मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १४ बिहीबार
  • Friday, 31 July, 2026
हार्लान उलम्यान
२o८३ श्रावण १४ बिहीबार o८:४२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के छन् इरानमा ट्रम्पका सैन्य विकल्प ?

Read Time : > 2 मिनेट
हार्लान उलम्यान
नयाँ पत्रिका
२o८३ श्रावण १४ बिहीबार o८:४२:oo
  • अमेरिकी राष्ट्रपतिसँग अहिले बाँकी रहेका कम्तीमा तीनवटा सैन्य विकल्पमध्ये कुनै पनि राम्रा छैनन्

गत साता ह्वाइट हाउसमा आफ्ना सल्लाहकारसँगको बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको ठुलो स्तरको आक्रमणलाई स्थगित गरेको खबर सार्वजनिक भयो । बढ्दो आर्थिक लागतका कारण उनी र रिपब्लिकन पार्टीमाथि परेको आन्तरिक राजनीतिक दबाब निकै तीव्र छ भन्ने कुरा स्पष्ट छ । हालैका जनमत सर्वेक्षणले देखाएअनुसार करिब ७० प्रतिशत अमेरिकी युद्धको विपक्षमा छन् । रक्षा, हतियार खर्चमा ठुलो मात्रामा रकम खर्च भएको कतिपयको तर्क छ ।

इरानको सैन्य क्षमता ‘अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्थामा’ पुगेको भन्ने रक्षामन्त्री पिट हेगसेथलगायतका अधिकारीको दाबीका बाबजुद इरान अझै पनि ठुलो स्तरको ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न सक्षम छ । केही गुप्तचर जानकारीले इरानले यी हतियार निर्माण गर्ने आफ्नो क्षमतालाई पुनः स्थापित र विस्तार गरेको संकेत गर्छन् ।

यसैबिच, अमेरिकी सेनाले इरानी फौजका लागि आधार वा प्रस्थान विन्दु (एक्जिट पोइन्ट) बन्न सक्ने स्थानलाई लक्षित गरी सञ्चालन गरिने सम्भावित अभियानको तयारीस्वरूप थप लडाकु विमान र क्षेप्यास्त्र प्रतिरक्षा एकाइ तैनाथ गरेको छ । हाल यस क्षेत्रमा दुइटा ‘मरिन एक्सपिडिसनरी युनिट’ (एभइयू) तथा ८२औँ वा १०१औँ ‘एयरबोर्न’ (हवाई फौज) का केही टुकडी तैनाथ छन् ।

यद्यपि, अमेरिका र उसका खाडी क्षेत्रका सहयोगीसँग भएका प्रतिरक्षात्मक क्षेप्यास्त्र तथा ‘टोमाहक’ स्थलमा आक्रमण गर्ने क्षेप्यास्त्रको मौज्दात सकिएको भन्ने खबर एक ठुलो चुनौती वा अवरोध बन्न सक्छन् । राष्ट्रपति ट्रम्पले यसबारे अझै कुनै निर्णय गरिसकेको नदेखिए पनि उनीसामु अघि बढ्नका लागि विभिन्न विकल्प उपलब्ध छन् ।

पहिलो विकल्प भनेको हवाई तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र पार्नु हो । यो रणनीतिको एउटा चुनौती भनेको आक्रमण गर्न सकिने सैन्य लक्ष्यको सूची सायद सकिइसकेको हुन सक्छ । यदि त्यसो हो भने हवाई अभियान विस्तार गर्नुको अर्थ ऊर्जा उत्पादन केन्द्र, विद्युत् ग्रिड, पुल तथा सडक र टेलिभिजन तथा टेलिफोन नेटवर्कजस्ता मुख्यतया सर्वसाधारणसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गर्नु हुनेछ । यसका सम्भावित परिणाम निकै नराम्रा हुनेछन् ।

ट्रम्पमाथि युद्ध अपराधको आरोप लाग्नेछ । अमेरिकी कदमप्रति इरानी जनताको आक्रोश अझ संगठित हुनेछ । इरानको जवाफी आक्रमण गर्ने क्षमतामा खासै कमी आउनेछैन र उसले खाडी क्षेत्रका पानीका प्लान्ट हटाउने तथा ऊर्जासम्बन्धी पूर्वाधारमा प्रहार गर्न सक्छ । यसको परिणाम मानवीय विपत्ति हुनेछ । यस्तो आकस्मिक परिस्थितिको सामना गर्ने कुनै योजना छैन । साथै, कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० वा २०० डलरसम्म पुग्न सक्छ, जसले अन्तर्राष्ट्रिय आर्थिक संकट निम्त्याउनेछ ।

