सुनको लिंग

कविता

२०७५ पौष २८ शनिबार ०६:३५:०० | काठमाडाैं

उहिले उहिले
लिंग थियो मासुको

अर्थात् मासुबाहेक
थिएन मासुको युगमा
लिंगको छुट्टै महाख्यान
थिएन, त्यसका अतिरिक्त क्रियाकलाप
न थियो प्रदूषण कुनै चल्ती धातुको
मासुकै पुर्खा
मासुकै वंशज वृक्ष
धर्म, कानुन
सबथोक थियो मासुको

मासुकै समानान्तर
लिंग त फगत एक सेवा प्रदायक
जसको अनन्य हाजिरीमा
स्वतन्त्र थियो मासुको सत्ता
लिंग
बिल्कुल अधिनमा थियो मासुको

बिस्तारै
लिंग बन्यो ढुंगाको

ढुंगा भएपछि
लिंग
अचानक परिणत भयो
लिंगभन्दा बढी औजारमा
जसले परीक्षण ग¥यो
मासुमाथि आफ्नो पहिलो पराक्रम
बिस्तारै ठडिँदै गयो
मासुको मैनमाथि ढुंगाको वर्चस्व
ठडिँदै गयो
उत्पादनको नयाँ शक्ति सिद्धान्त

जहाँ थियो मासुको आराध्य गुफा
ठीक त्यहीँ छाडेर मासुलाई
अर्जाप्दै लिंगको लिंगीय चेतना
बिस्तारै बाहिर निस्कियो लिंग
र संसारलाई दुई फ्याक चिरेर
बनायो लिंगको छुट्टै संसार

पछि
लिंग बन्यो फलामको

एक्कासि प्रकट भयो
मासुको दुनियाँमा फलामको भगवान्
टेकेर फलामकै गजुरले
मासुको मन्दिरमाथि
घोषणा ग-यो
भगवान्ले आफ्नो विशेषाधिकार

फलामकै दर्शनशास्त्र
फलामकै आख्यान
र, फलामकै उन्नत अर्थ–राजनीतिभित्र
कैद गरेर मासुलाई
सुरु ग-यो लिंगले
आफ्नो वीर्यको निजीकरण

अहिले
लिंग छ सुनको

अर्थात् सुनको भएपछि
बदलिएको छ 
एकाएक लिंगको अतिरिक्त लीला
बदलिएको छ मासु 
बहुराष्ट्रिय बजारको नाफामूलक वस्तुमा
जहाँ प्रशोधन गरिन्छ, ठूलो पैमानामा
मासुको कच्चापदार्थ
र, उत्पादन गरिन्छ एक से एक रंगीन पुतलीहरू

सुन र मासुबीचको
यो विनिमय बजारमा
सुनकै कलमद्वारा लेखिएको छ
मासुको बजारशास्त्र
जसले थामिरहेछ लिंगको पुँजीवाद

ओ ! मासुको ऐतिहासिक सत्ता
तिमी यतिखेर लिंगको स्वर्णयुगमा छौ
तर मासुबाट सुरु भएको यो धातुयात्रा
जो यतिखेर सुनमा परिणत भएको छ
सर्वथा मासुकै विरुद्धमा छ
त्यसैले, रोक धातुको लिंगलाई
रोक धातु हुनबाट लिंगलाई ।।

 

प्रतिकृया दिनुहोस