मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
संखुवासभाको सिलीचोङ गाउँपालिकाका प्रवीण कुलुङ र साजन राईको निधनमा आयोजित श्रद्धाञ्जली सभा ।
नवीन गुरुङ संखुवासभा
Invalid date format o९:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रवीण र साजनको निधनले शोकमा सिलीचोङ

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format o९:१७:oo

जेन–जी प्रदर्शनका क्रममा संखुवासभाको सिलीचोङ गाउँपालिका– ३ लकुवाका २१ वर्षीय प्रवीण कुलुङ र सिलीचोङ– ५ याफुका ४२ वर्षीय साजन राईले ज्यान गुमाए । बुधबार प्रवीणको शव नेपाली सेनाको हेलिकोप्टरले सिलीचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा ल्याएर परिवारजनलाई जिम्मा दिए । साजनको शव भने आइतबार नै धरानमा सेनाको हेलिकोप्टरले ल्याई जिम्मा दिएको सिलीचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए । दुवैजना सिलीचोङकै भए पनि केही समयदेखि साजनको परिवार धरानमा बस्ने भएकाले अन्तिम दाहसंस्कारका लागि शव धरानमै जिम्मा दिइएको उनको भनाइ छ ।

जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाको शव घरसम्म पुर्‍याउने वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्णय गरेको थियो । प्रवीणको शव सिलीचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थीव शरीरमा गाउँपालिकाका अध्यक्ष मेवाहाङले राष्ट्रिय झन्डा ओढाएका थिए । त्यसपछि सिलीचोङ– ३ लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने जनाएको छ ।

सिलीचोङ– ३ लकुवाका बालकिशोर र मालती कुलुङको माइलो छोरा हुन् प्रवीण कुलुङ । बालकिशोरका तीनजना छोरा र श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवार थियो । जेठा छोरा नेपाली सेनामा कार्यरत रही बाग्लुङमा छन् । बुवाआमा गाउँमै कृषि पेसा गर्दै माइलो प्रवीण र कान्छो छोरालाई राम्रो शिक्षादीक्षा दिँदै केही वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए । प्रवीण कोरिया जाने धोको बोकेर कोरियन कक्षा पढ्दै थिए । देशको बिग्रँदो अवस्था देखेर कोरिया गएर पैसा कमाएर परिवारको दु:खको काँचुली फेर्ने उनले उद्देश्य लिएका थिए ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिको सिकार बनेको आमनेपालीझैँ प्रवीण पनि सोमबार भएको जेन–जी आन्दोलनको समर्थन गर्दै आन्दोलनमा उत्रिए । आन्दोलनका क्रममा गौशालामा प्रहरीको गोली लागेर ज्यान गुमाए । छोराले आन्दोलनमा ज्यान गुमाएको खबरले आमा मालती बेहोस भइन् । बालकिशोर पनि स्थानीय नेता नै हुन् । जनयुद्धमा लडाकु रहेका बालकिशोर विस्तृत शान्ति सम्झौतापछि घर फर्किएर कृषि क्रान्ति गर्दै बसिरहेका थिए । उनी ०७४ र ०७९ को स्थानीय निर्वाचनमा सिलीचोङ– ३ बाट वडाध्यक्षका उम्मेदवार थिए । थोरै मतान्तरले पराजित भए । प्रवीण र साजनको निधनले सिलीचोङ शोकमा डुबेको छ । 

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रवीण र साजनको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । देशको परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरूको सम्झनामा खाँदबारीको पोखरीबजारस्थित चाँदनीचोकमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।