Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
पुरञ्जन आचार्य
२०७७ जेठ ३२ आइतबार १०:५६:००
दृष्टिकोण

बल्ल देखेँ मैले मेरो राष्ट्रवाद 

युवाहरूले देखाएको जोस र ऐक्यबद्धताले निःसन्देह सामाजिक, राजनीतिक रूपान्तरणसहितको भविष्यको संकेत गर्छ 

पुरञ्जन आचार्य
२०७७ जेठ ३२ आइतबार १०:५६:००

बिहीवार जेठ २९ गते छोरी बिहान १० बजे आफ्ना केही साथीसँग बडो हतारमा घरबाट निस्किइन् । सधैँ बिहान सात बजे नै अफिसका लागि निस्किने छोरी आज ढिलो गरी निस्केको देखेर मलाई सोध्न आँट आएन । हिजोआजका युवायुवतीलाई घरमा अभिभावकले सोधपुछ गरेको मनपर्दैन भन्ने हेक्का मलाई छ । 

अपराह्न दुर्ई बजेतिर निथ्रुक्क भिजेको लुगामा छोरी घर आएपछि सोधेँ, ‘पानी परेको छैन, कहाँबाट भिजेर आयौ ?’ ‘बालुवाटार प्रम निवासमा शान्तिपूर्ण प्रदर्शन गर्न गएको हामीमाथि प्रहरीले पानी र टियर ग्यास छोड्यो,’ भिजेकी छोरीले भनिन् । लकडाउनमा घरमै बसी टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको त्यो शान्तिपूर्ण जुलुस र प्रहरीको भिडन्त मैले पनि हेरिरहेको थिएँ ।

जीवनको लामो कालखण्ड यस्तै जुलुस, नारा, क्रान्ति, धर्ना हेरेर, सुनेर र सहभागी भएर बिताएको म, छोरी पनि प्रदर्शनकारी भइन् भन्ने सुन्दा एकछिन ‘ट्वाँ’ परेँ । आफूले जीवनका अनेक कालखण्डमा जुलुस, धर्ना, नारा र यातना भोगे पनि नेपालका मध्यमवर्गीय युवापिँढी देशप्रति चासो राखेर जुलुस, नारा वा धर्नामा सहभागी हुन्छन् भनी आजकाल अनुमान गर्न गाह्रो थियो मलाई । बिदेसिने वा आफैँमा रमाउने यो पिँढी देशको विविधता, असमानता, सरकारको अक्षमता र अपारदर्शितासँग कुनै साइनो पनि राख्छन् भन्ने मलाई कल्पनै थिएन । कसरी र कसले यो सम्भव गरायो ? जान्न म जिज्ञासु भएँ ।

ईशानलाई ‘ई’ भन्छन् रे ! उनी युवा छन् । देशको बिग्रिँदो अवस्थासँग रुचि राख्छन् र त्यस्तो रुचि अन्य युवा-युवतीमा पनि जगाउने काम उनी सामाजिक सञ्जालमार्फत गर्दा रहेछन् । राजनीतिक दलको समर्थन र विरोधबाट उनी आफ्नो अभियानलाई टाढै राख्न रुचाउँछन् । सरकार कोरोना महामारीका वेला पनि अपारदर्शी र जनताप्रति अनुत्तरदायी भयो भनेर शान्तिपूर्ण विरोध कार्यक्रममार्फत प्रम केपी ओलीलाई जिम्मेवार र गम्भीर हुन सचेत गराउने यो युवा अभियानको थालनी भएको रहेछ । मैले प्रतिनिधि पात्रसँगको कुराकानीबाट यस्तै बुझेँ । सत्तामा को छ र कसलाई ल्याउनुपर्छ भन्ने सोच यो अभियानका सामान्यदेखि सक्रिय युवा दिमागको सुदूर कुनामा पनि मैले पाइनँ, तर सत्ता सुध्रिएन भनी तर्क गर्ने क्षमता भने यिनमा अद्भूत देखेँ मैले । 

युवालाई आक्रोशित पारेर सडकमा निकाल्ने काममा प्रम ओलीको असभ्य र असुसंस्कृत शब्दवाण त्यत्तिकै जिम्मेवार छ । अनि जिम्मेवार छ, सरकारमा बस्नेहरूको विलासी जीवनशैली, भ्रष्टाचारका शृंखला अनि गैरसंवैधानिक केन्द्रबाट राज्य संयन्त्रमाथिको नियन्त्रण, सञ्चालन र निर्देशन ।

