Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
२०७६ माघ १४ मंगलबार ०७:३२:००
मुख्य समाचार

महाधिवेशनको मन्थन : सुरुवातमै सुस्त

२०७६ माघ १४ मंगलबार ०७:३२:००
  •  विधानको व्यवस्थाअनुसार अबको पाँच महिनाभित्र अर्थात् ०७७ जेठभित्र नेकपाले महाधिवेशन गर्नुपर्ने हो । बल्ल महाधिवेशन गरौँ भन्ने प्रस्ताव आएको छ, तर यसका लागि नेकपाको दौड धेरै नै सुस्त छ । 
  •  नेतृत्वले प्रस्ताव गरे जसरी सजिलै महाधिवेशन हुन्छ भन्नेमा नेकपा स्थायी समितिका सदस्यलाई नै शंका छ । त्यसैले उनीहरूले चुनौती देखेका छन् र थरीथरीका प्रस्ताव अगाडि सारेका छन् ।

२९ मंसिरदेखि ६ पुससम्म चलेको नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको सातौँ बु‌ँदामा छ, ‘२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जवस र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने ।’ 

दुवै अध्यक्षका तर्फबाट पेस भएको प्रतिवेदनमा आगामी कार्ययोजनामा एकता महाधिवेशनको औपचारिक प्रस्ताव आएपछि बैठकमा अधिकांश नेताले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउन र कार्यतालिकासहित महाधिवेशनलक्षित अभियान चलाउन सुझाब दिए । तर, २३ पुसका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक १५ माघका लागि मात्रै सारिएन, १५ दिनभित्रै एकताका बाँकी काम सम्पन्न गर्ने संकल्प पनि पूरा भएन । केन्द्रीय कमिटीको बैठक र एकता टुंग्याउन ढिला हुँदा महाधिवेशनलक्षित कार्ययोजना सुरुवातमै प्रभावित बन्यो । 

नेकपामा पूर्वयोजनाअनुसार कुनै काम भएका छैनन् । त्यसैले महाधिवेशन पनि भनेकै समयमा हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । तत्कालीन एमाले–माओवादीबीच ३ जेठ ०७५ मा एकता हुँदा तीन महिनाभित्र एकीकरण प्रक्रियाका बाँकी काम सकेर दुई वर्षभित्र एकता महाधिवेशन गर्ने सहमति थियो । तर, एकताको काम १९ महिनासम्म लम्बियो, अझै सकिएको छैन ।

नेकपाको विधानमा दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैँले आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने उल्लेख छ । विधानको व्यवस्थाअनुसार अबको पाँच महिनाभित्र अर्थात् ०७७ जेठभित्र महाधिवेशन गर्नुपर्ने भए पनि नेकपाको दौड धेरै नै सुस्त छ । अझ ०७७ को अन्त्यसम्म नेकपाको महाधिवेशन हुने विश्वस्त आधार भेटिँदैन । अध्यक्ष केपी ओली र प्रचण्डले एकीकरणमा ढिलाइ गरेकाले नेकपाका नेताहरू नै प्रतिवेदनको प्रस्तावअनुसार ०७७ भित्र महाधिवेशन हुनेमा आश्वस्त छैनन् । 

वरिष्ठ नेता झलनाथ खनाल महाधिवेशनको प्रस्ताव आए पनि समयभित्र सम्पन्न हुनेमा आशंका जनाउँछन् । ‘राजनीतिक प्रतिवेदनमा महाधिवेशनको प्रस्ताव र सम्पन्न गर्ने प्रतिबद्धता दुवै आयो, यसलाई सकारात्मक रूपमै लिनुपर्छ । किनभने, त्यसले महाधिवेशन हुन्छ भन्ने सुनिश्चितता गरेको छ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘समय अलिकति तलमाथि पनि हुन सक्ला, तर महाधिवेशन हुँदै छ भन्ने सकारात्मक सन्देश दिएको छ ।’

