सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ श्रावण १ बिहीबार
  • Thursday, 16 July, 2020
सरोजदिलु विश्वकर्मा
२०७६ पौष २९ मंगलबार ०९:०६:००
दृष्टिकोण

जातीय संरचना नै किन ?

सरोजदिलु विश्वकर्मा
२०७६ पौष २९ मंगलबार ०९:०६:००

लामो समयसम्म हामीले पूर्वीय दर्शन पढ्यौँ, वर्गीय दृष्टिकोणलाई पछ्यायौँ । तर, वर्गीय दृष्टिकोणका जन्मदाता मार्क्सको विचार नेपालसम्म आइपुग्दा अझ मार्क्स र एंगेल्सद्वारा मार्गदर्शन गरेको कम्युनिस्ट पार्टी सत्तामा पुगिरहँदा वर्गीय दृष्टिकोण मात्र होइन, सिंगो मार्क्सवाद नै फेल खाइरहेको अवस्था हो । नेपालको परिप्रेक्षमा अझ माओवादी जनयुद्धपछि बिस्तारै जातीय अधिकारले स्थान लिइरहँदा मामार्क्सवाद विस्थापन भइरहेको छ ।

नेपालमा बहुसंख्यक जातजाति हुनु, तिनलाई अल्पसंख्यक वा एउटा निश्चित वर्गले मात्र शासन गरिरहनु र त्यो शासक वर्गचाहिँ वर्गीय विचारको द्योतक हुँदाहुँदै पनि उसबाट बहुसंख्यक जातजाति सधैँ शासित भइरहनुले बिस्तारै अब मार्क्सवाद होइन, बरु अम्बेकडर वा गान्धीवादले स्थान लिइरहेको देखिन्छ । विचार विवेचनाहरू अब वर्गीय दर्शन होइन, जातीय दर्शन नै सही हो भन्ने निष्कर्षमा पुग्न थालेको छ । जब कि मार्क्सदर्शन सत्ता नापाएकाहरूलाई सत्तामा जाने र फेरि सर्वहारा वर्गमाथि नै शासन गर्ने ज्ञानमा बदलियो भने जातीय दर्शनचाहिँ विभिन्न जातजातिलाई राज्यसत्तामा पुर्‍याउने सत्ताको हिस्सेदारी बन्ने दह्रिलो कडी बन्यो । त्यसैले अबको बाटो वर्गीयभन्दा पनि जातीय नै सही हो भन्ने थुप्रै विद्वान्को ठम्याइ छ । 

असफल माक्र्सवादी कम्युनिज्म 
कम्युनिस्ट सत्तामा जानु भनेकै मार्क्सवादको प्रयोग हुनु हो । किनकि कम्युनिस्टको मूल विचार नै मार्क्सवाद हो र मार्क्सवादी विचारद्वारा सर्वहाराको सत्ता स्थापना गरी समाज बदल्नैका लागि कम्युनिस्टहरू सत्तामा पुग्छन् । तर, कम्युनिस्टले अंगीकार गरेको यो मार्क्सवादलाई हेर्दा सर्वहारा वर्गको सत्ता स्थापना भएको नभई पुराना सामन्तको हातमा रहेको सत्ता नवसामन्तमा हस्तान्तरण भएको मात्र देखिन्छ । जब कि हिजो त्यो सामन्तवादलाई हाँक्ने एउटा विशेष वर्गीय जमात थियो, जो वंशका आधारमा सत्ता चलाउँथ्यो । आज एउटा जात छ, त्यसले आफूहरू मात्र उच्च जाति भएका आधारमा शासन चलाइरहेको छ ।

यसरी हेर्दा मार्क्सवादले सर्वहारा वर्गको प्रतिनिधित्व गराउने नभई उही विशेष जातलाई सत्तासीन गराउँदो रहेछ । अर्को अर्थमा भन्ने हो भने माक्र्सवाद विचार नभई बौद्धिक बिलासिता गर्ने र सर्वहारालाई भ्रम र सपनामा रुमल्लिन सिकाउने एउटा कला मात्र भएकोसमेत देखियो । अर्थात् मार्क्सवाद भनेको त उही पुरानै पण्डितको कर्मकाण्ड गर्ने एउटा भ्रमविधा मात्रै रहेछ भन्ने पनि देखियो । एकादुईलाई छाडेर हेर्दा शासनसत्तामा पहुँच नभएका अधिकांश जातजाति मध्यम र निम्नवर्गमै छन् । यसर्थ, यी वर्गको शासन पनि स्थापना हुनुपर्छ भन्ने हो भने जातीय आन्दोलनको विचारलाई अंगीकार किन नगर्ने ? 