सरकारले दश अर्ब रुपैयाँ कोरोना महामारीमा खर्च भयो भन्यो, यी युवाले पत्याएनन् । सरकारले क्वारेन्टाइनमा जथाभावी युवाहरूलाई राखेर कोराना मात्र बढाएन, तिनको हुर्मत लिने काम गर्‍यो भन्नेमा विश्वस्त छन् यी युवाहरू । करको पैसा सरकारले दुरुपयोग गर्‍यो भन्ने पनि यिनलाई लागिरहेको छ । कोरोना महामारीलाई व्यवस्थित गर्न बनेको क्वारेन्टाइनको अवस्था यिनले देखे र सरकारी खर्च पत्याउन नसक्ने निष्कर्ष यिनले निकाले । यस्ता अनेकन् प्रश्नहरूको अनुत्तरदायी उत्तर जब जोकको शैलीमा प्रम सार्वजनिक रूपमै दिन्छन्, यी युवा तीनछक्क पर्छन् अनि हदै गैरजिम्मेवार प्रम भयो भन्छन् । 

एकातिर भीमकाय आकारको अनुत्पादक राजनीतिक संयन्त्र यिनै युवाले पाल्नुपर्ने परिस्थिति छ । तिनै युवा आफ्नो देश आउँदा नरकीय यातना र प्रताडनाबाट गुज्रिनुपरेको छ । यही विडम्बनाको गर्भगृहबाट युवाहरू आक्रोशित भएका छन् देशभरि । तर, युवा आक्रोश यतिमा मात्र सीमित ठान्नु प्रम ओलीको महाभूल हुनेछ । युवालाई आक्रोशित पारेर सडकमा निकाल्ने काममा प्रम ओलीको असभ्य र असुसंस्कृत शब्दवाण पनि त्यत्तिकै जिम्मेवार छ । अनि जिम्मेवार छ, सरकारमा बस्नेहरूको विलासी जीवनशैली, भ्रष्टाचारका शृंखला अनि गैरसंवैधानिक केन्द्रबाट राज्य संयन्त्रमाथिको नियन्त्रण, सञ्चालन र निर्देशन। 

प्रम ओलीको वाणी आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झैँ भएको छ । ट्रम्पले कोरोनाविरुद्ध डिटोल पिउन भने, यसैकारण अमेरिकामा केही मानिस मरे । नेपालका प्रम ओली पनि विज्ञानविरोधी कुरा गरेर कोरोनाको उपचार पद्धति संसद्को रोस्ट्रममा उभिएर सिकाउँछन् । शारीरिक रूपमा जीर्ण प्रम ओली मानसिक सन्तुलनसमेत गुमाएका जस्ता देखिन्छन् । 

अमेरिकामा अश्वेतमाथि राज्य बर्बर छ र पनि राष्ट्रपति ट्रम्प सत्ताको राजनीतिमा मग्न छन् । ट्रम्प हिंसा भड्काइरहेका छन् आफ्नो बोलीले । उनी अमेरिकालाई विभाजित गराएर आफ्नो कुर्सीको रक्षा गर्न चाहन्छन् भावी चुनावमा । नेपालका प्रम ओली अस्थिरता र अराजकता निम्त्याइरहेका छन् आफ्नो बोली र वचनले।

सामाजिक सञ्जालमा प्रमको विज्ञानविरोधी, हेपाहा प्रवृत्ति, असभ्य वचन र बेपर्वाह बडी ल्याङ्वेजले अराजनीतिक युवाहरूलाई संगठित गर्न सघायो । युवाहरू प्रम ओली गम्भीर र पारदर्शी मात्र होइन, नागरिकप्रति उत्तरदायी पनि बन भनेर सचेत गराउन सडकमा आए । तर, यी युवाहरूको सचेत सक्रियतामाथि अनेकन् चस्माले चियाउँदा षड्यन्त्र देखिन्छ । जब-जब राज्य सञ्चालकहरू भ्रष्ट, अक्षम र अयोग्य हुन्छन्, अनि सर्वत्र तिनले षड्यन्त्र देख्छन् । यस्तो षड्यन्त्र त्यस बखत देखिन थाल्छ, जब राज्य सञ्चालकहरू दिमागी दिवालियापनमा पुग्छन् र विवेक गुमाउँछन् । प्रम ओली अहिले त्यही दिमागी रूपमा टाट पल्टेका समूहसँग रमाइरहेका छन्, तिनको संरक्षक बनेका छन् ।

