Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७६ मङ्सिर ८ आइतबार ०६:५७:००
समाचार

सय पनि विद्यार्थी नहुने पाँच सय ४५ क्याम्पस

२०७६ मङ्सिर ८ आइतबार ०६:५७:००

देशभर सय पनि विद्यार्थी नभएका पाँच सय ४५ क्याम्पस छन् । सय पनि विद्यार्थी नहुनेमा विभिन्न विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस छन् । विश्वविद्यालय अनुदान आयोगले तयार पारेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इएमआइएस) २०१८ अनुसार सयभन्दा कम विद्यार्थी हुनेमा निजी कलेज धेरै छन् । दुई सय ७४ निजी, दुई सय ५२ सामुदायिक र १९ आंगिक क्याम्पसमा विद्यार्थी संख्या सयभन्दा कम रहेको आयोगले जनाएको छ । उसका अनुसार देशभर सामुदायिक पाँच सय आठ, आंगिक एक सय ३७ र निजी सात सय ८० गरी एक हजार चार सय २५ क्याम्पस छन् । 

सय एकदेखि दुई सयसम्म विद्यार्थी हुने क्याम्पसको संख्या दुई सय ८१ छ । यो सूचीमा सामुदायिक एक सय एक, आंगिक १३ र निजी एक सय ६७ कलेज छन् । त्यस्तै, दुई सय एकदेखि पाँच सयसम्म विद्यार्थी हुने क्याम्पस दुई सय ९३, पाँच सय एकदेखि दुई हजार विद्यार्थी हुने एक सय ८६ र दुई हजारभन्दा बढी विद्यार्थी हुने क्याम्पस संख्या २६ छ । देशभर ११ विश्वविद्यालय र ६ मानित विश्वविद्यालय (प्रतिष्ठान) छन् ।

उच्च शिक्षामा छात्राहरूको सहभागिता उत्साहजनक रूपमा वृद्धि भएको छ । भर्नादरमा छात्राको संख्या बढेर ५५.५९ प्रतिशत पुगेको छ । ‘जेन्डर पारिटी इन्डेक्स’को हिसाबले १.११ हो । स्नातक तहमा छात्राहरूको संख्या सबैभन्दा बढी छ । 

आयोगको रिपोर्टअनुसार स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको कुल संख्या तीन लाख ६४ हजार सात सय २९ रहेकोमा छात्र एक लाख ६८ हजार आठ सय ५७ र छात्रा एक लाख ९५ हजार आठ सय ७२ छन् । माथिल्ला तहमा भने छात्राभन्दा छात्रको संख्या बढी छ । स्नातकोत्तर तहमा कुल ५६ हजार तीन सय चार विद्यार्थी रहेकामा छात्र २९ हजार सात सय ७३ र छात्रा २६ हजार पाँच सय ३१ छन् । त्यसैगरी एमफिलमा छात्र सात सय ५८ र छात्रा एक सय ५८ छन् । पिएचडी अध्ययन गर्ने छात्र एक हजार पाँच सय ८४ रहेकामा छात्राको संख्या भने तीन सय २२ मात्र छ । सन् २०१८ मा कुल चार लाख २३ हजार नौ सय ९६ मध्ये छात्र दुई लाख एक हजार १५, र छात्रा दुई लाख २२ हजार नौ सय ८१ छन् । 

सबैभन्दा बढी विद्यार्थी सामुदायिक क्याम्पसमा अध्ययनरत छन् । सामुदायिक क्याम्पसमा ८३ हजार ८४, आंगिकमा ६१ हजार चार सय ९४ र निजीमा ७८ हजार चार सय तीन विद्यार्थी छन् । 

५० प्रतिशतभन्दा बढी विद्यार्थी प्रदेश ३ मा
सात प्रदेशमध्ये सबैभन्दा बढी उच्च शैक्षिक संस्था र विद्यार्थी प्रदेश ३ मा छन् । रिपोर्टअनुसार प्रदेश ३ मा मात्र ५०.८८ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा कम कर्णालीमा ३.३१ प्रतिशत विद्यार्थी छन् । सुदूरपश्चिममा ६.३३, प्रदेश २ मा ७.०५, गण्डकीमा ८.८८ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् । त्यसैगरी प्रदेश १ मा ११.४० र प्रदेश ५ मा १२.१६ प्रतिशत विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी भन्छन् - नक्सांकनविना क्याम्पस स्थापना गर्दा समस्या

गाउँतिरका क्याम्पसमा विद्यार्थी संख्या कम छन् । पहिले क्याम्पस खोल्न होड नै चल्यो । खासगरी शिक्षाशास्त्र र मानविकी पढाउने क्याम्पस बढी खोलिए । यी संकायमा विद्यार्थी संख्या कम हुँदै गयो ।

साना सहरमा पनि आवश्यकताभन्दा बढी क्याम्पस खोलिएका छन् । कुनै एक विचार हुने समूहले क्याम्पस सञ्चालन गरेपछि फरक समूहले पनि क्याम्पस खोल्ने अस्वस्थ प्रतिस्पर्धा भयो ।

अहिले धेरैले त्यो महसुस गरेका छन् । नक्सांकनविना क्याम्पस स्थापना गर्दा अहिले समस्या आएको हो । कस्ता कार्यक्रममा विद्यार्थी उपलब्ध हुन्छन् भन्दा पनि कुन विषयका शिक्षक पाइन्छन् भनेर क्याम्पस खोल्दा समस्या आएको हो ।

विद्यार्थी कम भएका क्याम्पस सञ्चालन गर्न कठिन छ । त्यस्ता क्याम्पस मर्ज गरेर पनि सञ्चालन गर्न सकिन्छ ।