
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका सिवा परियार अवस्थामा मृत फेला परेकी छिन् । वडा नम्बर ५ छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थाकी संकलक (बचतकर्ताको रकम जम्मा गर्ने ) रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बिचमा पर्ने मार्से सामुदायिक वनमा साेमबार मृत फेला परेकी हुन् ।
सहकारी संस्थाका अध्यक्ष सागर तामाङले दिएको जानकारीअनुसार रेश्मिका ३० भदौ अपराह्न करिब ४ बजेतिर सहकारीबाट बाहिरिएकी थिइन् । दिउँसै कार्यालयबाट निस्केकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो । सो क्रममा राति ९ बजेतिर सडकभन्दा करिब १५० मिटर तल मृत अवस्थामा भेटिएकी थिइन । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश बुढाथोकीले भने, ‘घटनबारे अनुशन्धान भइरहेको छ । के भएको हो अहिलेसम्म खुलेको छैन । घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान छ ।’
माइती पक्षबाट आउन समय लाग्ने भएपछि घटनास्थललाई स्थानीयको सहयोगमा चारवटा प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले सुरक्षित राखेका छन् । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली गए रातिदेखि नै खटिएका छन् ।
घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको छ । त्योभन्दा केही तल झोला र अन्डरवेर (प्यान्टी) भेटिएको छ ।
घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सल बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
मृतकका आफन्तका अनुसार सोमबार अपरान्ह ४ः५३ बजेतिर रेश्मिका र श्रीमानबीच फोन सम्पर्क भएको थियो । त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखाएको जनाइएको छ ।
एमाले खोटाङका पूर्वअध्यक्ष एवं स्थानीयवासी रामप्रसाद दंगालले रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै अपराधी पत्ता लगाएर कानूनी कारबाही गर्न सामाजिक सञ्जालमार्फत माग गरेका छन् ।
रेश्मिकाको श्रीमान् र एक छोरी छन् ।