प्रमको बोली, वचन र व्यवहारको महत्व हुन्छ । त्यही महत्व बुझेर त अमेरिकाको हस्टन सहरका प्रहरी प्रमुखले राष्ट्रपति ट्रम्पलाई ‘रचनात्मक कार्य गर्न सक्दैनौ भने चुुप लाग जथाभावी बोलेर समस्या नबढाऊ’ भन्नुप¥यो । नेपालमा सुरक्षा निकायको कुनै पनि अफिसरले बिरलै प्रमको अराजक बोली र व्यवहारमाथि सतर्क गराउन सक्छन् होला । सुरक्षा निकायबाट त्यस्तो अपेक्षा गर्न सम्भव छैन नेपालमा । प्रमको पार्टी पनि निरीह र कमजोर नै देखिन्छ । प्रतिपक्षी दल कांग्रेसको निरीहतालाई प्रदिप गिरि र गगन थापाको लँगौटीले कति धान्ने र जोगाउने हो थाहा छैन । यी सबै निरीहताबीच तीस वर्षमुनिका युवाहरू ‘हामी छौँ’ भनी प्रमको असभ्यतालाई चुनौती दिन सडकमा निस्केका हुन् ।

प्रम आफूले नसोचेको ठाउँबाट चुनौती आएकोमा हतप्रद नै होलान् । सूचना, सञ्चार र प्रविधिको माध्यमबाट मध्यमवर्गका युवाहरू यसरी सडकमा आउँछन् भनेर सोच्न सक्ने वातावरण नै नेपालमा थिएन । मजस्ता कैयन् मध्यमवर्गीय परिवारका अभिभावकहरू यी केटाकेटीहरू विदेशतिर नगएर, इन्टरनेट र नेटफिक्सतिर नझुन्डिएर यो के गर्न सडकमा दौडिएको हुन् भनी तीनछक परेका छौँ यतिखेर ।

इमानदारीसाथ भन्ने हो भने नेपालमा युवा हस्तक्षेप जति बढ्छ, राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा त्यत्ति नै भावी दिनहरूमा मेरो पुस्ता विस्मयमा पर्छ । युवाहरूले अहिले देखाएको जोस, जाँगर र ऐक्यबद्धताले निःसन्देह सामाजिक, सांस्कृतिक र राजनीतिक रूपान्तरणसहितको नेपालको उज्ज्वल भविष्यको संकेत गर्छ । 

नवउदारवादको प्रारम्भिक कालखण्डमा राज्य सञ्चालनमा बसेका नीति-निर्माताहरूले देश र नेपाली नागरिकलाई धोका दिए । आफ्नो सन्तानको भविष्य यो देशमा नदेखेर बिदेसिन प्रोत्साहित गरे । त्यसैको नक्कल नवमध्यमवर्गले गर्‍यो । आफ्नो सन्तानलाई जयाजेथा बेचेर बिदेसिन हौस्यायो । यस्तै नक्कल निम्न-मध्यमवर्ग र सीमान्तकृत युवाहरूले पनि गरे र बिदेसिए । यो शृंखला झन्डै तीन दशक चल्यो । शासक र प्रशासकका सन्तान अमेरिका र युरोप गए । मध्यम र निम्न-मध्यमवर्गका अस्ट्रेलिया गए । गरिब, सीमान्तकृत र दलित युवाहरू भने मलेसिया, मध्यपूर्व र भारतमा बिदेसिए । 

अहिले धेरै युवाहरू स्वदेश सम्झिँदै छन्, फर्किंदै छन् । नयाँ नेपाल निर्माणको अवसर र आधारभूमि बन्दै छ । युवाहरूको स्वदेश आवागमनसँगै युवाविद्रोह काठमाडांै, पोखरा, विराटनगर, भरतपुर हुँदै देशभरि नै विस्तारित हुने क्रम स्वाभाविक हो । किन कोरोना महामारीका वेला पनि युवाहरू आफ्नो अभिभावकको कुरा नसुनी जीवन खतरामा राखेर निस्कन बाध्य भए ? राज्यले नियन्त्रणमा लिएर कानुनी कारबाही गर्छु भनी धम्कायो । प्रम ओली सधैँ आफू १४ वर्ष जेल बसेर आएको भनी धक्कु लगाउँछन्, तर पनि युवा मानव चेतना उनले बुझ्न नसकेको देख्दा धिक्कार्न मन लाग्छ । अमेरिकामा लाखौँ कोरोना महामारीले मरेका छन्, तर पनि अश्वेतको आन्दोलन राष्ट्रपति ट्रम्पको कफ्र्युले कहाँ रुकेको छ र ? खोइ बुझेका प्रम ओलीले ? 

