लगातारको वर्षाका कारण बढिरहेको मकवानपुरको कुलेखानी जलाशयको पानीको सतह आइतबार राति ८ बजेसम्म १५२६.८१ मिटर पुगेको छ। जलाशयमा पानी थपिने क्रम जारी रहे पनि वृद्धि दर भने अघिल्लो रात र बिहानको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमले उपलब्ध गराएको प्राप्त पछिल्लो विवरणअनुसार रातिको समयमा जलाशयको सतह प्रतिघण्टा करिब २६ सेन्टिमिटरका दरले बढेको थियो। आइतबार राति ८ बजेसम्म आइपुग्दा वृद्धि दर घटेर प्रतिघण्टा करिब आठ सेन्टिमिटरमा सीमित भएको छ।
यसले जलाशयमा पानी बढ्ने क्रम नरोकिए पनि त्यसको गति कम हुँदै गएको देखाएको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जलाशयको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।
यसअघि जलाशयको सतह १५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने जानकारी दिइएको थियो। आइतबार राति ८ बजेको मापनअनुसार जलाशय उक्त चेतावनी तहभन्दा १९ सेन्टिमिटर तल छ।
दिनभर जलाशयको सतह बढिरहे पनि पानी थपिने दर क्रमशः घटेको केन्द्रले जनाएको छ। यसअघि लगातारको वर्षाका कारण जलाशयको सतह तीव्र रूपमा बढ्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको थियो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतले यसअघि पानीको सतह १५२७ मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाइने जानकारी दिएका थिए। जलाशयको अधिकतम सतह १५३० मिटर हो।
पानीको सतह बढिरहेको अवस्थालाई ध्यानमा राख्दै इन्द्रसरोवर गाउँपालिकाले पनि यसअघि तीन तहको साइरन चेतावनी प्रणाली सार्वजनिक गरेको छ। पहिलो साइरनपछि खोला तथा नदीकिनारमा नजान, थप चेतावनी जारी भए जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
जलाशयको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म देउराली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालन बन्द गरिएको छ।
रातिको समयमा आकस्मिक अवस्था आएर ड्यामको ढोका खोल्नुपर्ने परिस्थिति सिर्जना भए तल्लो तटीय क्षेत्र र सडकका केही स्थानमा जोखिम बढ्न सक्ने भएकाले पूर्वसावधानीस्वरूप यातायात रोकिएको हो।