• वि.सं २०७६ चैत २५ मंगलबार
  • वि.सं २०७६ चैत २५ मंगलबार
  • Tuesday, 07 April, 2020
मनिषा पौडेल  काठमाडाैं
२०७६ माघ १२ आइतबार १९:१२:००
विश्व खबर

मदुरो भेनेजुएलामा झन् शक्तिशाली

मनिषा पौडेल  काठमाडाैं
२०७६ माघ १२ आइतबार १९:१२:००

सम्पादकीय असावधानीले राखिएको शीर्षक र समाचारको अंश हटाइएको छ । हामी गम्भीर पत्रकारिताको पक्षमा छौँ, हामीबाट भएको त्रुटिमा क्षमायाचना गर्दै विनम्रतापूर्वक भूलसुधार गर्छौं । – सम्पादक

प्रतिपक्षी नेता गुएइदोका कारण गतसाल हायलकायल बनेका भेनेजुएलाका राष्ट्रपति निकाेलस मदुरो एक वर्ष बित्दा नबित्दै झन् शक्तिशाली बनेका छन् । र सरकारी पक्षले बिहीबार ९ माघमा गुइएदोको प्रयास असफल भएको खुसीयालीमा र्‍याली गरेको थियो । र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति मदुरोले ‘साहसिक कू’ असफल भएको बताएका थिए । ‘साहसिक कू’ शब्दावलीको प्रयोग गुएइदोप्रतिको व्यङ्ग थियो ।  

मदुरोलाई शासनबाट हटाएर भेनेजुएलाको अवस्थामा सुधार ल्याउने, विस्थापित भेनेजुएली नागरिकहरुलाई स्वदेश फर्काउने, देशमा राजनीतिक स्थिरता कायम गर्ने, रोजगार र आधारभूत आवश्कताको पहुँचलाई सहज बनाउने दावीसहित गुएइदो सडकमा निस्केका थिए । र, सडकबाटै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

२०१९ को जनवरीमा काराकसमा नवनिर्वाचित राष्ट्रपतिविरुद्ध जब गुएइदोको नेतृत्वमा ठूल्ठूला सडक प्रदर्शन हुन थाले, धेरैको अनुमान थियो, अब मदुरोको दिन गन्ती सुरु भयो । उनीसँगै सन् १९९८ देखिको चाभिस्मो (भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको विचार) र कट्टरपन्थी सत्ता ढल्ने बताएका थिए । तर, धेरैको अनुमानविपरीत गुएइदो आफै कमजोर बन्दै गए, अनि मदुरोले आफूलाई टिकाइ राख्नमात्र सकेनन्, झन् मजबुतसमेत भए ।

भेनेजुएलामा देखिएको द्वन्द्व समाधानका लागि जेठ-असार ०७६ मा नर्वेले दुई पक्षबीच वार्ताको वातावरण बनायो । वार्ताको वातावरण बिथोल्न अमेरिकाले १६ साउन ०७६ बाट भेनेजुएलामाथि थप प्रतिबन्ध लगाउने घोषणा गर्‍याे । मदुरो सरकारलाई दबावमा पार्ने उद्देश्यले गरिएको अमेरिकी कारबाहीले भेनेजुएलामाथि थप दबाब सिर्जना भएको छ । तर, पनि मदुरो टसमस भएका छैनन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धले मात्र कुनै देशको राजनीतिक स्थितिमा निर्णायक प्रभाव पार्न सक्दो रहेनछ भन्ने कुरा अमेरिकाले क्युबामाथि विगत ६० वर्षदेखि लगाएको प्रतिबन्धले प्रष्ट पारेको छ । बरु, अमेरिकी समर्थनका बाबजुद गुएइदो निर्णायक बन्न नसकेपछि मदुरोलाई झन् हौसला मिलेको छ । मदुरो झन् शक्तिशाली बन्दै गएको कुराप्रति भेनेजुएली विपक्षी दलहरु पनि सचेत देखिन्छन् । त्यही कारण सन् २०२० को अन्त्यसम्ममा हुने भनिएको संसदीय चुनावलाई लक्षित गरी सरकारसँग वार्ता जारी राखेका छन् ।

