एकीकृत र मिलनसार कोरिया

२०७५ पौष १७ मंगलबार १६:२५:००

सन् १९८० को दशकमा उत्तर कोरियामा मेरो दिमागमा जबर्जस्त विश्वास थोपरिएको थियो : उत्तर कोरियाली जनताको निसर्त सहयोगमा हाम्रा ‘प्यारा नेता’ किम इल सुङ हाम्रो दक्षिणी छिमेकी (दक्षिण कोरिया)लाई स्वतन्त्रता प्रदान गर्न र कोरियाली प्रायद्वीपलाई फेरि एकीकृत गर्न सक्छन् । दक्षिण कोरियाली नागरिक त्यहाँको सरकारबाट डरलाग्दो ढंगले पीडित छन् पनि भनिएको थियो । म किशोरावस्थामै जन्मभूमि (उत्तर कोरिया)बाट भागेँ र पछि मात्रै तीतो सत्य बुझेँ । अहिले पनि म एकीकृत र स्वतन्त्र कोरियामा कुनै दिन बस्न पाउने आशामा प्रतिबद्ध र अडिग छु । 

सन् २०१५ मा उत्तर कोरियाको प्रविधि, मनोरञ्जन र डिजाइनबारे मन्तव्य दिँदा मैले आफूलाई बर्लिन पर्खालको एउटा खण्डनजिकै उभिएको पाएँ । म पूर्वी जर्मनीकी एक महिलासँग गफिँदै थिएँ । सन् १९८९ मा पर्खाल ढल्दा बर्लिनमा देखिएको अनौठो उत्तेजनाबारे ती महिलाले अनुभव सुनाइन् । वास्तवमै कुनै असम्भव घटना भएको छ भन्ने विश्वासमा जर्मनका सर्वसाधारण जनता भत्किन लागेको पर्खालतर्फ दौडिएका थिए । जर्मन नागरिकलाई लामो समयदेखि कृत्रिम रूपमा विभाजित गरेको सीमा भत्किएकोमा मानिसहरूले हर्षका आँसु बगाइरहेका थिए । म कोरियामा त्यही क्षण आओस् भन्ने चाहन्छु । महिला मित्रको अनुभव सुनेपछि मनमा आयो कि मैले पनि बर्लिन पर्खालको खण्डमा हस्ताक्षर गरेँ । 
कोरियाली प्रायद्वीप र यहाँका मानिसलाई विभाजित गरेका असैनिक क्षेत्रको कुरूप दाग हटाउन मेरो जीवनकालमा सहयोग गर्ने वाचा गरेँ । कोरियाली नागरिकले पनि यस्तै क्षणको अनुभूति गर्न सकून् भन्ने म चाहन्छु ।  

दुई कोरियाका नेताहरूको हालैको शिखर सम्मेलनपछि उत्तर र दक्षिणबीच मेलमिलापका लागि ताजा आशाका बाबजुद एकीकरणको सम्भावना भने अझै धूमिल बनेको छ । अझ एक पछिल्लो प्रवृत्ति निराशाजनक छ– दक्षिण कोरियालीको एउटा ठूलो संख्या विशेषगरी युवा पुस्ता एकीकृत कोरियाको विपक्षमा छन् ।

सन् २०१८ मा दक्षिण कोरियाको प्योङयाङमा सम्पन्न हिउँदे ओलम्पिकमा उत्तर र दक्षिण कोरियाका खेलाडीले एउटै झन्डामुनि मार्चपास गरे 

यसको मुख्य कारण एकीकरणले दक्षिण कोरियालीमा ठूलो आर्थिक बोझ बढाउनेछ भन्ने त्रास हो । दुई कोरियाको एकीकरणले दक्षिण कोरियालाई १ देखि ३ खर्ब डलर नोक्सान हुने केही आकलनले देखाएका छन् । ७० वर्ष लामो विभाजनले सिर्जित फराकिलो सांस्कृतिक र आर्थिक खाडलले पनि दक्षिण कोरियाली युवाले एकीकृत कोरियाको विरोध गर्नुपर्ने अवस्था आएको हुन सक्छ । यसले साझा जातीय धरोहरको महत्वलाई कमजोर बनाएको छ, जसका कारण दुवै देशको निःशस्त्र क्षेत्रका केही कोरियालीमाझ एकीकृत कोरियाली राष्ट्रिय पहिचानको धारणा अझै अस्वीकार्य छ ।

यद्यपि, पुनःएकीकरणको दीर्घकालीन आर्थिक तथा सुरक्षा लाभले क्षणिक नोक्सान छायामा पार्छ । दक्षिणको पुँजी र प्रविधिलाई उत्तर कोरियाको प्राकृतिक स्रोतसाधन र विशाल श्रम हिस्सामा मिसाउँदा यसले कोरियाली प्रायद्वीपमा महत्वपूर्ण आर्थिक अवसर सिर्जना गर्नेछ । योसँगै एकीकृत कोरियाको एउटा शक्तिशाली सेना पनि हुनेछ ।

पुनःएकीकरणको बोझलाई गहिरो दृष्टिकोणले सोच्नुपर्नेबारे कोरियाली चिन्तनशील छन् । कोरियाको स्वतन्त्रतामा आफ्नो जीवन बलिदान दिने ती पुर्खाहरूप्रति हामी ऋणी र कृतज्ञ छौँ । एउटा बलियो, पूर्ण र एकीकृत कोरियातर्फ हाम्रा पुर्खाहरूले कोरेको मार्गमा निरन्तर हिँड्नु गर्नु हाम्रो कर्तव्य पनि हो । 

