सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
२०७७ जेठ २१ बुधबार ०६:४३:००
कोरोना अपडेट

कोरोनालाई हराएकी सेफको २९ दिने संघर्ष-कथा

२०७७ जेठ २१ बुधबार ०६:४३:००

४ जेठ । मसँग कोभिड-१९ ले हारेको दिन या मैले कोभिड–१९ लाई हराएको दिन । २९ दिन लामो संघर्षपछिको उपलब्धि । युनाइटेड अरब इमिरेट्सको दुबईको एक कम्पनीमा पाष्ट्री सेफका रुपमा कार्यरत मलाई ६ वैशाखमा कोरोना भाइरसको संक्रमण भएको शंका लाग्यो । ८ वैशाखमा रिपोर्ट आयो– कोभिड-१९ पोजेटिभ । त्यो ४८ घन्टा परीक्षण रिपोर्ट आउने प्रतीक्षामा बित्यो । सेफ पास्कल मलाई हरेक दिन फोन गर्थे र नआत्तिन भन्थे । ८ वैशाख दिउँसो उनको फोन आयो । मैले आफ्नो रिपोर्ट नआएकाले एकपल्ट बुझिदिन अनुरोध गरेँ । उनले मलाई नडराउन अनुरोध गर्दै मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

१० वैशाखमा मेरो ढोकामा कसैले बोलाएजस्तो लाग्यो । ढोका खोलेँ, एचआर म्यानेजर रहेछन् । उनले एउटा प्लास्टिकको ब्याग दिँदै भने आज तिमीलाई अस्पताल लैजाँदै छौँ । यसमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) छ, नर्सको निर्देशनअनुसार लगाउनू । साँझ ५ बजे नर्सले एम्बुलेन्स मेरो निवासनजिकै आइपुगेको र मैले पिपिई लगाउनुपर्ने जानकारी दिइन् । एम्बुलेन्स देख्नासाथ त्यसलाई हेर्न मानिसको भीड लाग्नु नयाँ कुरा थिएन । किनकि, एम्बुलेन्सको साथमा प्रहरीको गाडी पनि हुन्थ्यो । नर्सले यी सबै परिस्थितिको जनकारी गराउँदै मलाई नआत्तिन तथा नराम्रो नसोच्न अनुरोध गरिरहेकी थिइन् ।

यो अवधिमा मैले कुनै औषधि खाइनँ । केवल इच्छाशक्ति, डाक्टर र नर्सको उत्प्रेरणा, परिवारको हौसला, हाकिमको उचित पहल, सकारात्मक सोच, खानपान आदि सबैको प्रतिफल म आज कोभिड-१९ लाई हराउँदै जीवित छु ।

जब लिफ्टको ढोका खुल्यो, दर्जनौँ आँखाले मलाई पछ्याइरहेका थिए । कुनै आँखामा मैले मेरो लागि आशा देखिनँ । उनीहरू मलाई बिदा गर्न आएझैँ निराश थिए । तिनैमध्येका एक मुस्लिम पुरुषले गेट खोल्दै ‘अल्लाह’ भनेर मेरा लागि प्रार्थनाको हात उठाए । म बाहिरिएँ र एम्बुलेन्समा बसेँ । प्रहरीको भ्यानसँगै एम्बुलेन्स अस्पतालतर्फ बतासिन थाल्यो ।

करिब १५ मिनेटको यात्रापछि एम्बुलेन्स टक्क अडियो । अस्पताल आइसकेको अनुमान गर्न सक्थेँ । एम्बुलेन्सको ढोका खुल्यो । नर्सले मेरो स्वास्थ्यस्थिति बुझ्दै उनीसँगै आउन अनुरोध गरिन् । म इमर्जेन्सी वार्डको बेडमा थिएँ । उनले मेरो सम्पूर्ण स्वास्थ्य परीक्षण गरेपछि पाँचौँ तलाको आइसोलेसन रुम नम्बर ५१३ मा पु-याइन् ।

कोठामा बजेको माइकको आवाजले म झसंग भएँ । नर्सले डिनर र ब्रेकफास्टको अर्डर लिन आएकी सर्भिस स्टाफलाई कोअपरेट गर्न अनुरोध गरिन् । म सोच्दै थिएँ– ‘को आएछ ?’ उताबाट आवाज आयो– ‘दिदी हौ के खाने ?’ अर्डर लिन नेपाली बहिनी सलोमी पो आएकी रहिछन् । ‘म छिटो खाना लिएर आउँछु, खाएर थपक्क सुत्ने, पीर गर्ने हैन’ भन्दै उनी गइन् ।

