
०८२ भदौ २३ र २४ नेपालको इतिहासमा खास स्मरणीय दिन बन्यो । यस दिन नेपालको इतिहासमा कहिल्यै नभएको जेन–जी आन्दोलनले सत्तापलट गरिदियो । २८ वर्षसम्मका युवापुस्ताको नेतृत्वमा भएको आन्दोलनले नेपालको इतिहासमा नयाँ अध्यायको सुरुवात गरिदियो । ५१ जनाको बलिदानपछि देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ– सुशीला कार्की । नेपाललाई नवयुवा पुस्ताले आफ्नो लगाममा लिएको छ । नौजवानले नेपालमा मात्रै होइन, विश्व इतिहासमै पनि यस्ता उदाहरणीय काम धेरै गरेका छन् । अहिलेको पुस्तालाई जेन–जी भनिएजस्तै इतिहासमा ३० वर्षमुनिका युवाले कैयन् उथलपुथल ल्याउने विद्रोह र आन्दोलन गरेका छन् । विश्व इतिहासमा कतिपय क्रान्ति र विद्रोह युवापुस्ताबाटै सुरु भएका छन् भने कतिपय ती पुस्ताको बलिदानपछि उत्कर्षतिर पुगेर सफल भएका छन् । कतिपय बलिदान तत्काल सफल नभए पनि कालान्तरमा अगाडि बढ्ने प्रेरणाको स्रोत बनेका छन् । कतिपय आन्दोलन सफल बनाउन युवा संघर्षरत छन् । ३० वर्षमुनिका युवाले नेतृत्व गरेर विजय भएको र विजय नभए पनि प्रेरणाको स्रोत भएको विश्व इतिहासका कैयन् क्रान्ति, विद्रोह र आन्दोलनमध्ये केही यसप्रकार छन्:
नेपालको जेन–जी आन्दोलन (२०२५)
भदौको दोस्रो सातातिर युवा पुस्तामाझ लोकप्रिय रेडिट, टिकटक र डिस्कर्डमा केही भिडियो ‘भाइरल’ भयो । ती भिडियो भ्रष्टाचार, नेताका छोराछोरीको बिलासी जीवनशैली, अस्थिर राजनीति, सामाजिक सञ्जालमाथिको नियन्त्रणलगायतविरुद्ध थिए । त्यही समय ‘नेपो बेबी ट्रेन्ड्स’ पनि सुरु भयो । जुन टिकटक र रेडिटमा फैलियो । यही भर्चुअल आक्रोशलाई सडकमा उतार्न केही युवाले माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरे ।
त्यही वेला सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गर्यो । त्यसपछि भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन जी युवा (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका) सडकमा उत्रिए । काठमाडौंकेन्द्रित जेन जी युवाको प्रदर्शन एकै दिन देशैभर फैलियो । तर, सरकारले दमन गर्दा एकैदिन १९ जनाको ज्यान गयो भने करिब एक हजारजना घाइते भए । दोस्रो दिन भौतिक संरचना ध्वस्त भए । युवाको दुई दिनको आन्दोलनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनायो । त्यसपछि जेन जीकै छनोटमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । जेन जीले दुई दिनमै सत्तापलट गरिदिएपछि अब नेपालको राजनीतिक इतिहासको बागडोर युवामा काँधमा पुस्तान्तरण भएको विश्लेषण हुन थालेको छ ।
इन्डोनेसियाको आन्दोलन (२०२५)
