• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ फाल्गुण १ बिहीबार १०:५३:००
ब्लग

त्यसपछि बुबा छापामार बन्नुभयो 

२०७६ फाल्गुण १ बिहीबार १०:५३:००

२०५९ साल असोजको महिना । वर्षा सकिएपछि आएको शरद ऋतुले प्रकृतिलाई सुन्दर बनाएको थियो । त्यसमाथि हिन्दु नेपालीहरुको महान् चाड दसैंको आगमनले गाउँका घरहरु कमेरो र रातो माटो लिपिएर चिटिक्क परेका थिए । आँगन र बारीका डिलहरुमा सयपत्री र मखमलीले तिहार कुरिरहेका थिए । बाआमाको हातको टिका र आशीर्वाद थाप्न परदेशबाट घर फर्किरहेका थिए  परदेशी । जसरी घरका भित्ताहरु कमेरो र रातोमाटोले लिपिएर चम्किलो भएको थियो, त्यसरी मान्छेका मनहरु चम्किन सकेको थिएन । मखमली र सयपत्रीले हाँसेर तिहारलाई स्वागत गरे पनि मान्छेका मनहरु हाँस्न सकिरहेको थिएन । जीवनलाई दाउमा राखेर फर्किएका थिए परदेशीहरु । किनकी त्यतिवेला गाउँमा संकटकाल लागेको थियो । 

२०५८ साल मंसिरदेखि जब देशमा संकटकाल घोषणा भयो, तब आम मानिसका मनभित्र भय र त्रासले डेरा जमाउन थाल्यो । गाउँगाउँमा माओवादी गस्ती सुरु भयो । गाउँका जाली र शोषक मास्ने भन्दै हुलकाहुल माओवादी हिँड्न थाले । 'काँधमा बन्धुक नबोकी गरिबको सुदिन आउँदैन' भन्दै स्कुल पढ्न गएकाहरु किताबको झोला फ्याँकेर युद्धमा होमिए । पढाउन गएका शिक्षकहरु चक र डस्टर छोडेर अभियानमा लामबद्ध भए । बिहान बेलुका खेती नगरी खान नपाउने किसानहरुले आफू एकछाक खाएर मान्द्रोमा आफू सुतेर न्यानो ओछ्यानमा सुताए । गाउँका कुनै घर छैनन् होला माओवादीले नखाएको र नसुतेको । 

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रकान्त पौडेलेको विद्यार्थी हुँदै पौडेलसँगै शिक्षण पेसामा आबद्ध मेरा बुबा पनि माओवादीमा संगठित हुनुभयो ०५२ सालदेखि । पोष्टबहादुर बोगटी सहितको सात जनाको नेतृत्वको जिल्ला कमिटीको एक सदस्य हुनुहन्थ्यो बुबा । चारजना छोराछोरी सहितको परिवार पाल्नुपर्ने जिम्मेवारी बुबामा थियो । पार्टीलाई आर्थिक सहयोग गर्दै जागिर खाइरहनुभएको थियो । 

पोष्टबहादुर बोगटी, माइला लामा, हितबहादुर तामाङलगायत नेताहरु घरमा आइरहन्थे । नुवाकोट, रसुवा, धादिङ र मकवानपुरको जिल्लाको सम्पर्क कार्यालय जस्तै थियो हाम्रो घर । दैनिक ३/४ जनाले भात नखाएको दिन हुन्थेन । आमाले खोजमेल गरेर उनीहरुलाई खुवाउनु भएकै थियो । त्यही साल असारमा घरमा सुतिरहेका मेरा गणित शिक्षक कृष्णप्रसाद घिमिरे र अर्का शिक्षक पोशकनाथ पुडासैनीलाई तत्कालीन शाही सेनाले घरमा सुतिरहको बेला मध्यराति उठाएर अमारेको खोंचमा लगेर र मारे । अनि रेडियो नेपालले फुक्यो मूठभेडमा दुई आतंककारी मारिए । 