स्थायी समिति बैठकमा पेस भएको महाधिवेशनलक्षित दशबुँदे कार्ययोजनामा माघलगत्तै सुरुको तीन महिना बैठक, भेला र प्रशिक्षण तथा पछिल्लो तीन महिना अर्को कार्ययोजनाका साथ जिल्ला पार्टी अधिवेशन तयारी अवधिका रूपमा बढाउने उल्लेख छ । केन्द्रीय समिति बैठकलगत्तै संगठन विभागले पार्टी सदस्यको अभिलेख संकलन र सदस्यता नवीकरण व्यवस्थित बनाउने प्रस्ताव थियो । केन्द्रीय कमिटीबाट पारित गरेर फागुनबाट महाधिवेशनलाई मूल लक्ष्य बनाई ६ महिने अभियान सञ्चालन गर्न उपयुक्त हुने सुझाब स्थायी समिति सदस्यले दिएको नेता बेदुराम भुसालले बताए । 

नेकपाले ५ माघमा जारी गरेको ‘विशेष परिपत्र–७’ अनुसार संगठन विभागले अगाडि सारेको कार्ययोजना सचिवालयबाट पारित भएको छ । यसमा पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषय छन् ।

अब १५ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकले कार्ययोजना पारित गर्ने र कार्यान्वयनमा जाने नेकपाले जनाएको छ । यो कार्ययोजनासँगै महाधिवेशनको काम पनि सुरु हुने नेताहरूको बुझाइ छ ।

संगठन विभागको योजनाअनुसार आगामी चैत मसान्तभित्र संगठित सदस्यहरूको सदस्यता नवीकरण गरिसक्ने, असारसम्म सबै सदस्यलाई कुनै न कुनै कमिटीमा संगठित गरिसक्ने, प्रशिक्षण अभियान चलाउने, हरेक सदस्यहरूको व्यक्तिगत मूल्यांकनसहितको फायल तयार पार्नेलगायतका विषय कार्ययोजनाभित्र छन् ।  नेकपा स्थायी समिति सदस्य शंकर पोखरेल सदस्यता नवीकरणको काम अभियानकै रूपमा अघि नबढाए आउने वर्षलाई अधिवेशन वर्षका रूपमा अघि बढाउन कठिन हुने बताउँछन् । ‘सदस्यता नवीकरणको कामलाई पनि अभियानकै रूपमा अघि बढाउनुपर्ने देखिन्छ । अन्यथा आउने वर्षलाई अधिवेशनको वर्षका रूपमा अघि बढाउन कठिन हुनेछ,’ पोखरेलको भनाइ छ । 

स्थायी समितिका अर्का सदस्य मणि थापाका अनुसार अहिलेको अवस्था हेर्दा अध्यक्षको प्रस्तावअनुसार ०७७ को अन्त्यसम्म महाधिवेशन हुन गाह्रो छ । अर्कोतिर राजनीतिक प्रतिवेदनमै पार्टीभित्र विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेको, घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरू बढिरहेको, पार्टी अनुशासनको स्तर दयनीय रहेको तथा पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको उल्लेख छ । अर्थात् गुट कायमै राखेर महाधिवेशनमा जाँदा नेकपाका लागि आत्मघाती हुने खतरा पनि उत्तिकै छ । 

महाधिवेशनअघिका चुनौती

महाधिवेशनलाई लिएर पूर्वसहमति र पार्टी विधानभन्दा अरू मुद्दा पनि उठेका छन् । त्यसैले महाधिवेशन निर्णयकै भरमा मात्र सजिलै हुने अवस्था छैन । स्थायी समिति सदस्य घनश्याम भुसालको प्रस्ताव पार्टी पुनर्निर्माणपछि महाधिवेशन हुनुपर्छ भन्ने छ । पछिल्लो स्थायी समिति बैठकमा उनको भनाइ थियो, ‘उही काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिएझैँ, आजकै वैचारिक र सांगठनिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ । बरु यथास्थितिकै विस्तार हुनेछ ।’

प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य पोखरेलले संक्रमणकालमा दुई अध्यक्षको व्यवस्था गरे पनि अब योग्यता र क्षमताका आधारमै चुनावी प्रक्रियाबाट नेतृत्व चयनको प्रस्ताव गरेका छन् । ‘एकताको महाधिवेशन नहुँदासम्मका लागि दुई अध्यक्षको व्यवस्था गरिएको पनि छ,’ पछिल्लो स्थायी समितिमा लिखित सुझाब पेस गर्दै पोखरेलले भनेका छन्, ‘तर, पार्टी निर्माणका सन्दर्भमा अब क्रमशः हाम्रो ध्यान योग्यता र क्षमताका अधारमा नेतृत्व निर्माणतर्फ केन्द्रित हुनुपर्दछ । यसका लागि एकताको सन्देश प्रवाह गर्ने र एकताको जगमा पार्टीलाई सुदृढ र सबल बनाउने गरी विशेष अभियान सञ्चालन गर्नुपर्दछ ।’ 

नेकपालाई साँच्चै नयाँ ढंगको पार्टी बनाउने हो भने त्यसका लागि सबैभन्दा पहिला दुई अध्यक्ष र सचिवालय तयार हुनुपर्ने स्थायी समितिका सदस्य मणि थापाको मत छ । ‘हामीले जसरी भागबन्डाका आधारमा पार्टी एकता सम्पन्न गर्‍यौँ, त्यस्तै कोटा प्रणालीबाट महाधिवेशन गर्ने गरी जाने हो भने त्यसले नयाँ ढंगको पार्टी निर्माण सम्भव छैन । त्यसैले यदि नेकपा बनाउने मान्यता हो भने नेतृत्वले बोल्ड डिसिजन गरेर प्रत्यक्ष निर्वाचनमार्फत नै नेतृत्व निर्वाचित गर्नैपर्छ,’ थापाले भने ।

महाधिवेशनअघि टुंगिनुपर्ने काम 

एकताका बाँकी काम : नेकपामा अझै एकीकरण प्रक्रियाको काम सकिएको छैन । केन्द्रीय सल्लाहकार कमिटी, अनुशासन, लेखा र निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, भारतबाहेकका प्रवास कमिटीहरू र केन्द्रीय विभागहरूले पूर्णता पाइसकेका छैनन् । ६ पुसमा सम्पन्न स्थायी समिति बैठकले १५ दिनभित्र ती काम सम्पन्न गर्ने निर्णय गरे पनि ढिलाइ हुँदै गएको छ । 

 सदस्यता नवीकरण : पूर्वएमालेको पाँच लाख र पूर्वमाओवादीको तीन लाखसहित करिब आठ लाख संगठित सदस्य रहेको नेकपाको दाबी छ । नवीकरणसहित नेकपाको नयाँ सदस्यता वितरण भएपछि मात्र केन्द्रदेखि वडासम्मका अधिवेशन गर्ने आधार तयार हुनेछ । आगामी चैतभित्र सदस्यता नवीकरण गरेर अभिलेख राख्ने संगठन विभागको कार्ययोजना सचिवालयबाट पास भएको छ । केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले कार्यान्वयनमा जान बाँकी छ । 

 भावनात्मक एकताको सन्देश : नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी समूहकै नाममा अहिले पनि भागबन्डा हुँदै आएको छ । त्यसबाहेक अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको मुख्य गुट मात्र होइन, अन्य नेताका उपगुट पनि सक्रिय छन् । भावनात्मक एकताको सन्देश दिने गरी बृहत् कार्यकर्ता भेला, आमसभाजस्ता कार्यक्रमहरू नेकपाले गर्न सकेको छैन । सबै प्रदेश र जिल्लाहरूमा भावनात्मक एकताको सन्देश दिन भेला र सभा गर्ने एक वर्षअघिदेखिको कार्ययोजना अधुरै छ । 

तल्ला कमिटी र जनसंगठनको अधिवेशन : ०७७ भित्र केन्द्रीय महाधिवेशन गर्न नेकपाले प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह र वडाहरूको मात्र होइन, २२ जनवर्गीय संगठनहरूको पनि अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । सदस्यता नवीकरणसम्बन्धी काम सकिएपछि पनि यी काम सक्न धेरै चाँडो गरे पनि ६ महिना लाग्छ । 