इन्डोनेसियामा २५ अगस्ट ०२५ मा सांसदहरूले पाउने बिलासितापूर्ण भत्ता, सुविधा, आर्थिक असमानताविरुद्ध आन्दोलन सुरु भयो । देशका ५८० सांसदले तलबका अतिरिक्त मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (तीन हजार अमेरिकी डलर) आवास भत्ता पाउने रिपोर्ट बाहिरिएपछि आक्रोशित युवापुस्ता सडकमा ओर्लियो । सांसदहरूले पाउने भत्ता देशका विपन्न क्षेत्रका मानिसले पाउने मासिक न्यूनतम ज्यालाभन्दा लगभग २० गुणा धेरै हो । यो तथ्यांक हालै मात्र सार्वजनिक भयो, जसले प्रदर्शनको रूप बढायो । नेतृत्वविहीन सुरु भएको यो आन्दोलनमा युवाहरूको व्यापक समर्थन र सहभागिता थियो । प्रदर्शन हिंसात्मक बन्दै देशका ३२ प्रान्तमा फैलियो । प्रदर्शनकै क्रममा सामाजिक सञ्जालमा मोटरसाइकल चालक मारिएको भिडियो भाइरल भएपछि आक्रोश लहर सुरक्षा बलविरुद्ध सोझियो । त्यसपछि हिंसा झनै भड्कियो । मृतक २१ वर्षीय अफान कुर्नियावानले खाना वितरण गर्ने काम गरिरहेका वेला संसद् भवनबाहिर एउटा बख्तरबन्द प्रहरी गाडीले उनलाई ठक्कर दिएको थियो । प्रदर्शनको नतिजाको रूपमा सरकार सांसद सुविधा रद्द गर्न बाध्य भयो । आन्दोलनका क्रममा ११ जनाको मृत्यु भयो । केही घाइतेसमेत भए । हाल त्यहाँको आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।
मंगोलियाको युवा आन्दोलन २०२५
मंगोलियामा पनि बढेको भ्रष्टाचार र प्रधानमन्त्री लुभसान्नामस्रेन ओयुन एर्दनेको परिवारको बिलासी जीवनलाई केन्द्रित गरेर गत मार्चदेखि आन्दोलन सुरु भयो । प्रदर्शन मार्च १४ देखि जुन ३ सम्म चल्यो । उक्त आन्दोलनमा विद्यार्थी र युवाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत अभियानसमेत चलाइयो । संसद्माथि दबाब सिर्जना गरियो । करिब ५९ हजारले हस्ताक्षर गरेर दबाब दिएपछि ३ जुन २०२५ मा संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पारित गर्यो । जसका कारण डेमोक्रेटिक पार्टीको गठबन्धन सरकारबाट प्रधानमन्त्री बनेको ओयुन–एर्दनेले राजीनामा दिए ।
सर्बियाको जेन–जी आन्दोलन २०२४
युरोपियन देश सर्बियामा ३ नोभेम्बर २०२४ देखि सुरु भएको आन्दोलन दश महिना एक हप्तासम्म चलेको थियो । नोभेम्बरमा नोभी साद सहरमा छत भत्किएर एक रेल दुर्घटनामा १६ जनाको मृत्यु भयो । एकजना गम्भीर घाइते भए । यो घटनाबारे सबैभन्दा पहिलो विद्यार्थी बोले । पीडितहरूका लागि शान्तिपूर्ण जमघट गरे । मृतकलाई श्रद्धाञ्जली दिए । शान्तिपूर्ण जमघटमा सहभागीलाई निगरानी, धम्की र गिरफ्तारी गरियो । र, शोक प्रतिरोधमा रूपान्तरण भयो । उक्त घटनाको जवाफदेहिताको माग र राज्यस्तरीय भ्रष्टाचारविरुद्ध विद्यार्थीले आन्दोलन सुरु गरे । १५ मार्च २०२५ इतिहासमै सबैभन्दा धेरै मान्छे प्रदर्शनमा सहभागी भए । आन्दोलनमा जेन जी समूह धेरै सहभागी भए । यो प्रदर्शनलाई अमेरिकी राजनीतिक विश्लेषक तथा प्राध्यापक एरिका चोनोवेथले संयमित नेतृत्वविहीन प्रदर्शन भनेका थिए ।