जब उहाँहरुलाई मारियो तब गाउँमा त्रास झन् बढ्यो । बुबाको नाम पनि आतंककारीको लिस्टमा थियो । दुई निर्दाेष शिक्षक त्यसरी मारिएपछि बुबालाई सुरक्षा थ्रेट झन्र बढ्यो । तर, पनि लुकिछिपी विद्यालय गएर पढाइरहनुभएको थियो । त्यतिवेला उहाँ विकास प्राथमिक विद्यालय कुमारी ५ को प्रधानाध्यापक हुनुहन्थ्यो । गाउँमा एकथरी कांग्रेस थिए भने एकथरी पञ्च । बुबालगायत दुईचार जना मात्र भूमिगत रुपमा माओवादीलाई सघाइरहनुभएको थियो । तत्कालीन कांग्रेस गाविस सभापति रामबहादुर गुरुङलाई माओवादीले आफ्नो दुश्मन देखेको थियो र गाउँबाट लखेटेको थियो । उनी माओवादीको सुराकी थिए वा थिएनन् त्यो थाहा छैन तर कृष्ण घिमिरे र पोशकनाथ पुडासैनीको हत्यामा उनैले सुराकी गरेको आरोप माओवादी पक्षले लगाएको थियो । कांग्रेस भनेर हिँड्नेहरुलाई माओवादीले गाउँ बस्न दिएको थिएन । भेटाए मारिदिने धम्की दिएका कारण गाउँमा धेरै कांग्रेसलाई समर्थन गर्नेहरु राजधानी(काठमाडाैं) छिरेका थिए । 

सोही साल दसैंमा रामबहादुर गुरुङ राजधानीबाट गाउँ फर्किएका रहेछन् । झण्डै ५/७ महिनापछि दसैं मनाउन गाउँ फर्किएका उनी फर्किएकै राति माओवादी आक्रमणमा परे । त्यतिवेला  म सायद ११ वर्षको थिएँ । कक्षा ६ मा पढ्थें । एकदिन दुईजना माओवादी आए । नवराज अधिकारी भन्ने (पछि उनी रसुवाको ठूलोगाउँमा सेनाको आक्रमणमा मारिए) र अर्का एक अपरिचित । घरमा आमाले छोराछोरीको स्कुल फि तिर्न सहयोग हुन्छ भनेर दुईचारवटा लोकल कुखुरा पाल्नुभएको थियो । तर, ती नवराज भन्ने आएर एउटा कुखुरा काटे । आमालाई भात पकाउन भने कुखुरा खुइल्याइसकेपछि उनले मासु पकाउन निर्देशन दिए, आमाले नाइँ भन्न सक्नुभएन ।

भात खाएर बुबा, नवराज अधिकारी र ती अपरिचित मान्छे बार्दलीमा बसे । नवराजले बुबालाई भने, ‘रामबहादुर गुरुङ गाउँ आ'को छ रे जानुहोस् बोलाएर ल्याउनुहोस केही कुरा गर्नुछ ।’आज्ञाकारी विद्यार्थीझैँ बुबा रामबहादुरको घर जानुभयो । पछि रामबहादुर होइन उहाँको छोरालाई लिएर आउनुभयो । ‘दाइ भर्खर आउनुभएको रहेछ खाना खाँदै हुनुहुन्छ । उहाँ रामबहादुर दाइका छोरा पूर्णसँगै जानुहोस् र उतै कुरा गर्नुहोस् ।’ बुबाले यसोभन्दा ती नवराजले अलि रुखो स्वरमा भन्न थाले, ‘कहाँ घरघरमा गए कुरा गर्ने ? गाउँका मान्छेले के भन्छन् ? दिनभरि माओवादीसँग कुरा गरेर बस्यो भन्दैनन् ? जाँदैनौ हामी ।’ त्यति भनेर जुरुक्क उठेर र भर्‍याङ झर्न थाले ।

उनीहरु त्यसरी उठेको देखेर रामबहादुरका छोरा पूर्णले भने ‘होइन सर बुबा भर्खर आउनुभयो हजुरहरुलाई लिन मलाई पठाउनु भएको जाम हिँड्नुहोस ।’ तर पनि उनीहरुले कुरा सुनेनन् र माथिल्लो गाउँ जाने बाटोतिर लागे । उनीहरु गइसकेपछि बुबाले पूर्णलाई भने, ‘भाइ मलाई पनि पार्टीको सबै कुरा थाहा दिन्नन्  । यिनीहरुको चालामाला देख्दा अवस्था ठिक छैन । एकछिन् पनि बुबालाई गाउँ बस्न नदेउ । कतै पठाइहाल । भोली जे पनि घटना घट्ने संकेत हो यो । बुबाले त्यति भनेपछि हस भन्दै पूर्ण आफ्नो बाटो लागे । 

