पहिरोले अवरुद्ध सडक एक महिनापछि सञ्चालन

२०७६ श्रावण २७ सोमबार ११:५३:००

पहिरोले अवरुद्ध सिद्धिचरण राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । उदयपुरको कटारी नगरपालिका–११ ठाँटीभन्ज्याङमा पहिरोले बगाएको सडक मर्मत गरेपछि शनिबारदेखि यातायात सञ्चालन भएको हो । सडक खुलेसँगै माथिल्लो सगरमाथाको सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा यातायात सञ्चालन हुन थालेका छन् ।

सडक डिभिजन कार्यालय लहानले एक महिना लगाएर पहिरोले बगाएको सडक मर्मत गरेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘पहिरोले चार सय मिटर सडक नै बगाएको थियो,’ श्रेष्ठले भने, ‘सडकको ट्र्याक नै परिवर्तन गर्नु परेकाले ढिलाइ भएको हो ।’ सडक अवरुद्ध हुँदा माथिल्लो सगरमाथा क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री अभाव भएको थियो । 

जटिल भौगोलिक अवस्थाका कारण सडक मर्मत गरेर चलाउन नमिल्ने भएपछि ठाँटीभञ्ज्याङमा एलाइनमेन्ट नै परिवर्तन गरेर नयाँ ट्र्याक खोलिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोदकुमार साहले बताए । ‘पुरानो सडक पूरै बगेकाले हाइट कटिङ गरेर बेस बसाएर सडक सुचारु गरेका छौँ,’ साहले भने ।

हरेक वर्ष हुन्छ सडक अवरुद्ध
हरेक वर्ष वर्षा सुरु भएसँगै ठाँटी पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा रोकिएपछि सामान्य मर्मत गरेर सडक सञ्चालन गर्ने गरिएकाले बर्सेनि दुःख हुने गरेको कटारी नगरपालिका–१४ का वडाध्यक्ष तेजबहादुर आलेले बताए । 

अहिले पनि मर्मत गरिएको सडकको दुवैतर्फको भाग पहिरोको चपेटामा रहेकाले समस्या दोहोरिन सक्ने मेयर श्रेष्ठले बताए । ‘यो ट्र्याक दिगो हुँदैन, समस्याको दीर्घकालीन समाधानका लागि सडकलाई अन्यत्रैबाट लैजानुपर्छ,’ उनले भने । ठाँटीभञ्ज्याङ क्षेत्रको सडक मर्मतका लागि मात्रै राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ ।