मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
काठमाडौंको प्रहरी प्रभाग नेपालटार स्थानीयको सहयोगमा सरसफाइ र रङरोगन गरी कार्यालय बस्न मिल्ने बनाइएको छ
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २९ आइतबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शान्तिसुरक्षामा नागरिक सक्रियता : टोल सुरक्षा समिति गठन, नागरिककै सहयोगमा प्रहरी कार्यालय पुनर्स्थापित हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार o६:१o:oo

जेन–जी आन्दोलनपछिको विषय परिस्थितिमा सुरक्षा चुनौती बढेपछि नागरिकस्तरबाटै शान्तिसुरक्षाका लागि पहल सुरु भएको छ । प्रहरीहरू नै तितरबितर भएको र जेलबाट ठुलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि टोल सुरक्षा समिति बनाउनेदेखि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियान सुरु भएको छ ।

२३ र २४ भदौमा भएको भ्रष्टाचारविरोधी आन्दोलनमा तोडफोड र आगजनी गरिएका उपत्यकाका प्रहरी कार्यालयमा शुक्रबार र शनिबार स्थानीयले सरसफाइमा सघाएका छन् । कतिपय ठाउँमा स्थानीयले फूल दिएर प्रहरीलाई स्वागत गरका छन् । धेरै ठाउँमा स्थानीयले नै अत्यावश्यक सामानसमेत प्रहरीलाई सहयोग गर्न थालेका छन् । स्वस्फूर्त रूपमा स्थानीयहरू संगठित भई आर्थिक सहयोग संकलन गरेर प्रहरीलाई अत्यावश्यक सामान खरिद हुन थालेको छ ।

पूर्वप्रहरी अधिकारीहरू महाराजगन्ज वृत्त पुगेर शनिबार सरसफाइ गरी कार्यालय सञ्चालनका लागि सघाएका छन् । त्यस्तै, नेपालटार प्रभाग स्थानीयबासी प्रहरी र सर्वसाधरण बनेर मर्मत गरी रंगरोगन समेत गरेका छन् । ‘हाम्रो आफ्नै टोलको सुरक्षाका लागि सबै मिलेर प्रहरी कार्यालय मर्मत गरेका हौं,’ स्थानीय समेत रहेका वरिष्ठ नायब निरीक्षक सन्तोष कार्कीले भने,‘प्रहरीलाई फर्काउने प्रयास गरिरहेका छौं ।’ 

उपत्यका प्रहरीका एआइजी दानबहादुर कार्कीका अनुसार कतिपयले प्रहरी चौकी मर्मतसमेत थालेका छन् । ‘बिस्तारै नियमित काममा खटिने प्रयासमा छौँ,’ एआइजी कार्की भन्छन्, ‘यसमा जनताको सहयोगले मनोबल बढिरहेको छ ।’

आन्दोलनको आवेगमा उपत्यकाका ९० प्रतिशत प्रहरी कार्यालय आक्रमणमा परेका छन् । प्रहरीका गाडी जलेका छन् । हतियारदेखि पोसाकसम्म लुटिएपछि प्रहरी अझै नियमित ड्युउटीमा खटिएको छैन । कार्यालयहरू जलेपछि बस्ने र खाने ठाउँसमेत नभएपछि उपत्यकाको शान्तिसुरक्षाको कमान्ड अझै प्रहरीले लिन सकेको छैन । अवस्था कस्तोसम्म छ भने प्रहरीको पोसाकसमेत छैन ।सबैजसो कार्यालयमा सरसफाइमा स्थानीयले सघाएका छन् । स्थानीयकै सहयोगमा प्रहरी नियमित गस्तीमा खटिन थालेको छ । शनिबारदेखि ट्राफिक प्रहरी पनि सडकमा निस्किएको छ । मातहतका कार्यालय जलेकाले उपत्यकाका तीन जिल्लामा जिल्ला प्रहरी परिसरबाट मात्र मुद्दासम्बन्धी कामकारबाही हुन थालेको छ । नागरिकको साथले आफूहरू मनोबल उठाएर अघि बढेको प्रहरी अधिकारी बताउँछन् ।

उता, प्रहरी परिचालन थोरै भएकाले लुटपाट बढ्न सक्ने जोखिमका कारण विभिन्न स्थानमा टोल सुरक्षा समिति बनाएरसमेत गस्ती गर्न थालेका छन् । आन्दोलनको फाइदा उठाउँदै केही अराजक तत्वले लुटपाट मच्चाएका थिए । कारागारबाट ठुलो संख्यामा कैदीबन्दी भागेकाले पनि सर्वसाधारणले सुरक्षा चुनौती महसुस गरेका छन् । 

प्रधानमन्त्रीद्वारा अवलोकन 
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार आन्दोलनमा क्षतिग्रस्त बनेको प्रहरी वृत्त महाराजगञ्जमा पुगेर अवलोकन गरेकी छिन् । अवलोकनपछि उनले प्रहरीलाई पुर्नस्थापनमा सरकारले सघाउने बताएकी छिन् । अवलोकनमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, एआइजी दानबहादुर कार्की लगायत उपस्थित थिए । 

लुटपाट र आगजनीको अनुसन्धान सुरु
आन्दोलनको मौका छोपेर व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने र लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान थालेको छ । हाल त्यस्ता व्यक्तिहरूको फोटो र भिडियो संकलन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरीले शुक्रबार एक सूचना जारी गरी आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट एवं सर्वसाधारणलाई त्रास सिर्जना हुने किसिमका घटनासँग सम्बन्धित तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंकहरू उपब्लध गराएर सहयोग गरिदिन अनुरोध गरेको छ । यस्तो सूचना दिनेहरूको गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पनि छुट्टै विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा भएका चोरीका सामान खरिद–बिक्री गर्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।