बिहीवारदेखि किन हो मलाई नेपालका सहरमा निस्केको युवा जुलुस देखेर तिनको प्रतिनिधि पात्रहरूसँग कुराकानी गर्न मन लाग्यो । केहीसँग प्रत्यक्ष भेटेर र काठमाडौंबाहिरकासँग टेलिफोनमार्फत कुरा गरेँ । जुलुसमा सहभागी युवायुवतीको कुनै पनि राजनीतिक वादसँग साइनो थिएन । जुलुसमा सहभागी युवाहरू मुर्दावाद र जिन्दावादको नाराबाट टाढा थिए । हातमा लिएका प्लेकार्डले सुशासनको मुद्दा उठाएको छ । पहिलोपल्ट आर्थिक मुद्दा, राज्य सञ्चालनमा पारदर्शिता र शुद्धताको प्लेकार्ड लिएर सडकमा युवा निस्के । युवाहरू ‘इनफ इज इनफ’ ब्यानरबाट जोडिए । अब अति भो, प्रम ओली केही त गर । लकडाउन मात्र गरेर बस्ने कि जीवन र जनजीवन सामान्यतर्फ ल्याउन प्रयत्न पनि गर्ने ? यही नै बुझेँ ‘इनफ इज इनफको’ सारसंक्षेप मैले । 

जुलुसमा सहभागी हुन गएकाहरूमा युवा उद्यमशीलको संख्या पनि धेरै रहेछ । जो राज्यलाई कर तिर्छन् । उनीहरू भन्दै थिए, ‘देशभित्र उद्यम व्यापार गरी रोजगारी दिन र पैसा कमाउन हड्डी खियाउनुपर्छ, लकडाउनको निरन्तरताको औचित्यमाथि नै हामीले चित्त बुझाउने ठाउँ देखेनौँ ।’ यिनलाई भारतबाट सिमानामा आएर बसेका गरिब, सीमान्तकृत र दलित युवाहरूको दशा र दुर्दशा देखेर छटपटी लाग्यो र वर्गीय रूपमा फरक युवाहरूको समस्यासँग यसरी भावनात्मक रूपमा एकाकार हुन पुगे ।

मलाई यहीँनेर कालापानी नेपालको हो कि होइन भन्ने राष्ट्रवादभन्दा यी दुई पृथक् वर्गबीचको एकाकारमा राष्ट्रवादको संवेदनशीलता महान् लाग्यो । म यस्तै राष्ट्रवाद र देशभक्तिको पक्षमा मात्र बोल्न र लेख्न सक्छु । राजनीतिक नाराबाट निस्कने वेला-कुवेलाको मौसमी राष्ट्रवादप्रति म त्यति नै निरपेक्ष छु, जति वामदेव गौतम कालापानीमा दुई दशक अगाडि नेपालको झन्डा गाड्न गएर त्यो मुद्दालाई चटक्क बिर्सिएका थिए ।

म छक्क पर्छु, बालुवाटारअगाडि धर्ना दिएका ती शान्तिप्रिय युवा-युवतीलाई प्रमले भेटेर चित्त बुझाउन के गाह्रो परेको होला ? लोकतन्त्रमा प्रमले नागरिकसँग प्रत्यक्ष संवाद गर्छ । तब मात्र युवाहरूले उठाएका मुद्दाहरूसँग राज्य जोडिन्छ । देश नवनिर्माणको बाटोमा अगाडि बढ्छ । लोकतन्त्रमा जब जनताका प्रतिनिधिहरू खोपीबाट राज्य सञ्चालन गर्छन्, तब विद्रोह हुन्छ । राणा, शाह र त्यसपछिका लोकतान्त्रिक शासकहरूले पनि सडकबाट दबाब झेलेका हुन्, राजपाट गुमाएका हुन् ।

चौध वर्ष जेल बसेको भनी धक्कु लगाउने प्रमले सत्ताको सामान्य चरित्र पनि नबुझ्दा सर्वत्र षड्यन्त्रको चस्मा मात्र देखिन्छ । छोरीको आन्दोलनमा निस्कने क्रम रोकिएको छैन, सत्ताको चरित्र पनि सुध्रिने लक्षण देखिँदैन । मेरा पूर्वजहरूले मलाई भन्थे, ‘प्रजातन्त्र आए देश ठीक हुन्छ ।’ मैले मेरी छोरीलाई त्यही भनेको थिएँ । यतिखेर म सडकछेउमा उभिएर यी युवाहरूको आन्दोलन हेरी अतीतमा पुग्छु । हामी जहाँ थियौँ, त्यहीँ छाैँ । अब केही फरक यी युवाहरूले गर्छन् कि ! हेरौँ ।