नेपालजस्तो जातीय विविधता भएका मुलुकको परिप्रेक्षमा त्यो माक्र्सवादी दर्शन शतप्रतिशत वस्तुवादी छैन । यदि माक्र्सले नेपाल र भारतको जात र जातीय संस्कृति तथा जातमाथिका उत्पीडन देखेभोगेका भए मार्क्सवादी दर्शन वस्तुवादी हुने थियो । नेपालका सत्तासीनहरूले दलित उत्पीडितको विशिष्टतामाथि पौडी खेल्नेहरू वा मेडिकल पढ्नेहरूबीचको तुलना गर्दैनथे होलान् । अर्थात् कुनै माननीय या मन्त्रीहरूले संसद्को रोस्ट्रममा उभिएर अब दलित उत्पीडित, उत्पीडन तथा वञ्चितीकरणमा पर्दै आएका जातहरूको समावेशीकरण खारेज गर्नुपर्छ भन्ने हुटुहुटी गर्दैनथे होला । त्यसैले हाम्रो स्कुलिङ पनि गलत भयो, स्कुलिङ गराउने शिक्षक पनि गलत रोजियो । त्यसैले अब सच्चिएर नयाँ दर्शनको खोजी गर्दै नयाँ बाटोबाट अघि बढ्नु नै उत्पीडित अल्पसंख्यक सांस्कृतिक समूहको बुद्धिमानी हो । 

नेपाली बहुसंख्यक जनताले २००६ सालदेखि नै वर्गीय शोषणलाई अन्त्य नगरेसम्म र सर्वहारा वर्गको सत्ता स्थापना नभएसम्म मुलुक बदलिँदैन भन्दै आएकै हुन् । तर, ०४७ सालपछि पटक–पटक सर्वहाराकै प्रतिनिधि भनिनेहरू सत्तामा पुगे तैपनि शासकीय पद्धति र चरित्र बदलिएन । बरु नयाँ वर्गको उदय भयो र नयाँ वर्चस्व स्थापना भयो । ०६३ पछिको अवस्थालाई हेर्दा वर्गीयभन्दा जातीय मुद्दाले स्थान पायो र आंशिक नै भए पनि विभिन्न जातजाति सत्ताका हिस्सेदार बने । यसरी हेर्ने हो भने वर्गभन्दा जातीय विचार नै सही रहेछ भन्ने प्रमाणित भसकेको छ । त्यसैको परिणाम हो, आजको समावेशीकरण विचारको स्थापना, जुन विचारको आधारमा अल्पसंख्यक, उत्पीडित, जनजाति, महिला, मधेसी तथा पिछडिएकाहरू राज्यसत्ताका हकदार हुन पाएका छन् । यो वर्गका आधारमा नभई जातीय विचारकै आधारमा सम्भव भएको हो भन्न संकोच मान्नुपर्दैन ।

वर्गीय होइन, जातीय संगठनको आवश्यकता
नेपाल र भारतजस्तो जातैजातले बनेको सामाजिक संरचनामा विशेष जात भएकै आधारमा शासन गरिरहेको हुनाले जातकै आधारमा संगठित हुनु बुद्धिमानी हुन्छ । जब कि समुदाय र वर्गका आधारमा खोलिएका संघसंगठन बिस्तारैे असफल हुँदै छन् । वर्गका आधारमा स्थापना भएका पार्टीका जनवर्गीय संगठन एउटै वर्गभित्रसमेत झन्डा र नेताका कारण विभाजित छन् भने नागरिक समाजका रूपमा स्थापित सामुदायिक संस्था परियोजनामा बाँधिँदै आएका छन् ।

तिनीहरू विदेशी दाताको आडभरोसा र निर्देशनमा मात्र चल्ने हुनाले त्यसले पनि अन्ततः एउटा वर्गकै पक्षपोषण गर्छ । त्यसो हो भने उत्पीडनमा पारिएका, राजनीतिक र आर्थिक आधारमा वञ्चितीकरणमा पारिएका दलित, जनजाति वा मधेसी, ओबिसी, अल्पसंख्यकले पनि आफ्ना संगठन पार्टी संरचनाकै आधारमा वडा र गाउँसम्म पु¥याउनुपर्छ । दलित त देशैभरि छरिएर रहेका छन् । छरिएकै कारण यो समुदायलाई फकाउन, फुटाउन र उनीहरूमाथि शासन गर्न पनि सजिलो भएको छ । त्यसैले दलितको शक्ति निर्माण गरी राज्यसत्तामा पहुँच पुर्‍याउन दलितभित्रका २६ वटै जातजातिले आआफ्ना संरचना तहगत रूपमा निर्माण गर्नैपर्छ । यो अभ्यास विश्वकर्मा, परियार, मिजारलगायतले आरम्भसमेत गरिसकेका छन् भने मधेसमा चमारको जातीय समूह (राम समाज) छ । अन्य जातिको सांगठनिक संरचना बनिनसकेको अवस्था छ । 

समुदाय र वर्गका आधारमा खोलिएका संघसंगठन असफल हुँदै गएकाले अबका दिनमा जातका आधारमा संगठित हुनु बुद्धिमानी ठहरिन्छ 

