
कञ्चनपुरका चार राजनैतिक दलहरुले जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष निकालेको छ। २४ भदौ (मंगलबार) जेनजी आन्दोलनमा केही संविधान, गणतन्त्र र व्यवस्था बिरोधी समुहले घुसपैठ गरेर आन्दोलन शान्तिपुर्ण नभई हिन्सात्मक, विध्वङसात्मक बनाएको निष्कर्ष निकालेको हो।
तत्कालीन सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र विपक्षी नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेनजीको भावनाविपरित शान्तिपुर्ण आन्दोलनमा घुसपैठ गरेर व्यक्तिगत बस्ने घर, सरचना, सरकारी कार्यालय, व्यवसायिक क्षेत्रमै प्रवेश गरेर लुटपाट, चोरी, तोडफोड एवं आगजनी गरेको घटनाप्रति खेद प्रकट गरेका छन् ।
जेनजी आन्दोलनपछि कञ्चनपुरका तत्तकालिन सत्ताधारी र विपक्षी दल घटनाको सत्यतथ्य छानबिन गरेर दोषिउपर कारबाहीका लागि एक ठाउँमा उभिएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला सचिव देवदत्त जोशी, नेकपा माअोवादी केन्द्र जिल्ला कार्यालय सचिव आनन्द सिहं धामी, नेकपा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी र नेपाली कांग्रेस जिल्ला उपसभापति मिन बहादुर सिंहले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा संविधान बमोजिम वैज्ञानिक बाटो तय गर्दै लोकतान्त्रिक गणतन्त्र संविधान रक्षाका लागि सम्बद्ध सबै पक्षमा अपिल गरेका छन्।
जेनजी पुस्ताले अघि सारेका एजेण्डा नयाँ सरकारले सम्बोधन गर्दै भावी दिनमा हुने भ्रष्टाचारदेखि जनभावना विपरितका कुनैपनि निर्णय नगर्न समेत सचेत गराइएको छ।अझैपनि संविधान कुल्चिने कुचेष्टा गरेर त्यसविरुद्ध पश्चिम नेपाल कञ्चनपुरबाटै आन्दोलनको आँधुहुरी ल्याउने चार दलले चेतावनी दिएका छन्।
अकल्पनीय, फिल्मशैलीमा व्यक्तिका बस्ने घर सरचना, दलका पाटी कार्यालय, व्यवसायिक क्षेत्र, सरकारी सरचनामाथि तोडफोड, आगजनीले क्षण भरमै खरानीमा परिणत भएपछि जेनजी आन्दोलनप्रति दलहरुसहित नागरिक समाज सशंकित भएका छन्।