
संयुक्त अरब इमिरेट्स (युएई)को भिसा नपाएपछि नेपाल क्रिेकट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग गुहार मागेको छ । नेपाल र वेष्ट इन्डिजबिच तीन अन्तर्राष्ट्रिय टी–२० आई शृंखला युएईमा हुँदै छ ।
क्यानले युएई जाने टिमलाई बिहीबार बिदाइ गरेको थियो । तर, बुधबारबाटै खेलाडीको भिसा लगाए पनि शुक्रबार रातिसम्म खेलाडी तथा पदाधिकारीको भिसा नआएको प्रवक्ता छुम्बी लामाले जानकारी गराए । ‘सामान्ययता एक–दुई दिनमै युएईको भिसा आउने गर्दथ्यो । तर, हामीले अझै पाएका छैनौँ,’ लामाले भने ।
भदौ २३ र २४ जेन–जी आन्दोलनपछि युएईले नेपालको भिसामा कडाइ गरेको छ । भिसा अस्थायी रूपमा बन्द गरिएको छ । जसका कारण नेपाली टिम समयमै युएई जानबाट रोकिएको छ ।
क्यान प्रवक्ता लामाले भिसाका लागि आइसिसीसँग सहकार्य भइरहेको र भिसा लागेसँगै टिम युएई जान तयार भएको पनि नयाँ पत्रिकालाई बताएका छन् । ‘सिधै भिसा नआएपछि दुबई क्रिकेट र आइसिसी दुवैसँग सहकार्य गरिरहेका छौँ । भिसा आएपछि टिम जान्छ । अब आउँछ भन्नेमा क्यान आशावादी छ,’ लामाले भने, ‘हामीसँग अझै ५–६ दिन बाँकी छ । यसमा आशावादी हौँ ।’
शृंखला सेप्टेम्बर २७ देखि ३० सम्म शारजहाँ क्रिकेट मैदानमा हुनेछ । नेपालले यो शृंखलालाई ओमानमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा लिएको छ ।
नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डिज अकिल होसेनको कप्तानीमा मैदान उत्रिनेछन् । नेपालका लागि यो ऐतिहासिक सिरिजसमेत हो ।