मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
अमुल थापा काठमाडाैं
Invalid date format o८:४८:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

सत्ता पल्टाउने ती दुई दिनको फोटो खिच्दै हिँड्दा...

Read Time : > 2 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

रिपोर्टरको डायरी 

२३ भदौ, जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको दिन । आमनागरिकजस्तै मलाई पनि अब के हुन्छ भन्ने व्यग्र चासो भएको दिन । फोटो पत्रकारिताको लामो करिअरमा थुप्रै आन्दोलन खिँचेको अनुभव भए पनि हरेक आन्दोलनको आफ्नै विशिष्टता अनि परिवेश हुन्छ भन्ने चेतका साथ त्यो दिन म बिहानै फिल्डमा निस्किएँ । बिहान ८ बजे माइतीघर पुग्दा जेन–जी पुस्ताका युवाहरू भेला भइरहेका थिए । ठाउँ–ठाउँबाट युवाहरू आउने क्रम जारी थियो । कोही विद्यालय पोसाकमै आइरहेका थिए भने कोही आफ्नो मौलिक अनि सामान्य पहिरनमा थिए । हात र काँधमा नेपालको झन्डा, प्लेकार्ड बोकिरहेका थिए ।

माइतीघरमा भेटिए, सहकर्मी सञ्जीव योन्जन, दिपेन्द्र ढुंगाना र सञ्जित परियार । आन्दोलनको स्वरूपबारे हामीलाई खासै जानकारी थिएन । तर, हामी युवाहरूका गतिविधि नियाल्दै त्यसलाई क्यामेरामा कैद गर्न चनाखो रहिरह्यौँ । करिब ९ बजेदेखि औपचारिक रूपमा आन्दोलन सुरु भयो । युवाहरू राष्ट्रिय गान, विभिन्न राष्ट्रिय गीत गाउँदै, भ्रष्टाचार र नेताविरुद्ध नारा लगाउन थाले । बारम्बार कुनै पार्टीको झन्डा नबोक्न भनिरहेका थिए । पार्टी तथा भ्रातृ संगठनका ब्यानर देख्दा खोसेर नियन्त्रणमा लिइरहेका थिए । युवाहरू भेला हुँदै गए, नाराबाजी चलिरह्यो । १० बजेपछि युवाहरू बानेश्वरतर्फ लागे । सडकमा दुई लेन युवाहरूले ढाकेको थियो । बानेश्वरतर्फ अगाडि बढ्दै गर्दा युवाहरूले प्रहरीले जहाँ रोक्नु भन्छ, त्यही रोक्ने, निषेधित क्षेत्रमा नजाने भनेर बारम्बार माइकिङ गरिरहेका थिए ।

करिब ११ बजेतिर युवाहरूको र्‍याली बानेश्वरस्थित निषेधित क्षेत्रनजिकै पुग्यो । जहाँ प्रहरीहरू तैनाथ थिए । नारा चलिरहेको थियो । केही युवाहरू प्रहरीको ब्यारिकेड तानेर अगाडि बढ्न खोजे । केहीले रोक्न खोजे । तर, भिड अनियन्त्रित भयो । आक्रोशित युवाहरू ब्यारिकेड तोडेर संसद् भवनतिर अगाडि बढे । प्रहरीले रोक्न खोज्यो, तर सकेन । युवाहरू बानेश्वर चोक पार गरेर संसद् भवनको मुख्य गेटअगाडि पुगे । प्रहरीले रोकिन अनुरोध गरिरह्यो । तर, युवाहरूले नमानेपछि अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पार्न खोज्यो । आक्रोशित युवाहरू थप उत्तेजित भए । संसद् भवनको गेट तोडफोड गर्दै भित्र छिर्न खोजे । प्रहरीले बल प्रयोग गर्‍यो । फायर गर्‍यो । केही समयमै संसद् भवन परिसर युद्ध मैदानमा परिणत भयो ।

यतिञ्जेल संसद् भवन परिसरका अन्य गेटबाट समेत युवाहरू भित्र छिर्न खोजिरहेका थिए । प्रहरीले गोली प्रहार गरेपछि युवाहरू ढलिरहेका थिए । गोली लागेर घाइते भएकालाई प्रदर्शनकारी युवाले बोकेर नजिकैको अस्पतालमा पुर्‍याउँदै थिए भने केही पुलिससँग भिड्दै थिए । क्षणभरमा संसद्का पर्खालहरू लडे । युवाहरू संसदभित्र छिरे । मुख्य गेटमाथि राष्ट्रिय झन्डा फहराउँदै युवाहरूले प्रदर्शन गरे । गोली लागेर प्रदर्शनमा आएका आफ्नै साथीहरूको मृत्यु भएको खबरले युवाहरू झन् आक्रोशित भए । यी घटनाहरूलाई तस्बिरमा कैद गर्दै थिएँ, यता आफ्नै सहकर्मी फोटो पत्रकार दिपेन्द्रलाई गोली लागेको खबर आयो । मन त्रसित भयो । अस्पतालतिर लगेको खबरले उतै हानिएँ ।

