
भाटभटेनी सुपरस्टोरका १६ स्टोर शनिबारदेखि पुन: सञ्चालनमा आएका छन् । जेन–जी प्रदर्शनका कारण मंगलबारदेखि बन्द रहेका १६ स्टोर सञ्चालनमा आएको भाटभटेनी सुपरस्टोर व्यवस्थापनले जनाएको छ, जसमा उपत्यकाभित्र नौ र उपत्यकाबाहिर सातवटा शाखा छन् । उपत्यकामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखा सञ्चालनमा आएका छन् । त्यसैगरी उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि शनिबारदेखि नै सेवा सुरु गरेको बताइएको छ ।
‘अनिश्चितताका केही दिनपछि हाम्रा स्टोर पुन: एकपटक खुलेका छन्,’ सामाजिक सञ्जालमा भाटभटेनीले लेखेको छ, ‘भाटभटेनी केवल पसलका रूपमा होइन, तपाईंको परिवारका रूपमा पनि उत्तिकै अग्लो छ ।’
साथै, ग्राहकको धैर्यता, समर्थन र विश्वासलाई धन्यवाद पनि दिएको छ । ‘हामी उही हेरचाह र प्रतिबद्धतासहित तपाईंको सेवा गर्न फर्किएका छौँ,’ भाटभटेनीको भनाइ छ । २४ भदौमा भएको जेन–जी प्रदशर्नका क्रममा देशभरका २८ वटा स्टोरमध्ये सातबाहेक सबै स्टोरमा क्षति पुगेको थियो । जसमध्ये १२ स्टोरमा पूर्ण आगजनी र नौवटामा तोडफोड र लुटपाट भएको थियो ।