दुर्भाग्यवश हाम्रो बाटोमा अर्को व्यवधान उभिएको छ– सम्पूर्ण कोरियाली प्रायद्वीपभर विस्तार भएको सहनशीलताको अभाव । यो डरलाग्दो छ । उत्तर कोरियाली सरकारसँग विद्रोह गरेका व्यक्तिले पनि कोरियाली शासनको तिरस्कार गरेका छन् र दक्षिण कोरियामा आलिंगन भएका छन् । अनि अधिकांश दक्षिण कोरियाली नागरिकले उनीहरू(उत्तरबाट आएका)लाई अझै पनि अस्वीकार गर्ने गर्दछन् । उत्तरबाट भागेर दक्षिण कोरिया पुगेका व्यक्तिहरू दुव्र्यवहार, बहिष्कार र अन्य प्रकारको अपमानको सिकार बनेका छन् । जसका कारण उत्तरका युवाहरूलाई नयाँ जीवन सुरु गर्न दक्षिणमा अलग्गै विद्यालय स्थापना गरिएका छन् । अर्कातर्फ, वयस्कहरू उत्तर कोरियाली कार्यस्थलमा हुने विभेद र सामाजिक एक्लोपनका पीडित बनेका छन् । सन् २०१८ मा गरिएको एक अध्ययनअनुसार दक्षिण कोरियाली जनसंख्याको तुलनामा उत्तर कोरियाबाट विद्रोह गरेर दक्षिणमा जाने विद्रोहीमा आत्महत्याको सोच र स्वभाव बढी देखिने गरेको छ । दुर्भाग्यवश, यदि अवस्था ठीक उल्टो हुन्थ्यो भने दक्षिण कोरियालीले उत्तरमा त्यस्तै समस्या सामना गर्नुपथ्र्यो ।

उत्तर कोरियाका औसत नागरिकहरूको विदेशीसँग थोरै मात्र अन्तक्र्रिया हुन्छ तथा उनीहरूको अन्य संस्कृतिसँग थोरै आदानप्रदान हुन्छ । जातिवाद र सिनोफोबिया (विदेशीप्रतिको डर र घृणाभाव) तल्लो तहसम्म फैलिएको छ । यस्तो वैमनस्यता उत्तर कोरियाको माथिल्लो तहसम्म देखिन्छ । उदाहरणका लागि उत्तरको प्रचारबाजकले खुलमखुला अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उनको दोस्रो कार्यकालमा ‘दुष्ट कालो बाँदर’ भनेको थियो ।

दक्षिणको पुँजी र प्रविधिलाई उत्तर कोरियाको प्राकृतिक स्रोतसाधन र विशाल श्रम हिस्सामा मिसाउँदा यसले कोरियाली प्रायःद्वीपमा महत्वपूर्ण आर्थिक अवसर सिर्जना गर्नेछ । योसँगै एकीकृत कोरियाको एउटा शक्तिशाली सेना पनि हुनेछ ।
 

दक्षिण कोरियालीहरू पनि बाहिरी मानिसप्रति दुस्मन हुन सक्छन् । जिजु टापुमा २०१८ को सुरुमा केही यमनी शरणार्थीको आगमनले डरलाग्दो प्रतिक्रिया देखिएको थियो । अपराध, रोजगारी, सांस्कृतिक विभेदजस्ता विषयमा चासो बढेको थियो । शरणार्थीलाई अस्वीकार गर्न सरकारलाई आग्रह गर्दै हजारौँ दक्षिण कोरियाली नागरिकले सरकारलाई हस्ताक्षरसहितको निवेदन दिएका थिए । 

दक्षिण कोरियालीको यस्तो भावनाले कोरियाली युद्धपछि धेरै कोरियालीलाई शरणार्थीका रूपमा स्विकारिएको र विदेशीले शरण दिएको यथार्थलाई बिर्साउन खोजेको छ । (तर, आफ्नो उत्पत्ति अनुसन्धान गर्न र बस्नका लागि कोरियाली प्रायद्वीपमा फर्किएका कोरियाली डायस्पोराका सदस्यहरूलाई वास्तविक कोरियाली नभएको भन्दै फर्काइन्छ ।) युद्धको समयमा आफ्ना मानिससँगै विदेशी सिपाहीले पनि मृत्युवरण गरेका थिए भन्ने विषयलाई केही दक्षिण कोरियालीले बिर्सेका छन् । यही इतिहासलाई मनन गर्नु र दक्षिण कोरिया राष्ट्रसंघको शरणार्थीसम्बन्धी महासन्धिको हस्ताक्षरकर्ता भएको नाताले युद्धका कारण र अन्य विपत्तिका कारण देश छाडेर शरण लिन आएका व्यक्तिलाई अंगीकार गर्नु दक्षिणको कर्तव्य हुनेछ ।

समावेशी समाजको अवधारणासँग सहमत नहुने ती कोरियालाई म यो भन्छु– अन्तर्राष्ट्रिय समुदायको सदस्यका रूपमा एउटा एकीकृत कोरियालाई स्वीकार गरेको तपार्इं देख्न चाहनुहुन्छ भने यो एउटा वास्तविकतालाई स्विकार्न तपाईंले सिक्नुपर्छ । पहिलो चरणमा विदेशीसँग धेरै व्यक्तिगत वार्ता खतरनाक हुन्छ ।

हाम्रो स्वतन्त्रताका लागि संघर्ष गर्ने पुर्खाहरूले हामीलाई बलिदानको बिरासत छाडेका छन् । सबै कोरियाली, विदेशी द्वन्द्वका कारण आश्रय खोजेका शरणार्थीले घर भन्न पाउने एकीकृत र मिलनसार कोरिया सिर्जना गर्न आउँदो पुस्तालाई पनि हामीले यस्तै बिरासत छाड्नुपर्छ ।

प्रतिकृया दिनुहोस