आँगनमा बसेर म र आमा यो कुरा सुनिरहेका थियौं । सबैजना आ–आफ्नो बाटो लागेपछि बुबा म र आमा बारीमा आलु लगाउन गयौं । बेलुका भात खायौं  । आमा भाइ बहिनी र म चोटामा सुत्न गयौं भने बुबा जंगलमा जानुभयो । संकटकाल लागेदेखि एकदिन पनि बुबा घरमा सुत्नु भएको थिएन । मध्यरातमा ओछ्यानबाट उठाएर मुठभेडमा मारिएको समाचार बन्न बुबालाई पटक्कै मन थिएन र  यस्ता समाचार सुन्न हामीलाई पनि मन थिएन । त्यसैले रामहरि अंकलको साथमा रहेक रात बुबा तोराबोरा (माओवादीको कोड भाषामा सुरक्षित सुत्ने ठाउँ) जानुहुन्थ्यो । बुबाहरु कहाँ सुत्नुहुन्थ्यो हामिलाई पनि पत्तो हुन्थेन ।

युद्धको नाइके सानले हिंडिरहँदा कयौं निर्दाेष कार्यकर्ता हत्याको आरोपमा चिसो सिंढिमा कामिरहेका छन् । सिंहदरबारमा बस्नेलाई ति दिन सपना जस्तो लाग्छ होला तर झुपडीमा बस्नेहरुलाई बारम्बार ति दिनले घोचिरहन्छ, पोलिरहन्छ र झस्काइरहन्छ । 

 भोलीपल्ट बिहान म धारामा पानी लिन गएको थिएँ ।  त्यत्ति नै बेला मेरा काइँला हजुरबाको घरमा रामबहादुरका छोरा पूर्ण र अर्का उनको छिमेकी भिमेश्वर पुडासैनी हजुरबासँग बिस्तारै केहि कुरा गरिरहेका थिए । भरिएको गाग्री लिन आमा धारामा आउनुभयो । ‘नानी  सम्भु सर घरमा हुनुहुन्छ ?’ तोराबोराबाट बुबा आउनु भएकै थिएन । त्यसैले आमाले हुनुहुन्नको छोटो उत्तर दिनुभयो । त्यति भनेपछि उनीहरु आफ्नो बाटो लागे । पछि हजुरबाले आमालाई भन्नुभयो ‘रामबहादुरलाई हिजो बेलुका माओवादीले लगे रे शम्भुलाई थाहा छ कि भनेर सोध्न आएका रहेछन् । 

त्यो कुराले आमा र म खिन्न हुँदै पानी बोकेर घर आयौं । घरमा आउँदा दुईजना अपरिचित मान्छे आँगनमा उभिरहेका रहेछन् । ज्योति सरको घर होइन यो ? आमाले हो भन्नुभयो । बुबालाई पार्टीका मान्छेले ज्योति सर भन्थे । एकैछिन्मा बुबा पनि आइपुग्नु भयो  । ति मान्छे बबुाको लागि पनि नयाँ रहेछन् । भित्र बसेर ति मान्छेसँग बुबा कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलै  एकजना छिमेकी  दिदी रुँदै आइन र पिंढीमा उभिरहेकी आमालाई भनिन्–‘दिदी दाइ कहाँ हुनुहुन्छ ? माओवादीले रामबहादुरलाई तारुके खोल्सामा लगेर काटेछन् । अव कांग्रेसले तिमिहरुलाई मार्छन् दाइलाई एकछिन् पनि घर नराख ।’ उनले बोलेको सुनेर बुबा हत्तासिंदै बाहिर निस्कनु भयो यसो मास्तिर हेरेको त धुब्र मुड्भरीको घरभरी मान्छे भरिसकेका रहेछन् । धुव्र मुड्भरीको घर नजिकै थियो तारुके खोल्सो ।