कार्यदिशाको बहस : नेकपाले साबिक एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद, माओवादीको एक्काइसौँ शताब्दीको जनवाद र माओवाद महाधिवेशनसम्मका लागि स्थगित गरेर जनताको जनवादको कार्यदिशा अवलम्बन गरिरहेको छ । नयाँ कार्यदिशाबारे पार्टीपंक्ति प्रशिक्षित नभएकै अवस्थामा अन्तरिमकालको सिद्धान्त र कार्यदिशामा केन्द्रीय नेता नै सन्तुष्ट छैनन् । महाधिवेशनको मिति तय भइसकेपछि निश्चित समयसम्म सिद्धान्त र कार्यदिशाको प्रश्न बहसमार्फत टुंग्याउनुपर्ने हुन्छ । राजनीतिक, वैचारिक कार्यदिशामा सहमति नभए एकता महाधिवेशन सर्वसम्मत बनाउने पूर्वघोषणा कार्यान्वयन हुनेछैन । 

नेतृत्वको संरचना र आकार : पार्टी एकतापछि नेकपाले विधानबाटै केन्द्रीय कमिटीदेखि वडा तहसम्मका कमिटी ठूला आकारका बनाएको छ । ठूला कमिटीकै कारण नियमित बैठक भएका छैनन् । केन्द्रमा दुई अध्यक्षमा अधिकार केन्द्रीकरण गरिएको छ । एकल कि बहुपदीय संरचनाजस्ता नीतिगत प्रश्न मात्र होइन, सबै तहका कमिटीको आकार कत्रो हुनेजस्ता प्रश्नहरू महाधिवेशनअगावै टुंगो लगाउनुपर्नेछ । 

हल खोजेर मात्रै महाधिवेशन  : डा. बेदुराम भुसाल सदस्य, स्थायी समिति

महाधिवेशनअघि थुप्रै तयारी गर्नुपर्ने हुन्छ । एकीकरण प्रक्रिया अझै सकिएको छैन । यो सकेर दोस्रो चरणमा सदस्यता नवीकरणसम्बन्धी जटिल काम सम्पन्न गर्नुपर्ने हुन्छ । तीनदेखि ६ महिनाभित्र सदस्यता नवीकरण हुन सके मात्र वडादेखि केन्द्रसम्मको अधिवेशनको आधार तयार हुनेछ । प्रदेश, जिल्ला र स्थानीय तहसम्म अझै भावनात्मक एकता भइसकेको छैन । ती तहमा भावनात्मक एकता कायम गर्न सहमति वा चुनावी प्रक्रियाबाट नेतृत्व छान्ने भन्ने सवाल महत्वपूर्ण छ । यसमा स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता छ । 

महाधिवेशनअघि नै पार्टी सिद्धान्त र कार्यदिशामा स्पष्ट भइसक्नुपर्ने हुन्छ । समाजवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथलाई कार्यदिशा बनाउनुपर्ने विचार उठेका छन् । एकता महाधिवेशन सर्वसम्मत गर्ने भनेका छौँ, तर नीतिगत अन्योलतासहित महाधिवेशनमा जाँदा विभिन्न धार देखिनेछन् । यो सबैभन्दा पेचिलो विषय हो । नीतिगत बहसकै लागि पर्याप्त समय लाग्न सक्छ । वैचारिक विवाद भयो भने विधानमा भनेजस्तो सहमतिको महाधिवेशन बन्छ कि विमतिको भन्ने प्रश्नको हल खोजेर मात्र महाधिवेशनमा जानुपर्छ । 

त्यस्तै, नेतृत्वको संरचना र आकार कस्तो हुने भन्ने पनि अर्को महत्वपूर्ण सवाल हो । एकतापछिको संक्रमणकालमा हामीले भद्दा आकारका कमिटी बनाएका छौँ । त्यसले गर्दा माथिदेखि तलसम्म कमिटीका बैठक नै नियमित नबस्ने, बसे पनि प्रभावकारी नहुने समस्याको अनुभूति गर्न थालिएको छ । छरितो आकारका कमिटी बनाएर जानुपर्ने आवश्यकता देखिएकाले केन्द्रदेखि तलसम्मका कमिटीको संरचना र आकारहरू पनि टुंगो लगाएर मात्र महाधिवेशनमा जानु उपयुक्त हुन्छ ।