केन्याको जेन–जी आन्दोलन (२०२४)
पूर्वी अफ्रिकी देश केन्यामा सन् २०२४ जुन १८ देखि अगस्ट ८ सम्म करिब दुई महिना लामो प्रदर्शन भयो । सरकारले कर वृद्धि गर्न ल्याएको आर्थिक ऐनविरुद्ध जेन जी युवाले आन्दोलन सुरु गरे । करवृद्धि फिर्ता र भ्रष्टाचारविरुद्ध जवाफदेहिता माग्दै आन्दोलन सुरु भएको थियो । आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत ‘अक्कुपाई पार्लियामेन्ट’को आह्वानसमेत गरिएको थियो । प्रदर्शनका क्रममा २५ जुनमा प्रदर्शनकारीले संसद् भवन प्रवेश गरे । आगजनी गरे । जसको प्रतिक्रियास्वरूप प्रहरी कारबाहीमा ६५ जनाभन्दा बढीको ज्यान गयो । राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिए । आन्दोलन मत्थर हुँदै गए पनि भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकार अग्रसर भएन । जसका कारण गत जुनदेखि केन्याली जेन जीहरू फेरि आन्दोलित भइरहेका छन् ।
बंगलादेशको जेन–जी आन्दोलन (२०२४)
दक्षिण एसियाकै अर्को देश बंगलादेशमा पनि जेन– जीले आन्दोलन गरे । सन् २०२४ जुन ६ देखि चलेको आन्दोलन अगस्ट ३ अर्थात् करिब दुई महिनासम्म कायम रह्यो । गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । सन् २०१८ मा निलम्बन गरिएको यस व्यवस्थालाई त्यहाँको उच्च अदालतले पुनस्र्थापित गरेको हो । त्यसपछि बंगलादेशका विद्यार्थीले आन्दोलन गरेका थिए । यो आन्दोलन ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले संयोजन गरेर निष्कर्षमा पुग्यो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री सेख हसिना भागेर भारतको शरणमा पुगिन् । हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएर काम भइरहेको छ ।
श्रीलंकाको जेन–जी आन्दोलन (२०२२)
श्रीलंकाको जेन–जी आन्दोलन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीबाट भएको थियो । भ्रष्टाचार, नातावादबाट आक्रोशित मानिसले राष्ट्रपति गोटाबाया राजपाक्षे परिवार र उनीहरूले नेतृत्व गरेको सरकार जिम्मेवार रहेको भन्दै प्रदर्शन गरेका थिए । गाउँ–गाउँबाट प्रदर्शनका लागि युवाहरू राजधानी कोलोम्बो आए । युवाहरूले सडक कब्जा गर्दै राष्ट्रपति भवनभित्रसमेत घुसेर प्रदर्शन गरे । सन् २०२२ मा ११३ दिनसम्म चलेको आन्दोलनपछि राजपाक्षे भागेर सिंगापुर पुगे । करिब तीन महिना चलेको प्रदर्शनले दुई