म सोच्दै थिएँ, चाल्स (सुपरभाइजर)ले किचेनको नोटिस बोर्डमा ‘न्यु एड्मिसन’को डिटेल लेख्दै होलान् । केही बेरमा किचेनको ग्रुप च्याटमा म्यासेज आयो, तस्बिरसहित । नोटिस बोर्डमा लेखिएको थियो– रुम नम्बर ५१३, टाइप या सर्भिस–आइसोलेसन, एलर्जी–निल, टाइप अफ फुड– अर्डरअनुसार या सेफ प्रतिमा÷एक्स्ट्रा केयर । खुसी लाग्यो, टिमले माया गरेकोमा । खाना खाएर पल्टिएकी मात्र थिएँ, एउटा दृश्य मेरो आँखाअगाडि फनफनी घुमिरह्यो ।

मार्च पहिलो सातातिर हुनुपर्छ, म ड्युटी सकेर पार्किङ एरियातिर बढ्दै थिएँ । एउटा एम्बुलेन्स र प्रहरीको भ्यान इमर्जेन्सी वार्डको गेटअगाडि रोकिएको देखेँ । प्रहरीले हातले इसारा गर्दै मलाई रोकिन भने । दुवै गाडी एकैसाथ देख्दा कतै दुर्घटना भएको होला भन्ने मेरो दिमागमा थियो ।

केही समयपछि पहेँलो सर्ट र नीलो लुंगी लगाएका एक अधबैँसे पुरुष हातमा रातो प्लास्टिकको झोला लिएर एम्बुलेन्सबाट झरे । केही मिनेटमै उनी नर्सलाई पछ्याउँदै आँखाबाट ओझेल भए । मैले ड्राइभरलाई सोधेँ– ‘त्यो मान्छे को हो ? के भएको थियो ? प्रहरी किन आएको ?’ लामो सास फेर्दै उनले भने, ‘कोरोना बिरामी रे ।’ उनी बर्बराउँदै गाडीको स्टेरिङ घुमाउँदै थिए । ‘कति हट्टाकट्टा छ है ? कठै त्यो मान्छेले के सोचिरहेको होला ? के भयो होला ?’ मेरो दिमागमा अनगिन्ती प्रश्न थिए । त्यसवेलासम्म मलाई कोरोना भनेको ‘मृत्युदण्ड’ हो भन्ने थियो ।

११ वैशाख । नर्सको आवाजले बिउँझिएँ । उनले केही समयमा डाक्टर आउने जानकारी दिन माइक अन गरेकी रहिछन् । आज ढिलो उठेछु, साढे ८ भइसकेछ । केही बेरपछि डाक्टर र नर्स आए । कोरोना भएपछि डाक्टरसँगको पहिलो भेट थियो ।

डाक्टरले सोधे, ‘के छ खबर ?’ मैले भनेँ, ‘म बाँच्छु नि डाक्टर ?’ डाक्टरले हिजोका सबै रिपोर्ट बताउँदै भने, ‘तिम्रो फोक्सो र रगतमा कुनै प्रकारको संक्रमण छैन । ज्वरो र रुघाखोकी केही छैन । तिमी मर्ने चिन्ता गर्दै नगर ।’ उनीहरूमा मैले छुट्टै खालको आशा अनि विश्वास देखेँ ।

उनले करिब आधा घन्टा मलाई परामर्श दिइरहे । उनले भने, ‘यो केवल तिम्रो लडाइँ हो । जित्नुबाहेक तिमीसँग कुनै विकल्प छैन, तिमीले जित्नैपर्छ ।’ त्यस दिन मलाई निकै साहस मिलेजस्तो भयो । आज मेरो दोस्रो स्वाब परीक्षण हुँदै थियो ।

केही समयपछि नर्सले ‘आज तिमीलाई यहाँबाट अन्तै आइसोलेसन रुममा सारिन्छ’ भनिन् । मैले त कल्पना पनि गरेकी थिइनँ । उनले भनिन्, ‘दुबई हेल्थ अथोरिटी र अस्पतालको सहकार्यमा होटेल रुमहरू आइसोलेसन बनाइएका छन् । त्यहाँ यही अस्पतालले स्वास्थ्य सुविधा दिनेछ । म धेरै बेर बेचैन भइरहेँ । एक प्रकारको डर लाग्यो । कतै ढाँटेर अनकन्टार ठाउँमा छाड्ने त होइनन् ? मैले सेफलाई फोन गरेँ । उनले होटेलको नाम र मलाई आवश्यक पर्ने सबै सूचना दिए ।

