• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

१२औँ चितवन महोत्सव : दोस्रो दिन १० हजारले अवलोकन गरे, मुन्द्रेले हँसाए

१२औँ चितवन महोत्सव दोस्रो दिन करिब १० हजारजनाले अवलोकन गरेका छन् । चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’को हास्य प्रहसन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहितकुमार श्रेष्ठले बताए । दोस्रो दिन बिहीबारबाट मात्रै महोत्सवमा सांस्कृतिक कार्यक्रम रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको हो । हास्य कलाकार मुन्द्रे करिब साढे ३ बजे स्टेजमा उक्लिएपछि दर्शकहरू सबैजसो सांस्कृतिक कार्यक्रमस्थल आसपास नै देखिन्थे ।

कार्यक्रममा मुन्द्रेले देशको परिवेशबारे पेचिला शब्दहरूमार्फत घोचपेच गर्दा दर्शकले गडगडाहट ताली बजाएका थिए । त्यस्तै महोत्सवमा जादुगर बलराम सरकारको प्रस्तुतिले पनि अवलोकनकर्तालाई आकर्षित गरेको थियो । नारायणी कला मन्दिरका कलाकारको विशेष प्रस्तुति पनि महोत्सवको माहोल तताउन काफी रह्यो । महोत्सवमा बिहीबारबाट लोकगीत प्रतियोगिता पनि सुरु भएको छ । पहिलो दिन ११ जना प्रतियोगीले प्रस्तुति दिएका छन् ।

उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा भएको महोत्सवलाई टेस्ला एयर कन्डिसनरले मुख्य प्रायोजन गरेको छ । महोत्सवमा यसपटक ५ सय ७२ वटा स्टल रहेका छन् । नदी–किनारमा भएको महोत्सवमा मेड इन नेपाल परिसर, विद्युत् परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, कृत्रिम चिडियाघरले सबैभन्दा बढी दर्शकको ध्यान तानेको छ । त्यस्तै दर्शकको ध्यान तान्नेमा महोत्सवको मूलगेट र माछाको आकृति पनि रहेका छन् ।

महोत्सव परिसरमा आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरू पनि बनाइएका छन् । यसपटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातिको पहिचान झल्कने घर निर्माण भएका छन् । ०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यसपटक महोत्सव करिब ५ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

के–के हुँदै छ आज ?
चितवन महोत्सवमा आज २७ पुस शुक्रबार समग्र शैक्षिक परिदृश्यबारे गोष्ठी हुँदै छ । महोत्सवको तेस्रो दिन शुक्रबार आधुनिक गीत प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुति दिनेछन् । हास्य टेलिशृंखला मेरी बास्सैका कलाकारहरू घिरौली र सापटीको प्रस्तुतिले दर्शक संख्या बढाउने आयोजकको अपेक्षा छ । गायक थानेश्वर गौतमसहित नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुङ, नेपाल भुजेल सेवा समाजले समेत महोत्सवमा सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन् । खेलतर्फ शुक्रबारबाटै जिल्लास्तरीय बिच भलिबल प्रतियोगिता र गुजुरियो कराँते जापानको आत्मरक्षा तालिम हुनेछ ।

मेड इन नेपालको समुद्घाटन
चितवन महोत्सव परिसरभित्र निर्माण गरिएको ‘मेड इन नेपाल’ प्रदर्शनीको बिहीबार समुद्घाटन गरिएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको प्रदर्शनीको चितवन महोत्सव– २०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष निर्देश सेढाईंले संयुक्त रूपमा समुद्घाटन गरे । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । नेपाली युवा उद्यमी मञ्चले ‘आफ्नो भनेको आफ्नै हो’ भन्ने नारासहित मेड इन नेपाल प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको सातौँ संस्करण चितवनमा आयोजना गरिएको हो ।

प्रदर्शनीको समुद्घाटन गर्दै चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधानले प्रदर्शनीले उपभोक्ताहरूलाई नेपाली उत्पादन र सेवाबारे जानकारी गराउन र उपयोग गर्न प्रेरित गर्ने बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष नीरञ्जन न्यौपानेले मेड इन नेपाल युवा उद्यमी मञ्चको अभियानमध्ये एक रहेको भन्दै नेपाली उद्योगका उत्पादन तथा सेवा प्रयोग गर्न आमउपभोक्तालाई सचेत गराउने, देशको आयातमुखी अर्थतन्त्रलाई थोरै भए पनि आत्मनिर्भर बनाउने सोचका साथ मञ्चले मेड इन नेपाल प्रदर्शनी सुरु गरेको बताए । मेड इन नेपाल परिसरमा २२ वटा स्टल रहेका छन् । नेपालमै उत्पादित माइनस ३ सय २१ डिग्रीमा बन्ने आइसक्रिम, कंक्रिटका वस्तु, मार्बल, फलामका झ्यालढोका, स्टिलका उत्पादन, पेन्ट्स, गार्मेन्ट, जुस, काठका सामान, प्लास्टिकका उत्पादनजस्ता स्तरीय नेपाली उत्पादनलाई मेड इन नेपालले समेटेको छ ।

प्रदर्शनीको समुद्घाटन समारोहमा नेपाली युवा उद्यमी मञ्च चितवनका निर्वतमान अध्यक्ष निर्देश सेढाईं, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनराज श्रेष्ठ, तृतीय उपाध्यक्ष भोजराज कौडेल, एसियन कंक्रिट नेपाल प्रालिका श्यामल झा, नेपाली युवा उद्यमी मञ्च चितवनका सूर्यभक्त अधिकारी, दुर्गा घिमिरे, टेस्लाका कार्यकारी अधिकृत किरण आचार्यको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस