मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
Invalid date format o७:५४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मक्ख नपरौँ, यो देश अब खरानी हुँदैन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५४:oo
  • इन्स्टामा आउने रिलको लाइक हेरेर रमाउने पुस्तालाई सडकमा रगताम्य बनाइदिनेहरू नै अहिले सभ्य र देशभक्त बन्ने प्रयासमा छन्

भदौ २३ गते जो मानिस माइतीघरबाट बानेश्वरसम्म सँगै हिँडे, तिनका आँखामा अझै कापीकलम बोकेर हिँडिरहेका ती किशोरकिशोरी छन्् । अघिल्लो जनआन्दोलन देखिसकेका र त्यसपछिका कैयौँ सानाठुला आन्दोलन लडेका हामीजस्ता ‘जेन वाई’हरूले तिनका आँखामा प्रश्न देख्यौँ, तर शरीरमा आपराधिक भाव कत्ति पनि देखेनौँ । कोही पानी बाँडिरहेका थिए त कोही शान्त भएर ‘प्ले कार्ड’ बोकिरहेका देखिन्थे । त्यो आन्दोलनमा कसैले हातमा ढुंगा लिएका थिएनन्, बरु कापी र कलम लिएका थिए । त्यहाँ अराजकता भनेको केही मोटरसाइकल पड्काउनेको समूहको मात्र थियो । भिडमा बिस्तारै कोही छिरे, ‘ब्यारिकेड’ तोड्न उक्साए, संसद् भवनको गेटमाथि चढे । ब्यारिकेड तोड्दासम्म नरिसाएको पुलिस संसद् भवननजिक जाँदा ‘थ्रिलर’ शैलीमा रिसायो, रिसाएन मात्रै रौद्र रूप नै धारण गर्न पुग्यो । त्यसपछिका ३६ घण्टा नेपालको इतिहासको सबैभन्दा भयानक पल थियो । त्यस अवधिमा नेता डराए, जनता डराए, पुलिस डरायो, आर्मी डरायो । दुई सय वर्ष इतिहास बोकेका भवन डराए, नेपालमाथिको सारा आकाश डरायो । 

जब डर टाउकामाथि चढ्छ, त्यो डर मृत्युसँग डराउन छोड्छ । डराउन छाडेको डरले जता सक्यो, त्यतै सकायो । दुई दिनपछि धुवाँले छोपेको नेपाल खुल्यो । कोटमा टलल्क टल्किने ‘बा’को ठाउँमा सुतीको साडी लगाउने ‘आमा’ आइपुगिन् । आतंकित जेन–जीलाई आमाले टाउको सुमसुमाउँदै भनिन्, ‘नडराऊ, नरोऊ सब ठिक हुन्छ, तिमीहरू गलत होइनौ ।’ 

आन्दोलन कसको ?
जो सत्ताबाट सडकमा पछारिए, उनीहरू आन्दोलन अपराधीले सञ्चालन गरेको पुष्टि गर्ने प्रयासमा छन् । पहिलो दिनको बर्बरतापछि भोलिपल्ट बिहानसम्मको समयमा आमआमाबाबुको आँखा भरिइरह्यो । न देश न विदेश, नेपाली अभिभावक ती कलिला नानीबाबुका ढलेका शरीरबाट बगिरहेको रगतमा आफ्ना छोराछोरीको अनुहार देखेर भक्कानिइरहे । आफ्ना सन्तानको उमेरका बच्चामाथि पुलिसले गोली कसरी दाग्न सक्यो होला ? हरेक घरले प्रश्न सोध्यो । दोस्रो दिन टोलमा बचेका सिसिटिभी ‘फुटेज’ खोजेर हेर्नुस्, हातमा कलिला बालबच्चा डोर्‍याएर आमाबुबा आन्दोलनमा निस्किएका देखिन्छन्, सरकारसँग प्रश्न सोध्न ।

शान्त रहँदा, सबै ठिकठाक हुँदा त मान्छे मारिन्छ, चोरी हुन्छ, लुटपाट हुन्छ । जब सडकमा हरेक घरको मान्छे निस्कन्छ अनि सँगै अपराधी पनि निस्कन्छ, कहिल्यै नसकेको अपराध गर्न । आन्दोलन लुटपाट गर्ने सबैभन्दा सुरक्षित तरिका भएको कुन चोर र कुन पुलिसलाई थाहा हुँदैन ? हजार थान अपराधीको अपराधका लागि लाखौँलाख जनताको सही आक्रोशलाई मोसो दल्न पाइँदैन । आफ्ना कर्मले जनता रिसाउँछन् भन्ने ‘बा’ले बिर्सेका हुन सक्छन् । बाले झापामा देखाएको रिस एमालेजनका शब्दमा आन्दोलन थियो । जेन–जीले आफ्ना साथीसँगी मारिँदा देखाएको रिसचाहिँ के अपराध हो ? संविधानले देशमा के हुन्छ समेत राम्ररी बुझ्न नपाएका केटाकेटीलाई अति गर्न हुँदैन भन्ने थाहा थियो । त्यो थाहा नै सत्ता ढलाउन पर्याप्त भयो । सोचाैँ कसरी मिलेमतोमा देशमा भ्रष्टाचार हुन्छ, आफ्ना मान्छेलाई मात्रै जागिर दिइन्छ, सरकारी कर्मचारीले कसरी जञ्जालमा फसाउँदै घुस खान्छ, निमुखालाई कानुन लगाउन कसरी अदालत र पुलिस लाग्छ अनि पार्टीका झन्डाले कसरी बलात्कारी र हत्यारालाई जोगाइरहन्छन् । यो त जेन–जीले बुझ्न बाँकी नै छ । अब बुझिसक्दा ती कति खतरनाक र लड्न कठिन शक्ति होलान्, तयार रहनुस् । 