साँझ ७ः१६ भइसकेको थियो । मलाई आइसोलेसनमा लाने तयारी हुँदै थियो । कागजी प्रक्रिया पूरा गर्न केही समय लाग्यो । केही बेरपछि म नर्सलाई पछ्याउँदै पार्किङ क्षेत्रमा आइपुगेँ । दुबई हेल्थ अथोरिटीले तोकेको मापदण्डअनुसार पिपिई लगाएर मात्र गाडी चढ्नुपर्ने रहेछ ।

ड्राइभरले नर्सलाई इसारा गर्दै एम्बुलेन्सको ढोका खोलिदिए । भित्र एक महिला थिइन् । केही बेरमा अन्य दुई पुरुष पनि आए । ड्राइभरले होटेलसम्म पुग्न ४५ मिनेट लाग्ने जानकारी दिँदै कुनै स्वास्थ्य समस्या भएमा भित्र भएको अलार्म थिच्न अह्राए ।

ढोका लाग्यो । एम्बुलेन्ससँगै मेरो मुटुको धड्कन पनि हुइँकिन थाल्यो । बल्ल होटेल आइपुग्यो । त्यहाँ पहिले नै नर्स आइसकेकी थिइन् । उनको निर्देशन पालना गर्दै कोभिड–१९ का बिरामीका लागि बनाइएको मार्गनिर्देशन पछ्याउँदै हामी होटेलभित्र पुग्यौँ । होटेल निकै ठूलो र सुविधासम्पन्न देखिन्थ्यो । टाढाबाटै होटेलका कर्मचारीले सत्कार गर्दै थिए । केही बेरको प्रक्रियापछि हामी होटेलको कोठामा आइपुग्यौँ । मेरोचाहिँ रुम नम्बर ३०६ ।

कोठा निकै ठूलो र सुविधासम्पन्न थियो । केही बेरपछि नर्स खाना र पानी लिएर आइन् । उनले कोठाको भुइँमा कोरिएको एउटा कालो लाइन देखाउँदै बडो विनम्रताका साथ भनिन्, ‘यो लाइन क्रस नगर्नु है । यो हामी, सुरक्षाकर्मी, सर्भिस कर्मचारी र सफाइ कर्मचारीको सुरक्षाका लागि हो ।’ सँगै उनले एउटा कागज दिइन्, जसमा डाक्टर र नर्सको नाम, नर्सको स्टेसन नम्बर, वाइफाई पासवर्ड र इमर्जेन्सी नम्बर लेखिएको थियो । अब भने कोरोनासँगको लडाइँ सुरु भएजस्तो लाग्यो ।

भोलिपल्ट बिहान ६ः४५ मा बिउँझेदेखि नै टाउको एकदमै भारी भएको थियो । यस्तो त कोरोनाको संक्रमण भएदेखि नै हुन्थ्यो । आजचाहिँ अलि बढी । आज योग अनि एक्सरसाइज केही गर्न मन लागेको थिएन । म खाजा खाँदै फेसबुकमा भएका केही भिडियो हेर्दै थिएँ, जसमा इटालीमा मरेका मानिसलाई समाधिस्थ गरिएको दृश्य थियो ।

मुटुको धड्कन बढेकोजस्तो हुन थाल्यो । त्यस्तो गर्मी पनि थिएन, तर म पसिनाले भिजिसकेकी थिएँ । छाती दुख्न थाल्यो अनि निस्सासिएजस्तो हुन थाल्यो । बाँच्छु भन्ने लाग्दै लागेन । कसैगरी नर्स स्टेसनमा फोन गरेँ । तुरुन्तै डाक्टर र नर्स आइपुगे । मेरो परीक्षण गर्न थाले । रक्तचाप र मुटुको धड्कन साँच्चिकै बढेछ । डाक्टर मसँग कुरा गर्दै थिए । मैले भिडियो देखाउँदै सोधेँ, ‘म मरेपछि त्यसरी नै फाल्ने हो ?’ डाक्टर अचम्ममा परे ।