दशकभन्दा लामो समय श्रीलंकामा राज गरेको राजपाक्षे परिवारको एकलौटी शासन अन्त्य गर्यो । राजपाक्षेपछि रनिल विक्रमासिंघेले सत्ता सम्हाले । सन् २०२४ मा भएको आमनिर्वाचनमा रनिल र पुराना दलका नेता पराजित भए । परम्परागत राजनीतिक र आर्थिक अभिजातवर्गको विरोध गर्दै आएका अनुरा कुमारा दिसानायकेले चुनाव जिते । हाल श्रीलंका तंग्रिने प्रयासमा छ ।
अरब वसन्त (२०१०)
विश्व राजनीतिक इतिहासमा अरब वसन्त (अरब स्प्रिङ)को अलग्गै स्थान छ । सन् २०१० मा सुरु भएको त्यो आन्दोलन एकजना फुटपाथ व्यापारीको आत्मदाहबाट सुरु भएको थियो । ट्युनिसियाको सिदी बौजिद सहरमा २६ वर्षे फुटपाथ व्यापारी मोहम्मद बुआजिजी फलफूल र तरकारी बेच्थे । मध्यम गरिब परिवारका उनको ठेलागाडा प्रहरीले लग्यो । प्रहरीले सार्वजनिक ठाउँमा उनलाई थप्पड हान्यो । आफूमाथि अपमान र अन्याय भएको भन्दै उनी सरकारी अफिसमा गुनासो गर्न गए । तर, कुनै सुनवाइ भएन । अपमान सहन नसकी उनले सरकारी कार्यालयअघि नै आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । गम्भीर अवस्थामा उनलाई अस्पताल त पुर्याइयो, तर उसको ज्यान बजाउन सकिएन । उनको मृत्युपछि ट्युनिसिया सहरमा स्वतस्फुर्त मानिस सडकमा निस्कन थाले । उनको आत्महत्यापछि सामाजिक सञ्जालमा व्यापक विरोध भयो । सामाजिक सञ्जालले त्यो विद्रोहको बिउलाई संसारभर फैलायो । त्यसपछि त्यसले ठुलो आन्दोलनको रूप लियो र अन्तत: २३ वर्षदेखि शासन गरिरहेको जिन एल अबिदिन बेल अलीको शासन पतन भयो । त्यसपछि छिमेकी लिबियामा फैलिएको क्रान्तिको ज्वारमा मुअम्मर गद्दाफीको ४२ वर्षीय शासन पनि बढारियो । आन्दोलनको डढेलोअघि इजिप्टका शासक होस्नी मुबारकको ३१ वर्षे शासन र यमनका अलि अब्दुल्लाह सालेहको २१ वर्षको शासन पनि टिक्न सकेन ।
मोहम्मद बुआजिजीको आत्महत्या अरब स्प्रिङका लागि आगोको फिलिंगोजस्तो बनिदियो । ट्युनिसियामा एक वर्षभित्रै सत्ता ढलेपछि त्यो विद्रोहको आगोले ढडेलोको रूप लियो । त्यसपछि नजिकको अरब मुलुक लिबिया, इजिप्ट, यमन, बहराइन र सिरियामा सत्ता पल्टियो, ठुल्ठुला विद्रोह भए । इराक, अल्जेरिया, मोरोक्को, लेबनान, जोर्डन, कुवेत, ओमानमा ठुल्ठुला प्रदर्शन भए । बुआजिजीलाई प्रतीकात्मक नायकको रूपमा लिइन्छ ।
सोवेटो विद्रोह (१९७६)
