
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा विगत तीन दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको बर्खाका कारण दाउन्नेको खुर्सानी खोलामा हिजो साँझदेखि सडक अवरुद्ध भएको छ । पूर्वबाट पश्चिम जाने सवारीसाधनहरू केही सञ्चालनमा आए पनि अहिले पश्चिमबाट पूर्व आउने सवारीसाधनहरू सञ्चालनमा आउन सकेका छैनन् । हिलो र चिप्लोका कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ । बुधबार पनि दाउन्नेको विश्वकर्मा बाबा मन्दिरनजिकै सडक अवरुद्ध भएको थियो।
बिहीबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि लगातार पानी परेको कारण सम्भव नभएको प्रहरीले जनाएको छ । अहिले दाउन्नेको पूर्व–पश्चिम दुवैतर्फ सात किलोमिटरभन्दा बढी सवारीसाधनको लामो लाइन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख जनकराज बन्जाराले जनाकारी दिए ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको सडक निर्माणमा ढिलासुस्ती र लापरबाहीका कारण यसपटकको दसैँमा दाउन्नेमा यात्रुहरूलाई सास्ती हुने भएको छ । अहिले पनि चाडपर्व मान्न घर फर्केका यात्रुहरूले दाउन्नेमा दुःख पाएको गुनासो गरेका छन् ।