डाक्टरले भने, ‘प्रतिमा सुन, तिम्रो शरीरमा तिमीलाई झुक्याएर कोभिड–१९ नामको चोर प्रवेश गरेको छ । उसको उद्देश्य तिम्रो शरीर कब्जा गर्नु हो । तिमीलाई थाहा छ ? तिम्रो शरीरभित्रको सैनिक तिमीलाई बचाउन दिनरात नभनी लड्दै छ । उसलाई केवल तिम्रो सहयोग चाहिएको छ । त्यो भनेको तिम्रो मानसिक स्वास्थ्य हो । यसले तिम्रो इच्छाशक्ति बढाउँछ । तिमीलाई जित्नुपर्छ भन्ने लाग्छ ।’

डाक्टरले ‘ल लामो सास फेर अनि एक क्षण रोक्दै छोड’ भन्दै बारबार गर्न लगाए । मलाई अलिकति आराम मिलेजस्तो लाग्यो । ‘यो प्रक्रिया कम्तीमा १०–१२ मिनेट गर, म फेरि आउँछु’ भन्दै बिदा भए । डाक्टरले दिएको टास्क पूरा गरेपछि निकै ठीक भएजस्तो अनुभव भयो । डाक्टरले भनेको त ठीक पो हो त भन्दै मैले बबु आन्टीले भनेको सम्झेँ– ‘मनबाट हारे हार, मनबाट जिते जित ।’

चौरमा बसेका परेवा र ढुकुरलाई हेर्थें । अलि पर चौरमा चरिरहेको हरिणलाई नियाल्थेँ । कहिले त्यो घाममा बगैँचामा काममा व्यस्त कामदारलाई हेर्थें । अब मेरो दिमाग कोरोनाभन्दा निकै टाढा थियो । 

जबसम्म म कोभिड–१९ लाई छुट दिन्नँ, तबसम्म यसले केही गर्न सक्दैन भन्ने सोच्दै आजैदेखि मैले बनाएको रुटिन पालना गर्ने ठानेँ । र, कोभिड–१९ लाई जित्छु भन्ने अठोट गरेँ ।

तेस्रो स्वाब परीक्षण गर्ने दिन थियो । स्वाब परीक्षण गर्दा असाध्यै गाह्रो हुन्थ्यो, दुख्थ्यो । बिहान उठेदेखि दुखाइ मात्र सम्झेकी थिएँ । नर्स आइन् । दुखाइ सम्झेर आँखाबाट आँसु झ-यो । मैले ‘मलाई एकदम दुख्छ’ भनेँ । उनले मलाई भित्तामा टाउको र जिउ अड्याएर उभिन भनिन् । ‘मैले भनेपछि लामो सास तान्नू, अनि भयो भनेपछि सास छोड्नू’ भनिन् । मैले त्यसै गरेँ । १०–१२ सेकेन्डमै स्वाब परीक्षण सकियो । यसपल्ट पहिलेभन्दा दुखाइ कम भयो ।

म फेरि आफ्नै दिनचर्यामा फर्किएँ । बिहान सुरुमा भिटामिन सी पिउनु, स्टिम लिनु, कुल्ला गर्नु, त्यसपछि एक घन्टा योग गर्नु (अनुलोमविलोम, भ्रामरी, भस्तृका), निरन्तर तातो पानी पिउनु, बेसारपानी पिउनु, पर्याप्त फलफूल (कागती, सुन्तला, एभोकाडो, स्याउ, केरा) खानु, सुन्तलाको जुस पिउनु, तातो दूधमा बेसार हालेर पिउनु, तातो पानीमा कागतीको रस र मह हालेर पिउनु, पानी, बेसार, लसुन, अदुवा, मरिच, कागती उमालेर पिउनु, खानामा कम्तीमा पाँच पोटी लसुन खानु । यी सबै कोरोनाविरुद्धका हतियार थिए । यी सबै म बिहानदेखि साँझ ७ बजेसम्म पूरा गर्थें, जसका कारण म व्यस्त रहन्थेँ ।

लगातार पाँचौँपटकको स्वाब परीक्षणको नतिजा पोजेटिभ आइसकेको थियो । ४८ घन्टापछि आउने हरेक रिपोर्टले निराश बनाउँथे । तर, डाक्टरको उत्प्रेरणाले केही ऊर्जा थप्थ्यो ।