१९७६ मा दक्षिण अफ्रिकामा भएको सोवेटो विद्रोहलाई एक निर्णायक मोडको रूपमा अफ्रिकी इतिहासमा लिइन्छ । त्यो विद्रोह स्कुले काला विद्यार्थीले सुरु गरेका थिए । शासन गरिरहेका अल्पसंख्यक गोराहरूको भाषा अनिवार्य गरिएको विरोधमा सुरु भएको त्यो आन्दोलनलाई प्रहरीले व्यापक दमन गरी सयौँ विद्यार्थीको ज्यान लियो । त्यसपछि आन्दोलनको आँधी अपार्थाइड गोरा शासकतिर सोझियो । व्यापक असन्तोषले त्यो घटना विश्वव्यापी निन्दाको विषय बन्यो । त्यसवेला दक्षिण अफ्रिकामा थोरै संख्यामा रहेका अपार्थाइड गोराको शासन चलिरहेको थियो । त्यो सरकारले ९५ जना विद्यार्थी मारिएको भने पनि गैरसरकारी तत्थ्यांकले करिब ५०० जना मारिएको बताएको थियो । त्यसपछि रंगभेदविरुद्धको आन्दोलन अन्य सहरका पनि व्यापक फैलिन थाल्यो । नेल्सन मन्डेला त्यसवेला जेलमा थिए । उनकी श्रीमती विनी मन्डेलाले त्यो आन्दोलनलाई रंगभेदविरुद्धको आन्दोलनको सुरुवात भनेकी थिइन् । कैयन् वर्षको अपार्थाइड शासनविरोधी आन्दोलनपछि व्यापक दबाबका कारण सन् १९९० मा नेल्सन मन्डेलालाई जेलबाट रिहा गरियो । त्यसको चार वर्षपछि भएको निर्वाचनमा दक्षिण अफ्रिकी इतिहासमा पहिलोपटक काला जातिबाट मन्डेला राष्ट्रपति भए ।
राणाविरोधी क्रान्ति र गंगालाल श्रेष्ठ (सन् १९४०)
सहिद गंगालाल श्रेष्ठलाई राणा शासकले फाँसी दिँदा उनी जम्मा २२ वर्षका थिए । रामेछापमा जन्मिएका गंगालाल सानैदेखि जेहेनदार र मिहिनेती विद्यार्थी थिए । उनी कविता लेख्ने, नाटकमा अभिनय गर्ने गर्थे । उनी शिक्षक पनि थिए । राणाविरुद्ध गंगालाल सडकमा शुक्रराजशास्त्रीहरूसँग भाषण गर्दै हिँडे । अन्तत: उनलाई राजद्रोही भाषण गरेको भन्दै राणाहरूले गिरफ्तार गर्यो । लेखक राजेन्द्र महर्जन लेख्छन्, ‘चाहेको भए उनी सजिलै भाग्न सक्थे । उनमा जेलनेलदेखि कुनै डर थिएन । उनले आफूलाई सिपाहीहरूको हातमा सुम्पे । उनलाई सिंहदरबारमा लगेर नेल र हत्कडी ठोकियो ।’
गंगालालभन्दाअघि नै धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्यदण्ड दियो । गंगालाललाई सिक्रीले बाँधेर मृत्युदण्ड दिन उनको घरअघिको बाटो हुँदै लगियो । त्यसवेला गंगालालले श्रीमतीलाई हसिना... हसिना... भन्दै बोलाए । हसिनादेवी अघिल्लो दिन मात्रै सुत्केरी भएकी थिइन् । अन्तिमपटक पनि आफ्नो श्रीमान्को अनुहार हेर्न पाइनन् । गंगालालले पनि श्रीमती र छोराको अनुहार हेर्न पाएनन् । मृत्युदण्ड दिनुअघि उनलाई ‘समय छ, माफी माग’ भनियो । तर, गंगालालले मृत्यु स्वीकार गरे । राणासँग झुकेनन् । उनीसहित चारजना सहिदको बलिदान भएको १० वर्षपछि अन्तत: नेपालको इतिहासबाट राणाशासन बिदा भयो ।
भगतसिंहको आन्दोलन (सन् १९३०)
