गत साता ह्वाइट हाउसमा आफ्ना सल्लाहकारसँगको बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको ठुलो स्तरको आक्रमणलाई स्थगित गरेको खबर सार्वजनिक भयो । बढ्दो आर्थिक लागतका कारण उनी र रिपब्लिकन पार्टीमाथि परेको आन्तरिक राजनीतिक दबाब निकै तीव्र छ भन्ने कुरा स्पष्ट छ । हालैका जनमत सर्वेक्षणले देखाएअनुसार करिब ७० प्रतिशत अमेरिकी युद्धको विपक्षमा छन् । रक्षा, हतियार खर्चमा ठुलो मात्रामा रकम खर्च भएको कतिपयको तर्क छ ।
इरानको सैन्य क्षमता ‘अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्थामा’ पुगेको भन्ने रक्षामन्त्री पिट हेगसेथलगायतका अधिकारीको दाबीका बाबजुद इरान अझै पनि ठुलो स्तरको ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न सक्षम छ । केही गुप्तचर जानकारीले इरानले यी हतियार निर्माण गर्ने आफ्नो क्षमतालाई पुनः स्थापित र विस्तार गरेको संकेत गर्छन् ।
यसैबिच, अमेरिकी सेनाले इरानी फौजका लागि आधार वा प्रस्थान विन्दु (एक्जिट पोइन्ट) बन्न सक्ने स्थानलाई लक्षित गरी सञ्चालन गरिने सम्भावित अभियानको तयारीस्वरूप थप लडाकु विमान र क्षेप्यास्त्र प्रतिरक्षा एकाइ तैनाथ गरेको छ । हाल यस क्षेत्रमा दुइटा ‘मरिन एक्सपिडिसनरी युनिट’ (एभइयू) तथा ८२औँ वा १०१औँ ‘एयरबोर्न’ (हवाई फौज) का केही टुकडी तैनाथ छन् ।
यद्यपि, अमेरिका र उसका खाडी क्षेत्रका सहयोगीसँग भएका प्रतिरक्षात्मक क्षेप्यास्त्र तथा ‘टोमाहक’ स्थलमा आक्रमण गर्ने क्षेप्यास्त्रको मौज्दात सकिएको भन्ने खबर एक ठुलो चुनौती वा अवरोध बन्न सक्छन् । राष्ट्रपति ट्रम्पले यसबारे अझै कुनै निर्णय गरिसकेको नदेखिए पनि उनीसामु अघि बढ्नका लागि विभिन्न विकल्प उपलब्ध छन् ।
पहिलो विकल्प भनेको हवाई तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र पार्नु हो । यो रणनीतिको एउटा चुनौती भनेको आक्रमण गर्न सकिने सैन्य लक्ष्यको सूची सायद सकिइसकेको हुन सक्छ । यदि त्यसो हो भने हवाई अभियान विस्तार गर्नुको अर्थ ऊर्जा उत्पादन केन्द्र, विद्युत् ग्रिड, पुल तथा सडक र टेलिभिजन तथा टेलिफोन नेटवर्कजस्ता मुख्यतया सर्वसाधारणसँग सम्बन्धित पूर्वाधारमा आक्रमण गर्नु हुनेछ । यसका सम्भावित परिणाम निकै नराम्रा हुनेछन् ।
ट्रम्पमाथि युद्ध अपराधको आरोप लाग्नेछ । अमेरिकी कदमप्रति इरानी जनताको आक्रोश अझ संगठित हुनेछ । इरानको जवाफी आक्रमण गर्ने क्षमतामा खासै कमी आउनेछैन र उसले खाडी क्षेत्रका पानीका प्लान्ट हटाउने तथा ऊर्जासम्बन्धी पूर्वाधारमा प्रहार गर्न सक्छ । यसको परिणाम मानवीय विपत्ति हुनेछ । यस्तो आकस्मिक परिस्थितिको सामना गर्ने कुनै योजना छैन । साथै, कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० वा २०० डलरसम्म पुग्न सक्छ, जसले अन्तर्राष्ट्रिय आर्थिक संकट निम्त्याउनेछ ।