अर्को विकल्प भनेको कुनै प्रकारको स्थलगत आक्रमण हो । हाल यस क्षेत्रमा तैनाथ सेनाको संख्या कुनै पनि व्यावहारिक सैन्य उद्देश्य हासिल गर्न पर्याप्त छैन । एउटा ‘मेरिन एक्सपिडिसनरी युनिट’ (एमइयू) मा करिब दुई हजार ५०० मेरिन हुन्छन्, जसमध्ये केवल ८०० जना मात्र पैदल सेना हुन्छन्, उनीहरूले निकै सीमित स्थलगत कारबाही मात्र गर्न सक्छन् । हवाई वा प्याराट्रुप एकाइ केही दिनका लागि मात्र पुग्ने गोलीगठ्ठा, खाद्य सामग्री र ब्याट्री लिएर तैनाथ हुन्छन् । त्यसैले, यी एकाइका लागि थप आपूर्ति अत्यावश्यक हुन्छ । तिनीहरूको उचित आपूर्तिका आधारमा युद्धको प्रभावकारिता मापन हुन्छ । उपर्युक्त र आवश्यक परेको समयमा हतियार उपलब्ध हुन सकेन भने युद्ध रणनीति विफल हुन सक्छ । अमेरिकी सेनाका अवकाश प्राप्त जनरल ब्यारी म्याकक्याफ्रीले औँल्याएझैँ इरानी तटसँगै जोडिएको हर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्न एक लाख ५० हजार सैनिक पनि अपर्याप्त हुन सक्छन् ।

खार्ग टापुमा आक्रमण गर्न हर्मुज जलमार्गको पश्चिमी विन्दुबाट लामो र खतरनाक यात्रा तय गर्नुपर्ने हुन्छ । यसले अमेरिकी सेनामा ठुलो संख्यामा हताहती हुने परिस्थिति सिर्जना गर्नेछ । तेस्रो विकल्प भनेको ट्रम्पले आणविक हतियारको प्रयोग गर्नु हो, कम्तीमा पनि शक्ति प्रदर्शनका लागि । यसले विनाशकारी परिणामको बाटो खुला गर्नेछ । ट्रम्पलाई युद्ध अपराधी घोषणा गरिनेछ । उक्त हतियार जहाँ र जसरी विस्फोट गराइए पनि त्यसले विनाशकारी नतिजा निम्त्याउनेछ ।

यदि वायुमण्डलबाहिर आणविक बम विस्फोट गराइयो भने यसले इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी) उत्पन्न गर्नेछ । यसले इरानको सीमाभन्दा सयौँ माइल परसम्म रहेका चिपजडित प्रायः सबै प्रणालीलाई नष्ट गरिदिनेछ । उच्च लागतका कारण खाडी क्षेत्रका समेत धेरैजसो आधुनिक सैन्य संरचना इएमपीको प्रभावबाट सुरक्षित छैनन् ।

यदि सतहमा विस्फोट गराइयो भने यसले रेडियोधर्मी बादल सिर्जना गर्नेछ, हावाको बहावका कारण यो बादल पूर्वतर्फ अघि बढ्नेछ र इरानभन्दा धेरै टाढासम्मका जनसंख्यालाई प्रभावित पार्नेछ । यसको एउटा प्रमुख भूराजनीतिक परिणाम यो हुन सक्छ कि यस्तो आक्रमणले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दृष्टिकोण परिवर्तन गर्न सक्छ ।

अप्रिय विकल्पहरूको यस सूचीलाई हेर्दा सबैभन्दा उत्तम उपाय भनेको विजयको दाबी गर्दै वार्ताको बाटो रोज्नु हो । तनाव बढेको भए पनि वासिंटन र तेहरानबिचको वार्ता रोकिएको छैन, तैपनि ट्रम्पले आफूले इरानलाई वार्ताको टेबलमा ल्याएको दाबी गर्नेछन् । यसमा पहिलो कदम ‘स्ट्रेट अफ हर्मुज’ र ‘बाब अल–मान्देब’ जलमार्ग पुनः खुला गर्नु हुनेछ । यसबाट तेलको मूल्य घट्नेछ र सेयर बजारमा सुधार आउनेछ । यसको जस ट्रम्पले लिनेछन् । साथै, विनाशकारी युद्ध र आर्थिक संकटलाई बुद्धिमानीपूर्वक टार्न सकिनेछ । यो नै उनका लागि सबैभन्दा उत्तम र एक मात्र व्यावहारिक विकल्प हो ।

उलम्यान वासिंटन डिसीस्थित ‘एट्लान्टिक काउन्सिल’का वरिष्ठ सल्लाहकार हुन्

अलजजिराबाट