मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o९:३५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१७ च्याम्पियनसिप नेपाललाई उपाधि जित्ने अवसर 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३५:oo
  • दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नौपटक विभिन्न उमेर समूहको प्रतियोगिता आयोजना गरेकोे छ । नेपाल अहिलेसम्म चारपटक उपविजेता बनेको छ ।

नेपाली युवा टोली साफ यू–१७ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित श्रीलंकाको कोलम्बो पुगेको छ । शुक्रबार बिदाइ भएको नेपाली टोली शनिबार कोलम्बो प्रस्थान गरेको हो । सन् २०११ बाट सुरु भएको प्रतियोगिता नौपटक आयोजना हुँदा नेपाल अहिलेसम्म उपाधिविहीन छ । चारपटक फाइनलमा पुगेर पनि नेपाल उपविजेतामै सीमित भयो । दसौँ संस्करणमा भने फरक रणनीति र तयारीका साथ श्रीलंका पुगेको नेपालको अहिले एउटै लक्ष्य उपाधिका साथ घर फर्किने प्रशिक्षक सञ्जित श्रेष्ठले बताए । 

खेलाडीले मोरङमा एक महिना बन्द प्रशिक्षणमा बसेका थिए । पछिल्लो समय उमेर समूहको प्रदर्शन कमजोर भएकाले नेपाललाई उपाधि जित्ने चुनौती देखिन्छ । एन्फाले पछिल्लो समय प्रतियोगिता नजिकिँदा खेलाडीको खुला छनोट गर्दै आएको छ । एकेडेमी सञ्चालन नहुँदा उमेर समूहको प्रदर्शन खस्कँदै गएको विभिन्न अन्तर्राष्ट्रिय उमेर समूहको सहभागिताले देखाउँछ । कोलम्बो पुगेको टोलीका गोलरक्षक पेम्बानुर्बु भोटे र विशेष बानियाँ, डिफेन्डर प्रशान्त मोक्तान र भुवन कामीसँगै मिडफिल्डर राम थामी र सुजन स्याङ्तानसहित ६ जना यू–१६ साफ च्याम्पियनसिप खेलिसकेका छन् । 

प्रशिक्षक श्रेष्ठले उमेर समूहका अनुभवी खेलाडी हुँदा हौसिएका छन् । यू–१७ च्याम्पियनसिप भारतले सर्वाधिक ६ पटक जितेको छ । बंगलादेशले दुई तथा पाकिस्तानले एकपटक जितेको छ । नेपाल सर्वाधिक चारपटक उपविजेता भएको हो । भारत र बंगलादेश समान दुई तथा पाकिस्तान एकपटक उपविजेता भएका छन् । भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान भने सहभागितामै सीमित छन् । श्रीलंकामा एक दिनको तयारीपछि नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने प्रतियोगिता १५ देखि २७ सेप्टेम्बरसम्म हुँदै छ ।

यो प्रतियोगिता हरेक दुई वर्षमा हुँदै आएको छ । साफले यो प्रतियोगितामा फरक–फरक यू–१५, यू–१६ र यू–१७ को उमेर समूहलाई सहभागिता गराउँदै आएको छ । पछिल्लो वर्षमा निकै सक्रिय रहेको साफले लगातार तीन वर्षमा तीनपटक प्रतियोगिता आयोजना गरिसकेको छ । सन् २०११ बाट सुरु भएको प्रतियोगितामो नेपाल सन् २०१३, सन् २०१७, सन् २०१९ र सन् २०२२ मा फाइनलमा पुगेको थियो । नेपाल चारै फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१९ मा भारतको भएको फाइनलमा नेपाली टोली भारतसँग ७–० को हारेको थियो । सन् २०२२ कोलम्बोमै नेपाली टोली उपाधि भिडन्तमा भारतसँग ४–० ले पराजित भयो । यसअघि नेपाल सन् २०१३ मा १–० र सन् २०१७ मा २–१ ले पराजित भएको हो । 

मोरङमा एक महिना लामो तयारी 
एन्फाले मोरङमा खेलाडीलाई प्रशिक्षणमा राखेको थियो । एक महिना लामो समय चलेको प्रशिक्षणमा खेलाडीहरूले आफ्ना कमजोरी सुधार्न मौका पाएको प्रशिक्षक श्रेष्ठले बताए । काठमाडौंको अधिकांश मैदानमा प्रतियोगिता चलिरहँदा युवा खेलाडीको तयारीका लागि एन्फाले मोफसलमा राखेको हो । प्रशिक्षक श्रेष्ठले प्रारम्भिक खुला छनोटमा सयजना खेलाडी सहभागी थिए । त्यसपछि ४५ जना हुँदा अन्तिम चरणमा २३ जना टोली बनाइएको हो । ‘हामीले प्रशिक्षकको योजनाअनुसार नै खेलाडीलाई विराटचोकमा राखेर तयारी गराएका हौँ । लामो तयारी भएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहले बताए । 

एन्फाको खल्लो बिदाइ 
एन्फाले खेलाडीलाई शुक्रबार बिदाइ आयोजना गरेको थियो । तर, एन्फा कम्प्लेक्स सुनसान देखियो । जेन–जीको कारण कर्फ्यु थियो । जेन–जीको आन्दोलनदेखि नै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ तथा महासचिव किरण राई सम्र्पकमा छैनन् । उनीहरू खेलाडीको बिदाइमा पुगेनन् । एन्फाको आन्तरिक द्वन्द्वका कारण संस्थापन इतरपक्षले एन्फा जानै छाडेका छन् । सिइओ, सहायक महासचिव, उपाध्यक्षलगायतले खेलाडीलाई बिदाइ गर्दै आएका थिए । जेन–जीकै कारण बिदाइ कार्यक्रमका कुनै पनि पदाधिकारी उपस्थित भएनन् । एन्फा प्रवक्ता सुरेश शाहले मात्रै खेलाडीलाई बिदाइ गरेका थिए । ‘अन्तर्राष्ट्रिय सहभागिता हुँदा पनि कुनै पदाधिकारी बिदाइमा सहभागी भएनन् । खेलाडीले कुन मनोबलका साथ खेल्नु । यो नेतृत्वको नालायकीपन हो,’ एक असन्तुष्टि पक्षका नेताले भने । 

पहिलो खेल श्रीलंकासँग 
समूह ‘ए’मा रहेको नेपालले आयोजक श्रीलंका र बंगलादेशसँग खेल्ने तालिका छ । १५ सेप्टेम्बरमा श्रीलंकासँग खेल्दै नेपालले प्रतियोगिताको सुरु गर्नेछ । नेपालको दोस्रो खेल १८ सेप्टेम्बरमा बंगलादेशसँग छ । नेपाल पहिलो खेलमै विजयी भए सीधै सेमिफाइनल स्थान सुरक्षित गर्नेछ । यता, समूह ‘बी’मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल २७ सेप्टेम्बरमा हुनेछ ।