अर्को विकल्प भनेको कुनै प्रकारको स्थलगत आक्रमण हो । हाल यस क्षेत्रमा तैनाथ सेनाको संख्या कुनै पनि व्यावहारिक सैन्य उद्देश्य हासिल गर्न पर्याप्त छैन । एउटा ‘मेरिन एक्सपिडिसनरी युनिट’ (एमइयू) मा करिब दुई हजार ५०० मेरिन हुन्छन्, जसमध्ये केवल ८०० जना मात्र पैदल सेना हुन्छन्, उनीहरूले निकै सीमित स्थलगत कारबाही मात्र गर्न सक्छन् । हवाई वा प्याराट्रुप एकाइ केही दिनका लागि मात्र पुग्ने गोलीगठ्ठा, खाद्य सामग्री र ब्याट्री लिएर तैनाथ हुन्छन् । त्यसैले, यी एकाइका लागि थप आपूर्ति अत्यावश्यक हुन्छ । तिनीहरूको उचित आपूर्तिका आधारमा युद्धको प्रभावकारिता मापन हुन्छ । उपर्युक्त र आवश्यक परेको समयमा हतियार उपलब्ध हुन सकेन भने युद्ध रणनीति विफल हुन सक्छ । अमेरिकी सेनाका अवकाश प्राप्त जनरल ब्यारी म्याकक्याफ्रीले औँल्याएझैँ इरानी तटसँगै जोडिएको हर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्न एक लाख ५० हजार सैनिक पनि अपर्याप्त हुन सक्छन् ।
खार्ग टापुमा आक्रमण गर्न हर्मुज जलमार्गको पश्चिमी विन्दुबाट लामो र खतरनाक यात्रा तय गर्नुपर्ने हुन्छ । यसले अमेरिकी सेनामा ठुलो संख्यामा हताहती हुने परिस्थिति सिर्जना गर्नेछ । तेस्रो विकल्प भनेको ट्रम्पले आणविक हतियारको प्रयोग गर्नु हो, कम्तीमा पनि शक्ति प्रदर्शनका लागि । यसले विनाशकारी परिणामको बाटो खुला गर्नेछ । ट्रम्पलाई युद्ध अपराधी घोषणा गरिनेछ । उक्त हतियार जहाँ र जसरी विस्फोट गराइए पनि त्यसले विनाशकारी नतिजा निम्त्याउनेछ ।
यदि वायुमण्डलबाहिर आणविक बम विस्फोट गराइयो भने यसले इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी) उत्पन्न गर्नेछ । यसले इरानको सीमाभन्दा सयौँ माइल परसम्म रहेका चिपजडित प्रायः सबै प्रणालीलाई नष्ट गरिदिनेछ । उच्च लागतका कारण खाडी क्षेत्रका समेत धेरैजसो आधुनिक सैन्य संरचना इएमपीको प्रभावबाट सुरक्षित छैनन् ।
यदि सतहमा विस्फोट गराइयो भने यसले रेडियोधर्मी बादल सिर्जना गर्नेछ, हावाको बहावका कारण यो बादल पूर्वतर्फ अघि बढ्नेछ र इरानभन्दा धेरै टाढासम्मका जनसंख्यालाई प्रभावित पार्नेछ । यसको एउटा प्रमुख भूराजनीतिक परिणाम यो हुन सक्छ कि यस्तो आक्रमणले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दृष्टिकोण परिवर्तन गर्न सक्छ ।
अप्रिय विकल्पहरूको यस सूचीलाई हेर्दा सबैभन्दा उत्तम उपाय भनेको विजयको दाबी गर्दै वार्ताको बाटो रोज्नु हो । तनाव बढेको भए पनि वासिंटन र तेहरानबिचको वार्ता रोकिएको छैन, तैपनि ट्रम्पले आफूले इरानलाई वार्ताको टेबलमा ल्याएको दाबी गर्नेछन् । यसमा पहिलो कदम ‘स्ट्रेट अफ हर्मुज’ र ‘बाब अल–मान्देब’ जलमार्ग पुनः खुला गर्नु हुनेछ । यसबाट तेलको मूल्य घट्नेछ र सेयर बजारमा सुधार आउनेछ । यसको जस ट्रम्पले लिनेछन् । साथै, विनाशकारी युद्ध र आर्थिक संकटलाई बुद्धिमानीपूर्वक टार्न सकिनेछ । यो नै उनका लागि सबैभन्दा उत्तम र एक मात्र व्यावहारिक विकल्प हो ।
उलम्यान वासिंटन डिसीस्थित ‘एट्लान्टिक काउन्सिल’का वरिष्ठ सल्लाहकार हुन्
अलजजिराबाट