विश्वकर्माहरू जनसंख्याका आधारमा सातौँ श्रेणीमा पर्छन् । तर, यस जातिले विभिन्न सहरमा पृथक्–पृथक् विश्वकर्मा संगठन खोलेर सञ्चालन गरिरहेका छन् । नेपालभरि नै करिब विश्वकर्मा संगठनको नाममा २०–२५ वटा संस्था क्रियाशील देखिन्छन् । हाम्रो वर्गीय चेतनाको राजनीतिले तिनलाई एकअर्काको अस्तित्व नस्विकार्न बाध्य पारेको छ । अब नेतावाद, पार्टी, झन्डा र आफैँ मात्र कुलीन हुने अहंलाई विसर्जन गर्दै एकल राष्ट्रिय संगठन निर्माणका लागि विश्वकर्माहरू एकजुट हुनैपर्छ । विश्वकर्माभित्र करिब ८२ थर छन् । तीमध्ये १०–१२ थरका उपसंगठनसमेत चलायमान छन् । तिनलाई समेत आआफ्ना जातीय संगठनमा आबद्ध गराई राष्ट्रिय संगठनमा सम्मिलित गराउनुपर्छ । त्यसले नै विश्वकर्माहरूको शक्ति निर्माण गर्न सघाउँछ । शक्ति निर्माण मात्र होइन, कला, सीप, सूचना आदानप्रदान गराउने र छरिएर रहेको पुँजीलाई एकीकृत गरी विश्वकर्माकै समृद्धिमा खर्च पद्धतिको विकास पनि हुनेछ ।

जातीय महासंघ एउटा विकल्प 
अबका दिनमा मिजार, परियार तथा राम समाज वा अन्य दलित जातिले स्थापना गरेका संस्थाले समेत आफ्नो जातीय संगठनलाई केन्द्रदेखि विकट गाउँमा बाली खलो उठाइरहेका दलितसम्मै पुर्‍याउनुपर्छ । पहाडका बादी र गाइने अनि तराईका २१ जातिले समेत आआफ्ना जातीय संगठन स्थापना गरी जातीय कला, सीप, पेसा र संकृतिको जगेर्ना गर्दै जाने र आवश्यक परे यसलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा पनि उभ्याउन तयार हुनुपर्छ । अन्ततः दलित समुदायको जातीय महासंघका रूपमा सबै दलित जातीय संगठनको छाता संगठन निर्माण गरी अगाडि बढ्नु आवश्यक छ । त्यस्तो महासंघले राज्यसत्तासँग बलियो हिस्सेदारी पेस गर्न सकोस् र आवश्यक परे यथास्थितिको सत्तालाई धक्का दिन पनि सकोस् । त्यस संगठनले आफ्नै सांस्कृतिक र राजनीतिक एजेन्डा निर्माण गर्नेछ र आफ्नै झन्डामा नेपालमा सारा दलितलाई गोलबन्द गर्नेछ ।

अझ दलित समुदाय त मानव सभ्यताकै सुसंस्कृत र शालीन जाति समुदाय हो । जसले सत्ताका लागि कहिल्यै छलकपट र बेइमानी गरेन । कहिल्यै समाजलाई विग्रहमा लैजाने दुस्साहस पनि गरेन । जति गर्‍यो, समाज निर्माणकै लागि गर्‍यो । जे दियो, देश निर्माणका लागि दियो । यसो हुनाले मुलुक निर्माणको दायित्व निर्वाह गर्न यो समुदायले पनि पाउनुपर्छ । र, मुलुक निर्माण गर्ने तहसम्म पुर्‍याउन अब जातीय शक्ति फुटेर होइन, संगठित भएर उभिनुपर्ने समय आएको छ । त्यसले नयाँ सांस्कृतिक क्रान्तिको थालनीसमेत गर्नेछ । यस्तो महासंघले नयाँ विचारको अभ्यास पनि गर्नेछ । यस्तो महासंघलाई सर्वसत्तावादीले कि त नामेट् पार्न सक्नुपर्छ कि त सत्ताको साझेदारी गरेर ‘विन–विन’को सिद्धान्तमा अगाडि बढ्नुपर्छ ।

समवर्गबीच सहकार्य 
हो, उस्तै प्रकारको उत्पीडन भोगिरहेका सबै जातिको समस्याको फ्युजन गरेर अगाडि जान भने सकिन्छ । अर्थात्, वर्गीय दृष्टिमा पछाडि पारिएका, राज्यद्वारा बेवास्ता गरिएका, गरिबीको रेखामुनि रहेका तर छुवाछुत र विभेद नगर्ने क्षेत्री, बाहुन वा जोसुकै जाति समूहसँग समान मुद्दामा सहकार्य गरेर आगाडि जान सकिन्छ । तर, उनीहरूले पनि आफ्नो वर्गशत्रुचाहिँ परम्परावादी जातका शासक हुन् भनेर यकिन गर्न हिच्किचाउनु हुँदैन । खाइपाई आएका यी अधिनायकवादको जालो तोड्न सबै सर्वहारा जाति समूहसरह उनीहरू तयार हुनुपर्छ । त्यसले झन् ठूलो शक्ति निर्माण गर्नेछ । त्यो शक्तिका पछाडि वास्तविक सर्वहारावादी राजनीतिक पार्टीको साथ हुनेछ ।