
गत साता युएस ओपन चलिरहँदा कार्लोस अल्काराज र जानिक सिनर कोर्टमा मात्र नभएर मैदानबाहिर पनि प्रतिस्पर्धा गरिरहेका थिए । लगातार तीन ग्रान्डस्लामको फाइनलमा प्रतिद्वन्द्वी बनेका अल्काराज र सिनरबिचको भिडन्त रोचक तथा नाटकीय बनेको थियो । न्युयोर्कको अथुर रंगशालामा २२ वर्षीय अल्काराजले सिनरलाई ६–२, ३–६, ६–१ र ६–१ ले परास्त गर्दै युएस ओपन जिते । अल्काराजले छैटौँ ग्रान्डस्लाम उपाधि मात्र आफ्नो बनाएनन्, उनले एटिपी पुरुष वरीयताको शीर्ष स्थानमा विराजमान सिनरलाई उछिन्न सफल भए । अल्काराजले उपाधिसँगै पाँच मिलियन अमेरिकी डलरसमेत हात पारे ।
यो त भयो वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको उपाधि भिडन्तका केही पक्ष । युएस ओपन सकिएको एक सातापछि बेलायती एजेन्सीहरूले स्पेनिस खेलाडी अल्काराज र इटालियन सिनरबिच मैदानबाहिर एक महिनाका लागि अर्को भिडन्त चलिरहेको जनाएका छन् । युएस ओपनको च्याम्पियन भएसँगै अल्काराजले मोडेल ब्रुक्स नाडरसँग खुसी मनाएका थिए । उनै मोडेल नाडरले सिनरसँग पनि सम्बन्ध राखेको खुलासा बेलायती मिडियाहरूले दाबी गरेका छन् ।
अल्काराजसँग युएस ओपनको विजयी उत्सव पार्टी मनाइरहँदा नाडरले सिनरसँग डेटिङ गरिरहेको पेज सिक्सको दाबी छ । ‘रमाइलो र हास्यास्पद पक्ष यो छ । एकै समयमा मोडेल नाडर सिनर र अल्काराजसँगै डेटिङमा थिए । अझ अल्काराजले दिइएको पार्टीमा नाडर सिनरसँगै देखिन्थिइन्,’ पेज सिक्सले भनेको छ ।
उपाधि भिडन्त हेर्न पुगेकी मोडेल ब्रुक्स
अल्काराज र सिनरबिचको उपाधि भिडन्त चलिरहँदा नाडर दर्शकदीर्घाको अगाडिकै सिटमा थिइन् । उनले कसको पक्षमा समर्थन गरिरहेको भन्ने कसैलाई थाहा थिएन । स्पेनिस पत्रकार अल्बर्टो गुजमानले अल्काराज र सिनरले एकै मोडेलसँग सम्बन्ध राखेको बताएका छन् । ‘स्पेनिस टेलिभिजनमै अल्काराजले एक मोडेलसँग डेटिङ गरिरहेको खुलासा गरेका थिए, तर यो युएस ओपनको फाइनलमा प्रस्ट भयो,’ पत्रकार अल्बर्टोले भने, ‘यद्यपि, अहिले उनीहरूले डेटिङमा छैनन् भनेका छन्, तर वास्तवमा उनीहरू डेटिङमै छन् ।’ मिडिया, सहकर्मी तथा पत्रकाहरूले नाडरबिचको सम्बन्ध खुलासा गरे पनि अल्काराज ब्रिटिस टेनिस स्टार इमाना राडुकानसँग नजिक छन् । युएस ओपनको मिक्स डबल्समा अल्काराज र इमाना जोडीका रूपमा थिए । तर, इमानाले गत जुनमा स्पेनिस खेलाडीसँग सम्बन्ध नरहेको र केवल साथी मात्र बताएकी थिइन् ।
टक सोमै सिनरसँग सम्बन्धको खुलासा
चर्चित जिमी मिमेल्स टक सोको एक कार्यक्रममै मोडेल नाडरले आफू सिनरसँग डेटिङमा रहेको खुलासा गरेकी थिइन् । फेरि केही समयपछि उनले सिनरसँग डेटिङमा नरहेको जनाइन् । तर, नाडरकी एक आफन्त ग्रिस अनाकी अनुसार अहिले पनि वर्तमान समयकै उत्कृष्ट युवा खेलाडीद्वयसँग नाडरको सम्बन्ध चलिरहेको छ ।
कतिपयले एकै समयमा एक महिलाले दुईजना पुरुषसँग डेटिङ गर्न असम्भव भएको बताएका छन् । तर, ग्रिस अनाले भने बजारमा आएको हल्ला केवल हल्ला मात्र नभएर सत्य भएको बताएकी छिन् ।