सुध्रिने/नसुध्रिने
अब आन्दोलन रोक्न सकिएन । ‘बा’का सन्तानहरू अझै आफ्ना ‘बा’लाई प्रश्न नसोधेर अहिले आफ्ना सन्तानको उमेर समूहलाई तर्साउन, गिज्याउन तल्लीन छन् । आफ्नो खाइपाइ आएको पेसामा धाबा बोल्नेहरूमाथि जाइलाग्नु प्राणीको स्वभाव नै हो । मान्छेसँग दिमाग, पढ्ने, लेख्ने बुद्धि छ । त्यसैले, उसले कुन वेला विरोध गर्ने, कुन वेला साथमा उभिने र कुन वेला चुप बस्ने भन्ने सिकेको हुन्छ । तर, ‘बा’हरूले त्यो सिकाउन बिर्सेछन् । जसको भ्रष्टाचार र मनोमानीले इन्स्टामा आउने रिलको लाइक हेरेर रमाउने पुस्तालाई सडकमा रगताम्य बनाइदियो, उनीहरू नै अहिले सभ्य र देशभक्त बन्ने प्रयासमा छन् । तर, संकेत अब त्यस्तो छैन । अब झुक्याउन, भुलाउन सजिलो छैन । भिडमा छिरेर आगो लगाउनेहरूको अनुहार लाइभ हेर्ने जमाना आइसक्यो । भिडले लुकाउन नसकेको अनुहार अब सजिलै लुक्नेछैन ।

जब किशोरहरू ढलिरहेका थिए, महेश बस्नेतहरूलाई किशोरहरूको ज्यान जोगाउनेभन्दा बाको सत्ता जोगाउने पिर थियो । यतिखेर कोही सक्रिय छन् भने बस्नेत नै छन् । अहिले नै सत्ता फर्काउने सुरमा छन् उनी  । उनले यही मौकामा ‘बा’को नाममा लेख्न नपाएको हाम्रा साझा बामाथि कविता लेख्ने फुर्सद पाएका छन् । आफ्ना हातको शासन ढलेपछि एमाले पार्टीभित्रका बावादीहरू शनिबार राति सुदन गुरुङसहितको टोली बालुवाटार पुगेर मन्त्री नियुक्तिमा देखाएको असन्तुष्टिमा निकै रमाए । जनताले आफू र पार्टीमाथि कस्तो आक्रोश पोखे, त्यसको स्वीकारोक्ति पटक्कै बस्नेतहरूमा देखिँदैन । 

यिनीहरू अब सत्तामा छैनन् । त्यसैले, यी प्रश्न सुन्ने ठाउँमा छैनन् भन्ने अधिकार पनि छैन यिनलाई । तीन दशक लगाएर बिगारेको देशको हिसाबकिताब आउने तीन सय पुस्ताले माग्नेछ । जसरी राणासितको हिसाबकिताब हामी अझै मागिरिहेका छौँ । 

महेश हक्की स्वभावका भएकाले उनको मनको कुरा बाहिरियो । जो घुसघुसे बावादीहरू छन्, ती महेशलाई पछाडिबाट पक्कै धाप मार्दै छन् । आन्दोलन घुसपैठिया र अपराधीको थियो भन्ने देखाउन उनीहरू तल्लीन छन् । सुरुमा उनीहरूले असंवैधानिक भने । अब बिस्तारै बबन्डर मच्चाएर संसद् ल्याउने र फेरि मजा लिने यिनीहरूको योजना हो । तर, त्यो योजना र देश खरानी भइसक्यो भन्ने भाष्य अब बिक्दैन । यो सपना एकजना बस्नेतको मात्र होइन, हरेक पार्टीमा बाहरूसँग नजिक भएका सबैको सपना हो । अब महेश बस्नेतलाई कम्तीमा यति अधिकार छैन, जसले कलिला बालक मारिँदा आफ्ना राष्ट्रिय बालाई सोधेनन् । 

