक्छन् । 

छुटाउनुभयो की ?