 बुबालाई सपना जस्तो भयो । हिजो आफ्नै घरमा कुखुरा काटेर खाएर अहिले यसरी मान्छे मारेर आफूमाथि धोका दिने माओवादीप्रति बुबा आक्रोशित हुनुभएको थियो । तर, पनि आफूलाई सम्हाल्दै सुरक्षित स्थान खोज्दै बारीतिर झर्नुभयो । एउटै गाउँको मान्छे यसरी काटिँदा घटनास्थलमा जानुपर्ने बुबा समय ठिक नभएपछि आफ्नो ज्यान जोगाउन जानुभयो । एकैछिन् गाउँलेहरु हाम्रो घरको बाटो हुँदै घटनास्थल जान लागे । सबैले सोधे त्यो शम्भे खै ? आक्रोशित गाउँलेको मनमा थियो पक्कै शम्भु पनेरुले मान्छे मार्न लगायो । तर, तिनीहरुलाई के थाहा शम्भु पनेरुले गाउँमा अप्रिय घटना नहोस् भनेर रामबहादुरलाई भगाउन खोजेको कुरा ।

रामबहादुर गुरुङ हत्याले गाउँ झन त्रशित बन्यो । दसैंले कसैलाई छोएन । सदरमुकामबाट टाढा रहेको गाउँको समाचार तीन दिनपछि १ बजे रेडियो नेपालले फूक्यो नुवाकोटको कुमरी गाविस वडा नम्बर ४ का रामबहादुर गुरुङको माओवादीद्धारा हत्या । त्यसको भोलिपल्ट पुलिस आयो गाउँमा । त्यतिबेलासम्म शव उठेको थिएन । गाउँलेहरुले शव कुरेर बसिरहेका थिए । आमा खै कता जानु भएको थियो कुन्नी जेठो भाइ सन्दिप भर्खर काटेको केराको खम्बामाथि चढेर सुरेली खेल्लै थियो । लडेछ र हात भाँचेछ । फूपु दिदी सितालाई बोलाएँ पल्लाघरबाट  । उनी आइन् हामी भाइको हात माडमुड गर्दै थियौं त्यतिबेलै सिविल पोसाकमा दुई अपरिचत मान्छे घरमा आए । ‘पुलिस आयो’ दिदीले सासले बोल्नुभयो । मेरा हातगोडा एक्कासी काम्न थाले । पहिलो पटक पुलिस देखेको । त्यो भन्दा अगाडि कहिले पनि गाउँमा आर्मी पुलिस गएका थिएनन् । ‘घरमा को हुनुहुन्छ ? मोटे मोटे मान्छेको मुखबाट कड्किलो आवाज आयो ।’ म छु मैले कामेको स्वरमा भने  । 

‘बुबा खै ?

खै कता जानुभयो । 

कतिदिन भयो ? 

३ दिन

मैलै पनि जे हो त्यो साँचो भने । 

अनि आमा नी ? 

आमा घाँस काट्न जानुभएको छ ।

 घर हेर्न मिन्छ ? 

मिन्छ । 

बाहिरबाट भर्‍याङ भएकाले उनीहरु सिधैं पिढिंबाट बार्दली हुँदै चोटामा पुगे । खै के हेरे थाहा भएन । तर, एकैछिन्मा तल झरे । भाइको हातमा हामीले रुमाल बाँध्दै थियौं त्यो देखेर ति मोटेले सोधे के भयो बच्चालाई ? मैले भने ‘लडेर हात भाँच्यो । बाउ मान्छे मार्दै हिँड्छ छोराले चकचक गरेर हात किन नभाँचोस् ।’  तिखो वाक्य हामितिर फालेर उ बाटो लाग्यो । उनीहरु साँइला हजुरबाको घरको करेसामा पुगेपछि बन्धुक बोकेका अरु पुलिस हाम्रो घरतिर आउँदै थिए रे तर, मोटेले घरमा शम्भु पनेरु नभएको र छोराका हात भाँच्चिएर विजोग छ जानु पर्दैन भन्दै आउन दिएनछन् । यो कुरा साइला हजुरबाले घरकोे झ्यालबाट हेरेर बसिरहनु भएको रहेछ पछि भन्नुभयो । 

बाबुको हत्यापछि शोकमा रहेका रामबहादुरका छोरालाई पुलिसले सोधेछ तिम्रो बुबा हत्यामा यो गाउँका को प्रति शंका छ ? तर, उनले इमान्दारपूर्वक गाउँका कसैप्रति शंका नभएको र अपरिचित मान्छेले लगेर मारेको बयान दिएछन् । यदि बुबाले अघिल्लो दिन त्यस्तो संकेत नदिनुभएको भए सायद हाम्रो परिवारलाई घरभित्र थुनेर पुलिसले बाहिरबाट आगो लगाउने पक्का थियो किनकी यस्ता घटना ठाउँठाउँमा घटिरहेका थिए । 