मलाई आज नरमाइलो लागेको थियो । मेरा अबुधाबीमा भएका सेफ साथीहरूको पनि धमाधम रिजल्ट आउँदै थियो । तीमध्ये युगान्डाका सलाद सेफको पोजेटिभ आएपछि उनी रोएको कुराले मलाई मेरो पहिलो दिन सम्झायो । त्यस दिन मलाई एकदमै नरमाइलो लाग्यो । कोरोनासँगको लडाइँ जारी नै रह्यो । छैटौँ स्वाब परीक्षण पनि पार गरेँ । ‘यसपल्ट रिपोर्ट आउन ढिलो भयो रे,’ नर्सले खबर गरिन् ।

राति १०ः४५ बजेको हुँदो हो । ल्यान्डलाइन फोन बज्यो । फोन गर्ने डाक्टर रहेछन् । केही बेरको भलाकुसारीपछि उनले भने, ‘तिम्रो यो रिपोर्ट नेगेटिभ आएको छ नि !’ खुसीको कुनै सीमा रहेन । आधा रात होला भनेर घरमा फोन गरिनँ । बिहान भने सबैजना खुसी । अब पालो सातौँ परीक्षणको ।

म बडो उत्सुकताका साथ रिपोर्ट कुर्दै थिएँ । आज मेरो रिपोर्ट आउने दिन । डोरबेल बज्यो, डाक्टर रहेछन् । स्वाब टेस्ट लिन आएको भन्नासाथ म डाँको छाडेर रोएँ । आज डाक्टरले मलाई हेरिरहे । उनले आफूसँग भएको कागज देखाउँदै भने, ‘हेर, तिमीजस्तै ११ जनाको रिपोर्ट । यस्तो हुन्छ ।’

डाक्टरले सम्झाइरहे । उनले भने, ‘हेर यो शरीर तिम्रो हो । तिमी नै आफ्नो शरीरको शासक हौ । कसरी तिम्रो शरीरमा अरूले राज्य गर्न सक्छ र ?’ म एकदमै दुःखी थिएँ । मैले भनेँ, ‘लगातारको पोजेटिभ रिपोर्टले मेरो मनोबल टुटिसक्यो । म यो कोठामा निस्सासिइसकेँ ।’ उनले भने, ‘तिमी कल्पना गर, तिमी दुबई घुम्न आएकी हौ । यहाँ चारैतिर युद्ध छ । तिम्रो सुरक्षाका कारण होटेलले बाहिर जाने अनुमति दिँदैन ।’

उनले अचानक सोधे, ‘तिमी कतिपल्ट स्टिम लिन्छौ ?’ ‘चारपल्ट’ मैले सहजै जवाफ दिएँ । उनले भने, ‘त्यसो भए दुईपल्ट अझै थप ।’ उनी स्वाब टेस्ट गरेर नआत्तिन भन्दै बिदा भए । तर, आज मैले केही गरिनँ । म निराश थिएँ । राति १० बजेसम्म निद्रा लाग्ने सुरसार थिएन । आफ्नो रुटिन पालना नगरेकोमा साह्रै दुःख लाग्यो । फेरि भोलिदेखि दृढताका साथ गर्छु भन्ने प्रण गर्दै म निदाएँ ।

मेरा सामु थुप्रै स्वाब रिपोर्ट आइसकेका थिए । आठपल्ट स्वाब परीक्षण झेलिसकेकी थिएँ– लगातार पाँचवटा पोजेटिभ, एउटा नेगेटिभ र दुईवटा पोजेटिभ । बिहान ९ बजे डोरबेलको आवाजसँगै डाक्टर आए । म कोठामा तोकिएको त्यो कालो लाइनसम्म आएर ठिंग उभिएँ । डाक्टरले सोधे, ‘तिमीलाई ठीक छ ?’ मैले ‘अँ’ मात्र भनेँ । ‘म स्वाब टेस्टका लागि आएको,’ डाक्टरले भने । मैले ‘म रेडी छु’ भनेँ । डाक्टर मतिर हेर्दै निकै खुसी भए । र, भने, ‘हो तिमी आजचाहिँ साँच्चै लडाकु भइछौ ।’ स्वाब टेस्टपछि आज भने डाक्टर बडो खुसी भएर गए ।

