मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
२०७७ जेठ ५ सोमबार १०:५७:००
फिचर

उतै अड्किए चित्रकार

२०७७ जेठ ५ सोमबार १०:५७:००

गुल्मीका जीवित खड्कामगर वैदेशिक रोजगारीको सिलसिलामा यतिवेला युएईको आबुधाबीमा छन् । यो कोरोनाको त्रासमा अरूलाई जस्तै उनलाई पनि आफ्नो परिवारको साथमा बस्ने रहर छ, तर उतै अड्किन विवश छन् उनी । 

चित्र बनाउन पारंगत उनी दुई कविता कृतिका सर्जकसमेत हुन् । यो कठिन समयमा रङलाई नै साथी बनाएका उनलाई ०४५ सालमा पाँच कक्षा पढ्दैदेखि त्यसको लत लागिसकेको थियो । बाल्यकालमा घरका भित्ताहरूमा अंगारले, कमेरोले खुब ‘फोहाेर’ गरिरहन्थे उनी ।

‘महिना दिनजस्तो भयो, बाँकी काम छुन सकेको छैन, पेन्टिङ थालेपछि घरको याद आउँछ र दिमाग कताकता पुग्न थाल्छ। मनमा नमीठो पीडा हुन्छ, आधा मन यता त आधा मन उता छ।’

सानोमा निक्कै गम्भीर स्वभावका थिए जीवित । जे काममा लागेको छ, त्यसैमा लागिरहन्थे, आफ्नै ध्याउन्नमा घन्टौँ हराइरहन्थे । चित्र सिक्न थाले चित्रमै हराइदिन्थे त हार्मोनियम र बाँसुरी बजाउन थाले त्यसैमा हराइदिन्थे । उनको त्यस्तो बानीले घरमा घाँसपातको काम नियमित हुन्थेन र बाआमाको हप्की बेस्सरी खानुपर्थ्याे उनले । 

उनलाई स्केचको लत लाग्यो, एसएलसीपछि ललितकलाको बिहानी कक्षामा चित्र पढ्ने र दिउँसो आर्ट पसलमा ब्यानर लेख्ने दैनिकी बनाए । त्यही सिलसिलामा ०६३ सालमा साउदीको एउटा कम्पनीमा चित्रकारहरूका लागि रोजगारीको अवसर आयो । उनी त्यसमा छानिए र साउदी हानिए । त्यहीँ बिताए १२ वर्ष । 

त्यहीवेला आफ्नो चित्रमा निखार आएको बताउँछन् उनी । कैयौँ रात नसुतेर पेन्टिङमा अभ्यास गर्ने र उज्यालो भएपछि ड्युटीमा जाने त्यो अनिदो दैनिकी सम्झिन्छन् उनी । त्यहाँका ठुल्ठूला भित्ताहरूमा ‘मुरल पेन्टिङ’ त कहिले क्यानभासमा ‘तैल चित्र’ बनाउने अवसर मिल्थ्यो उनलाई । कहिले सेमी अब्स्ट्रयाक, कहिले रियालिस्टिक चित्रहरू बनाए ।

त्यहाँ सन् २००६ देखि २०१७ सम्मको त्यो अवधिमा काम त पेन्टिङकै गरे उनले, तर त्यहाँ केही फरक काम पनि हुन्थ्यो, फरक यसर्थमा कि उनले काम गर्ने कम्पनीले इन्टरियर डेकोरेटिभ आर्ट गर्थ्याे । त्यस काममा ठुल्ठूला भित्तामा डिजाइन गर्नुपर्थ्यो । भित्तेचित्रहरू बनाउनुपर्थ्यो । र, परम्परागत स्टेन्सिल आर्टको काम पनि हुन्थ्यो । उनी त्यहाँको सिनियर आर्टिस्ट भएकाले चित्रहरूको प्रायः कामहरू आफैँ गर्थे ।
 
अहिलेसम्म आफू बाँच्ने आधार नै रङलाई बनाए उनले । यही क्रममा करिब चार दर्जन साथी कविहरूका कृतिको लागि सौजन्य रूपमा बुक कभर आर्ट गरिदिए । पछिल्लो समय सत्यमोहन जोशी, तुलसी दिवस, दिनेश अधिकारी, श्रवण मुकारुङलगायत थुप्रै अग्रज कविहरूको सम्मानमा पोट्रेट बनाउँदै आइरहेका छन् उनी।

उनले बनाएका ती प्रोटेटहरूले उनको खोजी र माग भइरहेको छ यतिवेला । भन्छन्, ‘पछिल्लो चरणमा मैले वरिष्ठ कविहरूको मात्रै चित्र बनाइरहेको छु । उहाँहरूबाट एकदम राम्रो रेस्पोन्स पाइरहेको छु । हौसला, ऊर्जा र प्रोत्साहन पाइरहेको छु । कविहरूको पोट्रेट बनाउनूपूर्व गैरकविहरूका पोट्रेटहरू पनि बनाइरहेँ । तर, यति नै संख्यामा चित्र बनाएँ भनेर गन्ती गर्नै बिर्सेछु ।’ 

यसरी बेहिसाब चित्र बनाएका उनले पहिले कलामा बढी सेवालाई प्रधानता दिँदै आए । तर, उनको सेवाभावको अर्थ नभएपछि, आफू नै साह्रै हल्का भएकोजस्तो अनुभूत गरे र सित्तैमा काम गर्नै छाडे । 

