२०७६ मङ्सिर १५ आइतबार ११:०७:००
नयाँ पत्रिका

वातावरणमैत्री निम्तो

सहरको ट्रेन्ड

अरुण लामा

दुई वर्षअघि अरुण लामाले साबुन, स्याम्पु, फेसवासलगायत दैनिक उपभोगका सामग्री बजारमा ल्याए । ती सबैलाई नाम दिए, ‘निम्तो’ । ती सबै सामान ‘ह्यान्ड मेड’ हुन् । उनी पेसाले वातावरण र जडीबुटीविज्ञ हुन् । र, आफूले बनाएका सामानमा स्वदेशकै जडीबुटी प्रयोग गर्ने गरेका छन् ।

लामाले चीनबाट ‘इन्भाइरोमेन्ट साइन्स एन्ड इन्जिनियरिङ’ पढेका छन् । सोही क्रममा औद्योगिक फोहोरको सम्भावित फाइदाबारे पनि अनुसन्धान गरे । तिब्बती पठार र हिन्दुकुश पहाडी शृंखलामा काम गर्दैगर्दा उनलाई क्यानडाबाट काम गर्ने प्रस्ताव आयो । तर, उनी स्वदेशमै केही गर्ने सोचका साथ नेपाल फर्किए । ‘विदेश मलाई दिगो लागेन । जुन विषय मैले अध्ययन गरेँ, त्यसको उपयुक्त स्थान नेपाल नै हो,’ उनी भन्छन्, ‘यहाँको वातावरणीय अनुकूलता र अमूल्य जडीबुटीको प्रयोगबाट नेपालले प्रशस्त लाभ उठाउन सक्छ ।’

चीनबाट फर्केर दुई वर्ष उनले अर्गानिक खेती गरे । त्यसपछि दुई वर्षअघि ‘हर्ब हिमालयन’ नामक संस्था खोले । र, हातबाट बनाइएका प्राकृतिक उत्पादन बजारमा ल्याउन थाले । ‘हामीले दैनिक प्रयोग गर्ने साबुन, स्याम्पु, फेसवासजस्ता वस्तुमा शरीरलाई आवश्यकभन्दा अनावश्यक तत्व बढी हुन्छन्,’ उनी भन्छन्, ‘त्यस्ता सामानले हामीभन्दा पछाडिको पिँढीमा ‘स्लो पोइजन’को काम गर्छन् । त्यस्तो असर ढिलो देखा पर्छ, तर साह्रै नराम्रो हुन्छ । त्यसैले भावी पिँढीका लागि हामीले अहिले नै काम गर्नु आवश्यक छ ।’

आफ्नो अध्ययनको क्षेत्र नै यही भएकाले जनचेतना फैलाउनु आफ्नो कर्तव्य ठानेका छन्, लामाले । दैनिक उपभोगका सामान मानिसको स्वास्थ्य मात्र होइन, वातावरणमैत्री पनि हुनुपर्ने उनी बताउँछन् । जस्तो– दैनिक उपभोगका सामानसँगै उपभोक्ताका घरमा पुग्छन्, प्लास्टिकका खोल । ती सबै अव्यवस्थित रूपमा फालिन्छन् । प्लास्टिकबाट हुने प्रदूषणको नकारात्मक प्रभाव जमिनका मात्र होइन, समुद्री जीवमा पनि देखिन थालिसकेको छ ।

‘निम्तो’का उत्पादनमा प्लास्टिकका खोल प्रयोग हुँदैनन् । स्वदेशकै जडीबुटी प्रयोग गरेर साबुन, स्याम्पु, फेसवास र सेभिङ क्रिम तयार पारिन्छ ।
 

लामाले उत्पादन गरेर बजारमा ल्याउने वस्तुमा त्यस्तो कुनै आवरण राखिएको हुँदैन । ‘निम्तो’का साबुन शतप्रतिशत प्राकृतिक ढंगले नष्ट हुने (बायोडिग्रेडेबल) छन् । स्याम्पु र सेभिङ क्रिम भन्नासाथ तरल पदार्थ बुझिन्छ । तर, लामाले ती दुवैलाई ठोस स्वरूप दिएका छन् । ठोस हुने भएकाले स्याम्पुमा पनि प्लास्टिकको बट्टा प्रयोग हुँदैन । उनी भन्छन्, ‘एउटा क्षेत्रलाई मात्र पनि प्लास्टिक फ्री बनाउन सके त्यसले पर्यावरणमा निकै फरक ल्याउँछ ।’

ती सामान बनाउन उनले दुर्गम गाउँका किसानसँग सहकार्य गर्दै आएका छन् । चिउरी, दालचिनी, कफीलगायत वस्तु आफ्ना उत्पादनमा प्रयोग गर्छन् । उनी भन्छन्, ‘हाम्रा जंगलमै नासिने घाँसपात पनि अमूल्य छन् ।’उनी आफूलाई व्यापारीभन्दा ‘एक्टिभिस्ट’का रूपमा चिनाउन चाहन्छन् । त्यसैले आफ्ना उत्पादन ठूला बजारभन्दा चेतनशील वर्गमा पु¥याउने कोसिसमा छन् । पाँचतारे होटेलहरू र विदेश जाँदै गरेका नेपालीले आफ्ना सामान बढी खरिद गर्दै आएको उनको भनाइ छ ।