विगतका ती नतिजाले आजको मेरो दिनमा कुनै छाप छाडेनन् । २२–२३ दिन बितिसकेको थियो । म नडराएको, नआत्तिएको र नरोएको पनि होइन । डाक्टर र नर्सको प्रत्यक्ष निगरानीमा पनि असहाय महसुस गर्थें । सुविधासम्पन्न कोठाभित्र पनि म उकुसमुकुस महसुस गर्थें । जब म भित्रबाट कमजोर बन्थेँ, तब बाल्कोनीबाट नियाल्थेँ ।

अलि टाढा एउटा चिटिक्क परेको घर देख्थेँ । र, त्यस्तै घर बनाउने कल्पना गर्थें । चौरमा बसेका परेवा र ढुकुरलाई हेर्थें । अलि पर चौरमा चरिरहेको हरिणलाई नियाल्थेँ । कहिले त्यो घाममा बगैँचामा काममा व्यस्त कामदारलाई हेर्थें । अब मेरो दिमाग कोरोनाभन्दा निकै टाढा थियो । अब मेरा लागि २४, ४८ र ७२ घन्टा कुनै पर्खाइ थिएनन्, केवल संख्या थिए ।

राति साढे १० बजे डाक्टरको फोन आयो । मेरो दिनचर्या हालखबर सोध्दै भने, ‘तिम्रो रिपोर्ट त नेगेटिभ आयो नि ।’ म निकै खुसी थिएँ । उनले भोलि फेरि स्वाब टेस्ट लिइने बताए ।

अब पालो दशौँ स्वाब टेस्टको थियो । मेरो रुटिनमा केही फरक परेन । योग र खानपिन यथावत् रह्यो । दशौँ स्वाब टेस्ट गरेको पनि तीन दिन पूरा भइसक्यो । धेरैपटक फोन गर्नुपर्ला भन्ने सोचेँ । फेरि विगतका अनुभव सम्झँदै आफ्नो दिनचर्या बिथोल्न चाहिनँ ।

४ जेठ, बिहान ७ः३० बजे । आज अन्य दिनभन्दा ढिलो उठेकी थिएँ । आज सबै थोक ढिलो थियो, ब्रेकफास्ट र नर्सको भिजिट पनि । करिब १० बजे नर्स आइन् । मेरो नियमित परीक्षण गरिन् । मेरो फाइलमा लेख्दै थिइन्, उनी अचानक खुसी भइन् । ‘तिम्रो आज डिस्चार्ज हो, एकछिन पहिले रिपोर्ट आएको,’ उनले भनिन् । मैले तीनपल्ट सोधेँ, खुसीले खुट्टा भुइँमा थिएनन् । मैले घरमा अनि सेफलाई फोन गरेँ । उनले गाडी पठाइदिने भने । डाक्टरले फोन गरेर मेरो संघर्षलाई नजिकबाट नियालेको बताउँदै मलाई बधाई दिए । १२ बजे सबै प्रकिया सकियो । मलाई लिन गाडी आइसकेको थियो ।

साढे १२ बजे केही फलफूल र त्यो दिनको खानाको झोला दिँदै नर्सले अझै एउटा काम बाँकी छ भनिन् । म उनलाई पछ्याउन थालेँ । मेरो मुटु ढुकढुक हुँदै थियो । उनले मलाई लिन आएका ड्राइभरको मोबाइल र गाडी नम्बर टिप्दै भनिन्, ‘पहिलेको जीवनमा फर्किन तिमीलाई केही समय लाग्ला, तर नआत्तिनू । तिमीलाई केही परेमा हामीलाई सम्पर्क गर्नू ।’ २९ दिनको बसाइपछि म बिदा भएँ ।

यो अवधिमा मैले कुनै औषधि खाइनँ । केवल इच्छाशक्ति, डाक्टर र नर्सको उत्प्रेरणा, परिवारको हौसला, हाकिमको उचित पहल, सकारात्मक सोच, खानपान आदि सबैको प्रतिफल म आज कोभिड–१९ लाई हराउँदै जीवित छु । र, दुबई हेल्थ अथोरिटीको निर्देशनअनुसार एक साताको आइसोलेसनपछि नियमित काममा फर्केकी छु ।

(काठमाडौं पुरानो बानेश्वरकी ढकाल १८ महिनादेखि युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा पास्ट्री सेफका रूपमा कार्यरत छिन् । कम्पनीको काममा दुबईमा रहँदा उनलाई कोभिड-१९ पोजेटिभ देखिएको थियो ।)