Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर २० शनिबार
  • Saturday, 05 December, 2020
ad
अर्धशतक प्रहार गरेका नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल (दायाँ) र शतक प्रहार गरेका ओमानका अकिब इलियास ब्याट उठाउँदै  (बायाँ)। तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७६ माघ २७ सोमबार ०८:०३:००
खेलकुद

आइसिसी विश्वकप लिग २ शृंखला : नेपालले रक्षा गर्न सकेन ठूलो लक्ष्य

२०७६ माघ २७ सोमबार ०८:०३:००

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग पछिल्लो पाँच दिनमा दोस्रोपटक पराजित भएको छ । आइसिसी विश्वकप लिग २ शृंखलाअन्तर्गत आइतबार त्रिवि मैदानमा नेपाल ओमानसँग आठ विकेटको भारीअन्तरले पराजित भयो । गत बुधबार मात्रै नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । यो पराजयले सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रतियोगितासमेत रहेको लिग २ मा नेपाललाई केही धक्का लागेको छ । 

लिग २ शृंखलामा तीन खेल खेल्दा अंकतालिकामा नेपालको मात्रै दुई अंक छ । शनिबार अमेरिकालाई पराजित गर्दै नेपालले पहिलो दुई अंक जोडेको थियो । नेपाललाई हराएको ओमान सात टोली सम्मिलित लिग २ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलबाट १४ अंक जोडेको ओमानले शीर्ष स्थानमा उक्लन अमेरिकालाई दुई अंकले पछि धकेलेको हो । १० खेल खेलेको अमेरिकाको १२ अंक छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४९ रनको योगफल तय गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यो नेपालले बनाएको अहिलेसम्मकै ठूलो योगफल हो । 

नेपालले यही योगफल जोगाउन सकेन । ओमानले ४७.२ ओभरमा मात्रै दुई विकेट गुमाएर लक्ष्य पार गरेको थियो । ब्याटिङ सुध्रिएको खेलमा बलरहरूले साथ दिन नसक्दा नेपालका लागि जित असम्भव बन्यो । ‘आज ब्याटिङतर्फ राम्रो सुरुवात भएको थियो । यद्यपि, बलिङमा जुन अनुशासनले प्रदर्शन हुनुुपथ्र्याे । त्यो भएन’, खेलपछि नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘अब हामीले जस्तो अवस्थामा पनि जिम्मेवारी लिएर टोलीलाई जिताउनुपर्छ भन्ने सोच राख्नुपर्छ । त्यहीअनुसार खेल्नुपर्छ ।’

ज्ञानेन्द्रको दोस्रो एकदिवसीय अर्धशतक

ओमानविरुद्धको खेलमा नेपालले ब्याटिङतर्फ सुधारिएको प्रदर्शन ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रले ५६ रनको अर्धशतकीय योगदान दिए । एकदिवसीय खेलमा उनको यो दोस्रो अर्धशतक हो । उनले गत अगस्ट २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा पनि अर्धशतक प्रहार गरेका थिए । उनले अर्का प्रारम्भिक खेलाडी सुवास खकुरेल (२२) सँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । सुवास आउट भएपछि क्रिजमा आएका पूर्वकप्तान पारस खड्काले ३४ बलमै ३८ रन जोडे ।

ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पारससँगै ५९ रनको साझेदारी गरे । यो प्रदर्शन नेपाली खेलाडीले एकदिवसीय खेलमा दोस्रो विकेटका लागि गरेको दोस्रो ठूलो साझेदारी रह्यो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय खेलमा ज्ञानेन्द्र र पारसले नै दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । यी दुवै खेलाडीले आफ्नो इनिङ्समा समान एक छक्का र ६ चौका प्रहार गरे । पारस ठूलो सट् प्रहार गर्ने प्रयासमा मिड अफमै सन्दीप गउडद्वारा समातिएका थिए । ज्ञानेन्द्रले पनि ब्याकवार्ड प्वाइन्टमा सहज क्याच दिएका थिए ।

त्यसपछि विनोद भण्डारीले ३५ रन जोड्दा कुशल मल्ल र आरिफ शेखले पनि समान २८ रनको योगदान दिए । शनिबार अमेरिकाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडीको कीर्तिमान कायम गरेका कुशलले ओमानविरुद्ध पनि सुरुवातबाटै आक्रामक प्रदर्शन गरेका थिए । उनले आफ्नो इनिङ्समा समान दुई छक्का र चौका प्रहार गरे । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने लगातार दोस्रो खेलमा डक आउट हुन पुगे । अमेरिकाविरुद्ध शनिबार दोस्रो बलको सामना गर्दा विकेट गुमाएका उनी ओमानविरुद्ध तेस्रो बलमा आउट हुन पुगे । 

अकिबको अविस्मरणीय प्रदर्शन

ओमानको जितमा ब्याटिङ अलराउन्डर अकिब इलियासको प्रदर्शन निर्णायक रह्यो । अविजित १०९ रनको शतकीय इनिङ्स खेलेका अकिबले चार विकेटसमेत लिए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलको एकै इनिङ्समा यो प्रदर्शन गर्ने विश्वकै मात्रै १५औँ खेलाडीमा परेका छन् । नेपालविरुद्ध उनको प्रदर्शन अविश्वसनीय रह्यो । उनी एकै ओभरमा पनि दायाँहाते नेपाली ब्याट्सम्यानलाई लेग स्पिन र बायाँहाते ब्याट्सम्यानलाई अफ स्पिन बलिङ गरिरहेका थिए । उनले नेपाली कप्तान ज्ञानेन्द्रसहित आरिफ, कुशल र करण केसीलाई आउट गरे । उनी फिल्डिङ गर्ने क्रममा पहिलो इनिङ्समै घाइते बनेका थिए । उनको दायाँ खुट्टामा समस्या देखिएको थियो । चोटका बाबजुद तेस्रो क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका उनले आफ्नो टोलीलाई शतकीय योगदान दिए । उनी ओमानको राष्ट्रिय टोलीबाट शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

‘आफ्नो टोलीका लागि यो योगदान गर्न पाउँदा निकै खुसी लागेको छ’, खेलपछि अकिबले भने, ‘सायद नेपालको यो वातावरणले पनि खेल्न सजिलो भएको छ । हामी ओमानमा कम्तीमा ४० डिग्रीको तापक्रममा अभ्यास गर्छौँ । यहाँको वातावरण फरक छ । जति खेले पनि पसिना आउँदैन । त्यसमाथि यहाँका दर्शक धेरै राम्रा छन् । यदि, हामीले राम्रो खेल्यौँ भने उनीहरू हामीलाई पनि समर्थन गर्छन् । म फेरि नेपाल आएर यसरी खेल्न पाउँछु कि पाउँदिनँ थाहा छैन, त्यसैले धन्यवादस्वरूप दर्शकलाई मेरो जर्सी दिएको छु ।’ उनले ३७ रनमा खेलिरहँदा जीवनदान पाएका थिए । ब्याकवार्ड प्वाइन्टमा आरिफले उनको सहज क्याच छुटाएका थिए । उनलाई कप्तान जिसन मक्सुदले अविजित ६८ रन बनाएर साथ दिए । यी दुई खेलाडीले ओमानका लागि तेस्रो विकेटका लागि १६७ रनको साझेदारी गरे । यी दुई खेलाडीको ब्याटिङमा ओमानले कुनै पनि समय खेल आफ्नो नियन्त्रणभन्दा बाहिर जान दिएन ।