Skip This
Skip This

विद्यार्थीकाे मृत्यु हुने गरी कुट्ने पाँच जनाविरूद्ध किटानी जाहेरी 

२०७६ असार २६ बिहीबार १८:५९:००

नगरपालिका-१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित पाँच जनाका नाममा किटानी जाहेरी परेको छ । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक माधवका मामा पुष्पमणि जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहरा, प्रधानध्यापक यशोदा जोशी, शिक्षकत्रय लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्क बहादुर जाग्रीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसूची–१ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जाहेरी दिएका हुन् ।

प्रधानध्यापकको कार्यकक्षमा अध्यक्ष बोहराकै अगाडि कुटपिट गरेको भन्दै जाहेरी दिएको जोशीले बताए । ‘मेरो भान्जालाई शिक्षकले सामुहिक कुटपिट गरेका हुन्,’ उनले भने, ‘त्यसैले हेर्ने, आदेश दिने र कुट्नेविरुद्ध उजुरी दिएकाे हुँ ।’ 

कुटपिट भएको १२ औँ दिनमा माधवको उपचारकै क्रममा भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु भएको तीन दिनसम्म आफन्तले शव बुझ्न मानेका छैनन् । भारतीय सरकारी अस्पतालमा पोष्टमार्ष्टम गरेर बुधबार महाकाली अञ्चल अस्पताल कलौनीमा शव राखिएको छ । पोष्टमार्ष्टमको रिर्पोट आएको छैन । 

माधवका बुवा वृहस्पति कलौनीले न्याय नपाउन्जेल शव नबुझ्ने बताए । ‘छोरालाई ठुलो बनाउने सपना थियो,’ उनले भने, ‘शिक्षकले चकनाचुर बनाइदिए ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका पाँचै जनामाथि छानबिन सुरु गरेको छ । ‘अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ,' प्रहरी प्रमुख जनकराज पाण्डेयले भने, ‘घटनाको छानबिन हुँदै छ ।’

सम्बन्धित समाचार