खाडीमा छन्, समय भयावह छ, तर कविहरूको पोट्रेटमा भने उनीहरूले साहित्यमा गरेको विशिष्ट योगदानको थोरै पनि कदर गर्न सकूँ भनेर प्रतिपोट्रेट कम्तीमा १५,००० आफ्नै लगानी गरिरहेका छन् उनले । यो पेसा आर्टिस्टको क्षमतामा भर पर्ने र  प्रतिभाशाली सिर्जनात्मक आर्टिस्टहरू आफ्नै व्यवसाय गरेर स्वदेशमा समेत मज्जाले बाँचिरहेको उनी बताउँछन् । 

उनी रियालिस्टिक पेन्टिङ गर्छन् र एउटा उत्कृष्ट पोट्रेट बनाउन कम्तीमा तीन दिन लाग्छ उनलाई । त्यसमा रङ संयोजन नै आर्टिस्टको आइडेन्टिटी भएकाले रङ संयोजन सिर्जनात्मक हुनुपर्ने बताउँछन् उनी । ‘जस्ताको तस्तै बनाउनु कपी वर्क हो, त्यहाँ कुनै सिर्जना र आफ्नोपन हुँदैन, त्यसलाई असली कला पारखीहरूले पक्कै चिन्दछन्,’ उनी भन्छन् । चित्रको स्तर, रङ संयोजन र चित्रकारको आफ्नोपनका आधारमा  कलापारखीहरूले आफ्नो चित्रलाई मूल्यांकन गर्ने उनको भनाइ छ।

नेपालमा व्यावसायिक पेन्टिङ गर्ने कलाकारहरूलाई लकडाउनले झन् सिर्जनात्मक हुन मद्दत गरेको तर्क गर्छन् उनी । ‘हामी परदेशमा रोजगार गर्नेहरूलाई भने लकडाउनले धेरै असर गरिरहेको छ,’ उनी भन्छन्।

परदेशीको पीडा यसरी अंकित गर्ने उनी जुन समयमा पहिले आफ्नो चित्र बनाइरहेका हुन्थे अहिले बनाउन नसकेको बताउँछन् । लकडाउनमा नै राष्ट्रकवि माधव घिमिरेको पोट्रेट थालेको पुरा गर्न सकेका छैनन् उनले । उनी भन्छन्, ‘महिना दिनजस्तो भयो, बाँकी काम छुन सकेको छैन, काम थालेपछि घरको याद आउँछ र दिमाग कताकता पुग्न थाल्छ, आधा मन यता त आधा मन उता छ ।’

हुन त र पेन्टिङको बारेमा बुझ्न पेन्टर नै चाहिने बताउँछन् उनी । भन्छन्, ‘मैले गर्ने पेन्टिङ कुन स्तरको हो भन्ने थाहा नपाए पनि पछिल्लो समयमा घरका सदस्यहरूले आफ्ना पेन्टिङहरू चासो दिएको र त्यसमा रमाएको देख्दा खुसी लाग्दोरहेछ ।’ 

उनको परिवारमा बा, श्रीमती र दुई छोराहरू छन् । आमाको काख उहिल्यै छोडिसकेका थिए उनले । बाँकी अरूसँग पनि टाढिनुको पीडा कम्ता छैन उनमा । सहरमा पढ्ने उनका छोराहरू अहिले लकडाउनको कारण गाउँमा नै छन् । ‘यस्तो यो महामारीको समयमा घरको याद पलपल आइरहन्छ नि ! नमिठो तनाव हुन्छ, गह्रौ हुन्छ मन ।’ उनी घरको यादमा यसरी पोखिन्छन् । 

फ्ल्यासब्याकमा जान्छन् उनी, कुरा ०५१-०५२ सालतिरको हो, गाउँको एक आमा समूहले मन्दिरमा आएर कृष्ण भगवानको चित्र बनाइदिन आग्रह गरे । त्यो उनको प्रारम्भिक समय थियो रङसितको सिर्जनामा । उनले जसोतसो बनाइदिए र रु. ६०० पारिश्रमिकस्वरूप पाए। त्यो पैसा आमाको हातमा राखिदिँदा उनकी आमा खुसीले रोएकी थिइन् । 

त्यस पललाई आफ्नो जीवनकै सुन्दर अनुभूति मान्छन् उनी । त्यो खुसीसँग तुलना गर्न मिल्ने कुनै अर्को चिज नै नभएको सुनाउँछन् ।

यतिवेला युएईमा आर्टिस्ट रहेका जीवितलाई आर्टका लागि कम्पनीले सेलेक्टेड गरेको हो । तर, उनको जिम्मेवारी सुपरभाइजरको पनि छ । साइड रेखदेख गर्ने, आर्टको काम आएमा गर्ने र फ्री समयमा कविहरूको पेन्टिङ गर्छन् उनी । तर, यतिवेला कोरोना महामारीको पाइलापाइलामा सन्त्रास छ त्यहाँ पनि । 

भन्छन्, ‘देखिन्न, देखे थाहा हुन्थ्यो यताबाट छलौँ, उताबाट छलौँ । तनावैतनाव छ । अर्थतन्त्रलाई पूरै तहसनहस गरिदियो कोरोनाले । जो असर हामी सर्वसाधारणहरूलाई कति लामो समयसम्म परिरहने हो थाहा छैन ।’

अब सधैँ यसरी विदेशमा जागिरे भइरहन नसकिने बताउँछन् उनी । २–४ वर्षपछि विदेशको जागिर छोडेर घरपरिवारलाई पनि समय दिने सोचमा छन् । त्योबारे गहिराइमा पुगेर सोच्न कोरोना त्रासले पनि सघायो उनलाई । जीवनको अन्तिम समय नेपालमै बसेर पेन्टिङ व्यवसाय गर्ने सोचमा छन् उनी ।