गुएइदोको आशा जीवितै 

राष्ट्रपतिबाट मदुरोलाई गुएइदोले विस्थापित गर्न सकेनन् । तर पनि उनले (गुएइदो)ले आशा भने मारिसकेका छैनन् । ७–९ माघ ०७६ मा डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा उनी पनि पुगेका थिए, जहाँ उनले भेनेजुएलाको शासन सत्ता निरङ्कुश भएको दावी गर्दै सत्ता पलटका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरे । त्यसअघि गुएइदोले २० जनवरी (६ माघ २०७६) मा अमेरिकी विदेश सचिव माइक पोम्पिओसँग कोलम्बियामा भेट गरेका थिए ।  

एक वर्षअगाडि गुएइदोको पक्षमा भेनेजुएलाका नागरिकहरुले जति समर्थन गरेका थिए । विस्तारै त्यो समर्थन गुमाउँदै गएका गुएइदोमाथि मदुरो सरकारले १५ वर्षको प्रतिबन्ध लगाएको छ । यही प्रतिबन्धका कारण २० पुष ०७६ मा त्यहाँको संसदीय सत्रमा भाग लिन गुएइदोलाई रोक्यो । त्यसदिन राष्ट्रिय सभा अन्तर्गत प्रतिनिधि समितिको निर्वाचन हुँदै थियो । र, उनले निर्वाचनमा भाग लिन पाएनन् ।  

निर्वाचनको पर्यवेक्षणका लागि पुगेका जर्मनी, नेदरल्यान्ड र स्पेनका कुटनीतिक प्रतिनिधि र गुएइदो समर्थित विपक्षी दलका सांसदलाई समेत प्रवेश गर्न निषेध गरिएको थियो । सरकारले चिली र मेक्सिकोका पर्यवेक्षकलाई मात्र प्रवेशको अनुमति दिएको थियो । 

एक वर्षको अवधिमा गुएइदो नेतृत्वको भेनेजुएली विपक्षी समूह कमजोर र मदुरो शक्तिशाली देखिनुको कारण विपक्षी समूहमा विवाद–विभाजन देखिनु पनि हो । गुएइदो र अन्य विपक्षी नेता पक्राउ परेका बेला अर्का विपक्षी राजनीतिज्ञ लुइस पार्राले आफूलाई संसदको अध्यक्ष घोषणा गरेका थिए । तर, उनको पक्षमा संसदको कोरम नपुगेको ‘एल नासियोनल’ अखबारको मुख्यालयमै संसदीय सत्र सञ्चालन गरियो । सो सत्रमा रहेका १ सय ६७ प्रतिनिधिमध्ये एक सय जनाले गुएइदोलाई पुन संसदको अध्ययन निर्वाचित गरेका थिए । 

यो घटनाले विपक्षी समूहमा विभाजन ल्याउन ठूलो मद्दत गर्‍याे । विपक्षीमध्ये एउटा खेमा जसरी भए पनि सत्ता परिवर्तन गर्नुपर्ने पक्षमा छ, जसको नेतृत्व गुएइदोले गरेका छन् । अर्को खेमा चाहिँ  राजनीतिक समाधान खोज्नुपर्ने र यसका लागि मदुरोसँग वार्ता गर्नुपर्ने पक्षमा छ । 

खासमा गुएइदोले मदुरोविरुद्ध ‘असफल कू’को प्रयास राष्ट्रिय सभाको अध्यक्षका रुपमा गरेका थिए । तर, उनको कू असफल मात्र भएन, राष्ट्रिय सभामै उनको नेतृत्वविरुद्ध लुइस पार्राबाट चुनौती खडा भयो । अमेरिकालगायतका देशले गुएइदोलाई नै समर्थन गरेका छन् भने अमेरिकाको प्रतिद्वन्द्वी रुसले पार्रालाई मान्यता दिएको छ । 

(फोटो : सैनिक जनरलका साथ राष्ट्रपति मदुरो –बायाँ) । एजेन्सी