मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७७ जेठ १० शनिबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार

राहत वितरण पारदर्शी नभएको भन्दै सल्यानमा एक वडा कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७७ जेठ १० शनिबार १२:१४:००

राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै स्थानीयले  सल्यानको शारदा नगरपालिका– १० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  

वडाध्यक्षले आफूखुसी राहत वितरण गरेको भन्दै वडा कार्यालयमा असन्तुष्ट स्थानीयले तालाबन्दी गरेका हुन् । 

राहत वितरणमा मनोमानी गरेकाे भन्दै स्थानीयले शुक्रबार दिउँसो तालाबन्दी गरेको स्थानीय भिमा कुँवरले बताइन् । राहत वितरण गर्दा स्वच्छ, निष्पक्ष तरिकाले गरिब, विपन्न वर्ग, विधवा, एकल महिलालाई वितरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेको उनको भनाइ छ ।

नगरपालिकाकै सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत राजेश बुढाथोकी, व्यवसायी भिमा कुँवर र अर्का व्यवसायी राजेश कुँवरलगायतलाई वडा कार्यालयबाट बाहिर निकालेर केही स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष रेसमबहादुर बुढाथोकीले जानकारी दिए । 

उनले राहत वितरणमा कुनै पनि भेदभाव नगरेको दाबी पनि गरे ।

उनले भने, ‘राहत वितरणमा कुनै पनि अनियमितता भएको छैन, हामीले अतिविपन्न र गरिब परिवारलाई मात्रै राहत वितरण गरेका छौँ ।’

वडाध्यक्ष बुढाथोकीले नगरपालिकाले ३५ जनाभन्दा बढीलाई राहत वितरण गर्न सकिँदैन भनेपछि अतिविपन्न परिवारको तथ्यांक संकलन गर्न आफूसमेत टोलटोलमा खटिएर नामावली संकलन गरेको बताए । 

अतिविपन्नबाट धेरै विपन्न र गरिब ३५ जनालाई राहत वितरण गरिएको उनले बताए । 

उनले व्यवसाय सञ्चालन गरेका र राजनीतिक प्रतिशोध साँध्नका लागि केही व्यक्तिले गलत आरोप लगाएर तालाबन्दी गरेको दाबी गरे । 

शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले यस घटनालाई छलफलबाट टुंग्याउने बताएका छन् । 

राहत वितरणका लागि वडाबाट सिफारिस भएर आउने भएकाले कस्तो व्यक्तिलाई राहत वितरण गरियो भन्ने विषयमा जानकारी लिएर दुवै पक्षलाई छलफलमा राखेर घटना समाधान गर्ने बताए ।