भगतसिंहको जन्म २८ सेप्टेम्बर १९०७ मा पञ्जाबमा भएको थियो । उनका बुबालाई अंग्रेज शासकले जेल हालेको थियो । स्कुल छाडेर सन् १९२० मा महात्मा गान्धीको सहयोग आन्दोलनमा सहभागी भए । परिवारबाट विवाह गर्न दबाब दिन थालेपछि उनी भागेर दिल्ली पुगे । त्यहाँ पत्रिकामा काम गर्न थाले । सन् १९२८ मा भएको एक आन्दोलनका उनका आदर्श व्यक्ति लाजपतरायको हत्या भयो । त्यो हत्याले अंग्रेजप्रति गहिरो बदलाभाव उनीभित्र बढ्यो । अन्तत: उनी र उनका साथी मिलेर त्यो हत्याको बदला लिए । भगतसिंहको पहिचान देशभर फैलियो । अब भगतसिंह अंग्रेजको निसानामा पर्न थाले । भगतसिंह कपाल र दाह्री काटेर भेद बदलेर हिँड्न थाले । त्यहीवेला अंग्रेज सरकारले दिल्लीको असेम्बलीबाट क्रान्तिकारी गतिविधि र मजदुर, विद्यार्थी, किसानको विरोध रोक्ने विधेयक ल्याउन खोजेका थिए । त्यो सहन नसकेर भगतसिंह, सुखदेव, राजगुरु ८ अप्रिल १९२९ मा संसद्मै पुगे । भगतसिंहले संसद्मै बम प्रहार गरे र नारा लगाए, इन्कलाव जिन्दावाद । त्यसपछि पर्चा पनि छरे । उनीहरूलाई तुरुन्तै गिरफ्तार गरेर जेल हालियो । अपराध सिद्ध गर्न ६८ पृष्ठ लामो निर्णय गर्दै तीनजनालाई फाँसीमा चढाइयो । भगतसिंहलाई फाँसी दिँदा उनी केवल २३ वर्षका थिए । भगतसिंह र उनका साथीलाई फाँसी दिएपछि उनको आत्मबलिदान भारतीय स्वतन्त्रता संग्रामका लागि ठुलो प्रेरणा बन्यो । देशभरका युवा जागे । महात्मा गान्धी र सुभाषचन्द्र बोसहरूको आन्दोलनमा थप बल पुग्यो । अंग्रेज साम्राज्य भारतमा सधैँ टिक्न सकेन । ती क्रान्तिकारीलाई फाँसी दिएको १६ वर्षपछि अंग्रेज भारत छाडेर भाग्नुपर्यो ।
विरसाको उल्गुलान आन्दोलन (सन् १९००)
भारतको इतिहासमा विरसालाई एक मुन्डा आदिवासी स्वतन्त्रता सेनानीको रूपमा लिइन्छ । उनको जन्म सन् १८७५ मा भारतको झारखण्डमा एक गरिब आदिवासी परिवारमा भयो । त्यसवेला भारतमा ब्रिटिसले राज गरिरहेका थिए । १९औँ शताब्दीको सुरुवातबाट अंग्रेजले मुन्डा आदिवासीको जल, जमिन र जंगल हडप्न सुरु गर्यो । स्थानीय जमिनदारले अंग्रेजलाई साथ दिए । आफ्नो आदिभूमि बचाउन केवल २० नाघेका मुन्डा समुदायका विरसाले जमिनदार र ब्रिटिसविरुद्ध आन्दोलन थाले । ब्रिटिस सैनिकसँग बन्दुक थियो । विरसाले धनुषकाँडले उनीहरूविरुद्ध आन्दोलन थाले । उनले सुरु गरेको आन्दोलनलाई उलगुुलान आन्दोलन भनिन्थ्यो । हैजा फैलिएपछि अंग्रेजले मुन्डा जातिलाई भने, ‘तिमीहरूलाई ईश्वरले यस्तो बनाएको हो ।’ सुरुमा अंग्रेजको कुरा उनीहरूले पत्याए । भाग्यलाई, ईश्वरलाई दोष दिए । तर, विरसाले हैजासँग लड्ने आदिवासी ज्ञानतिर आफ्नो समुदायलाई लिएर गए । त्यसपछि मुन्डा समुदायले विरसाको कुरा पत्याउन थाल्यो । मुन्डाले उनलाई भगवान् नै मान्न थाले । उनीहरूले विरसालाई ‘धर्ती आबा’ अर्थात् धर्तीपिता नै मान्थे । विरसा अवरोध बनेपछि उनीविरुद्ध ब्रिटिसले पाँच हजार रुपैयाँ इनाम राखे । उनी भूूमिगत भई मुन्डाहरूलाई संगठित गरे । अन्तत: ब्रिटिस सैनिकले उनीसहित चार सयभन्दा धेरै मुन्डाहरूलाई जेलमा कोचे । विरसालाई हैजाले मर्यो भनियो तर इतिहासकार मान्छन्, २५ वर्षको उमेरमै उनलाई जेलभित्रै विष खुवाएर मारियो । उनका बारेमा महाश्वेतादेवीले उपन्यास लेखेकी छिन्, ‘जंगलके दाबेदार ।’ उनका बारेमा फिल्म र नाटकसमेत बनेका छन् । अंग्रेज र जमिनदारबाट आफ्नो भूमि बचाउन ती युवाले गरेको आन्दोलनले आज पनि झकझकाइरहन्छ । आज पनि बिहार, झारखण्ड, उडिसा, छत्तीसगढतिर विरसालाई भगवानको रूपमा पूजा गरिन्छ । सन् २०२१ देखि विरसा जन्मिएको दिनलाई जनजातीय गौरव दिवसको रूपमा पनि मनाउन थालिएको छ ।
स्पार्टाकसको त्यो दास विद्रोह (इ.पू.७१)
२१ सय वर्षअघि मानव सभ्यता दासयुगबाट गुज्रिरहेको थियो । दास र मालिकमा विभक्त भएको तत्कालीन समाजमा अहिलेको बुल्गेरियामा पर्ने स्ट्राइमोन नदीकिनारमा एकजना दासको इ.पू. १०३ मा जन्म भयो । उनको नाम थियो स्पार्टाकस । उनका बारेमा धेरै लिखित दस्ताबेज उपलब्ध छैनन् । हार्वड फास्टले उनका बारेमा सन् १९५१ मा उपन्यास ‘स्पार्टाकस’ लेखेका थिए । हालको इटलीमा त्यसवेला रोमन दास मालिकले शासन गरिरहेका थिए । स्पार्टाकस युवा भएपछि रोमन सैनिकमा भर्ना भए । उनले सैनिक छाडेपछि समाएर उनलाई दास बनाइयो र ग्लाडियटर (मालिकको मनोरञ्जनका लागि ढाल र तरबार लिएर सार्वजनिक ठाउँमा आपसमा लड्ने लडाकु) मा भर्ना गरिदियो । उनी त्यो निकृष्ट खेल खेल्न बाध्य भइरहे । मालिकहरू रक्तमुछेल भएका खेलाडी हेर्दै मजा लिइरहे । एकदिन स्पार्टाकससहित २०० दासहरू भागे । त्यसमध्ये ७८ जना मात्रै भाग्न सफल भए । बाँकी रहेका दासको नेतृत्व स्पार्टाकसले गरेर रोमन सैनिकबाट हतियार खोसे । आल्पस पहाडमा गई तालिम गरे । रोमन सैनिकसँग लडेर केही स्थानमा विजय पनि हासिल गरे । उनका बारेमा धेरै विवरण नभए पनि इतिहासकारहरू उनले रोमन सैनिकलाई पराजित गर्दै ७० हजार दास र अन्य मानिसको समूह बनाएको बताइन्छ । उनले रोमन सत्तालाई ठुलो चुनौती दिए । रोमन सैनिकविरुद्ध युद्ध लड्ने क्रममा इ.पू. ७१ मा उनको सैनिक पराजित भयो र उनी मारिए । त्यसवेला उनी केवल ३२ वर्षका थिए । उनको हत्यापछि ६ हजार दासलाई क्रुसमा टाँगेर मारेको बताइन्छ ।
रोमन सैनिकलाई पराजित गरी सम्पूर्ण दासलाई मुक्त गर्ने उनको अभियान त्यसवेलाका लागि त रोकियो । तर, समयको प्रवाहलाई सधैँ रोक्न मालिकहरू सफल भएनन् । अन्तत: रोममा दासयुग ढलेर समाज अघि बढ्यो । दासयुग अन्त्य गर्ने आदि विद्रोहीको रूपमा स्पार्टाकसको नाम आज पनि संसारभर गर्वका साथ लिइन्छ ।
(विभिन्न वेबसाइटको सहयोगमा )