दर्जनौँ घाइतेको भिडमा आफ्नो साथी खोज्न मुस्किल पर्‍यो, अर्का सहकर्मी सन्जित सँगै रहेको खबरले केही राहत मिल्यो । म दिपेन्द्रलाई खोज्दै एभरेस्ट अस्पताल पुगेको थिएँ । उनी सिभिल अस्पतालमा रहेको खुलेपछि म त्यतैतिर लागेँ । घाँटीमा गोली लागेको देखियो । भिडभाडका कारण थप उपचार सम्भव नभएपछि पाटन अस्पताल रिफर गरियो । अर्का सहकर्मी सञ्जित दिपेन्द्रसँगै उता लागे र म पुन: संसद् भवनतिर आएँ ।

आन्दोलनमा सहभागी युवा र प्रहरीबिच साँझसम्मै मुठभेड चलिरह्यो । कार्यालय पुग्दा सबै सहकर्मीका अनुहारमा निराशा देखिन्थ्यो । १९ जना युवाको मृत्युको खबरले मन भारी भयो । 

घर पुग्दा परिवारजन सबै त्रसित थिए । दिनभरको कामको चटारो र चार्ज सकिएकाले मोबाइल पनि अफ भएको थियो । जसका कारण परिवारजनसँग सम्पर्क हुन सकेको थिएन ।

दोस्रो दिन के हुने भन्ने अन्योल थियो । बिहान करिब ९ बजेतिर कोटेश्वर पुग्दा प्रहरीको बाक्लो उपस्थिति थियो । र, भिड शून्यजस्तै थियो । त्यहाँबाट बानेश्वर पुग्दासम्म भिड जम्मा भएर नारा लगाउन थालिसकेका रहेछन् । करिब साढे १० बजे उपत्यकाका विभिन्न स्थानहरूबाट युवाहरू नारा लगाउँदै जम्मा हुन थाले । प्रहरीले भिड नियन्त्रणको प्रयास गरिरहेका थिए । तर, नियन्त्रण गर्न सकिरहेका थिएनन् । बानेश्वरमा तस्बिर कैद गरिरहँदा केही नेताका घर र पार्टी कार्यालयहरू तोडफोड र आगजनी भएका खबरहरू आउन थाले । लगत्तै प्रधानमन्त्रीको राजीनामाको समाचारहरू पनि आयो । 

यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीको निजीनिवास बालकोटमा ठुलो संख्यामा आन्दोलनकारी पुगेको थाहा पाएपछि म त्यतैतिर लागेँ । तर, म पुग्दा घरमा दनदनी आगो बलिरहेको थियो । त्यसका केही तस्बिर कैद गरी एमालेको पार्टी कार्यालय च्यासल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको घर हुँदै बानेश्वर फर्किएँ । त्यहाँ आउँदा संसद् भवन दनदनी बलिरहेको थियो । बानेश्वरमाथिको आकाश धुवाँको मुस्लोले ढाकेको थियो । ड्रोनबाट हेर्दा संसद् भवन र आसपासका क्षेत्र जलेको भयावह दृश्य देखिन्थ्यो । आन्दोलनकारीको अर्को समूहले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जलाइरहेको जानकारी पाएपछि म त्यतैतिर लागेँ । म पुग्दा आन्दोलनकारीको जमात सिंहदरबार छिरेर आगजनी र तोडफोड गरिरहेको थियो । आन्दोलनकारीहरू सिंहदरबारभरि यत्रतत्र छरिएका थिए । सिंहदरबारनजिकै रहेको सर्वोच्च अदालत पनि जलिरहेको थियो । त्यसको पनि तस्बिर कैद गरी कार्यालय पुगेँ । 

कार्यालयको छैटौँ तलाबाट नियाल्दा काठमाडौंको आकाशभरि धुवैँधुवाँ देखिन्थ्यो । निजी सञ्चारगृह, ठुला व्यापारिक भवन, होटेल पनि तहसनहस भएको थाहा पाएँ । मनमा डर र चिन्ता बोकेर थकित मुद्रामा घर फर्किएँ ।