महेश बस्नेतहरूसँग आफ्ना बालाई वैधानिक रूपमा राष्ट्रिय बा बनाउने गतिलो समय छ । चुनावमा दुईतिहाइ ल्याएर देखाइदिने । संविधानमा बा बाँचिन्जेल प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्ने अर्थात्, उत्तर कोरिया बनाउने । दुईतिहाइ ल्याएर बनेका सांसद जीवनभर हुन पाउने । यति मौका अझै छ यो संविधानमा ।

जेन–जीको राजनीतिक चेत 
जेन–जीको कुनै नेता छैन । यो आन्दोलनअघि देखिएर आन्दोलन गर्न आह्वान गर्ने मिराज ढुंगानाको भनाइ हो । जसलाई उनीहरूले अहिलेसम्म कायम राखेका छन् । ढुंगानाको पछिल्लो भिडियो राजनीति शास्त्र बुझेका जोकोहीलाई कायल पार्ने छ । उनमा अहिलेका युवा, बुढा जुनसुकै स्थापित नेताभन्दा फरक गुण देखिन्छ, लोभमुक्त आत्मा । उनी अहिले सडकमा उत्रिए हजारौँ पछि लाग्ने फ्यान फलोवर छ । मन्त्री मागे दिनैपर्ने बाध्यता छ । तर, उनी सुदन गुरुङलाई साथ दिन आह्वान गर्छन् । यो देशमा तीसौँ वर्ष राजनीतिमा हालीमुहाली गर्नेको पेट नभरिएको अवस्थामा यिनी सत्ता र राजनीतिलाई खास भाउ दिँदैनन् । उनीजस्तो पाठ सिकाउने व्यक्ति अरू को होलान् ?

उनलाई नेता बन्नुपरेको छैन । तर, पुराना मान्छे र दलहरूलाई उनैलाई नेता बनाउनु छ । किन ? ढुंगानाले एकजुट गरे, अन्तर्वार्ता दिए, सुरुमा उनी देखिए । अब उनले त्यसको भाग खाइदिए कांग्रेस, एमाले अझै खुसी हुने थिए । समाजमा हल्का काम गर्‍यो कि भाग खाइहाल्नुपर्ने संस्कार यिनैले जन्माएका हुन्, जसलाई मिराजले तोड्दै छन् । अनि को भन्छ यो देश नयाँ भएको छैन । उनी भौलिपल्टै बालुवाटारमा आफ्नै भागको केक खोज्दै गएको भए यो जेन–जीको समय हुने आशा सकिन्थ्यो । उनी अब चुनावमा आउन सक्छन् मिहिनेतले । तर, लाखौँको बलिदानीको हिस्सा जेन–जीको होइन । उनीहरूले पनि मिहिनेत र हकले मात्र खान पाइने प्रमाणित गर्ने दिशा नै हाम्रो आशा हो । यसलाई भत्काउने मिहिनेत कसैले नगरौँ ।

यो आन्दोलनले हाम्रा अगाडि ल्याएका यस्ता युवा हरेक टोलमा भेटिन सक्छन् । राजनीतिमा उनीहरूको ज्ञान नहोला, चासो छ र त्यसले आममान्छेको जिन्दगी नरक बनाएको उनीहरूलाई थाहा छ । अहिले जेन–जीका आमा–बा पुस्ता आफ्नो पार्टी कमिटीमा जेन–जीको अभावमा छन् । ती पहिलेजस्तै बाले भनेका ठाउँमा भोट दिने पुस्ता होइनन्, न कसैले उचाल्दा उचालिने पुस्ता नै हुन् । उनीहरू बसेर घण्टाँै किताब पढ्न नसक्लान्, तर चाहिएको ज्ञान एआईमा तयार पार्न सक्छन् । यो पुस्ताको सचेतता खराबप्रतिको खबरदारी नै हो, जसले ३० हजार अपराधका इमेल प्रहरीले प्राप्त गर्‍यो ।

तीन पुस्तामाथि शासन गरिरहेको ब्रुमर पुस्ता जेन–जीको दबाबले सकियो । यसले टाउको उठाउन खोज्ला, तर तिनले आफ्ना कलिला बच्चा मारेको चुनावमा आमाबाबुले जीवनभर भुल्नेछैनन्् । सिंहदरबार भोलि टलक्क टल्किन्छ, तर ती मारिएका जेन–जीका आँखा अब कहिल्यै टल्किँदैनन् । 

जब कुनै देशमा प्रधानमन्त्रीमाथि जनताको भर हुँदैन र पुलिसमाथि अपराधीको डर हुँदैन, के त्यो देश खरानी हुनु नौलो हो ? त्यसको जिम्मा आफ्ना साथी गुमाएका कलिला जेन–जीको हो कि तीस वर्ष शासन सम्हालेका बाहरूको ? त्यसको हिसाब गर्न जेन–जीहरू बसिसकेका छन् । त्यसैले अब देश खरानी त हुँदै हुँदैन ।