रामबहादुर गुरुङको हत्यापछि बुबा गाउँ बस्न सक्नुभएन । जागिर छोडेर पार्टीमा पूर्णकालिन हुन  बुबालाई आग्रह गरेका रहेछन् बारम्बार । तर, बुबाले जागिर छोड्दा परिवारको विचल्ली हुने कुरा राख्नु भएछ । त्यसपछि बुबालाई पूर्णकालीन बनाउन रामबहादुरको हत्याकाण्ड रचिएको रहेछ । नभन्दै रामबहादुरको हत्यापछि बुबाको जागिरको तलव रोकियो शिक्षाकार्यालयमा । बारम्बार सेनाले विद्यालय घेरा हाल्न थाल्यो  पक्राउको लागि । त्यसपछि आमाले सल्लाह दिनुभयो ज्यान भन्दा ठूलो जागिर होइन जहाँ गएर हुन्छ ज्यान जोगाउनुहुोुस्  । छोराछोरीको जिम्मा म लिन्छु ।  आमाले मुटुमा ढुंगा राखेर यसो भन्नु भएको थियो । त्यसपछि बुबा माओवादीको पूर्णकालीन छापामार बन्नुभयो ।

 बुबा छापामार बनेपछि हामीले चरम आर्थिक अभाव खेप्नुपर्‍यो । आम्दानीको मुख्य स्रोत नै बुबाको जागिर थियो । चारजना छोराछोरीको लालनपालन र शिक्षादिक्षाको जिम्मेवारी आमाको थाप्लोमा आइपुग्यो । सामान्य खेतिपातिले परिवार पालिन हम्मे हम्मे परथ्र्याे । जसोतसो गुजारा चलिरहेकै थियो । बुबा कहिलेकाँहि घर आउनुहुन्थ्यो । एकचोटी बुबासँगै नचिनेका दुईचार जना एक बोरा पैसा लिएर घरमा आए हामिलाई गन्न लगाए । बहिनी र मैले निकै पैसा गन्यौं । बुबा घर आउँदा सानो भाइको लागि दुईचार वटा बिस्कुट र चाउचाउ ल्याउनुहुन्थ्यो अनि त्यसको हिसाव कापीमा लेख्नुहुन्थ्यो । बुबाले एक एक रुपैयाँको हिसाव पार्टीलाई बुझाउनुहुन्थ्यो । परिवारको चिन्ताले होला सायद बुबा त्यसपछि डिप्रेसनमा पर्नुभयो । अहिले मासिक १५ सय रूपैयाँकाे औषधि खानुहुन्छ । औषधि नखाने हो भने बुबा रातभरी निदाउन सक्नुहुन्न । 

बुबा भुमिगत भएपछि जीवनमा कयौं उताडचढाव आए । धेरै पीडा र अभाव खेप्यौं । ती दिनहरुमा कुन दिन बुबा मुठभेडमा मारिएको समाचार आउने हो भनेर हामी काम्दै बस्नुपथ्र्याे । धेरैपटक आर्मीको नजिक भेटिएर पनि उहाँ संजोगले बाँच्न सफल हुनुभयो ।अहिले बुबा नेकपाको दुई तिहाइको सत्तालाई पर बसेर निहालिरहनु भएको छ । इमानको थोत्रो मजेत्रो ओडेर बस्नु भएका मेरा बुबालाई सुकिलामुकिला दुई तिहाइका सत्ताधारीहरुले चिन्दैनन्  यतिबेला । किनकी उहाँले भ्रष्टचारी सुट लगाउनु भएन । सँधै इमानको मजेत्रो ओडिरहनु भयो । युद्धको नाइके सानले हिंडिरहँदा कयौं निर्दाेष कार्यकर्ता हत्याको आरोपमा चिसो सिंढिमा कामिरहेका छन् । सिंहदरबारमा बस्नेलाई ति दिन सपना जस्तो लाग्छ होला तर झुपडीमा बस्नेहरुलाई बारम्बार ति दिनले खोचिरहन्छ, पोलिरहन्छ र झस्काइरहन्छ । खवरदार ! मेरो बुबा जस्ता हजारौं बुबाहरुको बलिदान र  त्यागले जन्मिएको गणतन्त्र र संविधानमाथि  खेलवाड गर्ने छुट कसैलाई छैन ।